काठमाडौं- नुहाउँदा खासै कसरत गर्नु पर्दैन। शरीरमा साबुन लगायो, पानी हालेर पखाल्यो।
तर, नुहाउने पनि आफ्नै विधि छ। नुहाउने तरिका नमिल्दा छाला एवं स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ। त्यसैले नुहाउने कुरामा पनि आधारभूत जानकारी भएको राम्रो हो।
(१) धेरै बेर ननुहाउने
गलत तरिका – २० मिनेट नुहाउनु
सही समय – १० मिनेट
तातो पानीले नुहाउनु तथा धेरै बेर लगाएर नुहाउनु छालाका लागि हानीकारक हुने गर्छ। यसले छालामा चिलाउने समस्या शुरु हुनुका साथै घाउ पनि हुन सक्छ।
नुहाउनको लागि सबैभन्दा ठीक समय भनेको जम्मा १० मिनट हो। त्यसो गर्नाले शरीरको दुर्गन्ध तथा धुलोमैला सफा हुनुका साथै शरीरसमेत स्वस्थ रहन्छ।
(२) फोम जेल तथा साबुनको अधिक प्रयोग
गलत बानी – जिउमा साबुन धस्ने
सही तरिका – स्पन्जको प्रयोग
केमिकलयुक्त साबुन शरीरमा जति धेरै लगायो, त्यति छाला बिग्रिने वा समस्या आउने क्रम बढ्छ।
अझ साबुनमा प्रयोग हुने हानीकारक केमिकलले शरीरको छालालाई रुखो बनाउनुका साथै त्यसमा भएका प्राकृतिक तेललाई समेत नष्ट गर्छ।
त्यसैले नुहाउँदा सीधै साबुन वा सावर जेल प्रयोग गर्नुको साटो स्पन्जको प्रयोग गर्नु सबैभन्दा राम्रो उपाय हो। स्पन्चमा केही थोपा सावर जेल, फोम वा साबुन हालेर जिउमा लगाउनाले त्यसमा भएका हानीकारक केमिकलले छालालाई धेरै असर गर्न पाउँदैन र छाला सुरक्षित राख्न मद्दत गर्छ।
(३) पुरानो तथा भिजेको स्पन्जको प्रयोग
गलत तरिका : भिजेको स्पन्ज
सही तरिका : सुक्खा स्पन्ज
भिजेको स्पन्जलाई ब्याक्टेरियाहरूको घर पनि भन्ने गरिन्छ। यस्ता स्पन्जमा ढुसी पर्नुका साथै विभिन्न किटाणुहरूले संक्रमण गराउँछन्। त्यसैले यस्ता स्पन्ज प्रयोग गर्दा निकै सावधानी अपनाउन जरुरी छ।
महिनामा एक वा प्रत्येक ४ सातामा एकपटक स्पन्ज बदल्नाले शरीरमा विभिन्न रोगको संक्रमण हुन पाउँदैन।
त्यति मात्र होइन, हरेकपटक नुहाउँदा सफा तौलियाको प्रयोग उचित मानिन्छ।
(४) धेरै बेर जिउ पुछ्नु
गलत तरिका : पूरै जिउ सुक्खा पार्ने
सही तरिका : हल्का पुछ्ने
प्राय: मानिस एकपटक नुहाइसकेपछि धेरै बेरसम्म जिउ पुछिरहेका हुन्छन्। जिउमा भएको पानी सुकाउनका लागि शरीर पुछ्न आवश्यक पनि छ। तर, पूरै जिउ सुक्खा हुने गरी पुछ्नु पनि शरीरका लागि घातक हुन सक्छ।
त्यसैले हरेकपटक नुहाइसकेपछि हल्का किसिमले शरीरमा भएको पानी पुछ्नु पर्छ। शरीर पुछ्दा नरम तौलियाको प्रयोग गर्नुपर्छ। साथै, हल्का तवरले मात्र पुछ्नु पर्छ।
शरीरलाई पूरै सुक्खा हुन दिनु हुँदैन। त्यसपछि शरीरमा क्रिम तथा पाउडरको प्रयोग गर्नुपर्छ। यसले शरीरलाई कोमल, मुलायम तथा स्वस्थ राख्न मद्दत गर्छ।
(५) अत्यधिक तातो पानीको प्रयोग गर्नु
गलत तरिका : अत्यधिक तातो पानी
सही तरिका : ३५ देखि ४० डिग्री सेन्टिग्रेटको मनतातो पानी
तातो पानीले शरीरलाई सुक्खा बनाउनुका साथै छालाको नरमपनालाई समेत हटाउँछ। नुहाउँदा अत्यधिक तातो पानीको प्रयोगले शरीरमा भएको तेलियपना नाश हुन्छ र शरीर रुखो हुन्छ।
साथै, अत्यधिक तातो पानीको प्रयोगले रक्त प्रवाहलाई समेत बढाउँछ, जसका कारण शरीरमा जलन, घाउ हुने र पोल्ने गर्छ।