भैरहवा- बालक हुन् वा वृद्ध, चाडपर्वका रङले कसलाई छुँदैन होला र ! अझ रंगै रंगको पर्व होली। यतिबेला नेपाल मात्र नभएर छिमेकी राष्ट्र भारतमा पनि होलीको उत्साहले माहोल तताएको छ।
होली हिन्दू धर्मको प्रमुख पर्व हो, जसलाई रंगहरूको उत्सव पनि भनिन्छ। यसको इतिहास पुरानो धार्मिक कथासँग जोडिएको छ।
होली नजिकिँदै गर्दा भैरहवा बजारमा रौनक बढेको छ। रंग, पिचकारी, अबिर र मिठाइ किनमेल गर्नेहरूको भीडले बजारहरू भरिभराउ बनेका छन्। सबैका हातहातमा रङ र मिठाइका डब्बा देखिन्छन्। होलीको चहलपहल विद्यालयहरूमा पनि देखिएको छ। भैरहवामा पनि मेरीगोल्ड मन्टेस्वरी स्कुल, रुपन्देही क्याम्पस, लुम्बिनी प्रेस क्लब, किराना तथा प्लास्टिक व्यवसायी संघ भैरहवालगायतले होली मिलन कार्यक्रम गरेका छन्।
कार्यक्रममा बालबालिकाहरूले आपसमा रंग लगाउँदै नाचगान गरेर रमाइलो गरेका छन्। विद्यार्थीहरूले आपसमा रंग लगाउँदै होलीको उत्साह व्यक्त गरेका थिए।
होली पर्वले हिन्दू संस्कृतिअनुसार विशेष महत्त्व राख्छ। तर, अहिले मानिसहरूले होली पर्वको नाममा विकृति निम्त्याएको सिद्धार्थनगर नगरपालिका-९ का वडाध्यक्ष शेषकान्त भण्डारीले बताए। सांस्कृतिक पक्ष बुझ्दै रमाइलो गर्न पाउनु राम्रो हो तर मर्यादित तरिकाले पर्व मनाउनु जरुरी रहेको भण्डारीले बताए।
नेपालमा होली विशेष गरी दुई दिन मनाइन्छ- एक दिन हिमाली र पहाडी भेगमा अनि अर्को दिन तराईमा।
पोखराबाट आएका भोजराज ज्ञवाली आफू तराईकै भए पनि लामो समय पोखरामै बस्दै आएकाले पहाडीभन्दा तराईकै होली रमाइलो लाग्ने बताउँछन्।
बजारमा यसपालि पनि रंग र पिचकारीको बिक्री राम्रो भइरहेको भैरहवाका व्यापारी सुधीरले बताए। बजारमा बालबालिकादेखि युवासम्म सबैले होलीको चासो देखाइरहेका छन्।
परिवर्तित समयसँगै हरेक कुरामा परिवर्तन भएको छ। होलीकै सन्दर्भलाई हेर्ने हो भने पहिला सामान्य रंगसँग होली खेलिन्थ्यो भने अहिले विभिन्न रंग, किसिम–किसिमका पिच्कारी, स्प्रेलगायत सामग्री प्रयोग गर्दै होली खेलिन्छ।
बजारमा होलीको उमंग बढ्दो छ। व्यापारी, विभिन्न संघसंस्थाका मानिस, विद्यार्थीहरू सबै आ–आफ्नो तरिकाले पर्वको तयारीमा जुटेका छन्।
होली भारत, नेपाल र अन्य मुलुकका हिन्दू समुदायमा हर्षोल्लासका साथ मनाइन्छ, जसमा होलिका दहन र अर्को दिन रंग खेल्ने परम्परा छ।