भैरहवा- रुपन्देहीको प्रमुख व्यापारिक, शैक्षिक र सीमा नाकासँग जोडिएको सिद्धार्थनगर नगरपालिका पछिल्लो समय फोहोर व्यवस्थापनको गम्भीर संकटमा फस्दै गएको छ।
तीव्र शहरीकरण, जनसंख्या वृद्धि, व्यापारिक गतिविधि विस्तार र उपभोक्तावादी जीवनशैलीका कारण नगरमा उत्पादन हुने फोहोरको मात्रा दिनानुदिन बढ्दो छ। तर, त्यसअनुसारको दीर्घकालीन, वैज्ञानिक र वातावरणमैत्री व्यवस्थापन प्रणाली नहुँदा समस्या जटिल बन्दै गएको सरोकारवालाहरू बताउँछन्।
विशेषगरी, पछिल्ला दुई वर्षयता नगरपालिकाले बेलहिया-बुटवल व्यापारिक मार्गसँगै रहेको डण्डाखोलाको किनारलाई अस्थायी फोहोर थुपार्ने स्थलका रूपमा प्रयोग गर्दै आएको विषयले स्थानीयवासी मात्र होइन, वातावरणविद् र सरोकारवाला निकायलाई समेत गम्भीर चिन्तामा पारेको छ। नेपाल-भारत सीमा नजिकै पर्ने यो क्षेत्र मुलुकको एक महत्त्वपूर्ण प्रवेशद्वार पनि हो, जहाँबाट दैनिक सयौं आन्तरिक-बाह्य पर्यटक, व्यापारी र सर्वसाधारण आवतजावत गर्छन्।
डण्डाखोलाको किनारमा खुला रूपमा फालिने फोहोरका कारण आसपासको वातावरण अत्यन्तै दुर्गन्धित बनेको छ। नेपाल प्रवेश गर्ने आगन्तुकले पहिलोपटक अनुभव गर्ने दृश्य नै सडकछेउ थुपारिएको फोहोर र फैलिएको दुर्गन्ध बन्न थालेको स्थानीयवासीको गुनासो छ। ‘नाक चिमोटेर यात्रा गर्नुपर्ने अवस्था छ। यसले नगर मात्र होइन, देशकै बदनाम गरिरहेको छ,’ स्थानीय व्यापारीहरू बताउँछन्।
सडक छेउमै फोहोर थुपारिँदा नगरको सौन्दर्य पूर्ण रूपमा नष्ट भएको छ। सफा, सुन्दर र व्यवस्थित शहरको अवधारणासँग यो अवस्था पूर्ण रूपमा विपरीत देखिन्छ। स्थानीयवासीका अनुसार यस्तो अवस्थाले पर्यटन, व्यापार र लगानीमैत्री वातावरणमा समेत नकारात्मक असर पारिरहेको छ।
फोहोरबाट अत्यधिक दुर्गन्ध नफैलियोस् भन्ने उद्देश्यले नगरपालिकाले बिजिङ पाउडरलगायत रासायनिक पदार्थ प्रयोग गर्दै आएको छ। तर, वातावरणविद्हरूका अनुसार यी रसायन तत्कालीन रूपमा दुर्गन्ध कम भएजस्तो देखिए पनि दीर्घकालीन रूपमा वातावरणका लागि घातक सावित भइरहेका छन्।
फोहोर र रसायनको प्रत्यक्ष प्रभावका कारण डण्डाखोला आसपास रहेका ठूल-ठूला सिमलका रुखहरू क्रमशः सुक्दै गएका छन्। शताब्दीसम्म बाँच्न सक्ने क्षमता भएका यी रुखहरू मरेपछि क्षेत्र उजाड बन्दै गएको छ। केही वर्षअघि हरियालीले भरिएको क्षेत्र अहिले बन्जरजस्तै देखिन थालेको स्थानीय बासिन्दा बताउँछन्।
सिमलका रुखहरू केवल हरियालीका प्रतीक मात्र होइनन्। ती गिद्ध, चिल, बाज, सारसलगायत चराचुरुंगीका प्रमुख बासस्थानका रूपमा परिचित थिए। विशाल काण्ड, बलिया हाँगा र अग्लो संरचनाका कारण सिमल चराहरूका लागि सुरक्षित बासस्थान मानिन्थ्यो। तर, फोहोर र रसायनका कारण रुख नै नष्ट भएपछि चराहरूको आवास समाप्त भएको छ।
वातावरणविद्हरूका अनुसार चराहरू हराउनु जैविक चक्रको असन्तुलनको संकेत हो। मृत जनावर व्यवस्थापनमा गिद्धजस्ता चराको महत्त्वपूर्ण भूमिका हुन्थ्यो। तिनको संख्या घट्दा दीर्घकालीन रूपमा स्वास्थ्य र वातावरणीय समस्या देखिन सक्छ।
फोहोर र रसायनको असर रुखमा मात्र सीमित छैन। रसायन मिसिएको फोहोर डण्डाखोलाको किनारमै फालिँदा खोला प्रदूषित बन्दै गएको छ। स्थानीयवासीका अनुसार पछिल्लो समय माछा, कीरा र अन्य साना जलचर प्राणीहरू मर्ने घटना बढ्दै गएका छन्।
डण्डाखोला आसपासका किसानले सिँचाइका लागि यही पानी प्रयोग गर्ने भएकाले यसको असर कृषि उत्पादनमा समेत पर्न थालेको छ। पशुपालकहरूले पशुका लागि पानी प्रयोग गर्दा रोग देखिन थालेको गुनासो गरेका छन्। यसरी नदी प्रणालीमा परेको असरले मानव जीवन, कृषि र पशुपालन सबै क्षेत्रमा प्रत्यक्ष प्रभाव पारिरहेको छ।
नगरपालिकाले फोहोर व्यवस्थापनका लागि योजना बनाइरहेको र छिट्टै दीर्घकालीन समाधान आउने दाबी गर्दै आएको छ। तर, यस्ता प्रतिबद्धता जनाइएको पाँच वर्षभन्दा बढी समय बितिसक्दा पनि ठोस र प्रभावकारी योजना कार्यान्वयनमा आउन सकेको छैन। अस्थायी उपायका भरमा समस्या टार्ने प्रवृत्तिले अवस्था झनै जटिल बन्दै गएको स्थानीयवासीको भनाइ छ।
उनीहरूका अनुसार पटक-पटक जनप्रतिनिधिले आश्वासन दिए पनि फोहोर प्रशोधन केन्द्र, ल्यान्डफिल साइट वा वैकल्पिक व्यवस्थापन प्रणाली स्थापना हुन सकेका छैनन्।
नगरपालिकाले फोहोर व्यवस्थापनमा निरन्तर चासो राख्दै आएको दाबी सिद्धार्थनगर नगरपालिका फोहोर व्यवस्थापन तथा वातावरण शाखा प्रमुख खेमराज गैरेको छ। उनका अनुसार नगर प्रमुख, उपप्रमुख, जनप्रतिनिधि र राजनीतिक दलबीच सहकार्य नभएसम्म यो समस्या समाधान गर्न कठिन छ।
तत्कालीन अवस्थामा दुर्गन्ध धेरै नफैलियोस् भनेर बिजिङ पाउडर र माटो हालेर फोहोर ढाक्ने काम भइरहेको उनी बताउँछन्। दीर्घकालीन समाधानका लागि फोहोर प्रशोधन केन्द्र र वैकल्पिक स्थलको खोजी भइरहेको उनको भनाइ छ।
डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रवीण बिडारीले बोटबिरुवा मर्ने गरी रसायन प्रयोग गर्नु गम्भीर गल्ती भएको बताएका छन्। यसरी केमिकल प्रयोग गर्दा माटो, पानी र हावामा नकारात्मक असर पर्नुका साथै दीर्घकालीन रूपमा पर्यावरणीय क्षति हुने उनको भनाइ छ। रुख नष्ट हुँदा चराचुरुंगी, वन्यजन्तु र जैविक विविधतामा प्रत्यक्ष असर पर्ने भन्दै उनले तत्काल सुधारको आवश्यकता औंल्याए।
सिमलका रुख मर्ने गरी रसायन प्रयोग गर्दा जलचर, किसान र समग्र वातावरणमा गम्भीर क्षति पुग्ने वातावरणविद् रुद्र ज्ञवाली बताउँछन्। नदीमा मिसिने रसायनले कृषि प्रणालीमा असर पार्ने र यसले मानव स्वास्थ्यमा दीर्घकालीन समस्या निम्त्याउन सक्ने उनको चेतावनी छ।
उनका अनुसार नगरपालिकाले तत्काल फोहोर प्रशोधन केन्द्रको व्यवस्था गर्नुपर्छ। दीर्घकालीन रूपमा कुहिने, प्लास्टिक र सिसाजन्य फोहोरलाई स्रोतमै छुट्याएर संकलन, प्रशोधन र व्यवस्थापन गर्ने वैज्ञानिक प्रणाली लागू गर्नुपर्नेमा उनको जोड छ।
समयमै व्यवस्थित, वैज्ञानिक र वातावरणमैत्री समाधान नल्याइए सिद्धार्थनगरको फोहोर व्यवस्थापन अवस्था अझै भयावह बन्दै जाने निश्चित देखिन्छ। स्थानीयवासी, वातावरणविद् र सरोकारवालाहरूले नगरपालिकालाई तत्काल दीर्घकालीन, दिगो र व्यावहारिक फोहोर व्यवस्थापन नीति लागू गर्न आग्रह गरेका छन्।
अन्यथा, अहिले देखिएको समस्या भविष्यमा ठूलो वातावरणीय संकट, स्वास्थ्य जोखिम र जैविक विनाशमा रूपान्तरण हुन सक्ने उनीहरूको चेतावनी छ।