२३-२४ भदौ ०८२, कहिल्यै बिर्सन नसकिने दिनहरू। नेपालको जनजीवन पुनः आफ्नो सामान्य दिनचर्यातिर फर्किन थालेको छ। केही निषेधित क्षेत्रहरू बाहेक कर्फ्यू हटाउँदै लगिएको छ र यातायातलगायत दैनिक जीवन सहज हुँदैछ।
एकपल्ट फेरि नयाँ नेपाल बनाउने कुरा शुरु भएको छ। विगतका दशकहरूमा यो देशका नेताहरूले पटक-पटक नयाँ नेपालको सपना बाँडेका थिए, बारम्बार जनतालाई मुर्ख बनाउने काम गरे। त्यसैले राम धुलाइसँगै जनताले अपदस्थ गरे। बाँकी कारवाही पनि यसपालिचाहीं बेहोर्नुपर्लाजस्तै छ।
यिनीहरूको बोली, व्यवहार, आमजनताप्रतिको गैर जवाफदेहिता, अनियन्त्रित र बेलगाम भ्रष्टाचारबाट जनता दुःखी र अत्यन्त आक्रोशित थिए। अधिकांशको मुखमै यिनीहरूलाई ठोक्नुपर्छ, मार्नुपर्छ भन्ने भनाइ थियो। तर, चारैतिर आसेपासे र दलालहरूको पर्खालभित्र यो कुरा तिनीहरूको कानसम्म पुग्न सकेन।
यिनीहरूका छोराछोरी, ज्वाईं, नाति-नातिनाहरूले अत्यन्त बेशर्मीका साथ प्रदर्शन गर्ने गरेको क्रियाकलाप, विलासी-शैली, अत्यन्त बहुमूल्य घडी, जुत्ता, सवारी-साधन, ब्याग आदिले यिनका आमाबाउको भाग्यमा अनुहार पाउरोटी सरह हुनेगरी गोदाइ खाने नियती लेख्ने काम गरे।
‘नेताको छोरा गाडीमा हामीचैं खाडीमा’, ‘योर लक्जरी आवर माइजरी’ (तपाईंको विलासिता नै हाम्रो दुःखको कारण हो) घन्किन थाल्यो। तर, आई लभ यू, आई लभ यू भन्नेहरूको चारदिवारीमा बस्नेले सुनेन/देखेन, नियतीमा गोदाइ लेखिएको थियो।
सरकारी कर्मचारीको व्यवहार, देश बाहिर अत्यन्त दुःख गरी आर्जन गरेको कमाइलाईअन्तर्राष्ट्रीय विमानस्थलमा लुटेको दृश्य, सरकारी कार्यालयहरूको अवस्था आदिले यिनीहरूको नियती लेख्दै थियो। बारम्बार जनताको तर्फबाट विभिन्न माध्यमबाट आक्रोश व्यक्त हुन्थ्यो, जवाफदेही सरकार हुनुपर्ने कुरा राखिन्थ्यो तर सरकारको व्यवहारमा कुनै सुधार भएन।
एकपछि एक काण्डहरूमा प्रायजसो सबै राजनीतिक पार्टी संलग्न पाइन्थ्यो। विगतका ठूल-ठूला काण्डहरू बाहेक हालसालैको भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड, देशका विभिन्न सरकारी जग्गाको बेचबिखनमा संलग्नता, भिजिट भिसा काण्ड, दण्डहीनता। लाग्थ्यो- यो प्रजातन्त्रको आडमा तानाशाहहरूको मिलिजुली सरकार हो।
यो सरकारले आम जनताको बेवास्ता गर्दै आफ्ना कार्यकर्ताहरूको भरमा मात्र शासन चलाउन सकिन्छ भन्ने ठान्थ्यो। घर-घरमा पार्टी पसेको अवस्था, पार्टीको समर्थनविना बाँच्न गाह्रो हुने स्थिति बनाउँदै थियो। कुनै पनि राजनीतिक-प्रशासनिक नियुक्ति, सरुवा, बढुवा भेटी नचढाई नहुने, नपाउने प्रणाली व्यापक बनाउँदै गए, यी मिलिजुली राष्ट्रीय सरकारका पात्रहरूले।
बजारबाट पैसा हरायो, त्यो पैसा अस्ति जेन-जीको आन्दोलनमा खरानी भएको संसारभरि देखियो। सरकारले व्यापारीहरूसँग मिलिमतो गर्दै आम जनताको जीवनलाई झनझन गाह्रो र भारी बनाउने काम गर्यो। जनताको पैसाबाट महँगो विदेशी गाडीमा सयर गर्ने तर आमजनतालाई मोटरसाइकल किन्नुपर्दासमेत सोच्नुपर्ने बनायो।
यिनै तानाशाहहरूको क्रियाकलाप सामाजिक सञ्चार माध्यमबाट छरपस्ट हुन थालेपछि यसलाई नियमन गर्ने नाममा यसलाई बन्द गर्ने आइडिया कुनै झोलेले दिन पुगेछ। तुक्के र चटकेहरूले जनतालाई निमोठ्न सजिलै सकिन्छ भन्ने सोचेछन्। यसबीच युवा पुस्ता जेन-जीले अन्तिम चेतावनी जारी गर्दै विरोधको कार्यक्रम शुरु गरेको २३ भदौमा प्रशासनले गरेको अत्यधिक बल प्रयोग अर्को दिन नेपालमा कहिले नभएको विध्वंशको कारण बन्यो।
२४ भदौमा देशभर अवस्था अत्यन्त अराजक थियो, सरकार-प्रशासनविहीन अवस्थामा देश पुग्यो। सरकारी र व्यक्तिगत सम्पत्तिको नोक्सान अवर्णनीय छ। तुक्केको सरकारले देशलाई लथालिंग अवस्थामा छाड्यो र अब टाप कस्नेतिर लाग्यो। चटके र तुक्केहरूको होश उड्यो।
त्यसपछिका दृश्यमा पौडी खेल्दै पिटाइ खाएको, फ्लाइङ किकका दृश्य संसारभरि प्रसारित भयो। यो मार्मिक दृश्य विदेशमा बस्ने तिनीहरूका छोरा-छोरी, बुहारी, नाति-नातिनी, ज्वाईंहरू सबैले दृश्यावलोकन गर्न पाए। यो सिन संसार रहुन्जेल एउटा रेकर्डको रूपमा रहनेगरी अमर भयो। तिनीहरूका आगामी पुस्ताले समेत पितृहरूको गोदाइ अवलोकन गर्न पाउने छन्।
जेन-जीले मञ्चन गरेको यो कार्यक्रममा घुसपैठ भएन होला भन्न सकिन्न। तर, यो अवस्था यिनै अराजक नेताहरूका कारणबाटै उत्पन्न भएको हो भन्नेमा शंका छैन। आठ कक्षा पासले अर्थ मन्त्रालय चलाउने, जतिपटकसम्म वा मरुन्जेल प्रधानमन्त्री हुनुपर्ने, बाँचुन्जेल पार्टीको अध्यक्षता नछाड्ने, जनताको मतको बेवास्ता गर्दै पालोपालो तपाईं र पछि म भन्दै सत्तालाई मिलिजुली दोहन गर्न पाउने यस्ता व्यवस्था फाल्ने यसभन्दा अरू उपाय पनि थिएन।
यिनी वृद्ध प्रस्थान विन्दुमा बसेका, आफू हिँड्दा पनि अरूको सहारा चाहिनेहरूले आफ्नो जीवनभरि राम्रो परिपाटी बसाल्ने, सुधार गर्ने कुनै सम्भावना देखिएन। त्यसलाई सुधार गर्नका निम्ति यस्तो अराजक स्थिति ल्याउने कारक तत्त्व यिनीहरू आफैं हुन्।
प्रत्येक घटनामा विदेशी संलग्नता अनुमान गर्ने हाम्रोमा चलन छ। नहोला भन्न पनि सकिन्न। देशमा विदेशी संलग्नता निम्त्याउने, त्यसका लागि अनुकूल वातावरण बनाउने र मौका पर्नेबित्तिकै देशको सिमाना बेच्न पछाडि नपर्ने यिनीहरू नै हुन्। विदेशी प्रभावबाट मुक्त आज कुनै संस्था, विभाग, राजनीतिक पार्टीहरू छैनन्। विदेशी गतिविधिलाई नियमन गर्ने जिम्मेवारी कसको हो ?
जासुसी संयत्रलाई पार्टीको भर्ना केन्द्र बनाउने र सुरक्षा निकायहरूलाई बेकम्मा र निष्प्रभावी बनाउने को हो ? सुरक्षा निकायहरूको राजनीतिकरण गर्ने र पेशागत रूपमा सक्षमहरूलाई हतोत्साहित गर्नेहरू को हुन् ? महत्त्वपूर्ण पद प्रतिष्ठा किन्नुपर्ने अवस्था बनाउने यिनीहरू नै हुन्।
देशमा क्राइसिस हुँदा सुरक्षा संयत्र असफल हुने कारणहरू यहाँ खोज्न जरुरी छ। यस्ता विषयहरू पनि भविष्यमा अध्ययन-अनुसन्धान गर्दै सुधारका लागि आवश्यक कदम चाल्ने काम भविष्यको सरकारले गर्नुपर्छ । पेशागत निपुणता र निष्ठाबिनाको कर्मचारीतन्त्र र यसको नेतृत्वले अप्ठ्यारा अवस्थामा काम गर्न सक्दैन।
२३ भदौको जेन-जीको विरोध प्रदर्शनको क्रममा १९ जनाको ज्यान गएपछि अर्को दिन जुन अवस्था आयो, त्यो अकल्पनीय थियो भन्ने अधिकांशको भनाइ छ। देश सरकारविहीन थियो र सुरक्षा संयन्त्र काम गर्न सक्ने अवस्थामा थिएन।
भविष्यमा यसभन्दा पनि ठूलो र विकराल कार्यक्रम आउन सक्छ। २४ भदौको घटना एउटा रिहर्सल मात्र पनि हुन सक्छ। विगतका नालायक नेताहरूका कारण देशमा विभिन्न वर्ग-जातिहरूमा असन्तोष चरम अवस्थामा छ। हुनेखानेभन्दा केही नहुनेहरूको संख्या धेरै बढी छ। त्यसकारण यस्तो देशमा कोही सुरक्षित हुन सक्दैन।
अस्तिका घटनाका दोषीहरूलाई कानून बमोजिम कारवाही हुनुपर्छ। यो संविधानमा आवश्यक संशोधन हुन जरुरी छ। प्रत्यक्ष निर्वाचित कार्यपालिका प्रमुख, देश चलाउने व्यक्तिमा हुनुपर्ने शैक्षिक योग्यता, दुईचोटीभन्दा बढी राजनीतिक पदका लागि प्रत्याशी हुन नपाउने प्रावधान, राजनीतिक पार्टीलाई आफ्नो बाउको पेवा ठान्दै अध्यक्षता नछाड्ने परिपाटी, कानूनी राज्यको पालना, राज्यले धान्न सक्ने र आवश्यक मन्त्री, मन्त्रालय, सांसद, राज्यमा हुनुपर्ने समावेशी स्वरूप (तर विगतमा जस्तै समावेशिताको नाममा पार्टीको झोले होइन) आदि लगायत तमाम सुधार गरिनु जरुरी छ।
देशलाई यस्तो अवस्थामा पुर्याउने, जनताको विश्वासमाथि कुठाराघात गर्ने यिनी गद्दार, भ्रष्टाचारीहरूलाई अब आउन दिनु हुन्न, जुर्मुराउन थाले भने प्रतिकार गर्नुपर्छ र यो सरकारले यिनीहरूलाई दण्डित गर्नैपर्छ।
अन्यथा, अर्को काण्ड अकल्पनीय र अत्यन्त विध्वंशकारी हुन सक्छ। वर्तमान अन्तरिम सरकार प्रमुख र सहभागीहरूको हातमा देशको नियति कोर्ने कलम छ, यसको सदुपयोग होस्।