भक्तपुर- बुद्ध जयन्ती देशमा लोकप्रिय उत्सवहरू मध्ये एक हो। भगवान गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको र थुप्रै बुद्धस्थल पनि यहीं रहेको हुनाले यसको विशेष महत्त्व छ।
बुद्ध जयन्तीलाई बुद्ध पूर्णिमा पनि भनिन्छ। र, नेपाल भाषामा स्वाँया पुन्हिको नामले चिनिन्छ। नेपाली पात्रोअनुसार वैशाख पूर्णिमाका दिन यो पर्व मनाइन्छ। यो बुद्ध जन्मेको मात्र नभई उनले बुद्धत्व र महापरिनिर्वाण प्राप्त गरेको दिन पनि हो। सोही कारण यो दिन धेरै विशेष छ।
०००
गौतम बुद्धको जन्म कपिलवस्तु र देवदहबीचमा रहेको लुम्बिनीको सुन्दर बगैंचामा भएको हो। उनी नेपालको कपिलवस्तुमा शाक्यकुलका राजा शुद्धोधन र रानी महामायादेवीका सुपुत्र हुन्।
किंवदन्तीअनुसार गौतम बुद्धको जन्म हुनुअघि महामायादेवीले एउटा अनौठो सपना देखेकी थिइन्। सपनामा महामायादेवीले सेतो हात्ती कमलको फूल लिएर आफू सुतिरहेको खाटलाई तीनपटक परिक्रमा गरी उनको पेटभित्र पसेको देखिन्। बिहान उनले राजालाई यो कुरा सुनाइन्। राजाले १०८ जना विद्वानहरूलाई बोलाएर सपनाको अर्थ सोधे। विद्वानहरूले भने, ‘यो सपना पुण्यवान् पुत्ररत्नको आगमनको संकेत हो।’ यो कुरा सुनेर राजा निकै खुशी भए।
गौतम बुद्धको जन्मपछि उनको नाम सिद्धार्थ राखियो। सिद्धार्थको अर्थ सर्व अर्थ सिद्ध गर्ने भन्ने बुझिन्छ। सिद्धार्थ बाल्यकालदेखि नै सबैको प्रिय थिए। उनी शिल्प अध्ययनका क्रममा ध्यान दिएर गुरुको आज्ञा पालन गर्थे। ज्ञानका कुराहरूमा पनि सानैदेखि अग्रसर थिए र एक असल व्यक्ति बन्ने लक्षण देखाइसकेका थिए।
विद्या र शिल्पको क्षेत्रमा पारंगत भई सिद्धार्थ १६ वर्ष पुगेपछि राजा शुद्धोदनले कपिलवस्तुको राज्यभार उनलाई नै सुम्पिने व्यवस्था मिलाउनतिर लागे। राजदरबारको सुख ऐश्वर्यतिर सिद्धार्थको मन ढल्किने वातावरण बनाउन विशेष ध्यान दिइयो। उनका लागि रम्य, सुरम्य र शुभ नामका राजमहल निर्माण गरियो। दरबारमा नाच्ने र गाउने युवतीहरू नियुक्त गरिए। र, धुमधाम साथ सिद्धार्थको विवाह देवदह वगरका सुप्रबुद्धकी छोरी यशोधरासित सम्पन्न भयो।
एक दिन सिद्धार्थ आफ्ना साथी छन्दकसँग बाहिर डुल्न गएका थिए। त्यसबेला उनले देखेका चार दृश्य यस प्रकार थिए, जसले उनको जीवनमा ठूलो परिवर्तन ल्यायो।
(१) बूढो मान्छे
(२) रोगी मान्छे
(३) मरेको मान्छे
(४) साधना गरिरहेको मान्छे
ती दृश्यले उनको मन विचलित बनाए। त्यसपछि उनी दरबारमा बसिरहन सकेनन् र बाहिर घुम्न निस्के। र, उनले साधनामा लीन मानिस देखे। शान्त स्वभावको संन्यासी आनन्दमा लीन देखिन्थ्यो। यो दृश्य देखेर सिद्धार्थलाई पनि त्यस्तै स्थिर र शान्त स्वभावको बन्न मन लाग्यो।
उनले पनि दुवै आँखा बन्द गर्दा संसारलाई हेर्ने र बुझ्ने नयाँ दृष्टि आइरहेको आभास पाए। डुल्न जाँदा देखेका चार दृष्यले उनको मनमा विभिन्न प्रश्न उब्जाइरहेका थिए- ‘संसारमा दुःख किन छ, मानिसहरू किन पीडित छन् ?’ यी र यस्तै जिज्ञासाको जवाफ खोज्न उनले दरबार त्याग्ने अठोट गरे।
एक रात सबैजना सुतिसकेपछि सिद्धार्थ विस्तारै उठे र दरबारबाट बाहिरिए। दरबारको वैभव, आराम र सेवा अनि आफ्ना पूज्य बुवा, प्रिय श्रीमती र पुत्र सबैलाई त्याग्ने कठोर अठोट उनले गरिसकेका थिए। २९ वर्षको उमेरमा उनी दरबारको सुख त्यागेर जीवनको सार बुझ्न निस्किए।
त्यसपछि उनी विभिन्न ठाउँमा गएर संन्यासीहरू सँगै ज्ञान लिँदै गए। संन्यासीहरूको ज्ञानले उनलाई चित्त नबुझेपछि आफैं केही गर्छु भन्ने सोचे। र, सत्यको खोजीमा लागे। त्यसक्रममा धेरै विद्वान तपस्वी र साधुहरू भेटे। तर पनि, उनको मनमा सन्तोष प्राप्त भएन।
त्यसपछिका धेरै वर्षमा उनले जंगलमा कठोर साधना गरे। तर, कठोर तपस्या मात्रले ज्ञान प्राप्त हँदैन भन्ने बुझेर उनले मध्यम मार्ग अपनाए। भारतको बोधगयामा बोधिवृक्षको रुखमुनि ध्यान गर्दै उनले सत्यको खोजी थाले।
६ वर्षको दृढतापूर्ण साधनापछि उनले अन्ततः ३५ वर्षको उमेरमा बुद्ध पूर्णिमाको दिन बुद्धत्व प्राप्त गरे। त्यसपछि उनलाई बुद्ध अर्थात् बुद्धिमान् सबै लोकको ज्ञान भएको मानिसका रूपमा चिनियो। र, गौतम बुद्ध नाम दिइयो।
उनलाई तथागत गौतम बुद्ध पनि भनिन्छ। तथागतको अर्थ आफूले पाएका ज्ञानहरू स्वतः अरू मानिसहरूलाई पनि प्रदान गर्न सक्नु हो। उनले लाखौं, करोडौं मानिसलाई मुक्तिको मार्गका सत्य ज्ञानहरू प्रदान गरी उनीहरूलाई सत्मार्गमा हिँड्न प्रेरित गरे।
भगवान् बुद्धले मानिसहरूलाई जीवन र मृत्यु, जन्मको उद्देश्य र दुःखको कारण बुझाउने कोशिस गरे। र, आफूले ज्ञान प्राप्त गरेपछि मानव जातिलाई दुःखबाट मुक्ति दिलाउन धम्म सिकाउन थाले। बुद्धले धर्मको शिक्षा चार आर्य सत्य- दुःख छ, दुःखको कारण छ, दुःख निवारण गर्न सकिन्छ र दुःख निवारणको मार्ग छ भन्ने स्पष्ट गरिदिए। उनले कसैलाई बलजफ्ती धर्मको बारेमा सुनाएनन्। सदैव दुखियारहरूलाई जीवन के हो भनेर विभिन्न कथा प्रश्नद्वारा मानिसहरूलाई उपदेश दिए।
बुद्धको जीवन सजिलो थिएन। ज्ञान प्राप्त गर्न अनेक कष्ट झेल्नुपर्यो। अरूलाई सत्य सिकाउँदा पनि उनलाई धेरै चुनौति आए। कतिपटक त मानिसहरूले उनलाई गाली र तिरस्कार गरे। तर, बुद्ध कहिल्यै रिसाएनन्, धैर्य र करुणाले सबैलाई शिक्षा दिइरहे।
अन्ततः बुद्धका हजारौं अनुयायी तयार भए। उनको धम्म आज पनि संसारभर फैलिएको छ। गौतम बुद्धले मानव जातिलाई दुःख, पीडा र अज्ञानको अन्धकारबाट मुक्ति दिलाउने बाटो देखाए।
०००
बुद्ध धर्मका अनुयायीहरू विश्वभर फैलिएकाले नेपालमा मात्र नभई विश्वका अन्य भागमा पनि बुद्ध पूर्णिमा मनाइन्छ। भक्तहरूले भगवान् बुद्धको पूजा अर्चना गर्छन्। र, यस दिन बुद्धलाई फूल, फल र मैनबत्ती अर्पण गर्छन्।
भगवान् बुद्धले जीवनमा पालना गर्नुपर्ने नियम भनेर पञ्चशीलको निर्माण गरेका छन्। पञ्चशील भन्नाले ५ वटा नियम बुझिन्छ- प्राणी हिंसा नगर्नु, चोरी नगर्नु, व्यभिचार नगर्नु, झुठो वचन नबोल्नु र जाँडरक्सी सेवन नगर्नु।
भगवान् बुद्धको जन्मस्थल भएकाले नेपालमा बुद्ध पूर्णिमाको विशेष महत्त्व छ। बर्सेनि बुद्ध जयन्तीका दिन हजारौं मानिस लुम्बिनी पुग्छन्। रानी मायादेवीको सम्झनामा बनेको सुन्दर महामाया मन्दिर पुनः खुल्ने भएको छ। यो मन्दिर ३०० वर्ष पुरानो र पुरानो संरचना भएको सबैभन्दा पुरानो भवन मानिन्छ।
भगवान् बुद्धका लागि विभिन्न प्रकारका उत्सव मनाइन्छ। करुणा र बुद्धि बुद्धले दिएका महान सन्देश हुन्। बुद्ध जयन्तीलाई उचित अनुष्ठानका साथ मनाउन सन् २००३ मा बुद्ध जयन्ती समिति नामक संस्था स्थापना भएको थियो। यस संस्थाले बुद्ध संस्कृति, विचार र बुद्धको जीवनपद्धती सम्झाउँछ।
०००
गौतमी गुरुमा एक भिक्षुणी हुन्। उनी विगत २५ वर्षदेखि बुद्धका शिक्षाहरूलाई अनुसरण गर्दै भिक्षुणीको जीवन बाचिरहेकी छन्। उनी भक्तपुरको मध्यपुर थिमीस्थित नगदेश बुद्ध विहारमा अभिभावकका रूपमा विहारमा आउने मानिसहरूलाई उचित ज्ञान सम्झाउँछिन्।
उनका अनुसार बुद्ध पूर्णिमा विशेष महत्त्वको पर्व हो। यसै दिन भगवान् बुद्धको जन्म, मृत्यु र बुद्धत्व प्राप्त भएको थियो। उनी भन्छिन्, ‘त्यसैले यो दिनलाइै म एकदम शुभ मान्छु।’
उनी बुद्ध पुर्णिमा आउनु एक साता अघिदेखि नै विहारमा बुद्ध जयन्तीको तयारीमा व्यस्त हुन्छिन्। बुद्ध पूर्णिमामा विहारमा आउने उपासक उपासिकाहरूलाई ऋषिणी प्रव्रज्या कार्यक्रम आयोजना गर्छिन्। यसमा अन्य मानिसहरूलाई विहारमै राखेर बौद्ध शिक्षाअन्तर्गत ज्ञान दिइन्छ। र, ध्यान पनि गराइन्छ। त्यसबाट मनमा शान्तिको भाव उत्पन्न हुने विश्वास गरिन्छ।
बुद्ध पूर्णिमाका दिन विहारमा बिहानदेखि नै मानिसहरू ज्ञानमाला भजन गर्दै आनन्द लिन्छन्। कोही जलपानको व्यवस्थापनमा जुटछन्, कोही विहारलाई सजाइरहन्छन्। कोही फूला बनाउन व्यस्त देखिन्छन्। सबै आ-आफ्ना काममा तल्लीन रहन्छन्।
बिहानका सबै काम सकेपछि करिब १० बजेतिर बुद्ध पूजा गरिन्छ। त्यसमा भगवान् बुुद्धलाई जल, धुप, फल, भोजन चढाइन्छ। र, परित्राण पाठ गरिन्छ। त्यसपछि भिक्षु-भिक्षुणीले उपस्थित मानिसहरूलाई धर्मोपदेश दिन्छन्। धर्मोपदेश सकिएपछि भोजन गरिन्छ। सबै उपस्थित मानिसलाई भोजन गराइन्छ।
त्यसलगतै बुद्धको मूर्तिलाई फूलले सजिएको रथमा राखी नगर परिक्रमा गराइन्छ। सानो रथमा बुद्धको मूर्ति राखेर परिक्रमा गरिने भएकाले स-साना बालबालिका एकदमै रमाउँछन्। र, रथ सँगसँगै नेवारी बाजा पनि बजाइन्छ। पछाडि नेवारी पहिरन लगाएर आमाहरू र छोरीचेलीहरू रथयात्रामा सामेल हुन्छन्। र, र्यालीको पछाडि केही मानिस ज्ञानमाला भजन गाउँदै अगाडि बढ्छन्। यी दृश्य हेर्दा मन आनन्दित हुन्छ। र्याली सकिएपछि साँझ विहारवरिपरि दियो बालिन्छ।
स्थानीय पूर्णकेशरी दुवालका अनुसार बुद्ध शिक्षाले उनको जीवनमा धेरै राम्रो परिवर्तन आएको छ। विहारबाट आफूले अरूको मन दुःखाउनु हुँदैन, सेवा गर्नुपर्छ, धैर्यवान हुनुपर्छ भन्ने ज्ञानहरू सिकेको उनी बताउँछिन्। भन्छिन्, ‘बुद्धलाई बुद्ध पूर्णिमाको दिनमा मात्र होइन, सधैं उहाँले दिनुभएका ज्ञानलाई पालना गरी जीवनभर सम्झिनुपर्छ।’
०००
संसारभर बुद्ध जयन्तीका आ-आफ्नै सूची र शैली छन्। भारतको नयाँदिल्लीमा मानवताका लागि योगदानको पर्वका रूपमा मनाइन्छ। श्रीलंकामा भक्तहरूले बुद्धका शिक्षाको कदर गर्दै बुद्धलाई सम्मान गर्ने हिसाबले रमाइलो उत्सव मनाउँछन्। र, आफ्नो घर र सडकलाई बत्ती र मैनबत्तीले सजाउँछन्। मानिसहरूलाई निःशुल्क भोजन गराइन्छ।
म्यानमारमा मानिसहरूले बोधी रुखमा पानी हालेर तथा संगीत र नृत्यमा भाग लिएर बुद्ध जयन्ती मनाउँछन्। चीनको ताइवानमा बुद्ध जयन्तीलाई राष्ट्रीय पर्व मानिन्छ। त्यहाँका बासिन्दाले बुद्ध स्तूपहरूमा सुगन्धित पानी चढाउँछन्। त्यसबाट उनीहरूको जीवनमा नयाँ शुरुवातको संकेत प्राप्त भएको विश्वास गरिन्छ।
०००
जानकारहरूका अनुसार संसारभर नै बुद्धका शिक्षाहरू फैलिए पनि अहिलेका पुस्ता र आजको युगमा भने बुद्धका शिक्षाहरूमा मानिसले त्यति रुचि देखाउँदैनन्। एक जानकार भन्छन्, ‘अहिलेका मानिसहरू आधुनिक विज्ञान र प्रविधिप्रति धेरै आकर्षित देखिन्छन्। नयाँ पुस्ताले धर्मलाई पुरानो सम्झेर चासो नगर्ने भुल गर्छन्। र, मोबाइल कम्प्युटरमा मात्र भुलिरहन्छन्।’
बुद्धले दिएको ज्ञान र धर्ममा गहिरो ध्यान, शान्त चित्त, अनुशासन, धैर्य आवश्यक हुने उनी बताउँछन्, जुन अहिलेका बालबालिकामा पाउन एकदमै कठिन छ। बुद्ध शिक्षालाई नयाँ ढंग र सरल तरिकाले प्रस्तुत गर्नुपर्ने आवश्यकता उनी औंल्याउँछन्।