भैरहवा- नेपालमै केही गर्न सकिन्छ भन्ने दृढ विश्वास राख्ने ३३ वर्षीय विकास भुसाल आज एक सफल उद्यमीका रूपमा परिचित छन्। अर्घाखाँचीको पाणिनी गाउँपालिका-३ का उनी केही वर्षयता कृषि उत्पादनमा सक्रिय छन्।
उनको खेतीमा फलेका छन्, सुन्तला र मौसमी अन्नबाली। पोल्ट्री फार्ममार्फत कुखरा पालन अगाडि बढाएका छन्। त्यसबाहेक हार्डवेयर र किराना पसल पनि सञ्चालन गर्दै आएका छन्।
देशभरका युवा रोजगारीको खोजीमा विदेशिएका छन्। तर, स्वदेश अझ घर-गाउँमै बसेर उद्यम गरी मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, विकास।
उनले १० रोपनीमा व्यावसायिक सुन्तला खेती, अन्नबाली उत्पादन, पोल्ट्री व्यवसाय र व्यापार सञ्चालन गरेका छन्। व्यवसायबाट राम्रो आम्दानी भइरहेकाले उनले स्कोर्पियो र बोलेरो गाडी खरिद गरेका छन्। ती गाडी उनी आफैं चलाउँछन्।
सुन्तलामा सफलता
विकासले परम्परागत कृषिमा सीमित नरही सुन्तला खेतीलाई व्यावसायिक रूप दिएका छन्। उनले १० रोपनीमा सुन्तला खेती गर्दै आएका छन्, जसबाट वार्षिक ८ लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ।
कृषकले उत्पादन गरेपछि बजार पाउँदैनन् भन्ने आम धारणा तोड्दै उनले स्वयं उत्पादनलाई बजारसम्म पुर्याउने व्यवस्था मिलाएका छन्। भन्छनु, ‘यदि किसानले गुणस्तरीय उत्पादन गर्न सके बजार आफैं आउँछ। अहिले मेरो फार्ममै थोक खरिदकर्ताहरू आउँछन् र उचित मूल्यमा सुन्तला किन्छन्।’
सुन्तलासँगै उनले धान, मकै, गहुँलगायत मौसमी अन्नबाली उत्पादन गर्दै आएका छन्। अहिले आँप, ड्र्यागन फ्रुट र लिची खेती पनि विस्तार गरेका छन्।
भन्छन्, ‘अहिले नगदे बालीभन्दा फलफूल खेतीमा राम्रो आम्दानी हुन्छ भन्ने मेरो बुझाइ छ। त्यसैले १०० मुरी धान फल्ने खेतमा फलफूल खेती शुरु गरेको छु।’
व्यावसायिक पोल्ट्री फार्म : ५० चल्लाबाट ३ हजार कुखुरासम्मको यात्रा
सुन्तला खेतीसँगै उनले पोल्ट्री व्यवसाय पनि सफलतापूर्वक सञ्चालन गरिरहेका छन्। शुरुमा ५० वटा चल्लाबाट शुरु भएको पोल्ट्री फार्म अहिले ३ हजारभन्दा बढी कुखुरा उत्पादन गर्ने स्तरमा पुगेको छ। यस व्यवसायबाट मात्रै उनले वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्।
हाल पोल्ट्री व्यवसायप्रति युवाको चासो घट्दै गएको देख्दा विकास भन्छन्, ‘थोरै मिहिनेत गरे पनि कुखुरा पालनबाट राम्रो आम्दानी गर्न सकिन्छ। त्यसैले विदेश जानुभन्दा स्वदेशमै बसेर उद्यम गर्नुपर्छ।’
व्यापार र आम्दानीको विविधीकरण
खेतीसँगै उनले हार्डवेयर, किराना पसल र चामल मिल सञ्चालन गर्दै आएका छन्। विभिन्न व्यवसायलाई एकसाथ सञ्चालन गरेर उनले जोखिमलाई कम गर्दै आम्दानीको स्रोतलाई विविध बनाएका छन्। ती व्यवसायमा उनले १५ भन्दा बढी स्थानीय युवालाई रोजगारीसमेत दिएका छन्।
लगानी यातायातमा पनि
व्यावसायिक यात्रामा उनले शुरुवाती लगानी अभाव, अस्थिर बजार, मौसमका कारण हुने नोक्सानीजस्ता चुनौतीहरू सामना गरे। तर, सही योजना, मिहिनेत र लगनशीलताका कारण उनले यी सबै समस्याहरू पार गरे।
आम्दानी राम्रो भएपछि उनले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि स्कोर्पियो र बोलेरो गाडी खरिद गरे। यी गाडीहरूले उत्पादनलाई बजारसम्म पुर्याउन सहयोग गरेका छन्, जसले उनको व्यवसायलाई अझ गतिशील बनाएको छ। अझ विशेष कुरा के छ भने विकास आफ्ना गाडी आफैं चलाउँछन्, अर्को चालक राख्नुपरेको छैन।
छैन सरकारी सहयोग
व्यावसायिक रूपमा यति सफल भए पनि विकास भुसालले स्थानीय तहबाट कुनै पनि अनुदान वा सुविधा पाएका छैनन्।
जे जस्तो भए पनि उनले आफूलाई एक सफल कृषक, सफल व्यवसायी र एजेन्सी म्यानेजरका रूपमा आफ्नो नाम स्थापित गराउन सफलता पाएका छन्।
हो, उनी आफ्नो अन्य व्यापार व्यवसायसँगै बीमाको काम पनि हेर्ने गर्छन्। र, नेपाल लाइफ इन्स्यारेन्स चनौटा शाखाका एजेन्सी म्यानेजरसमेत हुन्। उनले बीमा क्षेत्रमा पनि विगत तीन वर्षमा राम्रो सफलता हात पारेका छन्।
‘हामीजस्ता मिहिनेती किसानलाई सरकारी योजना र अनुदानले छुन सक्नुपर्छ। किसानलाई दिने भनिएको सुविधा सम्बन्धित किसानसम्म पुग्न जरुरी छ।’
विकास भुसालको कथा नेपालमै बसेर मिहिनेत गर्न चाहने युवाका लागि प्रेरणादायी छ। उनले प्रमाणित गरेका छन्- शहरी जीवनमा नभएर गाउँमै बसेर पनि करोडौं आम्दानी गर्न सकिन्छ।
उनको सफलता विदेश जान चाहने युवाका लागि सन्देश हो- ‘नेपालमै सुन फलाउन सकिन्छ, यदि मिहिनेत गर्न सकियो भने !’