भैरहवा- रुपन्देहीको शुद्धोधन गाउँपालिकामा हालै प्रमुख प्रशासकीय अधिकृतका रूपमा लेखबहादुर बस्नेत हाजिर भएलगत्तै अवैध नदीजन्य पदार्थ उत्खननको गति तीव्र भएको छ।
बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक आयोजनाअन्तर्गतको नाममा पालिकाको वडा–१ र २ को सीमास्थित दानव नदीको सिकरा घाटबाट मापदण्डविपरीत उत्खनन भइरहेको स्थानीय बासिन्दाले जानकारी दिए।
यस आयोजनाका लागि एससीईजीसी एएनएस जेभी, भरतपुर-१०, चितवनले माग गरेको सामग्रीको स्वीकृति शुद्धोधन गाउँपालिकाले २५ चैत ०८१ मा दिएको हो। तर, आयोजनाले माग भने ४ वैशाखमा मात्र गरेको थियो। र, राजस्व दाखिला २९ चैतमा भएको देखिन्छ। यस स्वीकृतिमा प्रमुख प्रशासकीय अधिकृत बस्नेतले हस्ताक्षर गरेका छन्।
अनुमति पत्रमा अधिकतम १.१० मिटर गहिराइसम्म मात्र उत्खनन गर्न सकिने उल्लेख छ। तर, स्थलमै ८ फिटभन्दा गहिरा खाडल देखिएका छन्। स्थानीयवासीको विरोधका बावजुदसशस्त्र प्रहरी र नेपाल प्रहरीको रोहवरमा उत्खनन जारी छ।
स्थानीय विजय लोधका अनुसार तटबन्ध निर्माण गरिएको स्थानमा समेत मनपरी उत्खनन भइरहेको छ। र, पालिकाका जिम्मेवार निकायहरूले बेवास्ता गरेका छन्। प्रत्येक वर्षको कटानले आफ्नो जमिन गुमाउनुपरेको र अहिले बसोबासकै संकट उत्पन्न भएको स्थानीय टीका परियारले बताइन्। उनले भनिन्, ‘नदीले घरजग्गा बगाउँछ, पालिकाले हेर्दैन, उल्टै उत्खनन गराउँछ।’
दुईपटक डेलिगेसन लिएर पालिकामा गएको भए पनि कुनै सुनुवाइ नभएको स्थानीय राजु गुप्ताले बताए। पालिकाले सुरक्षाकर्मी परिचालन गरेरै अवैध कार्यलाई संरक्षण दिएको उनले आरोप लगाए।
स्थानीय पूर्णबहादुर थापाले भने, ‘निर्वाचनको बेला घरदैलोमा समस्या बुझ्ने नेताहरू अहिले मौन छन्। हामीले जानकारी दिँदा पनि बेवास्ता गरिएको छ।’
शुद्धोधन गाउँपालिकामा यस्तो अवैध उत्खनन नयाँ विषय होइन। तर, प्रशासन आफैंले कार्यादेश दिएको ठाउँमा मापदण्डविपरीत उत्खनन भइरहेको सूचना पाउँदा पनि प्रमुख प्रशासकीय अधिकृत बस्नेत निरीक्षणमा नजाँदा जनप्रतिनिधिहरूको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ।