• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

के हुँदैछ मस्कोमा ?


    Avatar photo
मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित

काठमाडौं- १७ डिसेम्बर। रुसी सेनाको आणविक र रासायनिक हतियार सुरक्षा बल प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभको मस्कोमा हत्या भयो। उनको निवासको प्रवेशद्वार नजिकै स्कुटरमा राखिएको बम विस्फोट हुँदा उनीसँगै उनका सहयोगीको मृत्यु भएको थियो। उच्च सैन्य अधिकारीको हत्यासँगै रुसी सुरक्षा प्रणालीमाथि नै प्रश्‍न उठेको छ।

Advertisement

युक्रेनले आणविक सुरक्षा प्रमुखको हत्या आफूले गरेको दाबी गरेको छ। युक्रेनको सुरक्षा सेवा (एसबीयू)का एक अधिकारीले हत्याका लागि युक्रेन जिम्मेवार रहेको दाबी गरेका थिए। हत्यालगत्तै रुसी अनुसन्धान अधिकारीहरूले उज्वेकिस्तानका एक नागरिकलाई पक्राउ गरेका छन्। रुसी अनुसन्धान अधिकारीका अनुसार संदिग्धले आफूलाई ‘युक्रेनी विशेष बलले खटाएको’ बयान दिएका थिए। रुसले किरिलोभको हत्याको बदला लिने चेतावनी दिएको छ।

बीबीसीका अनुसार युक्रेनी गुप्तचरहरूले युक्रेनविरुद्ध युद्धमा संलग्‍न रुसका उच्च सैन्य अधिकारीहरूलाई ‘जहाँ भेट्यो त्यहीं’ कारवाही गर्न थालेको दाबी गरेका छन्। युक्रेनी सुरक्षा र गुप्तचर सेवामा रहेका स्रोतहरूले त्यस्तो कारवाही रुसले कब्जा गरेका युक्रेनी भूभागमा, रुसभित्र र अरू देशमा पनि हुन सक्ने दाबी गरेका छन्।

लेफ्टिनेन्ट जनरल किरिलोभले युक्रेन युद्धमा प्रतिबन्धित रासायनिक अस्त्रहरूको अत्यधिक प्रयोग गरेको आरोप खेपिरहेका थिए। हत्याको अघिल्लो दिन मात्र किभको एक अदालतमा एसबीयूले उनीविरुद्ध मुद्दा दर्ता गरेको खुलेको छ। उनको नेतृत्वमा रुसले ४८ हजारभन्दा धेरै रासायनिक हतियार प्रयोग गरेको युक्रेनको दाबी छ। भ्रामक सूचना फैलाउने अभियानमा संलग्‍न रहेको आरोपमा उनीविरुद्ध गत अक्टोबरमा बेलायतले यात्रा प्रतिबन्ध लगाएको थियो।

यता निर्वाचनका बेला युक्रेनलाई सैन्य सहायता नदिने बताउँदै आएका अमेरिकी नवनिर्वाचित राष्‍ट्रपति डोनाल्ड ट्रम्पको पनि बोली फेरिएको छ। उनले पनि युक्रेनलाई सैन्य सहयोग जारी राख्‍ने प्रतिबद्धता जनाएका छन्। राष्‍ट्रपतिको कार्यभार सम्हालेको २४ घण्टाभित्र युद्ध रोकिदिने दाबी गर्दै आएका ट्रम्पको पछिल्लो निर्णयले युद्ध झन लम्बिने संकेत गरेको विश्लेषकहरू बताउँछन्।

१६ डिसेम्बरमा रुसको रक्षा मन्त्रालयमा भएको बैठकमा राष्‍ट्रपति भ्लादिमिर पुटिन र रक्षामन्त्रीले युक्रेन युद्धमा रुसी सेना विजयोन्मुख भएको चर्चा गरेका थिए। लेफ्टिनेन्ट जनरलको हत्यासँगै थपिएको तनाव २१ डिसेम्बरमा रुसको हजार किलोमिटरभित्र पसेर युक्रेनले ड्रोन हमला गरेपछि झन बढेको छ।

कजान हमलाको कठोर बदला लिने चेतावनी

२१ डिसेम्बरमा युक्रेनले सीमा क्षेत्रबाट करिब १ हजार किलोमिटर टाढाको कजान सहरमा ड्रोन आक्रमण गरेको थियो। त्यसको प्रतिक्रियामा पुटिनले कडा बदलाको चेतावनी दिएका छन्। ‘हामीलाई जसले जति नै नष्‍ट गर्न खोज्छन्, उनीहरूले त्यसभन्दा धेरै विनाशको सामना गर्नेछन् र पछुताउने छन्। रुसले कुनै पनि चुनौतिहरूमा प्रतिक्रिया दिनेछ,’ उनले कजानमा भएको आक्रमणप्रति प्रतिक्रिया दिँदै एक टेलिभिजनमा प्रसारित सरकारी बैठकमा भनेका थिए।

२२ डिसेम्बरमा हालैका घटनाहरूले तेस्रो विश्‍वयुद्ध निम्त्याउन सक्नेबारेमा सोधिएको प्रश्‍नमा पुटिनले मानिसहरूलाई डर नफैलाउन आग्रह गरेका थिए। तर, विश्‍वयुद्धको जोखिम बढ्दै गएको स्वीकार गरेका थिए। रुसी पत्रकार पावेल जारुबिनसँग कुराकानी गर्दै उनले प्रतिद्वन्द्वीहरूले स्थितिलाई थप तनावपूर्ण बनाएको दाबी गर्दै उनीहरूले विश्‍वयुद्ध चाहेको भए ‘त्यस्तै होस्’ भन्‍ने प्रतिक्रिया दिएको रुसी समाचार एजेन्सी स्पुतनिकले जनाएको छ।

तथापि, नेपाली सेनाका अवकाश प्राप्त एक सहायक रथी भन्छन्, ‘युद्धका जोखिम त हुन्छन् नै। तर, विश्‍वयुद्ध नै हुन्छ भन्‍ने लाग्दैन। अहिलेको विश्‍व भनेको आर्थिक प्रतिस्पर्धाको विश्‍व हो। यदि विश्‍वयुद्ध भएमा अधिकांश देशको अर्थतन्त्र ध्वस्त हुने सम्भावना हुन्छ। त्यसैले युद्धमा जाँदैनन्।’

के हुँदैछ मस्कोमा ?

वर्षको अन्त्यमा सेनाका प्रमुख र रक्षा मन्त्रालयका अधिकारीहरूसँगको टेलिभिजन बैठकलाई सम्बोधन गर्दै राष्‍ट्रपति पुटिनले पश्‍चिमी ‘हाइब्रिड युद्ध’ र मस्कोलाई ‘रणनीतिक रूपमा पराजय’ गराउने प्रयासको आलोचना गरेका थिए। उनले युद्ध मोर्चामा रुसको हात माथि रहेको भन्दै सेनालाई धन्यवाद दिए। उनले वर्ष २०२४ लाई ‘विशेष सैन्य कारवाहीको लक्ष्‍य हासिल गर्ने ऐतिहासिक वर्ष’ संज्ञा दिएका थिए।

रक्षामन्त्री आन्द्रेई बेलोसोभले रुसी सेनाले हाल दैनिक करिब ३० वर्गकिलोमिटर युक्रेनी क्षेत्र नियन्त्रणमा लिइरहेको दाबी गरेका छन्। यस्तै, उनले युक्रेनले पूर्वी लुहान्स्क क्षेत्रको एक प्रतिशतभन्दा कम र डोनेत्स्क, खेरसन र जापोरिजिया क्षेत्रको २५-३० प्रतिशत क्षेत्र नियन्त्रण गरेको ब्रिफिङ गरेका थिए। यी चारै क्षेत्र रुसले विलय गर्ने लक्ष्‍य लिएको छ।

१८ डिसेम्बरमा रूसी सशस्त्र बलका जनरल स्टाफ प्रमुख भ्यालेरी गेरासिमोभले युक्रेन युद्धबारे जानकारी दिएका थिए। पश्‍चिमाबाट युक्रेनलाई ठूलो सहयोगको बावजुद लडाईं रुसको पक्षमा रहेको र रुसी सेनाले सम्पूर्ण मोर्चामा आक्रमण गरिरहेको उनले बताएका छन्। २०२४ मा १९० भन्दा बढी बस्तीहरू खाली गरिएको र रुसी सेनाले करिब साढे चार हजार वर्ग किलोमिटर क्षेत्र नियन्त्रणमा लिएको उनको दाबी छ।

किभको विनाशकारी नीतिले पहिले नै त्यहाँ बाह्य नियन्त्रण रहेको र देशलाई विदेशी वित्तपोषणमा पूर्ण निर्भरता निम्त्याएको दाबी उनले गरेका छन्। र, परिणामस्वरूप युक्रेनको सार्वभौमसत्ता गुमेको उनको दाबी छ। युक्रेनी सशस्त्र बलहरूसँग स्वतन्त्र रूपमा मिसाइलहरूको लागि उडान अभियानहरू तयार गर्ने क्षमता नभएको र रुसी क्षेत्रमा हमलापछि द्वन्द्वमा अमेरिका प्रत्यक्ष सहभागी बनेको उनको आरोप छ।

जानकारहरूका अनुसार ट्रम्पको राष्‍ट्रपतिमा आसिन हुने मिति नजिकिएसँगै रुस युद्धसँगै शान्तिवार्ताका लागि पनि तयार देखिएको छ। ट्रम्पले रुसले कब्जा गरेको क्षेत्र यथास्थितिमा छाडेर युक्रेनलाई युद्धविरामका लागि दबाब दिने रणनीतिमा रहेको नेपाली सेनाका ती पूर्व सहायक रथी बताउँछन्।

भन्छन्, ‘ट्रम्पको रणनीति बुझेको रुसले ट्रम्पले कार्यभार सम्हाल्नुअघि धेरैभन्दा धेरै युक्रेनी भूभाग कब्जा गर्ने रणनीति लिएको छ। युक्रेन रुसलाई सकेसम्म रोक्ने रणनीतिमा छ। युक्रेनले रुसी कब्जाको क्षेत्र छोडेर नेटोमा सहभागी गराउन ट्रम्पसँग माग गर्न सक्छ।’

उनका अनुसार ट्रम्प नेटोप्रति पहिलेदेखि नै सकारात्मक नभएका कारण उनले युक्रेनलाई नेटोमा समावेश गर्ने सम्भावना देखिँदैन, जसकारण युक्रेनलाई रुसको शर्त मान्‍न दबाब दिएर युद्ध रोक्ने ट्रम्पको रणनीति हुन सक्ने उनी बताउँछन्। यसो भएमा युद्धविरामको सम्भावना पनि रहेको उनको बुझाइ छ।

स्लोभाकियामा शान्ति वार्ताका लागि पुटिन तयार ?

२३ डिसेम्बरमा स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको पुटिनलाई भेट्न अचानक मस्को पुगेका थिए। रुसी राष्‍ट्रपतिका सहयोगी युरी उसाकोभका अनुसार उनीहरूबीच युक्रेन युद्ध र शान्तिको पहलका विषयमा कुराकानी भएको थियो।

भेटवार्ताका क्रममा फिकोले स्लोभाकियामा रुस-युक्रेन शान्ति वार्ताको प्रस्ताव गरेको बेलायती न्युज च्यानल ‘स्काई न्युज’ले जनाएको छ। स्काई न्युजका अनुसार पुटिनले स्लोभाकियामा युक्रेनसँग शान्ति वार्ता गर्न तयार रहेको बताएका छन्।

स्लोभाकिया युक्रेनको छिमेकी देश पनि हो। युक्रेनले फिकोको प्रस्तावमा टिप्पणी गरेको छैन। यद्यपि, युक्रेनी राष्‍ट्रपति भोलोदिमिर जेलेन्स्कीले उनको बारम्बार आलोचना गर्दै आएका छन्। सन् २०२३ मा सत्तामा फर्किएका फिको रुसका निकटस्थ मानिन्छन्।

युद्ध रोक्ने ट्रम्पको योजना

१६ डिसेम्बरमा आयोजित एक पत्रकार सम्मेलनमा ट्रम्पले आफू युक्रेनका राष्‍ट्रपति जेलेन्स्की र रुसी समकक्षी पुटिन दुवै नेतासँग वार्ताको योजनामा रहेको उल्लेख गर्दै ‘सम्झौताका लागि दुवै नेताहरू तयार हुनुपर्ने’ बताएका थिए। उनले युद्ध एक नरसंहार रहेको भन्दै कुनै पनि हालतमा रोक्नुपर्ने बताएका थिए।

यद्यपि, ट्रम्पले रुस-युक्रेन सम्झौताका लागि कस्तो योजना छ भन्‍ने खुलाएका छैनन्। ‘द किभ इन्डिपेन्डेन्ट’का अनुसार उनीसँग दुई देशबीचको स्थिति २४ फेब्रुअरी २०२२ भन्दा अघिको अवस्थामा फर्काउनुपर्ने वा रुसले नियन्त्रणमा लिएको भूमि युक्रेनले रुसलाई सुम्पिनुपर्ने दुई विकल्प हुन सक्छन्।

१२ डिसेम्बरमा टाइम म्यागेजिनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले पहिले नै योजना खुलाउँदा कमजोर हुने भएकाले विवरण खुलाउन नचाहेको बताएका थिए। ट्रम्पले भनेका थिए, ‘जब म मानिसहरूसँग कुरा गर्छु, जब म शुरु गर्छु, मलाई लाग्छ कि मसँग मद्दत गर्नका लागि धेरै राम्रो योजना छ। तर, जब मैले त्यो योजनालाई उजागर गर्न थाल्छु, यो लगभग बेकार बन्‍न सक्छ।’

ट्रम्पले रुसी भूभागमा लामो दूरीका मिसाइल प्रयोग गर्न दिने बाइडेनको निर्णयको आलोचना गरेका छन्। यसले युद्ध झन बढाउने भन्दै मिसाइलसँगै अन्य हतियारको पनि प्रयोग भइरहेको प्रति असन्तुष्‍टी जनाएका थिए। र, बाइडेनको निर्णय सबैभन्दा ठूलो गल्ती भएको उनको दाबी थियो।

ट्रम्पले भनेका थिए, ‘म रुसमा सयौं माइल टाढा मिसाइलहरू प्रहार गर्न दिने कुरामा एकदमै असहमत छु। हामी किन त्यसो गरिरहेका छौं ? हामी यो युद्धलाई बढाउँदैछौं र यसलाई अझ खराब बनाउँदैछौं। त्यो गर्न दिनु हुँदैनथ्यो। मलाई लाग्छ कि यो धेरै ठूलो गल्ती हो, धेरै ठूलो गल्ती हो।’

यसबाहेक ट्रम्पले रुसी राष्‍ट्रपति पुटिनसँग युद्धविराम पहलका लागि सकेसम्म छिटो भेट्न चाहेको बताएका छन्। यसअघि केही पश्‍चिमा सञ्‍चारमाध्यमहरूले ट्रम्पले पुटिनसँग लगातार टेलिफोन कुराकानी गरिरहेको दाबी गरेका थिए। तर, दुवै पक्षले यस विषयमा स्पष्‍ट जवाफ दिएका छैनन्। क्रेमलिनले यस्ता समाचार ठाडै अस्वीकार गरेको छ।

यता युक्रेनलाई दिँदै आएको सैन्य सहयोगलाई निरन्तरता दिने ट्रम्पको निर्णयपछि रुस झस्केको छ। राष्‍ट्रपति पुटिनसँग ट्रम्पको सम्बन्ध राम्रो मानिन्छ। सोही कारण ट्रम्पले चुनाव प्रचारका क्रममा आफूले जिते रुस-युक्रेन युद्ध २४ घण्टाभित्रै रोकिदिने दाबी गरेका थिए।

राष्‍ट्रपति ट्रम्पले युक्रेनलाई सैन्य सहायता दिने निर्णय गरे पनि यो उनको रणनीतिक चाल हुन सक्ने जानकारहरू बताउँछन्। अहिले सैन्य सहायता दिने भने पनि कार्यभार सम्हालेपछि सहायता रोकिदिने धम्की दिएर युक्रेनलाई पुटिनको शर्त मान्‍न दबाब दिने उनको चाल हुन सक्ने नेपाली सेनाका ती पूर्व सहायक रथीको अनुमान छ।

भन्छन्, ‘पछि सैन्य सहायता रोकेर युद्धविरामका लागि युक्रेनलाई दबाब दिने रणनीति हुन सक्छ। उनले युद्ध यथास्थितिमा रोकिनुपर्ने बताउँदै आएका छन्। त्यो भनेको रुसले कब्जा गरेको युक्रेनी भूमि उसकै नियन्त्रणमा छोड्नु हो। अन्यथा, युद्धकै कारण विश्‍वभर बहिष्‍कृत भएको रुसले युद्धविराममा सहमति जनाउने सम्भावना छैन।’

रुसी मिसाइल कुनै एयर डिफेन्सले रोक्न नसक्ने पुटिनको दाबी

गत १९ डिसेम्बरमा पुटिनले वार्षिक पत्रकार सम्मेलनमा पत्रकार र रुसी नागरिकको प्रश्‍नको प्रत्यक्ष जवाफ दिएका थिए। उनले रुसी ओर्सेनिक मिसाइल प्रणाली र पश्‍चिमाहरूसँगको हतियार द्वन्द्वको बारेमा टिप्पणी गरेका थिए।

मध्यम दूरीको ओर्सेनिक मिसाइल प्रणालीले १ हजार, १५ सय, ३ हजारभन्दा बढी र ५५ सय किलोमिटर टाढासम्मका लक्ष्‍यहरूमा प्रहार गर्न सक्ने पुटिनको दाबी छ। उक्त मिसाइल गत २१ नोभेम्बरमा रुसले युक्रेनी शहर दोप्रोमा पहिलोपटक प्रहार गरेको थियो।

पुटिनले भनेका थिए, ‘ओर्सेनिक मिसाइल प्रणाली एक आधुनिक र एकदम नयाँ हतियार हो। कुनै पनि क्षेत्रमा सबै नयाँ उपलब्धिहरू विगतमा गरिएका डिजाइनहरू र उपलब्धिहरूमा आधारित हुन्छन्, जसलाई मानिसहरूले अगाडि बढ्न प्रयोग गर्छन्। ओर्सेनिक प्रणालीको बारेमा पनि सत्य त्यही हो। यो एक नयाँ मध्यम र छोटो दूरीको सिस्टम हो।’

पश्‍चिमाहरूले रुसी मिसाइलको क्षमताप्रति प्रश्‍न उठाइरहेको अवस्थामा पुटिनले अमेरिकी एयर डिफेन्स सिस्टमलाई चुनौती दिएका छन्। अमेरिकी एयर डिफेन्सलाई चुनौती दिन किभविरुद्ध ओर्सेनिक मिसाइल प्रक्षेपण गरेर पश्‍चिमसँग ‘हाइ-टेक द्वन्द्व’ लड्न तयार रहेको बताएका थिए। उनले अमेरिकी एन्टी-मिसाइल प्रणाली ‘थाड’लाई युक्रेनमा राख्‍न चुनौती दिएका छन्।

पुटिनले  भनेका छन्, ‘केही पश्‍चिमी विज्ञहरूले यो क्षेप्यास्त्र सजिलैसँग खसाल्न र नष्‍ट गर्न सकिन्छ भन्‍ने झूटो दाबी गरिरहेका छन्। त्यस्ता विज्ञहरूलाई के भन्‍नू ? उनीहरूसँग ‘प्याट्रिएट’ र थप आधुनिक ‘थाड’ प्रणालीहरू छन्। मलाई थाहा छैन युक्रेनसँग छ कि छैन ? यदि अमेरिकीहरू चाहन्छन् भने तिनीहरूले उनीहरूको सबैभन्दा भरपर्दो ‘थाड’ प्रणाली युक्रेनमा पठाउन सक्छन्।’

युक्रेनमा पश्‍चिमा र अमेरिकाको सबै एयर डिफेन्स, मिसाइल रक्षा शक्ति खटाए पनि ओर्सेनिक मिसाइलले युक्रेनको राजधानीमा कुनै पनि लक्ष्‍यमा प्रहार गर्न सक्ने पुटिनले दाबी गरेका छन्। यदि अमेरिका चाहन्छ भने हाइ-टेक लडाईंका लागि रुस तयारी रहेको उनी बताउँछन्।

भन्छन्, ‘हामी यो प्रयोगका लागि तयार छौं। अर्को पक्ष तयार छ ? हामी कुनै पनि अवस्थामा अस्वीकार गर्दैनौं। यो प्रयोग गरौं, के हुन्छ हेरौं। यो पक्कै चाखलाग्दो हुनेछ। मलाई विश्‍वास छ यो हामी र अमेरिकी पक्ष दुवैका लागि फाइदाजनक हुनेछ।’

रुसले खसाल्यो अमेरिकी एफ-१६ फाइटर जेट

रुसी सेनाले केही दिनअघि युक्रेनी एफ-१६ लडाकु विमान खसालेको दाबी गरेको छ। रुसी समाचार एजेन्सी ‘तास’का अनुसार सेनाले जापोरिजिया क्षेत्रमा लडाकु विमान खसालेको थियो। उक्त विमान अमेरिका निर्मित हो। विमानले रुसी नियन्त्रणमा रहेका क्षेत्रमा मिसाइल प्रहार गर्ने तयारी गरिरहेको रुसी सेनाले दाबी गरेको छ।

रुसी संघको सार्वभौमिकता र देशभक्ति परियोजनाहरूका लागि पब्लिक चेम्बरका अध्यक्ष भ्लादिमिर रोगोभले घटनाको पुष्‍टि गर्दै ‘एफ-१६ विमान रुसी क्षेत्रमा मिसाइल प्रहार गर्ने पोजिसनमा रहेको र त्यसलाई खसालिएको’ बताएका छन्।

रुसको दाबी सत्य भए रुस-युक्रेन युद्धमा युक्रेनी एफ-१६ विमानको दोस्रो क्षति हुने छ। गत अगस्टमा रुसी मिसाइल आक्रमणमा पहिलो एफ-१६ फाइटर विमान दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा पाइलटको समेत मृत्यु भएको थियो।

युक्रेनले डेनमार्क, नेदरल्यान्ड्स र बेल्जियमलगायत नेटो सदस्यबाट एफ-१६ विमान सहयोग पाएको छ। डेनमार्कबाट पहिलो डेलिभरी भइसकेको छ। बेल्जियमलगायत देशबाट भने केही ढिलो प्राप्त हुने अमेरिकी न्युज पोर्टल ‘स्ट्रेट एरो न्युज’ले उल्लेख गरेको छ।

अतिवादविरुद्ध लड्न नयाँ रणनीति अनुमोदन

पुटिनले अतिवादविरुद्ध लड्ने नयाँ रणनीति अनुमोदन गरेका छन्। २८ डिसेम्बरमा उनले नयाँ रणनीति अनुमोदन गर्ने अध्यादेशमा हस्ताक्षर गरेका हुन्। पुटिनद्वारा अनुमोदित डकुमेन्टमा भनिएको छ, ‘बाह्य हस्तक्षेपबाट रुसी संघको स्थिति बढ्दो रूपमा अस्थिर भइरहेको छ। रुसी संघलाई अस्थिर बनाउने र कट्टरपन्थी फैलाउने एउटा उपाय भनेको नागरिकहरूलाई असम्बद्ध विरोध प्रदर्शनमा संलग्‍न गराउनु हो। रुसी संघले रंग क्रान्तिको प्रारम्भ, इतिहासको मिथ्याकरण र आतंकवादलाई चरमपन्थी खतराको रूपमा वर्गीकृत गर्छ।’

आप्रवासीहरूले रुसभित्र गर्ने अवैध कार्यहरू रुसमा चरमपन्थ फैलाउने कारक रहेको र खेलकुद, विद्यालयलगायत वातावरणमा कट्टरपन्थीको फैलावट पनि चिन्ताजनक रहेको अध्यादेशमा उल्लेख छ। अध्यादेशमा भनिएको छ, ‘सांस्कृतिक र शैक्षिक गतिविधिहरूको आडमा गैरसरकारी संस्थाहरूले रुसी संघमा विनाशकारी गतिविधिहरू सञ्‍चालन गरिरहेका छन्।’

अध्यादेशमा युक्रेनलाई अतिवादको मुख्य स्रोतका रूपमा उल्लेख गरिएको छ। युक्रेनबाट आउने खतराहरू विरुद्ध लड्नु रुसको मुख्य कार्यहरूमध्ये एक भएको उल्लेख छ। २०२० मा पुटिनले अनुमोदन गरेको रुसको अघिल्लो ‘अतिवाद विरोधी रणनीति’मा युक्रेनलाई खतराको रूपमा समावेश गरिएको थिएन।

अतिवादविरुद्ध लड्न इन्टरनेटमा अवैध सामग्री पहिचान गर्न सक्ने ‘अटोमेटेड प्रोग्रामहरू’ विकास गरिने अध्यादेशमा उल्लेख छ। सरकारी तथ्यांकअनुसार २०२१ यता रुसमा दर्ता भएका अपराधमध्ये चरमपन्थी अपराधहरूको हिस्सा ०.१ प्रतिशत छ।

रुसको सञ्‍चार नियामक ‘रोस्कोम्‍नादजोर’ले १३ डिसेम्बरमा आतंकवाद र चरमपन्थविरुद्धका नियमहरू उल्लंघनको आरोप लगाउँदै म्यासेजिङ एप ‘भाइबर’को पहुँच रोक्ने घोषणा गरेको थियो। क्रेमलिनले रुसमा चरमपन्थी संगठनको ट्याग लगाइएको मेटा कम्पनीको स्वामित्वमा रहेको म्यासेजिङ एप ह्वाट्सएपमाथि पनि प्रतिबन्धको तयारी गरेको युक्रेनी न्युज वेबसाइट ‘द किभ इन्डिपेन्डेन्ट’ले उल्लेख गरेको छ।

मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.