काठमाडौं- २५ फागुन दिउँसो करिब १ बजे। ८२ वर्षीय तुइसीं दुवाल आँगनमै बसेर धनियालाई स-सानो मुठा बनाई परालले बाँधिरहेका थिए। त्यो उनकै बारीमा उत्पादित धनिया थियो। उनको घर रहेको गार्चा टोलमै लाग्ने रात्रिकालीन तरकारी बजारमा बिक्रीका लागि धनिया केलाउँदै मुठा बनाउन भ्याइनभ्याई थियो दुवाललाई।
मध्यपुर थिमी नगरपालिका-७ नगदेशका स्थायी बासिन्दा दुवालका लागि खेती नै पुर्ख्यौली पेशा हो। उनका बाबु-बाजेले यही पेशाबाट परिवारको छाक टार्थे। त्यसैको बिँडो थामिरहेका छन्, तुइसींले पनि। भावी पुस्ताले कृषिलाई नै निरन्तरता दिन्छन् या दिँदैनन् भन्ने कुराले उनलाई पिरोल्न थालेको छ। शारीरिक अवस्था कमजोर भए पनि उनी दिनरात खेतीपातीमा रमाउँछन्। भन्छन्, ‘केही नगरी यत्तिकै बसिरहँदा मनमा अनेक प्रकारका नकारात्मक सोच आउँछन्। र, तरकारी बाँध्ने र खेत जाने काम गर्दा मन आनन्दित र शान्त रहन्छ।’
८२ वर्षको भइसक्दा पनि उनी आफनो उमेरअनुसार कत्ति पनि थकित देखिँदैनन्। र, कृषिमा रमाइरहेका छन्। कृषि उनको रगतमै छ। भन्छन्, ‘हामीले खेती पुस्तौंदेखि गर्दै आएका छौं। मलाई यही पेशामा विश्वास छ र पछिसम्म पनि रहनेछ।’ उनको शारीरिक अवस्थाका कारण अहिले छोरा-बुहारीले उनलाई सहयोग गरिरहेका छन्।
भन्छन्, ‘माटोले नै मलाई जवान राखेको छ।’ ८२ वर्ष भए पनि तुइसीं दुवालको हिम्मत जवान थियो। उमेरले होइन, मिहिनेतले जीवन जिउनुपर्ने उनको मान्यता छ।
०००
मध्यपुर थिमी नगरपालिकाको उत्तर-पश्चिम भेगमा अवस्थित प्राचीन बस्ती नगदेश यस नगरको प्रमुख बस्तीमध्ये एक हो। यस बस्तीको दक्षिणतर्फ प्रसिद्ध वासुकी नागको निवासस्थान रहेको मानिन्छ, जसलाई अहिले पनि वासुकीफाँट भनेर चिनिन्छ।
वासुकीफाँटको माथिपट्टि बस्ती बसाली नागराजको बास भएको देश भनेर नागदेश वा नगदेश नामाकरण भएको मानिन्छ। नरदे, नकदे, जयपुरजस्ता ऐतिहासिक नामहरूले पनि यस क्षेत्रलाई चिनिन्छ।
नगरपालिकाले प्रकाशित गरेको पुस्तक ‘म्हसिका’मा उल्लेख भएअनुसार नगदेशलाई ‘तरकारीको बगैंचा’ र ‘किसानको शहर’ आदि उपनामले पनि चिनिन्छ। नगदेशका प्रायः सबै घरमा हरियो तरकारी बजारमा लैजान मुठ्ठा बाँध्नेलगायत कृषि कर्म प्रत्यक्ष अवलोकन गर्न सकिन्छ।
नगदेशको कोर बस्तीमा ९ वटा मुख्य टोल छन्। ती हुन्- न्या गाः, पुखुसि, लाछि, बहाननी, न्हुछे झो, छ्वासः, ध्वाकासी, त्वा गाः, पाच ननी। नगदेशका आदिवासी अर्थात रैथानेहरू बाडे, कोजु, तको, दुवाल, छुँजु, अवाल, प्रधानांग, हाकु, दुगु, ध्याको हुन्।
नगदेशको बिहानी नै तरकारी बजारबाटै शुरु हुन्छ। सूर्योदय हुनुअघि नै रातभर न्या गाः टोलमा तरकारी बजार लाग्छ। त्यसो त, उक्त तरकारी बजार राति ११ बजे नै शुरु भइसकेको हुन्छ। र, बिहान ५ बजेसम्म चल्छ। यहाँका बासिन्दाहरूले खासगरी स्थानीय गार्चा टोलमा राति ११ देखि बिहान ५ बजेसम्म लाग्ने तरकारी बजारमा आफूले दिनभरि मुठ्ठा बाँधेका तरकारी पखालेर बिक्रीमा राख्छन्। रात्रि बजारमा विभिन्न ठाउँबाट व्यापारीहरू तरकारी खरिद गर्न आउँछन्। कुनै-कुनै किसान भने काठमाडौंको कालीमाटीमा गएर आफैंले पनि तरकारी बेच्छन्।
सूर्योदय हुनासाथ किसानहरू आ-आफ्ना कुटो, कोदालो बोकेर हस्याङफस्याङ गर्दै खेततिर लाग्छन्। घरका स-साना आँगनमा धनिया, पालुङ, चम्सुर र अन्य साग बाँध्न ल्याइपुर्याउँछन्, खेतबाट।
स्थानीय कृषकका खेतहरू नगदेश, दिव्येश्वरी टाउन प्लानिङ, मगर गाउँ, धुन्चो पाखा, धपर्के, गठ्ठाघर वारिपारि तथा बोडे र नीलवाराहीको तल्लो भेगस्थित मनोहरा फाँट, घखु, पारिपट्टि मुलपानी, सिद्धिकाली, दुवाकोट, चाँगुनारायणको तल्लो भेगमा छन्। हरेक किसानले आ-आफ्ना खेतमा छाप्रा बनाएका छन्। र, किसानहरूले शुरुमा खेतबाट संकलित तरकारी तिनै छाप्रामा राख्छन्। र, साँझ लिएर आउँछन्। ती छाप्रा तरकारी मात्र होइन, मल र कृषि औजार राख्न पनि प्रयोग हुन्छन्।
नगदेश पुग्दै थाहा हुन्छ, यो नगर आत्मनिर्भर छ। आफू मात्र आत्मनिर्भर छैन, आसपासका सबै बस्तीलाई तरकारी खुवाइरहेको छ। तरकारी खेती यहाँका बासिन्दाहरूको पहिचान नै हो। यहाँका बासिन्दाका लागि तरकारी केवल खानेकुरा मात्र होइन, उनीहरूको जीवनको आधार, पहिचान र भविष्य पनि हो।
०००
सूर्योदय हुनासाथ मंगलबहादुर वैद्य आफ्नो साइकलमा बोरा बाँधेर बारीतिर लाग्छन्। उनी उमेरले ६० कटिसकेका छन्। तर, माटोसँग उनको माया उस्तै छ। करिब १ रोपनी आफ्नै र २ रोपनी भाडामा लिएर खेती गर्दै आएका उनी आफ्नो पेशाबाट निकै सन्तुष्ट छन्। भन्छन्, ‘यही तरकारी खेती गरेरै उमेर ढल्क्यो, जीवनमा अन्य पेशा गरिनँ। बुढेसकालको सहारा पनि यही कृषि बनेको छ।’
उनको भनाइमा पहिलेको र अहिलेको कृषिमा धेरै परिवर्तन आएको छ। पहिले सवारी साधन, मेसिन आदि नहँुदा काम गर्न निकै समय लाग्थ्यो र मिहिनेत पनि बढी पर्थ्यो। अहिले भने विभिन्न मेसिनको प्रयोगले काम गर्न निकै सजिलो भएको उनी बताउँछन्। उनी वर्षायाममा करिब १ रोपनीमा धान रोप्छन् र बाँकी जमिनमा तरकारी लगाउँछन्।
मंगलबहादुरको ६ जनाको परिवारको गुजारा तरकारी खेतीबाटै हुन्छ। भन्छन्, ‘छोराछोरी साना छँदा त तरकारी खेतीले राम्ररी नै घर खर्च पुग्थ्यो। तर, अहिलेको बढ्दो महँगी, छोराछोरीको स्कुल फी आदिले घर खर्च टार्नमा समस्या आएको छ।’
उनका अनुसार व्यापार राम्रो भयो भने आम्दानी पनि राम्रै हुन्छ। तर, जहिल्यै व्यापार राम्रो हुन्छ भन्ने हुँदैन। उनी आफूले उत्पादन गरेका तरकारी हरेक दिन नगदेशको गार्चामा लाग्ने रात्रि बजारमा पुर्याएर बिक्री गर्छन्।
भन्छन्, ‘छोराछोरीहरू अहिले ठूला भइसके। उनीहरू आफ्नै पढाइअनुसारको काम गर्छन्। खेतीमा उनीहरूले खासै रुचि देखाउँदैनन्। अहिले खेती गर्न विभिन्न मेसिनले सहज भए पनि खेतीयुक्त जमिन सबै प्लानिङ भएका छन्। र, नयाँ पुस्ताको खेतीमा रुचि पनि कम हुँदै गएको छ।’
०००
नगदेशकै स्थायी बासिन्दा रविन घजुको दैनिकी पनि फरक छैन। उनी सूर्यका किरण आँगनमा पर्नासाथ कुटो, कोदालो बोकी खेततिर लाग्छन्। उसो त, उनका बा, हजुरबाले पनि खेती नै गर्थे। अनि रविनको जीवन पनि माटोमा रमाउँदै बितिरहेको छ। करिब ३ रोपनीमा तरकारी खेती गर्दै आएका घजुले हरियो साग, चम्सुर, पालुङ, धनिया, प्याज, मुला, गाँजर, चाइनिज बन्दालगायत तरकारी फलाउँछन्।
रविनको तीनजनाको परिवार तरकारी खेतीबाटै धानिएको छ। यसबाट आम्दानी त हुन्छ। तर, महँगो मल र अस्थिर मौसमका कारण कहिलेकाहीं नोक्सानी पनि बेहोर्नुपर्ने उनी बताउँछन्। भन्छन्, ‘मैले छोरालाई यही खेतीकै कमाइबाट हुर्काएँ, पढाएँ। अहिले तरकारीको माग बढी छ। मौसमले साथ दियो भने राम्रै आम्दानी पनि हुन्छ।’
०००
२२ वर्षीया रिया बाडे सानैदेखि खेतमा जान्थिन्। उनका बाबु-आमा किसान हुन्। र, उनीहरूको दैनिकी माटोसँग जोडिएको छ। अन्य साथीहरू खेल्न व्यस्त हुँदा उनी भने आमासित खेतको गोडमेल सिक्थिन्। उनी अहिले स्नातक तहमा अध्ययनरत छिन्। र, पढाइका साथमा खेतीमा बाआमालाई पनि सघाउँछिन्।
उनी सबेरै कलेज जान्छिन्। कलेजबाट घर आएर खाना खाइसकेपछि आमालाई तरकारी बाँध्न सघाउँछिन्। केहीबेर सघाएर उनी आफ्नो कलेजका कामहरूमा लाग्छिन्। भन्छिन्, ‘बाआमाले हामीलाई खेती गरेरै हुर्काउनुभयो। केहीबेर आमासँग तरकारी बाँध्दै कुराकानी गर्दा खुशी लाग्छ।’
०००
४४ वर्षीया सानु कपालीले नगदेशमा खेती गर्दै आएको १९ वर्ष बित्यो। उनी आफ्नो श्रीमानसँगै खेतीमा रमाएकी छन्। करिब ३ रोपनीमा पसिना बगाउँछिन्। र, बारीमा प्याज, मुला, चम्सुर, पालुङ, धनिया उब्जाउँछिन्।
भन्छिन्, ‘हामी तरकारी नगदेश बजारमा बेच्दैनम्। काठमाडौंमा हाम्रो आफ्नै पसल छ। र, बिहान सबेरै श्रीमानले पसलमा लगेर तरकारी बेच्नु हुन्छ।’ उनका अनुसार त्यसबाहेक काठमाडौंका ८ वटा होटल र रेस्टुराँमा सीधै तरकारी पुर्याउँछन्। र, कहिलेकाहीं अर्डर लिएको ठाउँमा आफ्नो उत्पादनले नपुग्दा नगदेशको रात्रि बजारबाट किनेर लैजान्छन्। त्यसमध्ये केही पसलमा राख्छन् भने केही होटल, रेस्टुराँमा पुर्याइदिन्छन्।
सानुका अनुसार खेती गर्दा चुनौतीहरू धेरै आउँछन्। जस्तै- मौसम परिवर्तन, खडेरी, भारी वर्षा, महँगी। भन्छिन्, ‘जतिसुकै चुनौती आए पनि यसलाई सामना गर्दै अगाडि बढ्छु। र, जब यी कठिनाइपछि उम्रेका तरकारी देख्छु, तब मन असाध्यै रमाउँछ र प्रशन्नता छाउँछ।’ कृषि उनको जीवनको अभिन्न अंग बनेको छ। सानुका लागि खेती केवल आम्दानीको स्रोत होइन, उनको पहिचान नै हो।
०००
नगदेशमा हरियो तरकारी बिक्रीका लागि बजारको अभाव छैन। तर, किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन्। यसरी दिनरात नभनी कृषि गरिरहेका कृषक तुसीकृष्ण उप आफूले परिश्रम गरेजतिको बजार भाउ नपाएको गुनासो गर्छन्।
०००
मध्यपुर थिमि-७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति भने किसानलाई प्रोत्साहन दिँदै उनीहरूका लागि विभिन्न तालिम सञ्चालन गर्दै आएको बताउँछन्। भन्छन्, ‘वडामा किसानहरूले कृषि समूह पनि बनाएका छन्, जहाँ उनीहरूका गुनासा, समस्या, मागका विषयमा कुराकानी हुन्छ। किसानका लागि आवश्यक सामान, बन्दोबस्त सकेसम्म निःशुल्क उपलब्ध गराउने हाम्रो योजना छ।’