नयाँदिल्ली- जब उमेर छँदै या ढल्केपछि टाउकोबाट कपाल झर्छ, धेरै मानिस त्यसलाई लिएर चिन्तित हुन्छन्। आफूलाई समाजमा तालु खुइले उपनाम दिइने गरेकामा उनीहरूमा चिन्ता हुन्छ। विवाह नगरेका युवामा युवतीले मन नपराउने चिन्ता रहन्छ।
खासगरी, युवा पेशेवरहरूमा ठूलो समस्या हुने गर्छ, यसबाट। तालु खुइलिएका कारण उनीहरूमा आत्मविश्वासको कमी महशुस हुन्छ र यसले मानसिक स्वास्थ्यलाई पनि असर गरिरहेको हुन्छ।
(१) आत्मसम्मानमा कमी
कपाल झर्नुलाई आफ्नो पहिचानसँग जोड्नु र यस भावनाको कारण आत्म-मूल्य र आत्म-सम्मानको कमी।
(२) सामाजिक चिन्ता
मानिसहरूले तालु खुइलिएको कुराको मजाक उडाउँछन् भन्ने डर महशुस गर्नु। आफ्नो रूप वा कपालबाट आफूलाई न्याय गर्नु र सोही भावनाको कारण चिन्तामा डुब्नु।
(३) डिप्रेसन र एक्लोपन
माथि दिइएका सबै कारणहरूले गर्दा, समाज, साथीहरूबाट आफूलाई अलग राख्नु, डेटिङ गर्न डराउनु र दुःख र निराशा महशुस गर्नु।
(४) पारिवारिक संवेदनशीलताको अभाव
कहिलेकाहीं परिवारका सदस्यहरूकै टिप्पणीहरूबाट भावनात्मक रूपमा दुःखी हुनु।
तथापि, मानिसको रूप, अनुहारको विशेषता, कपाल र शरीरले मानिसको महत्त्व निर्धारण गर्दैन। यी ती चिजहरू हुन्, जसमा हाम्रो कुनै नियन्त्रण छैन। तर, हाम्रो बुद्धिमत्ता र राम्रो व्यवहारमा हाम्रो नियन्त्रण छ। त्यसैले, हाम्रो ध्यान ती चिजहरूमा हुनुपर्छ, जुन हामीले सुधार गर्न सक्छौं।
धेरैपटक हामी आफैंलाई थाहा हुँदैन- हामी कुन मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेका छौं। त्यो समस्या कति गम्भीर छ। के त्यो समस्या समाधान गर्न आत्म-सहायता पर्याप्त छ वा हामीलाई व्यावसायिक मद्दत चाहिन्छ। त्यसका लागि आत्म-मूल्यांकन विधि पनि प्रयोग गर्न सकिन्छ।
युट्युबमा सफल व्यक्तिहरूको कथाहरू खोज्नुहोस्, जसको टाउकोमा कपाल थिएन र जसले जीवनमा ठूलो उचाइ हासिल गरे। जेसन स्ट्याथम, ड्वेन डगलस जस्तै। संसारको सबैभन्दा धनी र सबैभन्दा सफल पुरुष जेफ बेजोस पनि तालुखुइले छन्। यी उदाहरणहरूले देखाउँछन्- आत्म-स्वीकृति वास्तविक आकर्षण हो।
पेन्सिलभेनिया विश्वविद्यालयको एक अध्ययनअनुसार तालुखुइले पुरुषहरू बढी सफल र आत्मविश्वासी हुन्छन्। यी १५ सयभन्दा बढी सफल पुरुषहरूमा गरिएको सर्वेक्षणका निष्कर्ष हुन्। सोही अध्ययनले यो पनि भन्छ- महिलाहरू तालुखुइले पुरुषहरूप्रति बढी आकर्षित हुन्छन्।
त्यसैले तालु खुइलिने विषय तपाईंको पुरुषत्व निर्धारण गर्ने मापदण्ड होइन। यो केवल एक बाह्य शारीरिक परिवर्तन हो। तपाईं कति ‘पुरुष’ हुनुहुन्छ भन्ने कुरा तपाईंको इमानदारी, सहानुभूति, जिम्मेवारी र आत्म-नियन्त्रणले निर्धारण गर्छ।
हामी अरूको दृष्टिकोण परिवर्तन गर्न सक्दैनौं तर हामी आफूलाई हेर्ने तरिका परिवर्तन गर्न सक्छौं। तपाईंले अरूको बारेमा चिन्ता गर्न छोड्नुपर्छ र आफूलाई सुधार गर्न काम गर्नुपर्छ।