काठमाडौं- ६७ वर्षीय अष्टबहादुर बाडे गुठीमा आबद्ध भएको ३२ वर्ष बित्यो। उनी मध्यपुर थिमि-७ नगदेशका बासिन्दा हुन्। बुवा बितेपछि उनी बुवाको तर्फबाट गुठीमा आवद्ध भएका हुन्। आफ्नो संस्कृति जोगाउने उद्देश्यले उनले गुठीमा आबद्धतालाई निरन्तरता दिएका हुन्।
भन्छन्, ‘गुठी हाम्रो संस्कृति र सामाजिक परम्परा हो। त्यसकै मूल्य, मान्यताअनुसार समाज अगाडि बढिरहेको छ।’ उनका अनुसार गुठीका सदस्यहरूले समाजमा बस्दा के गर्ने र कसरी बस्ने भन्ने नियम बनाइएको छ। सोही आधारमा कला, संस्कृति, रीतिरिवाज र चाडपर्व जीवित रहेको उनको मान्यता छ। भन्छन्, ‘त्यसैले यस्ता परम्पराहरूलाई जीवित राख्न आवश्यक छ। हाम्रा पूर्खाहरूले आफ्ना भावी सन्ततीका लागि यस्तो जिम्मेवारीयुक्त समूहको थालनी गरेका हुन्।’
उनका अनुसार बाडे आबद्ध गुठीमा करिब २४० जना गुठीयार छन्। र, ती सदस्यहरूले विभिन्न काम गर्छन्। गुठीमा आबद्ध सदस्यको मृत्यु भएमा लासलाई मसानघाट पुर्याउने, लास जलाउन मुडा व्यवस्थापन, काजकिरिया गर्ने-गराउने मात्र होइन, मन्दिर र पाटीपौवा निर्माणलगायत ठूल-ठूला कार्यहरूमा पनि गुठीले मद्दत गर्छ।
उनका अनुसार गुठीका काममा पुरुष मात्र जान मिल्ने नियम छ। र, गुठीमा हुने असामान्य घटनामा पुरुषको संलग्नता अनिवार्य छ। गुठीअन्तर्गत श्रीपञ्चमी र होलीका दिन वर्षको २ पटक भोज गर्ने चलन रहिआएको छ। र, त्यस्ता भोजलगायत कार्यहरूमा गुठीयारहरू सबैलाई विभिन्न जिम्मेवारी सुम्पिने प्रचलन छ। जस्तै- पकाउने, ओसारपोसार गर्ने, सरसफाइ गर्ने, मन्दिर जाने, सूचना दिने, खाना थप्न लैजानेलगायत कामको बाँडफाँट गरिएको हुन्छ। गुठी भोजमा सबै सदस्य एकसाथ बस्नुपर्ने नियम छ।
भन्छन्, ‘गुठी भोजमा गुठीयारहरू अनिवार्य जानैपर्छ, नगएमा जरिवाना तिर्नुपर्ने नियम छ।’ उनका अनुसार भोजमा जाँदा गुठीयारहरूले गुठीको थालमा चामल, फूल, पैसा र अण्डा राखेर लैजानुपर्छ। सबै गुठीयार भेला भएपछि गुठीका नाइकेहरू गणेश मन्दिरमा पूजा गर्न जान्छन्। र, अन्तिममा भोज सकिएपछि गुठीमा पकाएका भोजका परिकारहरू घर-घरका लागि बाँडिन्छ। र, घर लगेर सबै परिवारले मिलेर खान्छन्।
०००
गुठी नेपालको परम्परागत विश्वास र सांस्कृतिक सम्पदाको संरक्षणमा केन्द्रित रहेको एउटा महत्त्वपूर्ण विषय मानिन्छ। नेपालमा गुठी प्रणालीको गहिरो ऐतिहासिक, धार्मिक र सांस्कृतिक जग छ। यसले धार्मिक स्थल, चाडपर्व र सामुदायिक कल्याण कार्यक्रमको व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका वहन गर्दै आएको छ। यसमा मूर्त र अमूर्त विभिन्न अभ्यास छन्।
नेपाल गुठी परम्परा रहेको विश्वको एक मात्र मुलुक हो। राज र निजी गरी गुठीका २ प्रकारका हुन्छन्। जानकारहरूका अनुसार राज गुठी विशेष प्रकारको गुठी हो। यो परम्परागत, सामुदायिक, धार्मिक र सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्न प्रयोग गरिन्छ। राज गुठीलाई तत्कालीन शाही परिवारका सदस्यहरूद्वारा ऐतिहासिक रूपमा दान गरिएको कोष हो। यस गुठीले आफ्नो समुदायको सामाजिक, आर्थिक स्थितिलाई साथ दिन भूमि ट्रस्टहरू खडा गरेको हुन्छ। र, त्यस्ता ट्रस्टले परम्परागत कला, शिल्प र धार्मिक अभ्यासहरू सिकाउने विद्यालय र संस्थाहरूलाई सहायता दिन्छन्। अनि, समुदायले सामुदायिक विकास परियोजनालाई सहायता गर्ने कोषहरूको व्यवस्थापन गर्छ।
यस्तै, निजी गुठी भन्नाले आफ्नो समुदायमा दाजुभाइ, इष्टमित्र, छरछिमेकीसँग मिलेर बनाइएको एउटा संस्था हो। यो गुठी समाजमा एकअर्कालाई सहयोग गर्ने हेतुले खडा गरिएको हो।
०००
भक्तपुरका ज्ञानसागर प्रजापति आफ्नो समुदायको गुठीअन्तर्गत बुवाको सत्तामा सहभागी हुन थालेको करिब १५ वर्ष बितेको छ। उनी भन्छन्, ‘मेरो बुवा ९५ वर्षको हुनु भयो। शारीरिक अवस्थाका कारण उहाँ गुठीमा आवश्यक काम गर्न जान नसकेका कारण उहाँको साटो म सहभागी भइरहेको छु।’
उनका अनुसार गुठीयारहरू मध्ये कसैको घरमा मुत्यु संस्कारका क्रममा कोही आयो कि आएन भनेर विद्यालयहरूमा शिक्षकले विद्यार्थीको हाजिरी लिएजसरी नै गुठीका नाइकेहरूले हाजिरी लिन्छन्। त्यसरी हाजिरी लिने कापीलाई नेपाल भाषामा थ्यासपु भनिन्छ। त्यस्तो अवस्थामा गुठीका नाइकेहरूले ५ पटकसम्म थ्यासपु लिने गर्छन्।
गुठीयारमध्ये कसैको मृत्यु भएमा सम्बन्धित परिवारका सदस्यले गुठीको पालो परेको व्यक्तिलाई खबर दिन्छन्। र, ती व्यक्तिले सबै गुठीयारलाई मलामी जान सूचना दिन्छन्। त्यसपछि सबै गुठीयार मृतकको घरमा जानुअघि दाउरा राखिएको घरमा भेला हुन्छन्। दाउरा निकाल्ने समयमा सबैजना आए कि आएनन् भनी पहिलो हाजिर लिइन्छ। त्यसपछि जहाँ मानिसको मृत्यु भएको हो, त्यहाँ गएर लासमा तेल र गाजल लगाउने तथा लास बोक्ने समयमा हाजिरी लिइन्छ। दागबत्ती दिने समयमा तेस्रोपटक हाजिरी लिइन्छ। अन्तिममा लास जलिसकेपछि खरानी मान्द्रोमा हालेर बगाउने समयमा चौथो हाजिरी लिइन्छ। यदि ती सबै काममा कोही अनुपस्थित देखियो भने हाजिरी कापीमा खरीले एक धर्को तानिन्छ। त्यसरी नै पटकैपिच्छे १-१ धर्को तानिन्छ। र, चार धर्कासम्म पुग्यो भने सजाय दिने चलन छ।
प्रजापति भन्छन्, ‘यदि गुठीका कार्यहरूको खबर पाए पनि नआउने, देखे पनि नदेखेझैं गर्ने, झुटो बोल्नेजस्ता क्रियाकलाप गर्ने सदस्यलाई ‘अत्तेरी दण्ड’ दिइन्छ। र, मुल नाइकेहरूले जति पैसा भने, त्यति नै तिर्नुपर्छ। र, सबै गुठीयारको सामुन्ने उपस्थित भएर माफी माग्नुपर्ने नियम छ। भन्छन्, ‘यदि गुठीको सदस्य बिरामी परेको या अन्य कुनै विशेष कारणले आउन सकेको रहेनछ भने माफी दिने चलन छ।’
०००
गुठीमा पहिलेभन्दा केही सकारात्मक परिवर्तन आएको उनको भनाइ छ। विगतमा ४ चोटी ४ दिनसम्म भोज गरिन्थ्यो भने अहिले वर्षमा २ पटक २ दिन मात्र गर्ने चलन छ। यस्तै, गुठीमा अहिले पनि पाटीपौवा, सडक, मन्दिर आदि बनाउने बेलामा झारा (श्रम दान) दिने चलन छ। आफ्नो गुठीमा एकल महिलालाई स्थान रहेको प्रजापति बताउँछन्।
गुठीमा ५ जना नाइके, बहिदार (हिसाबकिताब राख्ने)को पनि व्यवस्था हुन्छ। उनी भन्छन्, ‘गुठीमा धार्मिक सहिष्णुता पाइन्छ। गुठीमा भैरवको पूजा गरिन्छ तर भैरव पुज्दा पनि वर्षको एक दिन पञ्चारान चरेको दिन दिपंकर बुद्धलाई पुज्ने गरिन्छ। र, बुद्धको शिरमा तिङकिपा चढाउने गरिन्छ। यसको अर्थ हामी समग्रमा हिन्दू मान्छौं तर हिन्दू हुँदा पनि बुद्ध धर्मलाई समेत सम्मान गर्छौं।’
उनका अनुसार, गुठी कहिलेदेखि शुरु भएको हो भन्ने कुनै अभिलेख उपलब्ध छैन। तर, उनको गुठीमा २०० वर्ष पुरानो बटुको अद्यापि छँदैछ। त्यसले उनको गुठी २०० वर्षभन्दा अघिदेखि सञ्चालनमा रहेको प्रमाण दिएको छ।
उनको गुठीमा ६४ जना सदस्य छन्। उनको गुठीको पालो २ जनालाई दिइन्छ र उनीहरू नै मिलेर श्रीपञ्चमीको दिन र बिस्का जात्राको अगाडि भोज गर्छन्।
भन्छन्, ‘संस्कार हट्दैन, परिमार्जित ढंगले अगाडि बढ्छ। हामी सामाजिक प्राणी हौं। हामीलाई समाज त चाहिन्छ नै, मर्दापर्दा, आपद, विपदमा समाज चाहिन्छ। जस्तोसुकै आधुनिक परिवर्तन भए पनि समाजमा गुठी समूह रहन्छ।’
उनका अनुसार समाजमा गुठीको परम्पराले निरन्तरता पाउनु अत्यावश्यक छ। भन्छन्, ‘समय र परिस्थितिअनुसार परिमार्जन हुँदै जान्छ। समाज रहेसम्म समाजमा मिलेर बस्न, आफ्नो पहिचान जोगाउन, संस्कार, भाषा, भेष र धर्म बचाउन गुठी चाहिन्छ र गुठी रहन्छ।’