कैलाली । विविधता, संस्कृतिको रंग र पहिचानको सुन्दर प्रस्तुतीकरण गर्दै सुदूरपश्चिम महोत्सव प्रदेशकै प्रमुख सांस्कृतिक थलोको रुपमा स्थापित हुँदै गएको छ। स्थानीय समुदायका परम्परा, भेषभूषा, लोककला, नृत्य–संगीतदेखि हस्तकला र स्थानीय उत्पादनसम्म सबैलाई एउटै छातामुनि भिडाउने महोत्सवले प्रदेशको सांस्कृतिक समृद्धिलाई नयाँ उचाइ दिएको छ।
यस महोत्सवमा सुदुरपश्चिमका बिभिन्न जिल्लाबाट आएका सहभागी टोलीहरूले आफ्नो–आफ्नो संस्कृतिको सुन्दर प्रस्तुतीकरण गर्दै सुदूरपश्चिमको मौलिक रङ्गलाई झनै चम्काएको देखिन्छ। बाजुरेली समाजको भुवाचली नाच देखि रानाथारुको सखिया, मुंग्रवा, मगर समुदायको मारुनी नाच सबैले महोत्वसको रौनकता थप्नुका साथी सस्कृति देखाउने थलोको रुपमा समेत महोत्सवलाई लिएका ।
यस्तै, अछामको चैतली होस अथवा डोटीको छलिया, हुडके या बझाङकै ढाकानाच झ्याउरे, भकुलीजस्ता लोकनृत्यका लयमा सहभागीहरू ले आ आफ्नो प्रस्तुति दिएर महोत्सवलाई झन रंगिन बनाएका छन ।
साथै, स्थानीय परिकार, परम्परागत पहिरन र हस्तकलाले दर्शकलाई आकर्षित गरिरहेका छन्।
संस्कृतिप्रेमीहरूको भीडले महोत्सवको वातावरण झनै उल्लासमय बनाएको छ। प्रदेशको सांस्कृतिक, पर्यटकीय र आर्थिक सम्भावनालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिंदै आएको यो महोत्सव प्रदेशको प्रमुख पहिचानको रूपमा दरिलोसँग उभिइरहेको आयोजकहरूले जनाएका छन्।
सुदूरपश्चिमका सबै समुदायलाई एउटै मञ्चमा ल्याउँदै आपसी एकता, सम्मान र पहिचान संरक्षणको सन्देश बोक्ने सुदूरपश्चिम महोत्सवप्रदेशको सांस्कृतिक रचनात्मकता झल्काउने महत्वपूर्ण थलो बन्दै अघि बढेको छ।
