काठमाडौं- १८औं संस्करणको नेपाल-भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ १६ पुस (३१ डिसेम्बर)देखि जारी छ। रूपन्देही सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा भइरहेको सैन्य अभ्यास २९ पुस (१३ जनवरी)मा समापन हुनेछ।
नेपाली सैनिक मुख्यालय जंगीअड्डाका अनुसार अभ्यासमा नेपाली सेनाको श्रीजंग गणको टोलीसँगै भारतीय सेनाको ११औं गोर्खा राइफल्सका गरी कुल ६६८ जना सैनिकहरू सहभागी छन्। भारतीय सेनाबाट कर्णेल जपेन्दर पाल सिंहको नेतृत्वमा ३३४ सेना सहभागी छन्। नेपाली सेनाबाट प्रमुख सेनानी निराजन कटवालको नेतृत्वमा सोही संख्यामा सहभागिता छ।
तालिममा जंगल वारफेयर, कठिन भौगोलिक स्थलमा आतंकवादविरुद्धको अपरेसन, शान्ति स्थापना, विपद् व्यवस्थापन तथा सहायता, वातावरण संरक्षणलगायत अभ्यासहरू भइरहेको नेपाली सेनाले जनाएको छ। दुई देशका सैनिकहरूले सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवहरू सेयर गर्ने अवसर पाएका छन्।
नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध, विश्वास र साझा सांस्कृतिक सम्बन्ध विस्तार गर्न यस्ता संयुक्त सैन्य अभ्यासले महत्त्वपूर्ण भूमिका रहने नेपाली सेनाको भनाइ छ। यस किसिमको सैन्य अभ्यासले दुई देशबीच सदियौंदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ गर्नुका साथै दुवै देशको सेनाका सकलदर्जामा व्यावसायिक सीपको विकास तथा आपसी समझदारी अभिवृद्धिमा पनि योगदान हुने विश्वास नेपाली सेनाले लिएको छ।
नेपालस्थित भारतीय दूतावासका अनुसार यस्ता सैन्य अभ्यासले मुख्यतया ‘काउन्टर टेरोरिजम’ अपरेसन, ‘अन्तर-सञ्चालन’ विकासको लक्ष्य राखिएको छ। सूर्यकिरण अभ्यासले नेपाल र भारतबीचको मित्रता, विश्वास र साझा सैन्य सम्बन्धको बलियो बन्धनलाई दर्शाउने दूतावासले उल्लेख गरेको छ।
‘यसले सैन्य संस्कृति, सिद्धान्त, अभ्यास र प्रक्रियाहरू लगायत उत्कृष्ट अभ्यासहरूसहित काउन्टर टेरोरिजम सञ्चालन गर्न र दुई मैत्रीपूर्ण सेनाहरू बीचको सहकार्यात्मक दृष्टिकोणलाई बढावा दिने प्लेटफर्म पनि प्रदान गर्छ,’ दूतावासले भनेको छ।
भारतीय सेनाका प्रधानसेनापति उपेन्द्र द्विवेदीको नेपाल भ्रमण र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको भारत भ्रमणपछि यो अभ्यास तय भएको थियो। दुवै नवनियुक्त प्रधानसेनापतिलाई एकअर्का मुलुकको मानार्थ महारथी दर्जा प्रदान गरिएलगत्तै यसपटकको ‘अपरेसन सूर्यकिरण’ शुरु भएको हो।
के हो ‘अपरेसन सूर्यकिरण’ ?
‘अपरेसन सूर्यकिरण’ नेपाल-भारतबीचको संयुक्त सैन्य अभ्यास हो। दुई देशका सेनाले हरेक वर्ष पालैपालो संयुक्त सैन्य अभ्यास आयोजना गर्दै आएका छन्। गत वर्ष ८-२१ मंसिर (२४ नोभेम्बर-७ डिसेम्बर २०२३) मा भारतको पिथौरागढमा १७औं सूर्यकिरण सैन्य अभ्यास भएको थियो। कोभिड महामारीको समयमा भने सैन्य अभ्यास दुई वर्ष प्रभावित भएको थियो।
यो दुई देशका सेनाहरूबीच सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवहरू सेयर गर्ने प्लेटफर्म हो, अपरेसन सूर्यकिरण। जहाँ जंगल वारफेयर, हिमाली, पहाडी क्षेत्रमा आतंकवादविरुद्धको अपरेसन, शान्ति स्थापना, विपद् व्यवस्थापन, मानवीय सहायता, वातावरण संरक्षणलगायत विषयमा अभ्यासहरू हुने गरेका छन्।
खासगरी, विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघीय शान्ति मिसन, प्रतिविद्रोह तथा प्रतिआतंकवाद, जंगल युद्धकला अपरेसन सूर्यकिरणमा मुख्य विषय रहँदै आएका छन्।
यो एउटा त्यस्तो तयारी अपरेसन हो, जसले दुई देशका साझा समस्यासँग जुध्न सहयोग गर्छ। यसको मुख्य उद्देश्य एकअर्कालाई परेका बेला साझा शक्तिका रूपमा परिचालित गर्न सहज होस् भन्ने रहेको जानकारहरू बताउँछन्। यसले छापामार विद्रोह र आतंकवादविरुद्ध फौजलाई सक्रिय राख्छ।
जानकारहरूका अनुसार संयुक्त सैनिक तालिम र अभ्यासलाई फरक-फरक अर्थमा बुझ्न सकिन्छ। तालिम भनेको निश्चित कोर्सको अध्ययन र प्रयोग हो। तर, संयुक्त सैन्य अभ्यास भनेको संयुक्त मिसनको पूर्व तयारी हो। अभ्यासमा तालिमका क्रममा प्राप्त सैद्धान्तिक तथा व्यावहारिक ज्ञानलाई व्यवहारिक रूपमै प्रदर्शन गरिन्छ। जसमा साझा दुश्मन र तिनका गतिविधिको नक्कल गरेर त्यसविरुद्ध साझा कारवाही गरिन्छ।
तर, परम्परागत रूपमा ‘सैन्य अभ्यास’ भन्ने गरिएता पनि अन्तर्राष्ट्रीय सम्बन्धमा यसले फरक अर्थ राख्ने हुँदा यसलाई ‘संयुक्त सैन्य तालिम’ भन्नु नै उपयुक्त हुने एक सैनिक अधिकारीको भनाइ छ।
उनी भन्छन्, ‘अभ्यास र तालिमको अर्थ फरक हुन्छ। यी भनेका दुई देशका सैन्य प्रविधि र फरक अनुभवसहित सैन्य ज्ञानहरू आदान-प्रदान गर्ने माध्यम हुन्। किनभने, हाम्रो र भारतको प्रतिविद्रोह अनुभव फरक छ। यो नितान्त ‘कम्बाइन ट्रेनिङ’ हो।’
संयुक्त सैन्य अभ्यासले कूटनीतिमा पनि महत्त्वपूर्ण अर्थ राख्ने जानकारहरू बताउँछन्। दुई देशको मित्रता र सैन्य शक्ति प्रदर्शनका लागि यस्ता अभ्यास कूटनीतिक हतियार हुने उनीहरू बताउँछन्।
परराष्ट्र मामिलाका एक जानकार भन्छन्, ‘कुनै पनि देशले आफ्नो भू-राजनीति, छिमेक सम्बन्ध र आफ्नो सैनिक क्षमतालाई ध्यानमा राखेर कुन देशसँग संयुक्त अभ्यास गर्ने र कुन देशसँग नगर्ने भन्ने निर्णय लिन सक्नु पर्छ।’
नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसी नेपाल र भारतबीच सञ्चालन भइरहेको यो द्विपक्षीय अभ्यास एकअर्का सेनामा रहेका विशेषज्ञता आदानप्रदान गर्न आयोजना हुँदै आएको बताउँछन्। भन्छन्, ‘यो दुई मुलुकका सेनाबीच आपसी समझदारी बढाउने, एकअर्कामा रहेका विशेषज्ञता र अनुभवको आदानप्रदान गर्ने राम्रो प्लेटफर्म हो। दुई मुलुकका सेनाबीचको सम्बन्ध अभिवृद्धि गर्दै दुई मुलुककै सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले अपरेसन सूर्यकिरण आयोजना हुँदै आएको छ।’
र, यसले नेपाल र भारतबीचको सैन्य कूटनीतिमा एकदमै ठूलो योगदान दिँदै आएको उनी बताउँछन्। ‘मिलिटरी इंगेजमेन्ट, द्विपक्षीय भ्रमण आदानप्रदान र संवादलगायतले नै दुई मुलुकको सम्बन्धलाई अझ मजबुत बनाउँछ,’ सहायक रथी केसी भन्छन्, ‘सैनिक कूटनीतिमा पनि सकारात्मक प्रभाव पार्न यस्तो अभ्यासको महत्त्वपूर्ण भूमिका हुन्छ।’
नेपाली सेनाका प्रवक्ता रहिसकेका अवकाश प्राप्त उपरथी नारायण सिलवाल पनि त्यसैमा जोड दिन्छन्। ‘यो नेपाल र भारतका सेनाबीच नियमित रुटिनमा चलिरहेको संयुक्त अभ्यास हो,’ उनी भन्छन्, ‘नेपाल र भारतका सेनाबीचको सम्बन्ध बहुआयामिक छ। नेपाल र भारतको सम्बन्धलाई विशिष्ट हो भन्ने गरिएको छ। र, दुई मुलुकका सेनाबीचको सम्बन्ध विशिष्ट भएकै कारण दुई मुलुकको सम्बन्ध पनि विशिष्ट भएको हो भन्न सकिन्छ।’
दुवै मुलुकका सेनालाई पायक पर्ने डिसेम्बर र जनवरीको लगभग यही समयमा अपरेसन सूर्यकिरण सञ्चालन हुँदै आएको छ। ‘यसमा नितान्त सेनाको पेशासम्बन्धी विधाहरूमा अभ्यास हुन्छ। तिनमा काउन्टर इन्सर्जेन्सी, जंगल वारफेयर, डिजास्टर म्यानेजमेन्ट र अन्य विभिन्न सैन्य पाटोहरूमा अभ्यास हुन्छ,’ पूर्व उपरथी सिलवाल भन्छन्।
अभ्यासको शुरु र समापनमा उच्च तहका सैनिक अधिकृतहरू पनि सहभागी हुने गरेका छन्। अपरेसन सूर्यकिरण नेपाल र भारतका सेनाबीचको संयुक्त अभ्यासमा पनि परम्परागत अभ्यासमा रूपान्तरित भइसकेको छ। यसले दुई मुलुकका सेनाबीच एकअर्कालाई चिन्ने, सपोर्ट गर्ने, दुई सेनाको तौरतरिका र प्रयोग गर्दै आएका हतियारहरू बारे ज्ञान लिने अवसर पनि यो अभ्यासले दिँदै आएको छ।
‘यसले दुई सेनाबीच फ्रेन्डसिप र सैनिक कूटनीतिलाई प्रबर्द्धन गर्न योगदान दिँदै आएको छ,’ पूर्व उपरथी सिलवाल भन्छन्, ‘नेपालको परराष्ट्र सम्बन्धमा सघाउ पुर्याउने विभिन्न पहलुमध्ये विदेशी सेनासँगको संयुक्त अभ्यासको पनि महत्त्वपूर्ण भूमिका रहने गरेको छ।’
नेपाली सेनाले भारतसँग मात्र नभई चीन, अमेरिका, बेलायतलगायत मुलुकका सेनासँग पनि संयुक्त अभ्यास गर्दै आएको छ। सेना मात्र नभई हरेक मित्रराष्ट्रसँग सम्बन्धका विविध आयाममा यस्तै प्रकारका सहकार्य र समन्वय हुन सके सबैसँगको सम्बन्ध विशिष्ट बन्ने कूटनीतिक मामिलाका जानकारहरू बताउँछन्।
कसरी शुरु भएको थियो ‘अपरेसन सूर्यकिरण’ ?
नेपाल र भारतबीच संयुक्त सैनिक अभ्यास (जोइन्ट मिलिटरी एक्सरसाइज) ०६७ साल (सन् २०११) देखि शुरु भएको थियो। त्यसअघि भारतले नेपाललाई केही सैन्य तालिम दिए पनि ती तालिमहरू दुईतर्फी नभएको जानकारहरू बताउँछन्। त्यसैले त्यसलाई संयुक्त सैन्य तालिम भन्न नमिल्ने उनीहरूको तर्क छ।
फागुन ०६७ (मार्च २०११) मा प्लाटुन तहको सैनिक टोलीलाई प्रतिआतंकवादसम्बन्धी संयुक्त तालिम लिन भारतको भैरङ्तीस्थित ‘काउन्टर इन्सर्जेन्सी एन्ड जंगल वारफेयर स्कुल’ (सीआईजेएस)मा पठाइएको थियो। संयुक्त तालिम सरकारी तहबाट अनुमोदन नगरिएकाले २२-२५ चैत ०६७ (५-८ अप्रिल २०११) मा भारतको पुणेमा भएको दुईपक्षीय परामर्श समूहको बैठकमा त्यसलाई वैधानिकता दिइएको थियो। तर, त्यो संयुक्त सैन्य अभ्यास थिएन।
संयुक्त सैन्य अभ्यासलाई सरकारी तहबाटै वैधता दिने काम भने ७ वैशाख ०६९ (१९ अप्रिल २०१२)मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको मन्त्रिपरिषदले गरेको थियो। मन्त्रिपरिषदले पहिलोपटक नेपाल-भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास गर्न अनुमति दिएको थियो। तर, त्यसअघि नै दुईवटा संयुक्त अभ्यास भइसकेका थिए।
मन्त्रिपरिषदको निर्णय लगत्तै १३-१६ वैशाख ०६९ (२५-२८ अप्रिल २०११)मा पोखरामा सम्पन्न नेपाल भारत परामर्श समूहको नवौं बैठकमा दुवै देश संयुक्त सैनिक अभ्यासका लागि सहमत भएका थिए। ‘दुवै पक्ष हिमाली क्षेत्रमा संयुक्त सैनिक अभ्यास गर्न सहमत छौं। सन् २०१३ र त्यसपछि यो बटालियन तह (आठ सयभन्दा बढी सैनिक शक्ति)मा गरिनेछ,’ सहमति पत्रमा भनिएको छ।
त्यसअघिका दुईवटा अभ्यास जोमसोम र अमलेखगञ्जमा सम्पन्न भएका थिए। अर्को अभ्यास मंसिर ०६८ (डिसेम्बर २०१०) मा बाराको अमलेखगञ्जस्थित नेपाली सेनाको जंगल वारफेयर तालिम केन्द्रमा भएको थियो। यस्तै, पहिलो अभ्यास सोही वर्ष नेपालको मुस्ताङको जोमसोमस्थित माउन्टेन वारफेयर केन्द्रमा भएको थियो। दुवै अभ्यासलाई गोप्य नै राखियो। किनकि, त्यसका लागि दुवै मुलुकका सरकारहरूले स्वीकृति दिन बाँकी थियो।
२ असार ०६९ (१६ जुन २०१२) मा उत्तराखण्डस्थित भारतीय सेनाको तालिम विद्यालय रानीखेतमा तेस्रो संयुक्त सैन्य अभ्यास भएको थियो, जुन सरकारी तहबाट अनुमति पाएपछिको पहिलो सैनिक अभ्यास थियो।
रानीखेतमा भएको तेस्रो सूर्यकिरणाम नेपाली सेनाको रिपुमर्दिनी पल्टनको एउटा गुल्म सहभागी भएको थियो। मेजर सुवास केसीको कमान्डमा नेपाली सैनिक टोली भारत गएको थियो। भारतका तर्फबाट बिहार रेजिमेन्ट, गोर्खा रेजिमेन्ट-२९ र गोर्खा रेजिमेन्ट-२४ का सैनिक सहभागी थिए। त्यसयता हाल १८ औं संस्करणको सैन्य अभ्यास भइरहेको छ। हालसम्म नेपाली सेनाका ४ हजार २१५ र भारतीय सेनाका ४ हजार ४४२ सैनिकले सहभागी हुने अवसर पाइसकेका छन्।