भैरहवा- पाल्पाको तिनाउ गाउँपालिका-३ मा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको काम तीव्र गतिमा छ। बाह्रैमास जोखिमपूर्ण मानिएको सिद्धार्थ राजमार्गको यो खण्ड अब यात्रुका लागि आशाको किरण बनेको छ।
सिद्धार्थ राजमार्ग मुलुकको एक महत्त्वपूर्ण सडक हो, जसले बुटवललाई पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की हुँदै मुस्ताङसम्म जोड्छ। दैनिक हजारौं सवारी साधन यही सडक भएर आउजाउ गर्छन्। तर, बुटवल-पाल्पा खण्डमा पर्ने सिद्धबाबा क्षेत्र पहिरो, अप्ठ्यारो सडक र तीव्र घुम्तीका कारण ‘मृत्यु मार्ग’कै रूपमा परिचित थियो।
यस ‘मृत्यु मार्ग’लाई ‘जीवन पथ’ बनाउने योजनाअनुरूप सरकारले भिरमा पर्ने दुर्घटनाग्रस्त क्षेत्रलाई छल्न सुरुङ मार्गको अवधारणा ल्याएको हो। सोही अवधारणाअनुसार १.२६ किलोमिटर लामो सिद्धबाबा सुरुङ मार्ग निर्माण थालिएको थियो।
गत ११ माघमा प्रधानमन्त्री केपी ओलीले भर्चुअल माध्यममार्फत ‘ब्रेक थ्रु’ गराएपछि परियोजनामा थप गति आएको छ। सुरुङ छिचोलियो, अब त्यसभित्रको सडक स्तरोन्नतिको काम अगाडि बढेको छ। हालसम्म भौतिक ५० र आर्थिक ४१ प्रतिशत प्रगति हासिल भएको निर्माण कम्पनीले जनाएको छ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन यस परियोजनाको लागत करिब ७ अर्ब ३४ करोड २७ लाख रुपैयाँ अनुमानित छ। निर्माणको जिम्मेवारी चाइना स्टेट कन्स्ट्रक्सनले लिएको छ।
इन्जिनियर सुशान्त उप्रेती भन्छन्, ‘काम योजनाबद्ध रूपमा अघि बढिरहेको छ। हामी निर्धारित समय अर्थात् सन् २०२७ भित्रै परियोजना सम्पन्न गर्ने लक्ष्यमा छौं। सुरुङ मार्गमा दुई स्थानमा हेलिप्याडसमेत निर्माणाधीन छन्, जसको उद्देश्य आकस्मिक दुर्घटना भएमा तत्काल उद्धार र सहायता पुर्याउनु हो।’
उत्साहित स्थानीयवासी
सुरुङ मार्गमा सवारी साधन गुड्न थालेपछि विशेषगरी पाल्पा, गुल्मी, अर्घाखाँची र स्याङ्जाका बासिन्दाले लाभ उठाउन पाउने छन्। सोही कारण स्थानीय बासिन्दा उत्साहित छन्। बारम्बार पहिरो खस्ने र ज्यान जोखिममा पारेर यात्रा गर्नुपर्ने बाध्यताबाट अब उनीहरूले त्राण पाउने छन्।
तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ भन्छन्, ‘सुरुङ मार्ग केवल सडक निर्माण होइन, यो हाम्रो जीवन सुरक्षासँग जोडिएको एक ऐतिहासिक पूर्वाधार हो।’
विकासमा नयाँ आशा
सुरुङ मार्गले यात्रा समय, इन्धन खर्च र सवारी मर्मत लागत घटाउनेछ। साथै, पर्यटन प्रबर्द्धनमा पनि योगदान पुग्नेछ। खासगरी, पाल्पाको तानसेन र पोखरा घुम्न आउने स्वदेशी-विदेशी पर्यटकलाई वैकल्पिक र सुरक्षित बाटो उपलब्ध हुनेछ।
हाल सुरुङ मार्गको स्तरोन्नतिमा दर्जनौं स्थानीय कामदार र प्राविधिकहरू संलग्न छन्, जसले ग्रामीण क्षेत्रको आर्थिक चहलपहल बढाएको छ।
चुनौती दिगोपनको
भौगोलिक र मौसमी चुनौतीहरू भए पनि सरकार र निर्माण कम्पनीबीचको समन्वयले काम बिना अवरोध अगाडि बढेको छ। सुरुङ मार्ग सञ्चालनमा आएपछि यसको नियमित मर्मत, निगरानी, ट्राफिक व्यवस्थापन र आपतकालीन उद्धार तयारीका लागि पनि योजना बनाइँदैछ।
सिद्धबाबा सुरुङ मार्ग अब केवल एक पूर्वाधार परियोजना होइन, यो ‘मृत्यु मार्ग’बाट ’जीवन मार्ग’तर्फको यात्राको प्रतीक हो। निर्धारित समयभित्र सम्पन्न भएमा यो नेपालमा सुरुङ प्रविधिको प्रेरणादायी उदाहरण बन्नेछ।
—