काठमाडौं- आज अक्षय तृतीया, सातु, सर्वत सेवन गरी मनाइँदैछ। तर, अक्षय तृतीया सातु, सर्वतको पर्व मात्र होइन। यसका अनेक पौराणिक संयोग छन्।
आजकै दिन भगवान विष्णुले परशुराम अवतार लिएको विश्वास छ। ऋषि परशुराम अहिलेसम्म धर्तिमा जीवित पौराणित पात्र मानिन्छन्। अष्टचिरञ्जीवीमध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख पाइन्छ। परशुराम भगवान् विष्णुका छैटौँ अवतार मानिन्छन्।
ऋषि जमदग्नि र रेणुकाका पुत्र परशुरामले पिता जमदग्निको आदेशमा माता रेणुकाको हत्या गरेको समेत ती ग्रन्थमा व्याख्या गरिएको छ। पिता जमदग्निले परशुरामलाई वर माग भनेपछि माता जीवित भएको पौराणिक ग्रन्थमा उल्लेख पाइन्छ।
परशुरामले पिता जमदग्निको हत्या भएपछि २१ पटक ब्रह्माण्ड घुमी विश्वभरका क्षत्रीय राजाहरूको हत्या गरेको पौराणिक ग्रन्थहरूमा उल्लेख छ।
यस्तै, आजकै दिन महाभारतको युद्ध समाप्त भएको विश्वास छ। र, गंगा नदी पृथ्वीमा अवतरण भएको दिनका रूपमा पनि यसलाई मानिन्छ। महाभारतकालीन पात्र द्रौपदीलाई भगवान श्रीकृष्णले चिरहरणबाट बचाएको दिनका रूपमा पनि अक्षय तृतीयाको वर्णन पाइन्छ।
यस्तै, भगवान श्रीकृष्ण र सुदामाको भेट भएको, कुबेरले धन प्राप्त गरेको, सत्ययुग र त्रेतायुग शुरु भएको, भगवान ब्रह्माका पुत्र अक्षय कुमारको जन्म भएको दिनका रूपमा पनि अक्षय तृतीया मनाउने गरिन्छ।
आजकै दिन प्रसिद्ध तीर्थस्थल बद्रीनारायणका द्वार खोल्ने गरिन्छ। वृन्दावनको बाँके बिहारी मन्दिरमा वर्षको यही दिन मात्रै श्रीविग्रह चरणको दर्शन हुन्छ, नत्र वर्षभरि वस्त्रले ढाकिन्छ।