भक्तपुर- बुद्ध जयन्ती। सम्झँदा पनि मन आनन्द र श्रद्धाले भरिन्छ। बुद्ध जयन्ती मेरो सबैभन्दा मनपर्ने पर्वमध्ये एक हो। यस दिन मन र मस्तिष्क दुवैमा छुटै प्रकारको उमंग छाउँछ। विगत १३ वर्षदेखि मैले बुद्ध जयन्ती विशेष दिनका रूपमा मनाउँदै आएकी छु। र, यो यात्रा जारी छ।
०००
बुद्ध जयन्ती भन्नेबित्तिक्कै मानिसहरूले बुद्ध, बुद्धका शिक्षा र उपदेशहरू बुझ्ने गर्छन्। बुद्ध भन्नाले जागृत व्यक्ति, बुद्धिमान व्यक्तित्व, सबै लोकको ज्ञाता, सर्वश्रेष्ठ प्राणी, सम्पूर्ण लोकको गुरु भन्ने बुझिन्छ।
संसारमा अनगिन्ति बुद्धहरूको जन्म भइसकेको छ, भइरहेको छ र यो क्रम भविष्यमा पनि जारी रहन्छ। बुद्ध भनेको असल आचरण हो। हामी प्रत्येक मानिसभित्र बुद्धको वास हुन्छ भन्ने गहिरो विश्वास छ ममा।
०००
हामी बुद्ध जयन्ती किन मनाउँछौं ? आफैंसँग कुरा गर्दै गर्दा मनमा विभिन्न कुरा उत्पन्न हुन्छन्।
बुद्ध जयन्तीको विशेष महत्त्व छ। किनभने, बुद्ध पूर्णिमाले तथागत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण भएको दिनलाई सम्झाउँछ। बुद्ध जयन्ती पर्व मात्र नभई करुणा, मैत्री, सजगता र शान्तिको खोजको प्रेरणादायक स्मरण पनि हो।
०००
मैले बुद्ध शिक्षा ग्रहण गर्न थालेको कक्षा-३ मा पढ्दादेखि हो। सानो छँदा मलाई आमाले विहारमा ५ दिनका लागि ऋषिणी प्रव्रज्यामा लैजानुभएको थियो। ऋषिणी प्रव्रज्यामा विहारमा बस्नु हुने गुरुमाहरूले हामीलाई विभिन्न बुद्धका उपदेश कथामार्फत बुझाउनु हुन्थ्यो। ध्यान र अनुशासन सिकाउनु हुन्थ्यो।
त्यो समयमा म सँगसँगै ऋषिणी बन्ने केटीहरू करिब २१ जना थिए। ऋषिणी भएको अन्तिम दिनमा गुरुमाले हामीलाई हरेक शनिबार बिदाको दिनमा विहारमा आउनु है भनी सम्झाउनुभएको मलाई अहिले पनि स्मरण छ। त्यस बखत मलाई विहारमा फेरि-फेरि आइरहन पाऊँ भन्ने नै लागिरहेको थियो।
ऋषिणी प्रव्रज्या कार्यक्रम सकिएको १ सातापछि नै म र मेरा साथीहरू विहारमा गयौं। त्यहाँ पुग्दा म अचम्ममा परें। त्यहाँ मजस्तै केटाकेटीहरू थुप्रै आइरहेका थिए। र, गुरुमाले बालबच्चाहरूलाई किताबबाट कथा सुनाइरहनुभएको थियो। म र मेरा साथीहरू पनि खाली ठाउँतिर टुसुक्क बस्यौं। र, गुरुमाले भनेका कुराहरू सुनिरहेयौं। गुरुमा हामी आएको देखेर एकदम खुशी देखिनुहुन्थ्यो। र, हामी पनि उत्तिक्कै खुशी थियौं। हामी विहार गएको केही सातापछि नै बुद्ध जयन्तीमा आउनु है भनी गुरुमाले निमन्त्रणा दिनुभयो। हामी खुशी हुँदै घर फर्कियौं।
०००
त्यतिबेला बुद्ध जयन्तीमा थुप्रै मानिस विहारमा आएका थिए। त्यसबखत मलाई यो दिन किन र कसरी मनाइन्छ, यस दिनको विशेषता के हो भन्नेमा केही चासो थिएन। मलाई केवल मेरा साथी र रमाइलोसँग सरोकार थियो। अहिले सम्झिँदा पनि अचम्म लाग्छ। म कस्तो मान्छेबाट कस्तो भएँ ? जीवनको यो यात्रामा हामीले सोचेभन्दा पनि बेग्लै हुन जान्छ। भविष्यमा के हुन्छ हामीले सोच्नै सक्दैनौं !
यत्तिकै रमाइलोका लागि विहारमा गएकी म आज विहारका हरेक क्रियाकलापमा सहभागी भइरहेकी छु। कहिलेकाहीं त यस्तो लाग्छ, शायद मैले जीवनमा केही राम्रो काम गरेर नै मैले बुद्धका शिक्षा सिक्न, बुझ्न र अनुभव गर्न पाएकी छु।
सानो छँदाको बुद्ध जयन्ती
सानो छँदा म धेरै खेल्नुपर्ने मान्छे थिए। जहाँ जाँदा पनि साथीहरूसँग समूह बनाएर जान्थें। कहींकतै कार्यक्रम भइरहेको छ भने पनि साथीहरू सबै बटुलेर हेर्न जाने गर्थें। र, हामी धेरै घुम्न जानेमध्ये एक ठाउँ नगदेश बुद्ध विहार हो। अरू बेलामा गए पनि या नगए पनि साथीहरू सबै बुद्ध जयन्तीको दिन भने अवश्य पनि आउने गर्थे। यस दिनमा विहारमा मिठो भोजनहरूको व्यवस्था हुन्थ्यो। र, हामी सबैजना पहिले भोजन गर्न जान्थ्यौं। र, थपी-थपी मिठो मानेर खान्थ्यौं।
त्यसपछि बुद्धको मूर्ति रथमा राखेर नगर परिक्रमा गरिन्थ्यो। परिक्रमा गर्ने बेला नभएसम्म साथीहरू मिलेर खेलिरहन्थ्यौं। परिक्रमा गर्ने समय भएपछि हामीले घरबाट ल्याएका चामल र फूलहरू पूजाको थालीमा राखी हामी पनि अरू मानिसझैं लाइन लागेर र्यालीमा सहभागी हुन्थ्यौं। सानो छँदा र्याली जान सबैभन्दा रमाइलो लाग्थ्यो। सबै साथी मिलेर यसरी सँगै र्यालीमा गएको मिठो सम्झना आज पनि मनमा ताजा छ। र, सधैं रहिरहन्छ।
अहिलेको बुद्ध जयन्ती
अहिले म आफूलाई अरूभन्दा भिन्नै भएको महशुस गर्छु। र, अरूभन्दा फरक हुनुपर्छ भन्ने धारणा पनि राख्छु।। कक्षा-३ पढ्दादेखि मैले बुद्ध शिक्षामा आफ्ना पाइला अघि बढाएको म अहिले स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छु। जीवनको यो यात्रामा मैले बुद्ध शिक्षालाई राम्रैसँग सिक्न, बुझ्न र अनुभव गर्न पाएकामा आफूलाइै धेरै भाग्यमानी ठान्छु।
विहारमा सिकाउने बुद्ध शिक्षालाई परियत्ति शिक्षा भनिन्छ भन्ने विहारमा पढ्न जाने क्रममा मलाई ज्ञात भयो। त्यसरी नै परियत्ति शिक्षा लिँदै गर्दा मैले बुद्धको जीवनी विस्तृत रूपमा अध्ययन गरें। विभिन्न शंका-उपशंका हटाउन उदाहरणसहितका कथाहरू पढें। विहारमा भन्ते गुरुमाहरूले दिनुभएका उपदेशहरू राम्रोसँग सुनें। सुनेका चिजहरूलाई आफ्नो जीवनमा पनि उतार्ने प्रयास अहिले पनि जारी छ। र, रहिरहन्छ भन्ने मेरो विश्वास छ।
बुद्धका शिक्षामा सबै भन्दा पहिले सिकेका कुरा
(१) हिंसा नगर्नु
(२) चोरी नगर्नु
(३)व्यभिचार नगर्नु
(४) झुटो नबोल्नु
(५) जाँड रक्सीको सेवन नगर्नु
जीवनमा हामीले यी कुराहरूलाई मात्र आत्मसात गरी पालना गरिरह्यौं भने हाम्रो जीवनमा नराम्रो नहुने गुरुमाले बताउनुहुन्थ्यो।
०००
अहिले म विहारमा आउने गरेका बालबालिकाहरूलाई म आफैं परियत्ति शिक्षा दिने गर्छु। मैले आफू पनि पढ्दै र अरूलाई पनि पढाउँदै गर्दा मनमा राम्रो महशुस हुन्छ। लाग्छ, परियत्ति शिक्षाले मलाई एउटा राम्रो मार्ग देखाएको छ, जुन मार्गबाट मैले संसारलाई नियाल्न सक्छु। जब म बालबालिकाहरूलाई पढाउँछु, मलाई मेरो बाल्यावस्थाको सम्झना आउँछ।
विहारमा उपस्थित गुरुमाहरूसँग सहकार्य गरेर हामीले वनभोजमा गई धेरै रमाइलो गरेका छौं। हरेक कार्यक्रममा विहारका ठूलाबडा र गुरुमा सबै मिलेर कार्यक्रमहरू सफल बनाउँदै आएका छौं। यस्तै, बुद्ध जयन्तीमा पनि परियत्तिका विद्यार्थीहरूलाई समेटेर हामी विहारका काममा सघाउँछौं। हामी अहिले विहारमा स्वयंमसेवकको रूपमा कार्यरत छौं। र, बुद्ध जयन्तीको दिनमा हामी सबैलाई सहृदय सेवा गर्छौं।
मैले विहारमा ज्ञानका कुराहरू सिक्ने मौका पाएकामा म आफूलाई भाग्यमानी ठान्छु। बुद्धका शिक्षाहरूले मेरो आचरणमा राम्रो परिवर्तन ल्याएको छ। अझै पनि जीवनमा यी ज्ञान हुँदाहुँदै पनि आफूले नबुझेको हो कि जस्तो पनि महशुस हुन्छ। त्यसकारण, यसलाई म निरन्तर प्रयास गरी नै रहन्छु।
०००
बुद्धका शिक्षाले मलाई जीवनको धेरै पाटामा सोच्न बाध्य बनाएको छ। अहिंसा, कर्म, दान, पुण्यजस्ता शब्दहरू शायद मैले विद्यालयमा पढें होला। तर, यसको सही अर्थ र सत्य मैले विहारमा बुद्ध शिक्षामार्फत पाएँ। र, ती शब्दहरू साँच्चै अर्थपूर्ण बन्न थाले, जब मैले जीवनमा कठिनाइहरू भोग्न थालें।
बुद्ध पूर्णिमा केवल पूजा र चाड मात्र नभएर मेरा लागि नयाँ शुरुवातको दिन हो। जहाँ म आफैंलाई प्रश्न गर्छु- के मैले मेरा लोभ, क्रोध र मोह कम गर्न सकेको छु ? के म जेजस्तो परिस्थिति आइपरे पनि समतामा बसी त्यसको समाधान गर्न सकिरहेकी छु ? के म बुद्धका विचारजस्तै करुणा, क्षमा र विवेकलाई दैनिक जीवनमा अभ्यास गरिरहेकी छु ?
हामीले बुद्धको उपदेश केवल मूर्तिमा सीमित गर्ने हो भने त्यो केवल परम्परा हुन्छ। तर, ती उपदेशलाई हरेक व्यवहार र निर्णयमा आत्मसात गर्ने हो भने त्यो परिवर्तनको शुरुवात हो। त्यसबाट व्यक्ति र समाज दुवैको भलो हुन्छ।
यस अर्थमा बुद्ध जयन्ती हरेक वर्ष आउने चाड मात्र होइन, आत्म सुधार र चेतनाको यात्रा हो, जहाँ हामी आफूमा सुधार ल्याउन अघि बढिरहेका हुन्छौं।