काठमाडौं- छोरीलाई अमलाको अचार निकै मन पर्छ। क्यानाडा पुगेकी छोरीलाई कसरी खुवाउने ? मैतीदेवीका भवानी जैसी अमलाको अचार, सुकेको साग, भुटेको मकै र भटमास बोकेर गोश्वारा हुलाक कार्यालय पुगिन्।
उमेरले ६५ पुगेकी जैसीका अनुसार चिट्ठीपत्रका जमाना हराए अब, विदेशमा पनि खानेकुरा पठाउन सजिलो भएको छ। उनी डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयको नियमित सेवाग्राही हुन्। घरेलु परिकारहरू हुलाक सेवामार्फत पार्सल गर्दै आएको उनको अनुभव छ। भन्छिन्, ‘कुराकानी त ह्वाट्सप र फेसबुकमा गर्छु, छोरीसँग। सामान पठाउन भने हुलाक सेवा नै भरपर्दो लाग्छ।’
नक्साल बस्ने धीरेन्द्रराज भट्टराईले जापानमा रहेका छोराको स्वास्थ्य उपचारमा यहींबाटै ख्याल गर्छन्। पेटको समस्या भएकाले उनले नेपालबाटै औषधि पठाएर छोराको हेरचार गर्न पाएका छन्। हुलाक सेवाले पार्सल पठाउन सहज भएको र सरकारी नियकाय भएकाले विश्वासयोग्य रहेको उनको अनुभव छ। भन्छन्, ‘निजी कार्गोले महँगो शुल्क लिन्छन्, हुलाक सस्तो र भरपर्दो लाग्छ।’
गोश्वारा हुलाक कार्यालयका प्रशासन प्रमुख रवीन्द्र पोखरेल हुलाक सेवामा पार्सल सेवा प्रभावकारी बन्दै गएको बताउँछन्। त्यससँगै ईएमएस (एक्प्रेस मेल सर्भिस) पनि हुलाक सेवा शुरु गरेको छ। भनिएको समयमा सामान पठाउने दु्रत व्यवस्था हो यो। यो सेवा अरूको तुलनामा शुल्क अलि महँगो पर्ने भए पनि विदेश सामान पठाउनेभन्दा विदेशबाट नेपाल सामान पठाउनेहरूको आकर्षण बढ्दो रहेको प्रशासन प्रमुख पोखरेल बताउँछन्। गोश्वारा हुलाक कार्यालयको वार्षिक प्रगति ०८०-८१ को तथ्यांकले जापानमा मात्रै ८० प्रतिशत पार्सल पुग्ने गरेको छ भने अहिले पनि वार्षिक दुई लाख ४५ हजार साधारण चिट्ठी आदानप्रदान भइरहेको छ।
एक ठाउँबाट अर्को ठाउँमा चिट्ठी आदानप्रदान गर्नु हुलाक सेवाको प्राचीन पहिचान बदलिएको छ। विसं १९३५ मा हुलाक घरको नामबाट स्थापना भएको हुलाक सेवा ०१९ सालमा हुलाक ऐनअन्तर्गत रही हुलाक सेवा विभागका रूपमा सेवा प्रदान गर्दै आएको छ।
चिट्ठी, सरकारी कागजपत्र, अन्तर्राष्ट्रीय सन्धिसम्झौताका कागजपत्र एवं धनराशि सुरक्षित तरिकाले सम्बन्धित गन्तव्यमा ओसारपसार गर्ने हुलाक कार्य गतिविधिमा थप जिम्मेवारी थपिएको छ। हुलाक सूचना प्रविधिमैत्री बन्नुपर्ने समयको बाध्यतामा अवसर र चुनौती दुवैको सामना गर्दै आएको छ। यद्यपि, यसको कार्यशैली विगतभन्दा फेरिएको पाइन्छ।
पछिल्लो समय हुलाक सेवाको प्रभावकारी सेवाको रूपमा पार्सल सेवा विस्तार भएको गोश्वारा हुलाक कार्यालयका प्रमुख हुलाक अधिकृत लिलाबल्लभ न्यौपाने बताउँछन्। गोश्वारा हुलाक कार्यालयले ०८१-८२ मा पुलिन्दा-पार्सल (पार्सल शाखाअन्तर्गत) नेपालभर र विदेशका लागि निर्यात भएका काठमाडौंभित्र ६ हजार ७७४, अन्य जिल्लामा पठाइएका दुई हजार ४५४ र विदेशका लागि निर्यात भएका २१ हजार ५४८ हुलाक वस्तुको प्रकार रहेको तथ्यांक छ।
यस्तै, हुलाक सेवाले अर्को महत्त्वपूर्ण कार्यका रूपमा हुलाक टिकटलाई कला, संस्कृतिको प्रचार गर्नुका साथै दस्तावेजीकरण गर्ने कार्यमा प्राथमिकता दिँदै आएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनी बताउँछिन्।
केही महिनाअघि मात्रै हुलाक टिकटमा हुलाक टिकट विभागले सुन्तला, पुत्का मौरी, रायो साग, नौमुठे गाई, असला माछा, खरी बाख्रा, लिमे भैंसी, पारकोटे गरी ८ वटा रैथाने कृषिका आकृति र ब्रह्मलीन राष्ट्र सन्त स्वामी परमानन्द सरस्वती महाराजको आवरणको नयाँ हुलाक टिकट आवरण प्रचलनमा ल्याइएको छ।
ती टिकटको आवरणमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रथम टाँचा लगाउँदै हुलाक टिकटले इतिहास, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने अर्को महत्वपूर्ण दायित्व रहेको बताए। साथै, समयसापेक्षको हुलाकको दायित्व बोध गराउन हुलाक ऐन नै नयाँ बनाउनुपर्ने मन्त्री गुरुङको जोड छ।
राजा महेन्द्रको पालामा बनेको हुलाक ऐनले अहिलेको आधुनिक सूचना प्रविधिको समयलाई समेट्न सक्दैन भन्ने उनको प्रष्ट धारणा छ। हुलाक अब जनताको तत्काल आवश्यकता सम्बोधन गर्नसक्ने हुनुपर्छ भन्ने मान्यताका साथ पार्सल सेवालाई थप सहज र प्रभावकारी बनाउने पर्नेमा उनले जोड दिए।
महानिर्देशक पंगेनीका अनुसार हुलाकले हराउँदै गएका रैथाने अन्य परम्परागत कला संस्कृति र वस्तुको दस्तावेज गर्न हुलाक टिकट आकृति बनाउन थप कार्य सक्रिय बनाउँदै आएको छ। भन्छिन्, ‘हुलाकले सञ्चारसँगै इतिहासको समेत संरक्षण गर्ने दायित्व पूरा गरिरहेको छ।’ हुलाकले देशको सम्पदा विश्वसामु प्रचार प्रसार गरी पर्यटक वृद्धि गर्न समेत सघाउँदै आएको उनको दाबी छ।
केन्द्रदेखि स्थानीय तहसम्म फैलिएको हुलाकलाई एक स्थानीय तह एक हुलाक कार्यालय नीति अवलम्बन गरिएको विभागका महानिर्देशक पंगेनी बताउँछिन्। स्वदेश र विदेशमा चिठीपत्र, पार्सल सेवा, द्रुत डाँक सेवामार्फत आदानप्रदान हुँदै आएको छ। यस्तै, हुलाकले सरकारी सहुलियत दरमा स्वदेश र विदेशमा सरकारी कागजपत्र, राहदानी, नागरिकतादेखि बिरामीका लागि औषधि पठाउने कामसमेत गर्दै आएको छ।
विश्वका ३९ देशसँग अन्तर्राष्ट्रीय द्रुत डाँक सेवा सम्झौता गरी छिटो र प्रभावकारी रूपमा ईएमएस आदानप्रदान हुन्छ भने ७१ देशमा हुलाक वस्तु पठाउने र विश्व हुलाक संघका १९२ सदस्य राष्ट्रबाट हुलाक वस्तु प्राप्त हुने व्यवस्था छ।
धेरै दायित्व र थोरै स्रोतमा हुलाक सेवा सञ्चालन गर्नुपर्दा थुप्रै चुनौती छन्। हुलाकको चुनौतीमा दक्ष जनशक्तिको अभाव, सबै कार्यालयमा सूचना प्रविधिमैत्री नहुँदा कार्यसम्पादनमा समस्या, पर्याप्त बजेट नहुनु र समयानुकूल ऐन कानून परिमार्जन नहुनुजस्ता समस्याले हुलाक सेवामा प्रत्यक्ष प्रभाव परेको हुलाक सेवा विभागको ०८१-८२ को प्रगति समीक्षाले प्रष्ट पार्छ।
सार्वजनिक सवारीसाधनले हुलाकका वस्तु बोक्न आनाकानी गर्ने, लापरवाही गर्नेजस्ता समस्या खेप्नुपर्ने, अन्तर निकाय र अन्तर तह सहयोग र समन्वय कमजोर रहेको (भन्सार, बैंक, प्रदेश तथा स्थानीय तहसँग), ठूला संख्यामा जनशक्ति (३५ भन्दा बढी हुलाक अधिकृतलगायत) रिक्त रहेकाले निमित्तको भरमा हुलाक कार्यालयहरू सञ्चालनमा छन्।
विभागका निर्देशक धु्रवराज आचार्य हुलाक सेवाले आधुनिक सेवा प्रदान गर्दै आएको छ भन्ने आम जनतालाई सूचना नभएको बताउँछन्। निजी क्षेत्रबाट पार्सल पठाउनेहरूको तुलनामा लगभग ४० देखि ५० प्रतिशत सरकारी शुल्क सस्तोमा विदेश पार्सल आदानप्रदान गर्न सकिने सुविधा छ।
उनका अनुसार नेपालका सात जिल्लामा भन्सार सुविधा छ। भन्सार सुविधा भएको जिल्ला बढाउने जाने हो भने विदेश पार्सल पठाउने सुविधामा थप वृद्धि हुने उनको धारणा छ। निर्देशक आचार्यका अनुसार १७ वैशाख ०८१ देखि गोश्वारा हुलाक कार्यालयको पार्सल आउटवाउन्ड शाखा र ईएमएस आउटवाउन्ड शाखाबाट नगद भुक्तानीका साथै क्यूआर डिजिटल प्लेटर्फममार्फत भुक्तानी कार्य भइरहेको छ।
हुलाकका सम्भावना थुप्रै छन्। हुलाकले यस वर्ष ३९ करोड रुपैयाँ राजस्व वृद्धि गरेको छ। उनका अनुसार विगतको भन्दा हुलाकले राजस्वमा सेवा वृद्धि गर्दैछ। हुलाकले अन्तर्राष्ट्रीय डाँक सेवाअन्तर्गत जापान, दक्षिण कोरिया, संयुक्त अरब इमिरेटस्, चीन, अस्ट्रेलिया, फ्रान्स, अमेरिका, जर्मनी, मलेसियामा मात्रै हवाई सम्झौता गरेको छ। अरू देशमा हवाई सम्झौता नहुँदा व्यापार पार्सल डेलिभरी गर्न नसकिएको गोश्वारा हुलाक कार्यालयका प्रमुख हुलाक अधिकृत न्यौपाने बताउँछन्।