काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले गठबन्धनविपरीत बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । प्रधानमन्त्री निवासमा बालुवाटारमा बसेको आजको बैठक यस्तो निर्देशन दिएका हुन् ।
पाँच दलका शीर्ष नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् । यस्तै गठबन्धनबाहिर रहेका दलसँगरको तालमेल पनि तत्काल खारेज गर्न निर्देशन दिएका छन् ।
गठबन्धन दलले देशका ६ महानगर र ११ उपमहानगरमा केन्द्रबाटै सिट बाँडफाँड गरेको थियो । तर, केन्द्रीय तहबाट भएको निर्णयविपरीत महानगर र उपमहानगरमा गठबन्धन दलकै स्थानीय नेताहरूले बागी उम्मेदवारी दिएका छन् ।
जसमध्ये सबैभन्दा बढी चितवनको भरतपुर र कास्कीको पोखरा महानगरको बागी उम्मेदवारी फिर्ता गराउन नेताहरू लागिपरेका छन् । गठबन्धन दलभित्र चितवन माअोवादी केन्द्रको भागमा र पोखरा नेकपा एकीकृत समाजवादीको भागमा परेको छ ।
दुवै महानगरमा नेपाली कांग्रेसका स्थानीय नेताहरूले बागी उम्मेदवारी दिएका छन् ।
