भैरहवा- रुपन्देही मणिग्रामको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट यतिबेला खरानीको थुप्रोमा परिणत भएको छ। चाडपर्वमा स्वदेशी-विदेशी पर्यटकलाई स्वागत गर्न भ्याई-नभ्याई हुने यो चारतारे होटेलमा यतिबेला शून्यता छाएको छ। रिसेप्सन, लबिहरू खरानीले भरिएका छन्। रेस्टुराँ र कफी हाउसको हालत उस्तै छ।
रुपन्देहीकै टुलिप, मौर्या, रेडसनलगायत होटलहरू यतिबेला मर्मत सम्भारका क्रममा छन्।
२३-२४ भदौमा देशभरि फैलिएको जेन-जी आन्दोलनको आक्रमणमा परी रुपन्देहीका होटेल र रिसोर्टहरू एकाएक आगजनीमा परे। र, एकै झमटमा खरानी बने।
आन्दोलनकारीहरूले होटेलहरूका बार तोडफोड गरे। बारमा सजाइएका महँगो मदिराका बोतलहरू फुटाए। भाँडाकुँडा, फर्निचर र सजावटमा समेत क्षति पुग्यो। दशैंको मुखमा व्यापारिक गतिविधि चुलिँदै गर्दा भएको यो क्षतिले व्यवसायीलाई थप निराश बनाएको छ।
बुटवलको ड्रिम इन्टरनेसनल, होटेल टुलिप र ड्रिमल्यान्ड तथा भैरहवाका होटेल मौर्या र रेडसनमा पनि व्यापक क्षति पुगेको छ। यीमध्ये अधिकांश होटेलमा बार क्षेत्रलाई मुख्य निशाना बनाइएको थियो। महँगो मूल्यका रक्सीहरू लुटपाट र तोडफोड गरेर फालिएका थिए। प्रदर्शनकारीहरूको आक्रोश र भीड नियन्त्रण नहुँदा होटेल व्यवसायीले तत्कालै सुरक्षाका उपायसमेत अपनाउन पाएनन्।
दशैंलाई लक्षित गर्दै होटल व्यवसायीहरूले ठूला योजना बनाएका थिए। सजावटदेखि मेनु परिमार्जन, नयाँ सेवा शुरु गर्ने तयारी भइरहेको थियो। तर, अचानक आन्दोलन र त्यसपछि भएको क्षतिले योजनामा पानी खन्याइदिएको छ। होटेल व्यवसायीहरूले दशैंमा ग्राहकलाई नयाँ स्वाद र वातावरण दिने योजना बनाएका थिए। तर, अहिले फर्निचर भाँचिएका छन्, बारहरू खाली छन्।
तर, निराशाबीच पनि होटेल व्यवसायीहरूको आत्मविश्वास कमजोर देखिँदैन। क्षतिपछि उनीहरू पुनः उठ्ने संकल्पमा जुटिरहेका छन्। व्यवसाय भनेको उतारचढावसँगै अघि बढ्ने विषय रहेको भैरहवाको होटेल मौर्याका सञ्चालक रामबहादुर कोइरी बताउँछन्। भन्छन्, ‘आन्दोलनले क्षति पु¥याएको छ तर हामीलाई ढाल्न सकेको छैन। अब पुनर्निर्माण गरेर अझै राम्रो सेवा दिने लक्ष्य छ।’
यतिबेला होटेलहरूमा मर्मतसम्भारको काम भइरहेको छ। कतिपय होटेलहरूले बार र रेस्टुराँको सजावट फेरि नयाँ तरिकाले गर्ने योजना बनाएका छन्। त्यसबाट आन्दोलनको पीडामाथि आशाको उज्यालो थपिएको छ। चाडपर्वको मुखैमा यो घटनाले करिब २ करोड रुपैयाँभन्दा बढी क्षति पु¥याएको होटेल टुलीपका व्यवस्थापक सरोज बस्नेत बताउँछन्।
आन्दोलनको सबैभन्दा ठूलो क्षति होटेल ड्रिमल्यान्डमा देखिएको छ। अबको सबै बुकिङमा त्यसले प्रत्यक्ष असर परेको उक्त होटेलका अपरेसन इन्चार्ज जोनाथन सी मेन्डिज बताउँछन्। यद्यपि, हौसला नहारी सबै कर्मचारी टोली सकारात्मक रूपमा पुनर्निर्माणमा जुटेको उनी बताउँछन्।
आन्दोलनको क्रममा होटल मौर्यस्थित क्यासिनो गेमिङ ग्यालेक्सी र ड्रिमल्यान्ड रिसोर्टमा रहेको सीएमजी क्यासिनोमा पनि क्षति पुगेको छ।
होटेलले व्यवसाय र रोजगारी मात्र सिर्जना गर्दैनन्, स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन पनि मद्दत गर्छन्। बुटवल र भैरहवा क्षेत्र तीर्थयात्रा, व्यापार र पर्यटनका लागि व्यस्त मानिन्छन्। यहाँको होटेल व्यवसाय स्थिर हुन सकेन भने पर्यटन क्षेत्र समेत प्रभावित हुन्छ। त्यसैले होटेल व्यवसायीहरूले व्यक्तिगत क्षतिलाई बिर्सेर सामूहिक रूपमा पुनः उठ्ने तयारी गरिरहेका छन्।
जेन-जी आन्दोलनले दिएको चोट गहिरो भए पनि व्यवसायीहरू हतास भएका छैनन्। दशैं आउँछ, तिहार आउँछ। मानिसहरू फेरि हिँड्छन्, खान्छन्, रमाउँछन्। त्यही विश्वासले अघि बढेको व्यवसायीहरू बताउँछन्।
अहिले होटेलहरूमा ढोकाबाट शुरु गरेर भित्तासम्म रंगिन बनाउने तयारी भइरहेको छ। फुटेका भाँडा हटाएर नयाँ ल्याउने, मदिराको स्टक भर्ने र ग्राहकलाई नयाँ मेनु प्रस्तुत गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ। भत्किएको संरचना मात्रै होइन, व्यवसायीहरूको आत्मबल पनि पुनर्निर्माण भइरहेको छ।
आन्दोलनले तत्कालीन पीडा त दिएको छ तर त्यसले होटेल व्यवसायीहरूलाई पराजित गर्न सकेको छैन। बरु उनीहरूलाई अझै बलियो बनाइदिएको छ। दशैंको माहोलमा ग्राहकलाई फेरि आकर्षित गर्ने लक्ष्यसहित बुटवल र भैरहवाका होटल व्यवसायीहरू आफ्नो घाउ भुल्दै आशाको बाटोमा हिँडिरहेका छन्।