काठमाडौं- १३ वर्षीय नम्रता तामाङले ५ वर्षयता परियत्ति शिक्षा लिँदै आएकी छन्। उनले कक्षा-२ पढ्दैदेखि परियत्ति पढ्न थालेकी हुन्। उनको विद्यालय शिक्षामा पनि परियत्ति शिक्षाले निकै मद्दत गरेको छ। हरेक शनिबार बिहान ८ देखि १० बजेसम्म नगदेश बुद्ध विहारमा परियत्ति शिक्षा लिन आउने उनी यो शिक्षाबाट निकै आनन्दित छिन्।
उनले साथीबाट परियत्ति शिक्षाको बारेमा सुनेकी थिइन्। यसबारे जिज्ञासाकै कारण उनी त्यही समयमा परियत्ति शिक्षा लिन नगदेश बुद्ध विहार आएकी थिइन्। पहिलो दिन नै त्यसबारे गुरुबाट प्राप्त ज्ञानले आनन्दित बनायो उनलाई। कथाको माध्यमबाट पढाइने भएकाले पनि उनलाई परियत्ति शिक्षा पढ्न रमाइलो लागेको थियो। त्यसपछि उनले यसैलाई निरन्तरता दिने सोच बनाइन्।
शुरुका दिनहरूमा नम्रतालाई परियत्ति शिक्षा लिन उनको परिवारले अनुमति दिएको थिएन। तर, विस्तारै यो शिक्षाबारे चेतना बढ्दै गर्दा उनले परिवारबाट साथ र सहयोग पाइन्। उनले यो शिक्षा लिन थालेको ५ वर्ष बित्यो। सोही शिक्षाका कारण आफूमा सकारात्मक परिवर्तन आएको उनले बुझेकी छन्। र, आफ्नो उदाहरण दिँदै आफ्नै उमेरका अन्य साथीभाइलाई पनि परियत्ति शिक्षा लिन सुझाउने गरेको उनी बताउँछिन्।
०००
परियत्ति शिक्षा नेपालभरका हरेक बौद्ध विहारमा दिइन्छ। नेपालमा काठमाडौं शान्तिनगर गेटको ठ्याक्कै पारिपट्टि रहेको विश्व शान्ति विहार परियत्ति शिक्षाको मुख्य केन्द्र हो। परियत्ति शिक्षा सञ्चालन गर्ने मुख्य गुरु भिक्षु महास्थवीर बोधीज्ञान भन्ते हुन्। नेपालभरमा परियत्ति शिक्षा केन्द्र हाल १४० वटा रहेको विश्व शान्ति विहारकी प्रितिका शाक्य बताउँछिन्।
०००
१६ वर्षीया महिमा श्रेष्ठ पनि ५ वर्षयता नगदेश बुद्ध विहारमा परियत्ति शिक्षा अध्ययन गर्न आइरहेकी छन्। उनलाई सानैदेखि घरमा आमाबुबाले बुद्धका बारेमा सुनाउने गर्थे। प्रायः महिमाकी हजुरआमा विहारमा पूजा गर्न आउँथिन्। एकपटक महिमा पनि शनिबारको अवसर पारी हजुरआमासँग विहारमा पूजा गर्न आएकी थिइन्। त्यहाँ उनले परियत्ति शिक्षा पढाइरहेको देखिन्। कक्षामा आफ्नै उमेरका बालबालिका देखेपछि उनको ध्यान तानियो। र, उनी कक्षामा बसिन्।
कक्षामा बुद्धका कथाहरू सुनाइयो। र, महिमालाई पनि परियत्ति शिक्षाप्रति रुति बढ्यो। त्यसपछि हरेक शनिबार विहारमा आएर परियत्ति शिक्षा लिने सोच बनाइन्। हरेक शनिबार ८ बजे नै विहार आइपुग्छिन्। विहार आएर ध्यान गर्दा आफ्नो मन शान्त हुने गरेको उनी बताउँछिन्। भन्छिन्, ‘मलाई घरमा गाह्रो भएको बेला पनि ध्यान गर्छु, जसले मलाई आनन्दित बनाउँछ।’
परियत्ति शिक्षा लिन थालेपछि स्कुलको पढाइ र दैनिक जीवनमा पनि परिवर्तन आएको उनको भनाइ छ। यस शिक्षाबाट महिमाले धेरै ज्ञान हासिल गरेकी छन्। त्यसमध्ये एक हो, पञ्चशील। पञ्चशील ५ प्रकारको नियम हो, जुन हाम्रो जीवनका लागि महत्त्वपूर्ण मानिन्छ। यसमा प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, झुठो नबोल्ने, व्यभिचार नगर्ने र जाँडरक्सीको सेवन गर्न नहुनेलगायत कुरा सिकाइन्छ।
०००
यस्तै, ११ वर्षीय निर्वाण त्वानावासु पनि विगत २ वर्षदेखि परियत्ति शिक्षा अध्ययन गर्न नगदेश बुद्ध विहार आउँछन्। उनी अहिले कक्षा-३ मा पढ्छन्। शनिबार मोबाइल चलाएर बस्नुभन्दा विहार आएर बुद्धका कथा सुन्ने, बुझ्न रमाइलो लाग्छ उनलाई।
विहारमा परियत्ति शिक्षा सँगसँगै विभिन्न क्रियाकलाप हुने भएकाले आउन अझ धेरै इच्छुक भएको उनी बताउँछन्। भन्छन्, ‘विहारमा पढाउने मात्र नभई अन्य क्रियाकलाप पनि गराइन्छ। जस्तै- रुख रोप्ने, सरसफाइ, नाटक, विभिन्न खेल खेलाउने र कथा सुनाउने गरिन्छ।
विहारमा गुरुले सुनाएका कथा निर्वाणले घरमा गएर सुनाउने गर्छन्। र, विद्यालयमा पनि साथीहरूलाई सुनाउँछन्। भन्छन्, ‘परियत्ति शिक्षाले असल र खराब आचरणबारे राम्ररी सिक्ने मौका पाएको छु। के ठीक र के बेठीक भन्नेबारेमा चेतना आएको छ।’
०००
नगदेश बुद्ध विहारका शिक्षक ईश्वर बाडेले विगत १० वर्षदेखि परियत्ति शिक्षा दिँदै आएका छन्। उनी मध्यपुर थिमि-७ नगदेशका स्थायी बासिन्दा हुन्। कलेज पढ्दैदेखि उनले विहारमा पढाउन थालेका थिए। र, अहिले उनी काठमाडौं वर्ल्ड स्कुलमा संगीत विषयका शिक्षक छन्।
सानैमा उनले बौद्ध भिक्षुणी गुरुमाबाट परियत्ति शिक्षाबारे जानकारी पाएका थिए। एक दिन उनी साथीसँग खेल्दै गर्दा गुरुमा विहार जाँदै गरेको देखे। र, गुरुमाले उनी र उनका साथीलाई ‘फोहोरमा किन खेलेको आऊ विहारमा म चक्लेट दिन्छु’ भन्दै लगिन्। सोही क्रममा गुरुमाले उनी र उनका साथीलाई परियत्ति शिक्षाबारे जानकारी दिएकी थिइन्। र, पहिलोपटक परियत्ति शिक्षाबारे थाहा पाएका थिए।
त्यसपछि उनी विपश्यना ध्यान शिविरमा पनि सहभागी भए। त्यसले उनलाई परियत्ति शिक्षाबारे अझै बढी रुचि बढायो। र, आफूले पाएको ज्ञान अरूलाई पनि दिने इच्छा जाग्यो उनलाई। भन्छन्, ‘गुरुमाले रमाइलो तरिकाले पढाउनुहुन्थ्यो र नैतिक ज्ञानको कुरा पनि सिकाउनुहुन्थ्यो। मलाई यो विषयमा रमाइलो लाग्न थाल्यो र मन लगाएर पढ्न थालें।’
उनको अनुभवमा सबै विद्यार्थी समान हुँदैनन्। कसैले चाँडै बुझ्छन् भने कसैले ढिलो। उनका अनुसार यो शिक्षा बौद्ध जीवनीमा आधारित भएको कारणले कोही विद्यार्थीले नबुझेर हामीलाई धर्ममा लान लागे भन्नेहरू पनि छन्। शिक्षक बाडे भन्छन्, ‘तर, यो त नैतिक ज्ञान बाँड्ने माध्यम हो। एउटा राम्रो र असल मानिस बनाउने ज्ञान बाँड्ने विषय भएकाले धेरैले अहिले यसबारे सकारात्मक धारणा बनाउन थालेका छन्। र, दिनहुँ कक्षा लिन आउने विद्यार्थीको मन, वचन र कर्ममा सकारात्मक परिवर्तन आएको पाएको छु।’
उनका अनुसार परियत्ति शिक्षा बौद्ध संस्कारमा आधारित एक नैतिक शिक्षा हो, जसमा मन, वचन र कर्मलाई सफा राख्नुपर्छ भन्ने कुरामा जोड दिइएको छ। भन्छन्, ‘यो शिक्षा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई आवश्यक छ।’
शिक्षक बाडेका अनुसार यो शिक्षा सानै उमेरदेखि लिन लगाउनु अत्यावश्यक छ। किनकि, बालबालिकामा स्वार्थ हुँदैन, दिमाग तरोताजा हुन्छ। उनीहरूको दिमागमा यो पढाएको सकारात्मक प्रभाव पर्छ। भन्छन्, ‘बीउलाई राम्रो बनाउन सकियो भने अवश्य पनि बोट फलदायी बन्छ।’