भैरहवा- देशको प्रमुख तीर्थस्थलमध्ये एक त्रिवेणीधाम केवल धार्मिक स्थल होइन, आस्थाको समुन्द्र नै हो। यहाँ वर्षैभरि श्रद्धालुहरूको ओहोरदोहोर चलिरहन्छ।
विशेषतः साउनको आगमनसँगै यहाँ रौनक अझ थपिन्छ। सोमबार मात्र होइन, साउनका हरेक दिन भक्तजनहरूको उस्तै भिड लाग्छ।
त्रिवेणी धाम गण्डकी प्रदेशको नवलपुर जिल्लास्थित विनयी त्रिवेणी गाउँपालिकामा पर्छ। यो तीन नदीको संगमस्थल हो, जहाँ कालीगण्डकी, सप्तगण्डकी र सोनोली खोला मिसिएका छन्। तीनै नदीको संगममा बसेको छ, शान्त, पवित्र र ऐतिहासिक त्रिवेणीधाम। यहाँ वृद्धवृद्धा, युवा, महिला, बालबालिका सबै उमेर समूहका भक्तजनहरू त्रिवेणी स्नान गर्छन् र पूजामा रमाउँछन्।
धर्मशास्त्रहरूका अनुसार त्रिवेणीमा स्नान गर्दा पाप क्षय भई पुण्य प्राप्त हुने मान्यता छ। भारतका विभिन्न राज्यहरूबाट समेत श्रद्धालुहरू यो धाममा आउने गर्छन्। खासगरी, उत्तर प्रदेश, बिहार र झारखण्डबाट आउने तीर्थयात्रीहरू बढी आउँछन्। भारतका कतिपय भक्तजनहरू विशेष पूजा-आराधनामा सामेल हुन्छन्। र, स्थानीय बासस्थानमा बसेर व्रत, पूजा र सत्संगमा तल्लीन रहन्छन्। त्रिवेणी पूजा सम्पन्न गरेर यहाँ हुने भजन कीर्तनमा सहभागी हुन्छन्।
आधुनिक संसारका युवा पुस्तामाझ धर्मकर्मभन्दा क्लब र रेस्टुराँतिर मनोरञ्जनमा बढी झांगिएको छ। तर, कतिपय यस्ता युवा पनि छन्, जो सनातन धर्म र संस्कृतिको संरक्षणमा समर्पित छन्। यस्तो समयमा आफूजस्ता केही युवा धर्म संरक्षण गर्नु कर्तव्य ठानेर सनातन हिन्दू धर्म जोगाउन बेला-बेलामा यस्ता धार्मिक स्थलमा पुग्ने गरेको नरसिंह बानिया बताउँछन्।
उनीजस्तै युवाको सक्रियताले त्रिवेणीधाममा भक्ति र समर्पणको भावना अझ सशक्त बनिरहेको देखिन्छ।
रोट्र्याक्ट क्लब अफ लुम्बिनी बुद्धबाट आएकी गायत्री खत्री आफू सधैं साउनमा त्रिवेणीधाममा एकपटक आउने बताउँछिन्। तर, सोमबारकै दिन आफ्नो कामका कारण समय नमिल्दा शनिबार विदाको दिन मिलाएर आउने गरेको उनी बताउँछिन्।
भैरहवाबाट आर्ट अफ लिभिङ परिवारबाट ३५ जनाको टोली त्रिवेणी पुगेको थियो। अरू बेला समय नमिल्दा आउने मौका नहुने भएकाले शनिबार पारेर आर्ट अफ लिभिङ परिवारको टोली दर्शनका साथसाथै भजन कीर्तन र सत्संग गर्न आएको भक्तजन गौरी बताउँछिन्।
यहाँको वातावरण नै धार्मिक छ। अनि त्यसले मनै छुन्छ। अझ युवाको उत्साहजनक सहभागिताले शनिबारको दिन त्रिवेणीधाममा एउटा उत्सवकै झल्को दिने वातावरण बनाइदिन्छ।
शनिबारको दिन पारेर विभिन्न संघसंस्था, क्लब र सामाजिक संगठनहरूबाट आएका भक्तजनहरूले यहाँ भजन, कीर्तन र सेवा कार्यहरू सञ्चालन गर्ने गरेका छन्।
साउनका हरेक सोमबार शिव मन्दिरमा जल अर्पण गर्नेहरूको ताँती नै लाग्छ। सबै उमेर, जाति र वर्गका मानिसलाई एउटै आस्थाको डोरीमा बाँध्नु यस धामको विशेषता हो। त्रिवेणीधाम धार्मिक मात्र नभएर सामाजिक सहकार्यको पनि उत्कृष्ट उदाहरण बनेको छ।
यहाँ आउने भक्तजनहरूको पूजा-आराधनालाई सहज बनाउने कार्यमा यहाँ वरिपरि रहेका धार्मिक सामग्री बिक्रेताहरूको भूमिका उल्लेखनीय छ। मन्दिर क्षेत्र वरिपरि दर्जनौं व्यवसायीले फूलमाला, धूप, अक्षता, तेल, घ्यू, प्रसाद, बेलपत्रलगायत सामग्री बिक्री गर्दै आएका छन्। यसले भक्तजनलाई अलग्गै बोकेर ल्याउनुपर्ने झण्झटबाट छुटकारा दिएको छ।
धार्मिक सामग्रीको बजार पनि व्यवस्थित रूपमा फस्टाउँदै गएको पाइन्छ। ती व्यवसायीहरू पूजाको समयमा श्रद्धालुहरूलाई मार्गदर्शन, पूजा सामग्री छान्न सहयोग गर्ने तथा भावनात्मक रूपमा भक्ति अनुभवलाई अझ सुन्दर बनाउने माध्यम बनेका छन्।
यो धार्मिक र व्यावसायिक समन्वयले त्रिवेणीधामको वातावरणलाई भक्तिभावयुक्त र व्यवस्थित बनाएको छ।
त्रिवेणीधामबाट करिब २ किलोमिटर टाढा छ, सिसमहल। र, यो पनि त्रिवेणी आउने अधिकांश भक्तजनहरूको अर्को मुख्य गन्तव्य हो। ऐतिहासिक दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिने सिसमहल प्राचीन वास्तुकलाको नमूना हो। सिसले झलमल्ल बनाइएको यो भवनको सौन्दर्य र रमणीय परिवेशले भक्तजनहरूलाई थप आध्यात्मिक अनुभूति दिलाउँछ। त्रिवेणीधाम आएर सिसमहल नगई फर्किने भन्ने कुरा कल्पना गर्नै सकिन्न।
तथापि, यहाँको धार्मिक र पर्यटकीय महत्त्व अझ बढाउन आधारभूत पूर्वाधारको विकास भने अझै आवश्यक छ। सडक पहुँच, बासस्थान, सार्वजनिक शौचालय, सुरक्षा र सरसफाइमा अझ ध्यान पुर्याउन सके यो धाम अन्तर्राष्ट्रीयस्तरको तीर्थस्थल बन्ने सम्भावना प्रचुर छ।
त्रिवेणीधाम श्रद्धा, भक्ति र आध्यात्मिक एकताको प्रतीक हो। यहाँ आउने हरेकको मुहारमा देखिने शान्ति र हृदयमा निवास गर्ने आस्था नै यसको साँचो परिचय हो। युवा पुस्ताको सक्रियता, समाजको सहभागिता र धर्मप्रति समर्पणले यो धामको महिमा झनै फैलिँदै गएको छ। नेपाल र भारतबीचको धार्मिक सम्बन्धलाई बलियो बनाउँदै त्रिवेणीधाम एक सशक्त आध्यात्मिक केन्द्र बन्दै गएको छ।