कैलाली- सुन्दर सुदूरपश्चिम यातायात प्रालिले स्तरीय एसीसहितका बस सेवा थप गर्ने अभियानलाई जारी राखेको छ।
सार्वजनिक यातायातलाई अन्तर्राष्ट्रीयस्तरको बनाउने उद्देश्यसहित अगाडि बढेको प्रालिले देशका विभिन्न शहरलाई यातायातको माध्यमबाट जोडिरहेको छ। हाल ६१ जिल्लाका सडकसम्म प्रालिअन्तर्गतका बसहरूले यात्रुलाई सेवा दिइरहेका छन्।

धनगढी काठमाडौंदेखि देशका अन्य शहरहरूलाई स्तरीय एसीसहितको बसमार्फत जोड्न प्रालि सफल भएको छ। प्रालिले अन्य बस सेवासरह नेपालकै उत्कृष्ट स्तरको बससम्म सञ्चालनमा ल्याइसकेको छ। कम्पनीसँग ४२ वर्षको अनुभव छ। रूपान्तरित प्रालिभन्दा अगाडि समितिबाट सेवा प्रवाह हुँदै आएको थियो। राज्यको नीतिअनुसार ०७६ सालमा कम्पनी प्रालिमा रूपान्तरण भएको हो। र, त्यसयता प्रालिले व्यवसायीलाई सेयर सदस्यका रूपमा जोडेर सेवा प्रदान गरिरहेको छ।
प्रालिअन्तर्गत हाल झण्डै साढे ५०० बस सञ्चालनमा रहेको अध्यक्ष पदमराज सापकोटाले जानकारी दिए। ‘हामीले पछिल्लो समय स्तरीय बस सेवा थप गर्ने अभियानलाई प्राथमिकता दिइरहेका छौं,’ उनले भने, ‘यात्रुले सर्वसुलभ भाडादरमा स्तरीय बसबाट सेवा लिन पाउने वातावरण बनाउन हामी सफल भएका छौं।’
यात्रुले सर्वसुलभ भाडादरमा स्तरीय बसबाट सेवा लिन पाउने वातावरण बनाउन हामी सफल भएका छौं।
पदमराज सापकोटा
अध्यक्ष, सुन्दर सुदूरपश्चिम यातायात प्रालि
व्यवसायीले स्तरीय बसमा लगानी बढाइरहे पनि सवारी गुड्ने सडकको अवस्था भने दयनीय रहेको बताउँदै उनले सार्वजनिक यातायात र सडक राज्यको प्राथमिकतामा कहिल्यै पर्न नसकेको भन्दै चिन्ता व्यक्त गरे। ‘सडकको दुर्दशा सबैलाई जानकारी नै छ। तर पनि, हामीले स्तरीय बसमा लगानी बढाउने अभियान जारी राखेका छौं। आगामी दिनमा पनि स्तरीय बस सेवा सञ्चालनमा अभियानलाई निरन्तरता दिनेछौं।’
प्रालिले सबै प्रकारका यात्रुहरूलाई मध्यनजर गर्दै सेवा सञ्चालन गरिरहेको छ। सामान्यदेखि अति स्तरीय बसहरू सञ्चालनमा छन्। सोफा सिटमा बसेर यात्रुले यात्रा गर्न सक्ने वातावरण बनेको छ। पछिल्लो समय यात्रुहरूले आफ्नो चाहनाअनुसारको बस छनोट गरेर यात्रा गर्नसक्ने वातावरण बनेको अध्यक्ष सापकोटाले बताए।

आन्तरिक तथा बाह्य पर्यटक तथा यात्रुलाई स्तरीय सेवा प्रदान गर्न प्रालिका बसहरूले योगदान गरिरहेको उनले बताए।
प्रालिले धनगढीलाई केन्द्रमा राखेर आसपासका जिल्लाहरूबाट समेत देशभरका विभिन्न शहर जोड्ने गरी बस सेवा थप गरिरहेको छ। धनगढीलाई देशको राजधानी काठमाडौंसम्म जोड्ने ‘महेन्द्र राजमार्ग’को निर्माण अवस्थादेखि यातायातका साधनहरू सञ्चालन शुरुवातसँगै १४ चैत ०४० मा सुदूरपश्चिम यातायात व्यवसायी संघको स्थापना भएको थियो। १९ जेठ ०७६ मा रूपान्तरित भई सुन्दर सुदूरपश्चिम यातायात प्रालि दर्ता भएको हो।
समयको माग एवं सडक विस्तारको क्रम तथा लगानीकर्ताहरूको बढ्दो अभिरुचिसँगै आफ्नो सेवालाई विस्तार गर्न प्रालि अग्रसर बनिरहेको अध्यक्ष सापकोटा बताउँछन्। प्रालिले प्रधान कार्यालय धनगढीमा राखी सुदूरपश्चिम प्रदेशलार्ई केन्द्रविन्दु बनाएको छ। र, यहाँबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मुख्य तथा सहायक राजमार्गका साथै ग्रामीण कच्ची सडकहरूमा लामो तथा छोटो दूरीका यातायात सेवा प्रदान गरिरहेको छ।

वातानुकुलित एसी स्तरीय सेवा, माइक्रो बस, भिडियो तथा स्तरीय एवं मध्यम स्तरीय मिनी, द्रुत डाँक सेवा, नन् स्टपलगायत दिवा तथा रात्रि सेवा र ग्रामीण कच्ची सडकहरूका लागि स्थानीय सेवाहरू समय सापेक्ष बस तथा जिप सञ्चालन गरेर कम्पनीले यात्रुलाई निरन्तर सेवा दिइरहेको अध्यक्ष सापकोटाले बताए।
शहरमुखी यातायात सेवा मात्रै सञ्चालन नगरी प्रालिले ग्रामीण भेगदेखि देशको राजधानीसम्म स्तरीय बससेवा सञ्चालन गरिरहेको छ। सुदूरपश्चिमका अन्य पहाडी जिल्लाबाट समेत प्रदेश र देशको राजधानीसम्म स्तरीय बससेवा सञ्चालन भइरहेको अध्यक्ष सापकोटाले बताए।
प्रालिले काठमाडौंलगायत पोखरा, बुटवल र विराटनगरसम्म स्तरीय सोफा एसी बस सञ्चालनमा ल्याइसकेको छ। निकट भविष्यमै अन्य स्थानहरूमा समेत स्तरीय बस सेवा सञ्चालनमा ल्याउने तयारी रहेको अध्यक्ष सापकोटाले जानकारी दिए।
‘स्तरीय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना’ भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै प्रालिले आगामी दिनमा अझै स्तरीय सेवा प्रवाह गर्ने लक्ष्य लिएको अध्यक्ष सापकोटाले बताए।
