काठमाडौं- अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफ्ना विवादित अभिव्यक्तिका कारण बेलाबेला चर्चा र आलोचनाको खेप्दै आएका छन्। पछिल्लो समय क्यानाडालाई अमेरिकामा गाभ्ने अभिव्यक्तिका कारण उनी थप चर्चामा छन्।
२५ डिसेम्बरमा क्रिसमसको शुभकामना दिँदै उनले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई फेरि क्यानाडाका गभर्नर भनेका छन्। र, क्यानाडालाई अमेरिकाको ५१औं राज्य बन्न भन्दै फेरि व्यंग्य गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमार्फत भनेका थिए, ‘सबैलाई क्रिसमसको शुभकामना। साथै, क्यानाडाका गभर्नर जस्टिन ट्रुडोलाई पनि, जसको नागरिक करहरू धेरै उच्च छन्, तर यदि क्यानाडा हाम्रो ५१औं राज्य बन्ने हो भने तिनीहरूको कर ६० प्रतिशतभन्दा बढीले कटौती हुनेछ। तिनीहरूको बिजनेस तुरुन्तै दोब्बर आकारको हुनेछ र तिनीहरू सैन्य रूपमा विश्वको कुनै पनि देशभन्दा बढी सुरक्षित हुनेछन्।’
क्यानाडालाई अमेरिकाको ५१औं राज्य बनाउने ट्रम्पको यो अभिव्यक्ति पहिलो भने होइन। उनले पटक-पटक क्यानाडालाई अमेरिकाको नयाँ राज्य बन्न आग्रह गर्दै आएका छन्। क्यानाडासँग अमेरिकाको बढ्दो व्यापार घाटाको कारण ट्रम्पले क्यानाडामाथि निशासा साँध्दै आएका छन्।
गत २९ नोभेम्बर साँझ फ्लोरिडास्थित मार-ए-लागो रिसोर्टमा उनीहरूबीच डिनर भेट भएको थियो, जहाँ क्यानाडाबाट आयातित सामानमा ट्रम्पको कर वृद्धिको धम्कीबारे छलफल भएको थियो। छलफलका क्रममा ट्रम्पले यदि क्यानाडाले अमेरिकासँगको आफ्नो सीमा समस्याहरू समाधान गर्न नसके ५१औं अमेरिकी राज्य बन्न सक्ने भन्दै व्यंग्य गरेको ‘फक्स न्युज’ले उल्लेख गरेको छ।
ट्रम्पले ट्रुडोसँग डिनरपछि ट्रुथमा लेखेमा थिए, ‘ग्रेट स्टेट क्यानाडाका गभर्नर जस्टिन ट्रुडोसँग अर्को रात डिनर गर्न पाउँदा खुशी लाग्यो। म गभर्नरलाई छिट्टै फेरि भेट्न उत्सुक छु ताकि हामी हाम्रो सीमा शुल्क र ट्रेडमा वार्ता जारी राख्न सकौं, जसको नतिजा सबैका लागि साँच्चै शानदार हुनेछ!’
हाल क्यानाडाली उपप्रधान एवं अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले राजीनामा दिएपछि त्यहाँ राजनीतिक संकट गहिरिएको छ। ट्रुडो सरकार विघटनको संघारमा पुगेको छ। मन्त्रीको राजीनामाको सन्दर्भको पनि सदुपयोग गर्दै ट्रम्पले क्यानाडालाई ग्रेट स्टेट भन्दै व्यंग्य कसेका थिए। र, प्रधानमन्त्री ट्रुडोलाई फेरि गभर्नरको संज्ञा दिएका थिए।
१७ डिसेम्बरमा ट्रम्पले ट्रुथमा लेखेका थिए, ‘अर्थमन्त्रीले राजीनामा दिएको वा उनलाई गभर्नर जस्टिन ट्रुडोले पदबाट बर्खास्त गरेपछि ग्रेट स्टेट क्यानाडा स्तब्ध भएको छ। उनको व्यवहार पूर्णतया विषाक्त थियो र क्यानाडाका धेरै बेखुश नागरिकहरूको हित हुने सम्झौताहरू गर्न उपयुक्त थिएन। उनलाई सम्झना गरिने छैन।’
क्यानाडालाई किन अमेरिकामा गाभ्न चाहन्छन् ट्रम्प ?
पछिल्लो समय अमेरिकी झण्डामा अर्को तारा थप्ने ट्रम्पको अभिव्यक्तिको चर्चा व्यापक छ। क्यानाडा र अमेरिकाबीचको व्यापार विवाद तथा सीमा मुद्दालाई लिएर ट्रम्पको यस्तो अभिव्यक्ति आएको जानकारहरू बताउँछन्। फक्स न्युजका अनुसार अमेरिकी राष्ट्रीय सुरक्षालाई देखाउँदै ट्रम्पले क्यानाडा, ग्रिनल्यान्ड र प नामा नहर प्राप्त गर्ने रणनीति बनाएका छन्।
अमेरिकी राज्यहरू लुजियाना र अलास्कालाई किनेको उदाहरण दिँदै उनले अमेरिकाको रणनीतिक महत्त्वका देशहरू किन्ने बताउँदै आएका छन्। अमेरिकाले लुजियाना सन् १८०३ मा फ्रान्ससँग किनेको थियो भने अलास्का १८६७ मा रुससँग।
गत नोभेम्बरमा भएको भेटका क्रममा ट्रम्पले दुई देशहरू मर्ज गरे सीमा समस्या र लागूऔषध तस्करीको समस्या समाधान हुने टिप्पणी गरेका थिए। दुई देश एक भएपछि क्यानाडाका जनतालाई करको मार हट्ने र गैरकानूनी अध्यागमन पनि रोकिने ट्रम्पको भनाइ थियो। प्रधानमन्त्री ट्रुडोले लागूऔषध तस्करी रोक्न क्यानाडा गम्भीर रहेको र अमेरिकासँग मिलेर काम गर्न तयार रहेको बताएको फक्स न्युजले उल्लेख गरेको छ।
ट्रम्पको ५१औं राज्यको लगातारको टिप्पणीमा भने ट्रुडोले मुख खोलेका छैनन्। क्यानाडाका जनताले सामाजिक सञ्जालमार्फत देशको स्वतन्त्रता र सार्वभौमिकताको पक्षमा आवाज उठाउँदै ट्रम्पको अभिव्यक्तिको विरोध गरिरहेका छन्।
१८ डिसेम्बरमा पूर्व उपप्रधानमन्त्री र क्युबेकका प्रिमियर जिन चारेस्टले ट्रम्पको पोस्टमा जवाफ फर्काउँदै क्यानेडेलीका लागि ‘वेक-अप कल’ बताएका थिए। उनले सामाजिक सञ्जाल एक्समा भनेका थिए, ‘प्रत्येक क्यानेडेलीले प्रधानमन्त्री वा राजनीतिक सम्बद्धताको बारेमा उनीहरूको विचारबिना राष्ट्रपति ट्रम्पको टिप्पणीबाट गहिरो रूपमा अपमानित महशुस गर्नुपर्छ। हामी एक दिन यो वेक-अप कलको लागि कृतज्ञ हुन सक्छौं।’
यस्तै, ट्रम्पले क्रिसमसको शुभकामना दिँदै ‘ग्रिनल्यान्ड अमेरिकालाई राष्ट्रीय सुरक्षा उद्देश्यका लागि आवश्यक रहेको र त्यहाँ अमेरिका हुने’ दाबी गरेका थिए। ट्रम्पले लामो समयदेखि ग्रिनल्यान्डमा चासो व्यक्त गर्दै आएका छन्। आफ्नो पहिलो कार्यकालमा पनि उनले ग्रिनल्यान्ड प्राप्त गर्न तयार रहेको बताएका थिए। ग्रिनल्यान्डको स्वामित्वलाई ‘विश्वभर राष्ट्रीय सुरक्षा र स्वतन्त्रताका लागि’ आवश्यक रहेको उनले बताउने गरेका छन्।
ट्रम्पको प्रस्तावलाई डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले गैर-जिम्मेवार भन्दै आलोचना गरेकी थिइन्। ग्रिनल्यान्ड डेनमार्कको अधीनमा रहेको एक स्वायत्त राज्य रूपमा अवस्थित भूभाग हो। ग्रिनल्यान्डका प्रिमियर म्युट एगेडेले पनि आफ्नो मुलुक बिक्रीका लागि नभएको चेतावनी दिएका छन्।
‘हामी बिक्रीका लागि होइनौं र हामी बिक्रीका लागि उपलब्ध हुने छैनौं। हामीले हाम्रो स्वतन्त्रताको लामो संघर्ष गुमाउनु हुँदैन। यद्यपि, हामीले सम्पूर्ण विश्व र विशेषगरी हाम्रा छिमेकीहरूसँग सहकार्य र व्यापारका लागि खुला रहनुपर्छ,’ एगेडेले भनेका थिए।
यस्तै, ट्रम्पले पानामा नहर पनि नियन्त्रणमा लिन चाहेको बताएका छन्। अमेरिकाको अर्थ व्यवस्था र राष्ट्रीय सुरक्षामा पानामा नहरको विशेष भूमिकाका रहेकाले अमेरिकाका महत्त्वपूर्ण राष्ट्रिय सम्पत्ति भएको दाबी गर्छन्।
उत्तर र दक्षिण अमेरिका बीचमा रहेको ८२ किलोमिटर लामो पानामा नहर ठूला पानीजहाज प्रशान्तबाट आन्ध्र महासागरमा प्रवेश गर्ने गेटवे हो। ट्रम्पले अमेरिकी पानीजहाजहरूसँग चर्को रकम असुलेको भन्दै शुल्क घटाउन चेतावनी दिँदै आएका छन्। अन्यथा अमेरिकाले नहर फिर्ता गर्न हस्तक्षेप गर्ने ट्रम्पको चेतावनी छ। यो नहरबाट विश्वको ६ र अमेरिकाको १४ प्रतिशत व्यापार हुने गरेको छ।
ट्रम्पको योजनामा के भन्छन् क्यानेडेली ?
१८ डिसेम्बरमा ट्रम्पले क्यानाडासँग बढ्दो व्यापार घाटाको प्रसंग उठाउँदै त्यो क्यानाडाका लागि अमेरिकी अनुदान भएको बताए थिए। क्यानाडालाई करोडौं अनुदानको दिनुको अर्थ नभएको बताउँदै धेरै क्यानेडेलीहरू क्यानाडा अमेरिकाको ५१औं राज्य बनोस् भन्ने पक्षमा रहेको दाबी गरेका थिए। र उनको भनाइमा यो एक ‘महान विचार’ हो।
ट्रम्पले भनेका थिए, ‘कसैले पनि जवाफ दिन सक्दैन किन हामीले क्यानाडालाई बर्सेनि करोडौं अनुदान दिन्छौं? कुनै अर्थ छैन! धेरै क्यानेडेलीहरू क्यानाडा ५१औं राज्य बनोस् भन्ने चाहन्छन्। तिनीहरूले कर र सैन्य सुरक्षामा ठूलो बचत गर्नेछन्। मलाई लाग्छ यो एक महान विचार हो। ५१औं राज्य !’
एक अध्ययनका अनुसार ट्रम्पको भनाइमा केही सत्यता पनि देखिन्छ। उनले भनेझैं केही क्यानेडेलीहरू देशलाई अमेरिकामा गाभ्ने पक्षमा देखिएका छन्। तर, ट्रम्पको दाबीझैं धेरै क्यानेडेलीहरू क्यानाडालाई अमेरिकाको नयाँ राज्य बनाउने पक्षमा छैनन्। र, यो तत्काल असम्भव रहेको विज्ञहरू बताउँछन्।
क्यानाडामा विभिन्न सर्वे र डाटा संकलन तथा विश्लेषण गर्दै आएको ‘लेजर पोल’ले ट्रम्पको प्रस्तावमा क्यानेडेली नागरिकको मत बुझ्न एक वेब सर्वेक्षण गरेको थियो। सर्वेक्षणअनुसार क्यानाडाका १३ प्रतिशत नागरिकले अमेरिकाको राज्य बनाउन तयार रहेको बताएका छन्।
यस्तै, सबैभन्दा धेरै पिपुल्स पार्टी अफ क्यानाडाका २५ प्रतिशत समर्थकले अमेरिकी राज्यमा गाभिने पक्षमा समर्थन गरेका थिए। क्यानाडाको विपक्षी कन्जरभेटिभ पार्टीका २१ प्रतिशत समर्थकले ट्रम्पको विचारसँग सहमत भएको र वर्तमान प्रधानमन्त्री ट्रुडोको लिबरल पार्टीका १० प्रतिशत भोटरले अमेरिकी राज्य बन्न तयार रहेको बताएका छन्।
लेजर पोलले यो वेब सर्वेक्षण ६-९ डिसेम्बरसम्म गरेको थियो, जसमा १८ वर्षमाथिका १ हजार ५२० क्यानेडेली सहभागी थिए।
क्यानाडासँग बढ्दो व्यापार घाटाले ट्रम्प चिन्तित !
ट्रम्पले आफ्नो दोस्रो कार्यकाल शुरु हुनु अगाडि नै विश्व बजारलाई हल्लाइसकेका छन्। चीन, रुस र भारतसहित ब्रिक्स देशलाई शतप्रतिशत कर वृद्धिको धम्की दिइसकेका ट्रम्पले यसअघि मेक्सिको र क्यानाडाका पनि सबै उत्पादनमा २५ प्रतिशत कर लगाउने धम्की दिएका थिए। गैरकानूनी आप्रवासन र सीमापारबाट भइरहेको ‘अपराध र लागूपदार्थ कारोबार’को बदलामा कार्यकाल सम्हालेको पहिलो दिनबाटै लागू हुनेगरी कर बढाउने ट्रम्पले चेतावनी दिएका छन्। ट्रम्पको धम्कीलगत्तै २९ नोभेम्बरमा प्रधानमन्त्री ट्रुडो ट्रम्पलाई भेट्न अमेरिका पुगेका थिए।
क्यानाडाको अर्थव्यवस्था निर्यातमा आधारित छ। बीबीसीका अनुसार क्यानाडाको कुल निर्यातको ७५ प्रतिशत निर्यात अमेरिकामा हुन्छ। क्यानेडेली आयातमा २५ प्रतिशत कर थप्ने र देश नै अमेरिकामा गाभ्ने ट्रम्पको लगातारको अभिव्यक्तिले क्यानाडा आर्थिक र राजनीतिक रूपले संकटमा फस्न सक्ने विश्लेषकहरू बताउँछन्।
यूएस सेन्सस ब्युरोका अनुसार सन् २०२३ मा क्यानाडासँग अमेरिकाको व्यापार घाटा ६७ बिलियन डलर थियो। अमेरिकाले क्यानाडाबाट सबैभन्दा बढी कच्चा तेल आयात गर्छ। यदि अमेरिकाले क्यानाडाबाट तेल आयात नगर्ने हो भने अमेरिकी व्यापार नाफामा जाने बीबीसीले उल्लेख गरेको छ।
अमेरिका र क्यानाडाबीच उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताअनुसार सीमापार व्यापार सञ्चालन हुँदै आएको छ। सन् १९९२ मा हस्ताक्षर भएर १ जनवरी १९९४ बाट लागू भएको उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) क्यानाडा, मेक्सिको र अमेरिकाबीचको एक अन्तर्राष्ट्रीय व्यापार सम्झौता थियो। जसले, उत्तर अमेरिकामा स्वतन्त्र व्यापारका क्षेत्र सिर्जना गरेको थियो। यसको लक्ष्य तीन देशहरू बीचको व्यापार र लगानी अवरोधहरू हटाउने, निष्पक्ष प्रतिस्पर्धा प्रबर्द्धन, लगानीको अवसर, बौद्धिक सम्पत्ति अधिकारको रक्षा, विवाद समाधानका लागि कार्यविधिहरू बनाउने थियो।
ट्रम्पले सन् २०१७ मा राष्ट्रपति बनेलगत्तै नाफ्टाले अमेरिकालाई मात्र घाटा भइरहेको भन्दै यसको समीक्षा गर्ने चेतावनी दिएका थिए। नभन्दै १ जुलाई २०२० मा नाफ्टालाई अमेरिका-मेक्सिको-क्यानाडा सम्झौता (यूएसएमसीए)द्वारा प्रतिस्थापन गरिएको थियो। यूएसएमसीएले अटोमोबाइल, ट्रक र मुद्रा हेरफेरका साथै बौद्धिक सम्पत्तिको रक्षाका लागि नयाँ नियमहरू समावेश गरेको छ।
त्यसअघि १८ महिनासम्म दुई देशबीच ‘ट्याक्स वार’ चलेको थियो। दुवै दुवै देशले एकअर्काको उत्पादनमा कर लगाउने होड चलेको थियो।
नयाँ सम्झौता उत्तर अमेरिकी कामदार, किसान, पशुपालकहरू र व्यवसायहरूका लागि लाभदायक जित रहेको अमेरिकी राष्ट्रपतिको कार्यालयले दाबी गरेको थियो। सम्झौताले थप सन्तुलित, पारस्परिक व्यापार, अमेरिकीहरूका लागि ‘हाइ-पेइङ’ रोजगारीहरूलाई सपोर्ट गर्ने र उत्तर अमेरिकी अर्थतन्त्रलाई बढावा दिने दाबी गरिएको थियो।
तर, क्यानाडा र मेक्सिकोसँग अमेरिकाको व्यापार घाटा घटेको छैन। सन् २०२२ मा यूएसएमसीए सम्झौता भएका मुलुकसँग अमेरिकी सामान र सेवाको व्यापार लगभग १.८ ट्रिलियन अमेरिकी डलर बराबर थियो। ७८९.७ बिलियन डलरको निर्यात हुँदा ९७४.३ बिलियन डलर बराबरको आयात भएको थियो। अमेरिकालाई १८४.६ बिलियन डलर बराबर व्यापार घाटा भएको राष्ट्रपतिको कार्यकारी कार्यालयको तथ्यांकमा उल्लेख छ।
गत अक्टोबरमा ट्रम्पले आफ्नै पहिलो कार्यकालमा भएको सम्झौताको फेरि समीक्षा गर्नुपर्ने बेला भएको बताएका थिए। त्रिपक्षीय सम्झौता ६ वर्षमा अर्थात् आगामी जुलाई २०२६ मा समीक्षा गर्न सकिने छ। सो समयमा तीन देशहरू मध्ये कुनै पनि एक व्यापार सम्झौता नवीकरण नगर्ने पक्ष रोज्न सक्छन्, जसले यूएसएमसीएको भविष्य बताउनेछ। तर, त्यसअघि नै सम्झौता समीक्षा गर्ने ट्रम्पको अभिव्यक्तिले त्रिदेशीय व्यापारमा तनाव थपिन सक्ने जानकारहरू बताउँछन्।