भैरहवा- रुपन्देहीको बुटवल उपमहानगरपालिका-३ स्थित ज्योतिनगर बस्तीका बासिन्दा हरेक वर्षाको मौसमसँगै त्रासदीपूर्ण जीवन बिताउन बाध्य छन्। चुरे पहाडको फेदीमा रहेको यो बस्ती वर्षा शुरु भएलगत्तै पहिरोको उच्च जोखिममा पर्छ। डाँडाको चिरा परेका भित्ताबाट जब ढुंगा, माटो र पानीको बहाव बस्तीतर्फ जान थाल्छ, यहाँका स्थानीयवासी खुला ठाउँमा रात बिताउन बाध्य हुनछन्।
पहिरोको पुरानो पीडा, आजसम्म अधुरो समाधान
ज्योतिनगरमा पहिलोपटक ०५५ सालमा ठूलो पहिरो गएको थियो, जसमा ५७ घरमा क्षति पुगेको थियो। त्यसयता यो क्षेत्र वर्षायाममा सधैं संकटग्रस्त बन्दै आएको छ। १३ भदौ ०७८ मा अविरल वर्षाले यो बस्तीलाई झन ठूलो चोट दियो। सात घर पूरै पुरिए भने २० घरमा आंशिक क्षति पुग्यो। सडक, बिजुली, खानेपानीजस्ता पूर्वाधारहरू समेत भत्किएपछि जनजीवन अस्तव्यस्त बनेको थियो।
स्थानीय बिनबहादुर बिटालु ०७८ सालको पहिरोमा आफ्ना दुई कोठा पूर्ण रूपमा भत्किएको सम्झन्छन्। ‘रातमा पानी पर्यो भने सुत्न सकिन्न,’ भन्छन्, ‘जाग्राम बसेर खतराको संकेत कुर्नुबाहेक उपाय छैन।’ यस्तै, कमला पाण्डेले त पहिरोले सबै घर पुरेपछि आफूलाई प्रहरीले तानेर बचाएको सम्झिन्छिन्। ‘आज पनि ढोका र झ्यालबाट झरेको माटो हेर्दै रात काटिन्छ,’ उनी भन्छिन्।
स्थानीय सरकारको प्रयास : प्रयत्न छन्, तर पर्याप्त छैनन्
बुटवल-३ का वडा सदस्य अमृत खड्काका अनुसार पहिरो न्यूनीकरणका लागि ग्याभिन जाली, रिटेनिङ वाल र चेक ड्यामजस्ता संरचनात्मक उपायहरू अपनाइएका छन्। ०७९ सालदेखि बुटवल उपमहानगरपालिकाले चेकड्याम, बक्स कल्भर्ट र रिटेनिङ वालहरू निर्माण तथा मर्मतको काम थालेको हो।
संघीय सरकारबाट सशर्त अनुदानमार्फत ३ करोड रुपैयाँ बजेटमा पहिरो व्यवस्थापनको काम भएको छ। प्रदेश सरकारबाट सडक निर्माणका लागि दुईपटकमा ४० लाख रुपैयाँ छुट्याइएको छ भने राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत ६० लाख रुपैयाँ विनियोजन गरिएको छ। सिँचाइ डिभिजन कार्यालयमार्फत थप ५० लाख रुपैयाँको काम पनि योजनामा परेको छ, जसअन्तर्गत हाल २५ लाख बराबरको डीपीआर निर्माणाधीन छ।
चुरे क्षेत्रको भूगर्भिक संरचना विशेष भएकाले यहाँ स्टेप कटिङ, मेसिनरी वाल र भूजल निकासको काम भइरहे पनि पानीको बहावका कारण अझै केही स्थानमा क्षति भइरहेकै छ।
जनस्तरको त्रास र सजगता
चेतना पासाङ टोल विकास संस्थाकी कोषाध्यक्ष शोभा गिरी ०७८ सालको पहिरो सम्झिन्छिन्, ‘त्यो रात आज पनि झस्काउने गरी सम्झिन्छु। पहिरोको आवाजले हामी भागाभाग गरेका थियौं।’ उनका अनुसार स्थानीय सरकारले केही सहयोग गरे पनि त्यो पर्याप्त छैन।
कृष्णा श्रेष्ठलाई दिनहुँ पहिरोको त्रास सताउने गर्छ। ‘बादल लाग्यो कि मन बेचैन हुन्छ, कतिबेला पहिरो खस्छ भन्ने चिन्ताले कुनै पनि काममा ध्यान दिन सकिन्न,’ उनी भन्छिन्।
नयाँ संकट : हाइटेन्सन लाइन र रुख कटान
जसरी बस्ती पहिरोको उच्च जोखिममा छ, त्यसैगरी नयाँ संकटको रूपमा हाइटेन्सन लाइन निर्माण पनि उभिएको छ। नेपाल विद्युत प्राधिकरणले हालै चुरे क्षेत्रभित्र हाइटेन्सन लाइन लैजान रुख कटानको प्रक्रिया अघि बढाएको छ। विशेषज्ञहरूका अनुसार चुरे क्षेत्रमा रुख कटानले पहिरोको खतरा झन बढाउने भएकाले यसबारे दीर्घकालीन अध्ययन र योजना आवश्यक छ।
किन अझै पनि घरजग्गा किनबेच ?
यति धेरै जोखिमको बावजुद पनि यहाँ घरजग्गाको किनबेच रोकिएको छैन। यो प्रवृत्तिले नयाँ बासिन्दाको ज्यान जोखिममा पारिरहेको छ। राज्यले जोखिम क्षेत्रको स्पष्ट म्यापिङ गरी सुरक्षित स्थानमा स्थानान्तरणको पहल गर्नुपर्ने स्थानीयवासीको माग छ।
समाधानको खाँचोमा ज्योतिनगर
वर्षासँगै आउने त्रास, रातभर निन्द्राविहीन जीवन र जोखिममा सधैं बाँच्नुपर्ने बाध्यता। यी सबैले ज्योतिनगरका बासिन्दाहरूको जीवन असहज बनाइरहेका छन्। तत्कालीन राहतभन्दा दीर्घकालीन संरचना र पुनर्वासको योजना नै अहिलेको मुख्य आवश्यकता हो। स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय र दृढ इच्छाशक्तिको खाँचो खट्किएको छ।
किनभने, समस्या पुरानै हो तर समाधान अझै अधुरो छ।