काठमाडौं- गत वर्ष २ चैतमा नाबालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा हिमालयन नेचुरल स्पा सेन्टरकी सञ्चालिका रमिला गौतम (स्मृति) पक्राउ परिन्। ४१ वर्षीया गौतमले लामो समयदेखि ठमेलको सातघुम्तिमा स्पा सेन्टर सञ्चालन गर्दै आएकी थिइन्।
पार्लरको काम सिकाउने भन्दै गौतमले नाबालिकालाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाउँदै आएकी थिइन्। प्रलोभनमा पारी जबर्जस्ती वेश्यावृत्तिमा लगाइएकी पीडित बालिकाले नै सञ्चालिका गौतमविरुद्ध मानव बेचविखन अनुसन्धान ब्युरोमा जाहेरी दिएपछि २ चैतमा उनी मानव बेचविखन तथा ओसारपसार अभियोगमा पक्राउ परेकी हुन्।
०००
यस्तै, गत १३ कात्तिकमा आर्थिक प्रलोभनमा पारी बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा ३८ वर्षीया सपना खवास पनि पक्राउ परिन्। लमजुङको बेसीशहर नगरपालिका-८ स्थायी घर भएकी सपनाले काठमाडौं ठमेलमै हिमालयन आयुर्वेदिक स्पा सञ्चालन गरेकी थिइन्।
स्पा सेन्टरमा मसाजको काममा राखिएका बालिकाहरूलाई सपनाले आर्थिक प्रलोभनमा पारी यौनजन्य क्रियाकलापमा लगाउँदै आएकी थिइन्। मसाज गर्न आएका ग्राहकले बालिकासँग यौन सम्पर्क राखेवापत प्रतिव्यक्ति १५ सय असुल पनि गर्दै आएकी थिएन्। प्रति पुरुष ५०० रुपैयाँ बालबालिकालाई दिएर आफूले १ हजार रुपैयाँ राख्ने बताउँथिन्। तर, त्यो ५०० पनि आफैं राख्थिन्। दैनिक ५-६ पुरुषसँग जबर्जस्ती यौन सम्बन्ध राख्न बालिकाहरूलाई बाध्य बनाउँथिन्।
यौनजन्य क्रियाकलापमा संलग्न रहेको कुरा आफन्तलगायत साथीहरूलाई भनिदिने त्रासमा पारी सपनाले महिनावारी भएको समयमा पनि बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेकी थिइन्।
मसाज सेन्टरमा वेश्यावृत्तिमा लगाइएकी पीडित बालिकाले सञ्चालिका सपनाविरुद्ध मानव बेचविखन अनुसन्धान ब्युरोमा जाहेरी दिइन्। र, अनुसन्धानमा खटिएको ब्युरोको टोलीले १३ कात्तिकमा नागार्जुन नगरपालिका-१ बाट उनलाई पक्राउ गर्यो। हाल उनी बेचविखन तथा ओसारपसार मुद्दामा जेल सजाय काटिरहेकी छन्।
०००
पछिल्ला वर्षमा शहर, बजारका स्पा तथा मसाज सेन्टरमा बाल वेश्यावृत्तिजस्तो जघन्य अपराध मौलाएको छ। र, यो समाजमा लुकेको अपराधका रूपमा वृद्धि भइरहेको नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन्। स्पा तथा मसाज सेन्टररू जुन प्रयोजनका लागि खोलिएका हुन्, त्यसबाहेक अन्य काम भइरहेको छ या छैन भनेर नियमित मनिटरिङ गर्नुपर्ने उनी बताउँछन्। तर, त्यसो हुन नसकेकामा उनी आपत्ति जनाउँछन्।
उनका अनुसार नेपालमा हरेक क्षेत्रमा अन्धाधुन्द लाइसेन्स दिने गरिन्छ। तर, ती क्षेत्रलाई निगरानी गर्ने जिम्मेवारी प्रहरीलाई मात्र दिइएको छ। नियमनकारी निकायले पनि निगरानीको जिम्मेवारी लिन आवश्यक छ। हाल मनोरञ्जन क्षेत्रमा बालिकालाई वेश्यावृत्तिमा लगाइएका घटना बढी सार्वजनिक भइरहेको उनी बताउँछन्। भन्छन्, ‘के कारणले यस्ता अपराधहरू बढिरहेका छन्, यसको नियमन गर्न कस्तो पहल चाल्नुपर्छ भन्ने कुरामा राज्यको गम्भीर ध्यानाकर्षण हुनुपर्छ।’
०००
बालिकाहरूलाई आर्थिक प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाइने क्रम नेपालका ठूल-ठूला शहरहरूमा बढ्दै गएको मानव बेचविखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवर बताउँछन्।
उनका अनुसार आर्थिक वर्ष ०७६-७७ देखि हालसम्म ब्युरोमा बालबालिकासम्बन्धी ६१ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये ३९ वटा आन्तरिक बेचविखन र बाल वेश्यावृत्ति)का छन्। यी पाँच वर्षमा विभिन्न मसाज सेन्टर, खाजा घर, होटेल तथा गेस्टहाउसमा वेश्यावृत्तिमा लगाइएका ४० बालिकालाई ब्युरोले उद्धार गरेको उनको भनाइ छ।
भन्छन्, ‘हालसम्म बालिकाहरूलाई आन्तरिक बेचविखन तथा वेश्यावृत्तिमा लगाएको आरोपमा ब्युरोले २७ महिला र २४ पुरुष गरी ६७ जनालाई पक्राउ गरेको छ।’
खासगरी, नाबालिकाहरूलाई मनोरञ्जन क्षेत्रहरूमा विभिन्न प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाइने ट्रेन्ड पुरानै हो। तर, केही वर्षयता यो क्रम झनै उकालो लाग्दै गएको छ। विगतमा यस्ता घटना खासै बाहिर आउँदैनथे। हाल ब्युरोले गोप्य स्रोतका आधारमा छापा मारेर वेश्यावृत्तिमा लगाइएका बालिकाहरूको उद्धार गरी अपराधीलाई कानूनी दायरामा ल्याउन महत्त्वपूर्ण भूमिका वहन गर्दै आएको प्रवक्ता कुँवरको भनाइ छ।
विगतका वर्षभन्दा हाल बाल वेश्यावृत्ति के-कति प्रतिशतले बढ्यो भन्ने कुनै आँकडा छैन। तर, बेरोजगारी समस्या र बढ्दो शहरीकरणले गर्दा विकासतर्फ उन्मुख भइरहेका शहर-बजारमा बालिकाहरूलाई रोजगारीको बहानामा वेश्यावृतिमा लगाइने ट्रेन्ड बढेको देख्न सकिन्छ।
बालिकाहरूलाई यौनजन्य क्रियाकलापमा संलग्न गराउनकै लागि अन्य मुलुकमा समेत बेचविखन गर्ने दर अझै घट्न नसकेको उनी बताउँछन्। भन्छन्, ‘आव ०७६-७७ यता जबर्जस्ती वेश्यावृत्तिमा लगाइएका २५ बालिका भारतबाट र १ बालिका चीनबाट उद्धार गरिएका छन्।’
हाल अतिथि सत्कारका क्षेत्रहरू तथा डान्सबार, क्लब, दोहोरी साँझ, खाजा घर र मसाज सेन्टरहरूमा बाल वेश्यावृत्तिको कहर बढ्दो छ। यस्ता क्षेत्रहरूमा बालिकाहरू नजिककै साथी तथा आफन्तको माध्यमबाटै फस्न पुग्छन्।
कुँवरका अनुसार कतिपय अवस्थामा बालिकाहरूलाई वेश्यावृत्तिको बारेमा जानकारी गराएरै संलग्न गराइन्छ। तर, धेरैजसो केसमा काम एउटा भनेर डर, त्रास देखाई वा कुनै प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाइन्छ। १८ वर्षमुनिका बालिकालाई प्रलोभनमा पारी स्वेच्छाले यौनजन्य क्रियाकलापमा संलग्न गराउनु पनि बेचविखन गर्नु हो। यो विषयमा हरेक नेपाली नागरिकले बुझ्न आवश्यक रहेको उनको भनाइ छ।
अझ कानूनले १८ वर्षमुनिका किशोरीहरूसँग सहमतिमै यौन सम्बन्ध राखे पनि बलात्कार ठहरिने व्यवस्था गरेको छ। १८ देखि २० वर्षको उमेरलाई पनि कानूनले स्पष्ट व्याख्या नगरेकाले सहमतिमै यौन सम्बन्ध राख्दा पनि अपराध ठहरिन्छ।
कसरी फस्छन् किशोरीहरू वेश्यावृत्तिमा
विपन्न वर्गका बालिकाहरू घरको आर्थिक अवस्थाकै कारण आफन्त तथा साथीभाइको लहलहैमा लागि रोजगारीको खोजीमा शहर-बजार भित्रिन्छन्। जीविकोपार्जनका लागि जस्तोसुकै काम गर्न तयार हुने अबुझ बालिकालाई शुरुमा होटेल, रेस्टुराँ, खाजाघर तथा मसाज सेन्टरहरूमा सरसफाइ र वेटरको काममा लगाइन्छ। तर, विस्तारै उनीहरूलाई डर, त्रास देखाएर वा प्रलोभनमा पारेर वेश्यावृत्ति गर्न बाध्य पारिने गरेको प्रहरीको अनुसन्धानले प्रष्ट्याउँछ।
यस पेशाबाट कमाइ राम्रो हुने भनेपछि आर्थिक अवस्था कमजोर भई कामको खोजीमा शहर भित्रिएका धेरै बालिका अञ्जानमै सहमति जनाउँछन्। विस्तारै उनीहरूलाई नराम्रो लाग्न थाल्छ। र, घर फर्किन चाहन्छन्। तर, परिवार र आफन्तलाई भनिदिने त्रास देखाएर उनीहरूलाई ब्ल्याकमेल गरी जबर्जस्ती वेश्यावृत्तिमा लगाइने एसपी कुँवर बताउँछन्।
उनका अनुसार बाल वेश्यावृत्तिको कहर काठमाडौंका नयाँ बसपार्क, कलंकी, गोंगबु, कोटेश्वर र जडीबुटी क्षेत्रमा बढी छ। यस्तै, नेपालका अन्य टप सिटीमा पनि यो अपराध बढ्दै गएको देखिन्छ। खासगरी, पूर्वको बिर्तामोड, इटहरी, बुटवल र पोखरालगायत शहरमा यो अपराध बढ्दो छ।
विभिन्न होटेल, खाजाघर तथा मसाज सेन्टरमा वेश्यावृत्तिमा लगाइएका बालिकालाई उद्धार गरेपछि उनीहरूलाई केही दिन आवास गृहमा राखिन्छ। त्यसपछि काउन्सेलिङ, स्वास्थ्य परीक्षण र कानूनी साहयता प्रदान गरिन्छ। अधिकांश केसमा उद्धार गरिएका बालिकालाई परिवारको जिम्मा लगाइन्छ। तर, केही परिवारले स्वीकार गर्न मान्दैनन्। यस्तो अवस्थामा स्रोत, साधनसम्पन्न संस्थाहरूले पीडित बालिकाको सम्पूर्ण जिम्मेवारी वहन गर्ने गरेको एसपी कुँवर बताउँछन्।