नायक बन्ने ढोका आफैं बन्द गरेपछि दोष अरूलाई दिएर केही हुनेजस्तो देखिँदैन। इतिहासमा थोरै मात्र नायकहरू बनेका छन्, जसलाई सधैं भावी पुस्ताले सम्झिरहन्छ र उनीहरूका कर्मप्रति आज पनि आम मानिसले आदर गर्छन्।
झापा विद्रोहमा आफ्नो ज्यानको बाजी लगाएर योगदान दिएकाहरू आज भित्तामा पुगेका र पुर्याइएका देखिएको नै छ। सत्ताको शक्तिले उन्मत्त भएका र अनैतिक रूपमा आर्जन गरेकाहरू त अझै पनि धेरै नै जीवित नै छन्, कोही परलोकसमेत पुगे तर आफ्नै कर्मको कारण प्राप्त फल भोगेको हो भन्ने आज जीवित रहेकाहरूले सोचेको भए आज मुलुकको यो अवस्था देख्न-भोग्नपर्ने नै थिएन भन्न सकिन्छ नै।
युरोप, सोभियत संघतिर पुग्नै पर्दैन, इतिहासमा दक्खल भएका र अध्ययन अनुसन्धानमा सक्रिय रहेका नेताहरूलाई हाम्रै छिमेक हेरे पुग्ला। भारतको पश्चिम बंगालमा सन् १९७७ देखि एकछत्र रूपमा शासन गर्दै आएको मार्क्सवादी कम्युनिस्ट पार्टीको सरकार सन् २०११ मा पूर्ण रूपमा पराजित भयो। ३४ वर्ष लामो विरासत बोकेको पार्टीको आज प्रायः अस्तित्व नै नामेट भएकोजस्तो देखिएको छ।
अनेकन सुधारका बीच पनि समयअनुसार चल्न नसक्दा ३४ वर्ष लामो विरासत किन ढल्यो ? यो विषय आफूलाई कम्युनिस्ट भन्नेहरूका लागि मात्र नभएर अन्य दलहरूका लागि पनि उपयोगी नै होला। शासन सत्तामा आएदेखि नै सुधारका कार्यहरू भएका थिए। कृषिमा क्रान्ति नै भएको थियो। आयातमा निर्भर रहेको खाद्यान्न निर्यातको अवस्थामा पुग्न सफल भयो। विषेशगरी, आलु र धानको उत्पादनमा उल्लेख्य वृद्धि हुन पुग्यो।
मूलतः त्यस अवधिको भूमि सुधार, सिमान्त वर्गको सशक्तीकरण, सामाजिक समानताका लागि पैरवीजस्ता सुधारात्मक कार्यका कारण मार्क्सवादी सरकार लामो समयसम्म सत्तामा रहन सफल भएको थियो। जब सन् २००० मा पार्टीका पोलिटब्युरो सदस्य बुद्धदेव भट्टाचार्यलाई ज्योति वसुले नेतृत्व हस्तान्तरण गरे, त्यसपछि समयानुकुल सुधार गर्नुको साटो कर्मचारीदेखि प्रहरीसम्ममा गरिएको राजनीतीकरणले आम मानिस दिक्क भएको अवस्थामा विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा समेत सैद्धान्तिक छेडखानी गरियो भनिन्छ। सोही कारण तीक्ष्ण बुद्धिका युवा विद्यार्थीहरू देशका अन्य भागमा पलायन हुन पुगेको इतिहास पढ्न पाइन्छ।
भ्रष्टाचार र अनियमिता त चरम अवस्थामा थियो नै। यस्तो अवस्थामा उद्योग स्थापनाका लागि किसानको जग्गा अधिग्रहण गर्ने नाममा भएको बल प्रयोग र हताहतीले किसानहरूमा समेत निराशा उत्पन्न गरायो। र, ममता बनर्जीको उदीयमान तृणमुल कांग्रेसलाई सत्तामा आउनका लागि मलिलो जमिन उपलब्ध भयो। आज त्यही ममता नेतृत्वको तृणमुल कांग्रेसले राज गरेको छ।
संसारभर नै कम्युनिस्टहरू रक्षात्मक बन्दै गएको अवस्थामा नेपालमा भने नेकपा एमाले र माओवादीको एकताबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसदको २ तिहाइ प्राप्त गरेको भ्उ पनि २ वर्ष ९ महिनाभन्दा लामो समयसम्म एकता टिक्न सकेन। यो अवधिमा नेपाली जनताले साँच्चै नै सुधारात्मक कार्यहरू हुनेछन् र आम मानिसको जीवनमा रूपान्तरण हुनेछ भन्ने आशा राखेको भए पनि निराशाबाहेक केही हात लागेन।
समाजको रूपान्तरणमा लाग्नुपर्ने बेलामा यहाँ पनि राजनीतीकरणले चरम सीमा नाघेका कारण पुनः विभाजनमा पुगेका दलहरूले सत्ता स्वार्थका लागि अनेकन तिगडम शुरु गरे। स्वेच्छाचारिता यति बढ्यो कि संविधानलाई नै कुल्चेर संसद विघटनसमेत गरियो।
जसले त्यसविरुद्ध जनादेश लिएर आएका थिए, उनीहरूसँगै मिलेर सरकार बनाउने र गिराउने खेल सामान्यझैं बन्यो। भ्रष्टाचारको सीमा नाघेको र कुशासनका कारण पछिल्लो समयमा युवा (जेन-जी) आन्दोलनले आज मुलुक तहसनहस हुन पुगेको छ। अझै पनि दलहरू आत्मालोचना गर्ने भन्दा पनि प्रतिशोध र बदलाको भावनामा अगाडि बढेको स्पष्ट नै छ। यसले मुलुको अवस्था के हुने हो भन्न सकिने अवस्था छैन।
यी सबैका पछाडि विदेशीको हात छ भन्ने भाष्य निर्माण गर्ने र आफ्नो राजनीतिक व्यापार अगाडि बढाउने दलहरूको पुरानै अभ्यास हो। आफू योग्य नबन्ने, देश र नागरिकलाई प्राथमिकतामा नराख्ने अनि दोष सबै विदेशीलाई दिने कार्यले कतै पनि पुगिँदैन। इतिहास हेर्ने हो भने सबै आन्दोलनहरूमा विदेशीहरूको संलग्नता देखिन्छ नै। २००७ देखि ०६२ सालसम्म भएका सबै आन्दोलनहरूमा कुनै न कुनै रूपमा विदेशीहरूको संलग्नता नकार्न सकिँदैन। तर, त्यसका पछाडि उनीहरूलाई आमन्त्रण गर्ने भूमिका त स्वदेशीकै भएको पनि नकार्न सकिँदैन।
सन्दर्भ इतिहासको थियो। इतिहास वर्तमान र भविष्यका लागि मार्गदर्शक बन्न सक्थ्यो। तर, नेपालमा इतिहास अध्ययन-अध्यापन हराएर गएको छ। आज कुन विद्यालय वा विश्वविद्यालयमा इतिहासको पढाइ हुन्छ र त्यो इतिहास अध्यापन बन्द गर्ने कार्य कोबाट भएको हो, त्यसबारेमा समेत गहिरो अनुसन्धान आवश्यक छ। इतिहास पढेको भए सिहंदरबार कसरी बनेको हो, देश निर्माणमा हाम्रा पुर्खाको हरेक पाइलामा रगत बगेको थियो भन्ने आजको पुस्ताले बुझेको हुने थियो।
इतिहासले नायक बन्ने अवसर दिएको भए पनि आफ्नै बुद्धि र व्यवहारका कारण दलका नेतृत्वहरू खलनायक बनिसकेका छन्। जति नै सुशासनको भजन गाए पनि उनीहरूले गरेका भ्रष्टाचार र कुशासनका कारण देश तहसनहस भएको घामजस्तै छर्लंग हुँदा पनि अझै उनीहरूमा रहेको दम्भ कम भएको देखिँदैन। आफ्ना विगतका कर्तुत ढाकछोप गर्नका लागि आज गरिएका एकता नामका नाटकले समेत कुनै तात्विक अन्तर आउने छैन।
दलीय व्यवस्थामा दलहरूले नै शासन गर्ने हो। कुशासन र भ्रष्टाचारका लागि दलहरू मात्र सम्पूर्ण रूपमा जिम्मेवार छैनन् भन्ने बुझ्न जरुरी छ। जनता सुध्रने र नागरिक बन्ने हो भने दलहरूले सवक सिक्ने नै छन्। सधैं आफ्ना स्वार्थका लागि गलत नेतृत्वलाई साथ दिएर आफ्ना सन्ततिको भविष्य बिगार्ने कार्य गरियो भने भावी सन्ततिले सधैं गाली मात्रै गर्नेछन् भन्ने हेक्का राख्न सके परिवर्तन सम्भव छ।