भैरहवा- रुपन्देहीको भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) वर्षौंसम्म विकासको पर्खाइमा अल्झिरह्यो। लामो समयसम्म झाडीले ढाकिएको, सामुदायिक वनझैं देखिने यो क्षेत्र अहिले भने उद्योगका चिम्नीबाट निस्किने कालो धुवाँका कारण चर्चामा आएको छ।
उद्योग स्थापना हुनु विकासको संकेत मानिए पनि त्यसबाट निस्किएको धुवाँ, दुर्गन्ध र फोहोरले स्थानीय बासिन्दाको दैनिकी भने कष्टकर बनाएको छ।
भैरहवा सेज रुपन्देहीको रोहिणी गाउँपालिका-१ भित्र पर्छ। उद्योग क्षेत्र बस्तीको अत्यन्तै नजिक भएकाले यहाँ सञ्चालनमा आएका उद्योगबाट निस्कने धुवाँ र गन्धले जनजीवन प्रभावित बन्दै गएको स्थानीयवासीको गुनासो छ।
बिहान सूर्योदयसँगै सेज क्षेत्र आसपासका गाउँमा बाक्लो धुवाँ फैलिन थाल्छ। कतिपय दिन त कालो मुस्लो धुवाँले पूरै बस्ती अँध्यारोजस्तै रहन्छ। विशेषगरी ‘इको नेपाल इनर्जी इन्डस्ट्रिज प्रालि’बाट निस्कने धुवाँको गन्धले गाउँ नै दुर्गन्धित बनेको स्थानीय बासिन्दा बताउँछन्।
स्थानीयवासीका अनुसार घरका झ्यालढोका खुला राख्न नसकिने अवस्था छ। बाहिर सुकाउन राखिएका कपडा कालो धुलोले फोहोर हुने गरेका छन्। खुला आँगनमा बस्न, बालबालिकालाई खेल्न दिन र ज्येष्ठ नागरिकलाई घाम ताप्नसमेत गाह्रो भएको छ। उद्योगबाट निस्कने दुर्गन्ध यति तीव्र हुने गरेको छ कि सास फेर्नसमेत अप्ठ्यारो हुने गरेको स्थानीयवासीको अनुभव छ।
विशेषगरी प्लास्टिकजन्य सामग्री उत्पादन गर्ने उद्योगबाट निस्कने धुवाँले समस्या थप जटिल बनेको स्थानीयवासी बताउँछन्। धुवाँसँगै आउने गन्धका कारण छालामा एलर्जी, डाबर र चिलाउने समस्या बढ्दै गएको छ। आँखाबाट आँसु बग्ने, टाउको दुख्ने र लामो समयसम्म गन्ध लागिरहने समस्या देखिन थालेको छ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती र दीर्घरोगीहरू यसबाट बढी प्रभावित भएका छन्।
रोहिणी-१ का बासिन्दा बिहान उठ्नेबित्तिकै धुवाँले आकाश ढाक्ने गरेको बताउँछन्। घरभित्र बसे पनि गन्ध छिर्ने, खाना खान मन नलाग्ने, राति सुत्न गाह्रो हुने तथा स्वास्थ्यमा प्रत्यक्ष असर देखिन थालेको उनीहरूको भनाइ छ।
खेतबारीमा काम गर्न जाँदा आँखा पोल्ने, घाँटी खसखसाउने र सास फेर्न समस्या हुने गरेको अनुभव उनीहरूको छ।
कुनै पनि उद्योग सञ्चालन गर्नुअघि वातावरणीय प्रभाव अध्ययन अनिवार्य हुनुपर्ने स्थानीय नियाज वारिस बताउँछन्। उद्योगका कारण स्थानीयवासीको स्वास्थ्यमा प्रतिकूल असर परेको उनको भनाइ छ।
समस्याबारे उद्योगमा पटक-पटक खबरदारी गर्दा पनि बेवास्ता गरिएको रोहिणी-१ का वडा सदस्य महोम्मद खान बताउँछन्।
स्थानीय खुसिद अहमद अन्सारीका अनुसार उद्योगनजिकै विद्यालय छ। र, त्यसको प्रत्यक्ष असर त्यहाँ अध्ययनरत बालबालिकामा परेको छ।
उक्त उद्योगले रोजगारी सिर्जना गर्ने अपेक्षाले स्थानीय बासिन्दा खुशी थिए। तर, अहिले त्यही उद्योगका कारण उनीहरूले रोजगारी नभई रोग प्राप्त गरेका छन्। स्थानीय सहजुद्दिन खानका अनुसार कतिपय बासिन्दाले घरजग्गा बेचेर अन्यत्र सर्ने सोच बनाइसकेका छन्। तर, सबैसँग विकल्प नभएकाले बाध्य भएर धुवाँकै बीच बस्नुपरेको छ।
सेज क्षेत्रमा उद्योग स्थापना अघि दुई-दुई पटक मन्त्रीस्तरीय उद्घाटन कार्यक्रम भए। विकास, रोजगारी र समृद्धिका ठूला सपना देखाइए। तर, उद्घाटनपछि लामो समयसम्म कुनै गतिविधि देखिएन। सेज क्षेत्र झाडीले ढाकियो र संरचनाहरू अलपत्र परे। अहिले उद्योग सञ्चालनमा आए पनि त्यसको प्रत्यक्ष असर स्थानीय बस्तीले भोग्नुपरेको छ।
रोहिणी-१ का वडाध्यक्ष आविद अली पठान उद्योग स्थापना विकासको हिस्सा भए पनि जनस्वास्थ्य र वातावरणलाई बेवास्ता गर्न नहुने बताउँछन्। उद्योग बस्ती नजिक भएकाले धुवाँ, गन्ध र फोहोरको उचित व्यवस्थापन अनिवार्य हुनुपर्ने उनको भनाइ छ।
स्थानीय तहमा पटक-पटक गुनासो आए पनि सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन हुन नसकेको वडाध्यक्ष पठान बताउँछन्। सेज केन्द्र सरकारको मातहत रहेकाले स्थानीय तहको अधिकार सीमित रहेको उनको भनाइ छ।
स्थानीय जलालुद्दिन खानका अनुसार धुवाँ गाउँघरमा आउँदा झ्यालढोका बन्द गरेर मात्र बस्नुपर्ने अवस्था छ। अन्यथा बस्नसमेत समस्या हुने गरेको उनी बताउँछन्।
पर्यावरणविद्हरू पनि विशेष आर्थिक क्षेत्रजस्ता ठूला परियोजनामा उद्योग स्थापना गर्दा वातावरणीय प्रभाव मूल्यांकन कडाइका साथ कार्यान्वयन हुनुपर्ने बताउँछन्। उद्योग सञ्चालनअघि र पछि नियमित अनुगमन नगरे दीर्घकालीन स्वास्थ्य संकट निम्तिन सक्ने उनीहरूको चेतावनी छ। धुवाँ फिल्टर, फोहोर प्रशोधन प्रणाली र वातावरणमैत्री प्रविधि प्रयोग नगरे विकास दिगो नहुने उनीहरूको निष्कर्ष छ।
‘वातावरण बचाऔं आन्दोलन’का संयोजक नारायणप्रसाद सापकोटा प्लास्टिकजन्य वस्तु जलाएर निस्कने धुवाँले मानव स्वास्थ्यमा गम्भीर संकट ल्याउने बताउँछन्। र, त्यसको निगरानी स्थानीय, प्रदेश र संघीय सरकारले गर्नुपर्ने सुझाउँछन्।
स्थानीयवासीको गुनासो सुन्दा सेज क्षेत्र आसपासका गाउँहरू विस्तारै बस्नै नसकिने अवस्थामा पुग्ने चिन्ता देखिन्छ। समयमै समस्या समाधान नभए यहाँबाट मानिस विस्थापित हुने जोखिम बढ्दै जाने उनीहरूको भनाइ छ। विकासको नाममा बस्ती नै उजाडिनु स्वीकार्य नहुने उनीहरूको माग छ।
विशेष आर्थिक क्षेत्र देशको औद्योगिक विकासका लागि महत्त्वपूर्ण परियोजना हो। उद्योग स्थापना, उत्पादन वृद्धि र रोजगारी सिर्जना आवश्यक छ। तर, यस्तो विकास मानव स्वास्थ्य, वातावरण र स्थानीय बस्तीको अस्तित्वको मूल्यमा हुनु हुँदैन। उद्योग र बस्तीबीच सन्तुलन कायम गर्दै वातावरणमैत्री प्रविधिको प्रयोग अहिलेको अपरिहार्य आवश्यकता बनेको छ।
विकासको उज्यालो खोज्दै उद्योग त आए। तर, त्यसबाट निस्किएको धुवाँले रोहिणी-१ का बस्ती अँध्यारो बनाइरहेको छ। प्रश्न उठ्छ- यो विकास कसको लागि र कस्तो विकास ? समयमै ध्यान नदिइए सेज क्षेत्रको धुवाँले केवल आकाश मात्र होइन, यहाँका बासिन्दाको भविष्यसमेत ढाक्ने खतरा बढ्दै बढेको छ।