भैरहवा– नेपालको सबैभन्दा व्यस्त नाका बेलहिया हुँदै देशमा सर्वाधिक विदेशी पर्यटक भित्रिन्छन्। भारतसँगको सिमानामा रहेको यो प्रवेशद्वार मुलुकको प्रमुख पर्यटकीय प्रवेशविन्दु मानिन्छ। तर, यतिबेला यही नाकामा सर्वसाधारण र पर्यटकले सबैभन्दा आधारभूत आवश्यकताको अभाव अर्थात् सार्वजनिक शौचालयको समस्या झेलिरहेका छन्।
बेलहियास्थित अध्यागमन कार्यालयमा शौचालयको कुनै व्यवस्था छैन। सडक विस्तारको क्रममा पुरानो सार्वजनिक शौचालय भत्काइएपछि दुई वर्ष अघिदेखि अत्याधुनिक शौचालय निर्माणको नाममा शुरु गरिएको काम अधुरो छ, जसले यहाँ आउने हजारौं यात्रु र पर्यटकलाई हैरानीमा पारेको छ।
शौचालय निर्माण शुरु, तर अधुरो
२०७८ सालमा राम्रो अवस्थामा रहेको सार्वजनिक शौचालय भत्काएर अत्याधुनिक सुविधा सम्पन्न शौचालय निर्माणको घोषणा गरियो। त्यसपछि ४ चैत ०८० मा बेलहिया भन्सार अगाडि ६५ लाख ९ हजार ७७० रुपैयाँको लागतमा शौचालय निर्माणको ठेक्का सम्झौता गरिएको थियो। निर्माण जिम्मा चन्द्रभूषण उपाध्यायको अध्यक्षतामा बनेको ९ सदस्यीय उपभोक्ता समितिलाई दिइयो।
४५.९२ फिट लम्बाइ र १७.८६ फिट चौडाइको सो संरचना १९ असार ०८१ सम्म सम्पन्न हुने लक्ष्य राखिएको थियो। तर, शिलान्यासपछि केही समयमै काम ठप्प भयो। उपभोक्ता समितिले दुई किस्तामा करिब ३० लाख रुपैयाँ भुक्तानी लिए पनि हालसम्म संरचना अधुरो छ। र, निर्माणस्थल झाडीले ढाकिएको छ।
पूर्वाधारविना स्वागत : पर्यटनमाथि गम्भीर प्रश्न
नेपाल प्रवेश गर्ने विदेशीको पहिलो पाइला पर्ने ठाउँ बेलहियामा न विश्राम गृह छ, न व्यवस्थित सडक नै। जताततै खाल्डाखुल्डी परेका सडकले न त सवारी साधनलाई सहज बनाउँछ, न पैदल यात्रुलाई नै। अझ, शौचालयको कुनै व्यवस्था नभएको अवस्थाले बेलहिया नाका समस्याको प्रवेशद्वारजस्तो देखिन्छ।
स्थानीय राजकुमार जैसवाल भन्छन्, ‘सञ्चालित शौचालय भत्काएर नयाँ बनाउने नाममा शुरु गरिएको काम वर्षौंसम्म अलपत्र पार्दा पर्यटकलाई ठूलो सास्ती भएको छ।’
बेलहिया गाउँ समाजका पूर्वअध्यक्ष सुरेन्द्रकुमार क्षत्री भन्छन्, ‘मैले अध्यक्ष हुँदाखेरि ६ कोठे सार्वजनिक शौचालय निर्माण गरिएको थियो। पछि त्यसलाई भत्काएर प्रदेश सरकारको ४० लाख बजेटमा नयाँ शौचालय शुरु गरियो। तर, दुई वर्ष बितिसक्दा पनि काम नसकिनु अनियमितताको पराकाष्ठा हो।’
अव्यवस्थित संरचना, मौन सरोकारवाला
भारतीय पर्यटक कमरेया आलमले शौचालयको अभाव र अव्यवस्थित अवस्थाका कारण निकै सास्ती बेहोर्नुपरेको बताए। ‘कतै त बन्द छ, कतै फोहोर छ, कतै त छँदै छैन,’ उनले भने। स्थानीय व्यवसायी इरफान वारिसले बेलहियामा खानेपानीको पनि सुविधा नरहेको बताए। उनले भने, ‘न त शौचालयकै व्यवस्था छ। सरकारको चासो नजानु लज्जास्पद छ।’
प्रदेश सरकारबाट निर्माण हुन लागेको यो शौचालयको काम सम्पन्न नहुनुमा नगरपालिका पनि समान रूपमा जिम्मेवार रहेको व्यवसायीहरूको गुनासो छ। यता शिलान्यास गरेका तत्कालीन लुम्बिनी प्रदेशका मन्त्री सन्तोष पाण्डे सरकार परिवर्तनका कारण समस्या आएको स्वीकार्छन्। तर, अझै पनि चालु आर्थिक वर्षमै निर्माण सकिने उनको दाबी छ।
नारा र यथार्थको टकराव
‘पर्यटनबाट समृद्धि’ भन्ने नारा अनेक कार्यक्रम र सभामा सुनिन्छ। तर, जब पर्यटक नेपाल भित्रिने मूल नाकामै शौचालयको सुविधा छैन, तब त्यो नारा केवल भाषणमै सीमित देखिन्छ। आधारभूत पूर्वाधारबिना पर्यटनको विकास सम्भव छैन भन्ने यथार्थ बेलहियाको अवस्थाले प्रमाणित गरिरहेको छ।
बेलहिया नाका, जसलाई ‘पर्यटनको गेट’ भनिन्छ, यतिबेला आफैं समस्याको प्रवेशद्वारजस्तो बन्दै गएको छ। जबसम्म योजनाको घोषणासँगै जिम्मेवारी, पारदर्शिता र कार्यान्वयनको तत्परता देखिँदैन, तबसम्म पर्यटकीय सपना केवल कागजमै सीमित रहनेछ।