नयाँदिल्ली (बीबीसी)- आफ्नो सन्तानको भविष्यप्रति बाबु-आमा सदैव चिन्तित रहन्छन्। पहिलो चिन्ता उनीहरूको स्वास्थ्यलाई लिएर हुन्छ र दोस्रो उनीहरू आफ्नो जीवनमा कति खुशी रहन सक्छन् भन्नेमा हुन्छ।
सन्तान ठूला हुँदै जाँदा उनीहरूको भविष्य कस्तो होला भन्नेमा ज्यादा बाबु-आमा चिन्तित रहन्छन्। त्यस्तो चिन्ताको एक नाम हो- पैसा। यसका दुई आयाम हुन्छन्। पहिलो- उनीहरूले आफ्नो भविष्यका लागि कसरी पैसा बचत गर्छन्। र, दोस्रो- पैसा बचत गर्न उनीहरूले कत्तिको जान्दछन्।
बेलायतको स्ट्यान्डर्ड लाइफ बैंकको सर्वेअनुसार १० मध्ये ७ बाबु-आमालाई आफ्नो सन्तानको वित्तीय भविष्यलाई लिएर चिन्ता हुन्छ। अध्ययनअनुसार बालबालिकालाई सानो उमेरमै पैसाको सही उपयोग सिकाउन सकियो भने उनीहरूको पूरै जीवनमा फरक पर्छ।
तथापि, भविष्यका लागि पैसा बचत गर्न सहज पनि छैन। अमेरिकाको ड्युक युनिभर्सिटीमा ‘बिहेभियर इकोनोमिक्स’ विज्ञ ड्यान एरिली भन्छन्, ‘पैसाको कुनै सीमा हुँदैन। त्यसैले भविष्यमा यसको महत्त्व कति हुन्छ भन्ने यकिन गर्न गाह्रो हुन्छ।’
बीबीसीसँग कुरा गर्दै फाइनान्सियल प्लानर किर्स्टी स्टोन र ‘द मनी च्यारिटी’मा युवा मामिलाका निर्देशक स्टेफनी फिट्जगेराल्डले यस चिन्ताबाट टाढा बस्न केही टिप्स दिए। फिट्जगेराल्डका अनुसार आफ्ना सन्तानलाई पैसाको सही उपयोग गर्न अवसर दिनु आवश्यक छ। ता कि, उनीहरूले आफ्ना गल्तीहरूबाट पनि सिक्न सकून्।
उनका अनुसार बालबालिकालाई बाबु-आमाले दिएको पैसा तत्काल खर्च गरिहाल्न आवश्यक हुँदैन। त्यसैले उनीहरूलाई भविष्यका लागि लगानी गर्न प्रेरित गर्न सकिन्छ।
पछिल्ला वर्षमा संसारभरका बैंकहरूमा बालबालिकाका लागि खाता खोल्ने सुविधा दिएका छन्। आफ्ना सन्तानलाई पनि बैंक खातामा पैसा जम्मा गर्न, कसरी र कस्तो अवस्थामा मात्र निकाल्ने भन्ने सिकाउनु जरुरी छ। जतिबेला पनि जम्मा गर्न र निकाल्न सकिने तथा कुनै निश्चित अवधिका लागि जम्मा गर्न दुई प्रकाका सुविधा बैंकहरूले दिने गर्छन्। विज्ञहरूका अनुसार तत्काल जम्मा गर्न र निकाल्न सकिने खाताको भन्दा लामो समयका लागि जम्मा गरिने खाताबाट बढी व्याज प्राप्त हुन्छ।
हरेक बैंकको आ-आफ्नै व्याजदर हुन्छ। सम्बन्धित बैंकहरूको वेबसाइटमा गएर त्यसबारे जानकारी हासिल गर्न सकिन्छ। त्यसैले सानो उमेरका बालबालिकाको खाता खोलेपछि उनीहरू १८ वर्ष पूरा नभइन्जेल पैसा निकाल्न मिल्दैन। त्यसको उपयोग विश्वविद्यालयका शूल्क तिर्न गर्न सकिन्छ। र, जीवनमा आइपर्ने अप्रत्यासित घटनाहरूबाट पनि बालबालिकालाई आर्थिक सुरक्षा प्रदान गर्न सकिन्छ।
भविष्यका लागि विस्तारै-विस्तारै पैसा जम्मा गरिरहनु उपयुक्त हुन्छ। त्यस्तो पैसा देखाएर कर्जा लिने र क्रेडिट कार्ड लिनु हुँदैन। बालबालिकाका लागि खुत्रुके किनेर त्यसमा जम्मा भएको रकम बैंकमा लगेर राखिदिन सकिन्छ। खुत्रुकेमा पैसा हाल्न सिकेका बालबालिकाले पैसाको महत्त्व पनि बुझ्दै जान्छन्। उनीहरूलाई पकेट मनी दिने र त्यसबाट बचाएर खुत्रुकेमा खसाल्ने बानी बसाल्न सकियो भने अझ उत्तम हुन्छ।