काठमाडौं- ‘यिनीहरूले जथाभावी बोल्न थाले, जथाभावी गर्न थाले। अस्थिरता, अन्योल र देशमा भ्रष्टाचारको कुनै सीमा रहेन। यो त साह्रै भएन, सच्याउनुपर्यो भनेर अहिलेको सरकार बनायौं।’ यो अभिव्यक्ति हो प्रधानमन्त्री केपी ओलीको। ३ पुसमा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई साक्षी राखेर नयाँ सरकार बन्नुको कारण बारे यस्तो बताएका थिए।
सन्दर्भ थियो- एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औं स्थापना दिवस समारोह। प्रधानमन्त्री ओली प्रमुख अतिथि रहेको कार्यक्रममा कांग्रेस सभापति देउवालाई ‘विशिष्ट अतिथि’ बनाइएको थियो। र, यो देउवालाई खुशी पार्ने ओलीको अभिव्यक्ति थियो।
‘राणातन्त्र फाल्यौं, राजतन्त्रलाई फाल्यौं। राणाहरूले राजाहरूलाई मौका मिलेका बखत अधिकारबाट वञ्चित गरेर अलिक थान्कामा राखेकै हो। राजाहरू खुब कराउँछन्, हामीलाई थान्कामा राखेका थिए भनेर। प्रधानमन्त्री भएका बेला शेरबहादुरजीलाई थुनामा राखेको होइन, त्यतिबेलाका राजा ज्ञानेन्द्रले? अस्ति भर्खरको कुरा होइन?’ देउवालाई हौस्याउँदै थिए ओली।
‘राजाको पालामा विरोधीहरूलाई राजनीतिक रूपले रिस उठेपछि मुद्दा मामला लगाएर, अपमान गरेर फसाउने कुरा। पहिले महेन्द्रको पालामा अराष्ट्रीय तत्त्व मात्रै भनेर आरोप लगाउँथे। पछि त (ज्ञानेन्द्रको पालामा) अनेक खालका आरोप लगाउने। भ्रष्टाचारी भनेर भनेर आरोप लगाउँथे।’ ओलीको बोली यतिमै लगाम लागेन, देउवालाई हौस्याउन लागेका ओली आफैं हौसिन थाले र धमाधम आफ्नै गठबन्धनको पोल खोल्न थाले।
‘यो कुरा अस्ति प्रचण्ड-रविवाला सरकार हुँदा पनि त्यस्तै उनीहरूले दोहोर्याउन खोजे,’ ओलीले नयाँ सरकार बन्नुको प्रसंग जोड्दै भने, ‘हेर्दाहेर्दै जनताले भन्न थाले- एमाले-कांग्रेसजस्तो पार्टी हुँदाहुँदै कसका के नाच हुन् यी ? कांग्रेस-एमाले ट्वाँ परेर हेरिरहेका छन्। फर्याकफुरुक कलाकार बनेर नाच्नेहरू छन्। के हो यो? जनताले भन्न थाले त्यसपछि हामी यसो कुरा गरेर- यो त साह्रै भएन सच्याउनुपर्यो, देशलाई स्थिरता, स्थायित्वतर्फ फर्काउनुपर्यो भनेर अहिलेको सरकार बनायौं।’
ओलीको आशय थियो- राजाले झैं प्रचण्ड-रविले कांग्रेस र एमालेलाई फसाउने षडयन्त्र गर्दै थिए। ओलीले भनेजस्तै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेले कांग्रेस र एमालेका नेताहरू जोडिएका भ्रष्टाचारका फाइल खोल्न लागेको लुकेको छैन। प्रचण्ड र रविले पनि ओली जोडिएको गिरिबन्धु टी स्टेट जग्गा प्रकरण र देउवा पत्नी वर्तमान परराष्ट्रमन्त्री आरजु राणा जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोल्ने तयारीपछि अचानक कांग्रेस-एमाले गठबन्धन बनेको दाबी गर्दै आएका छन्।
गत १० असार सोमबार प्रतिनिधिसभामा विनियोजन विधेयकअन्तर्गत गृह मन्त्रालयको शीर्षकमाथिको छलफलमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै तत्कालीन गृहमन्त्री लामिछानेले भ्रष्टाचारका फाइलहरू धमाधम खुलिरहेको बताएका थिए। उनले भुटानी शरणार्थीको बन्द भएको फाइल, स्काउट, बालमन्दिर, बाँसबारीको फाइल, टीकापुरको फाइल खुल्ने दाबी गरेका थिए।
नभन्दै १४ असारमा नक्कली शरणार्थी प्रकरणमा विचौलिया बेचन झा पक्राउ परे। भोलिपल्टै देउवा दम्पती ओली निवास बालकोट पुगेर प्रधानमन्त्रीको अफर गरे। शरणार्थी प्रकरणमा कांग्रेस सभापति देउवा पत्नी आरजु राणा देउवालाई पनि आरोप लाग्ने गरेको छ। पक्राउ परेका बेचन झा कांग्रेस र एमाले दुवै पार्टीको निकट मानिन्छन्। उनको सम्बन्ध र लेनदेन उच्च राजनीतिक नेतृत्वसँग रहेको देखिएको छ। शरणार्थी प्रकरणलाई फेरि उचालेर गृहमन्त्री लामिछानेले आफूहरूमाथि दबाब सिर्जना गर्न खोजेको भन्दै दुवै दल सशंकित भएका थिए।
गृहमन्त्री लामिछानेले गिरिबन्धु टी स्टेट प्रकरणमा पनि अनुसन्धान प्रक्रिया अघि बढाएको बताएपछि एमाले पनि सशंकित भएको थियो। लामिछानेले प्रहरीलाई गिरिबन्धु टी स्टेटका बारेमा उजुरी माग्न मन्त्रालयले निर्देशन दिइसकेको र सीआईबी गिरिबन्धु टी स्टेटको उजुरीको प्रतीक्षामा रहेको बताएका थिए।
हुन पनि, आफूमाथि सहकारी ठगीको आरोप लागिरहेका बेला सरकारमा गएको औचित्य पुष्टिका लागि दबाबमा थिए, तत्कालीन गृहमन्त्री लामिछाने। त्यसका लागि पुराना पार्टीका भ्रष्टाचारका फाइल खोल्न सकेमा पार्टी र आफूलाई प्रत्यक्ष फाइदा पुग्ने देखेका लामिछाने पुराना फाइल खोल्ने तयारीमा थिए। उनको कार्यशैलीबाट प्रतिपक्षी कांग्रेस मात्र नभएर सत्तारुढ एमालेसमेत सशंकित थियो।
यी दुई प्रकरणले सत्ता नै परिवर्तन गराइदिएको जानकारहरू बताउँछन्। बेचन झा पक्राउ परेको भोलिपल्ट १५ असार शनिबार एमाले अध्यक्ष ओलीको निवास बालकोटको माहोल फरक थियो। देउवा दम्पती दही-चिउरा खाने बहानामा ओली निवास पुगेका थिए। बहाना दही-चिउरा भए पनि भित्र भने सरकार परिवर्तनको खिचडी पाक्दै थियो।
यता कांग्रेस-एमाले लसपस बढेपछि झस्किएका प्रधानमन्त्री प्रचण्डले भने कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको सहकार्यमा नयाँ सरकारको कार्ड पनि फालेका थिए। तर, प्रचण्डबाट धोका खाएका कांग्रेस र एमाले मिलेर सरकार चलाउनुपर्ने र साना दलका किराना पसल बन्द गर्नुपर्ने बताउँदै आएका कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहल सार्थक हुँदै थियो।
अन्ततः संविधान संशोधन गर्ने सहमतिसँगै नयाँ गठबन्धन बन्यो र ओलीको नेतृत्वमा नयाँ सरकार गठन भयो। तर, जानकारहरूका अनुसार संविधान संशोधन जनता झुक्याउने बहाना मात्र थियो। चाहना के थियो, ओलीको आशयबाटै बुझ्न सकिन्छ।
तर, ओली-प्रचण्ड दूरी बढ्नुका कारण यतिमा सीमित छैनन्। प्रचण्डले आफूलाई प्रतिनिधिसभाको पूरै कार्यकाल प्रधानमन्त्रीमा दाबी गर्न थालेपछि ओली सशंकित थिए। उनले सार्वजनिक कार्यक्रममार्फत नै आफूलाई सरकारबाट हटाउन सजिलो नभएको अभिव्यक्ति दिन थालेका थिए। उनले संसदमा आफूहरूको सिट थोरै भए पनि सरकार निर्माणका लागि जादुई नम्बर भएको दाबी गरेका थिए।
भनेका थिए, ‘अहिले डेढ वर्ष भयो। तरिका मिल्यो भने पूरै अवधि बसिन्छ। हामीलाई हटाउन सजिलो छैन। इतिहासका कारणले, मुद्दाका कारणले, आन्दोलनको कारणले र हाम्रो जादुई नम्बरको कारणले पनि। थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन। जादुवाला नम्बर छ। त्यो जादुले अनेक गरेर मिलाइन्छ।’
ओलीको आशयझैं सत्तारुढ दलले भ्रष्टाचारका काण्डहरू ढाकछोप गर्न नयाँ गठबन्धन बनेको यी आशंकालाई मलजल पुग्ने नै कार्यहरू गर्दै आएका छन्। किनकि, स्याल कराउनु र बाख्रा हराउनु संयोग मात्र अवश्य थिएन। बेचन झा पक्राउ परेयता नक्कली शरणार्थी प्रकरणमा थप अनुसन्धान नै अघि बढेको छैन। यता गिरिबन्धु प्रकरणमा सरकार अदालतको आदेशलाई नै चुनौती दिइरहेको छ। अनुसन्धान त परको कुरा, उल्टै जग्गा बेच्ने प्रचञ्चमा लागेको विपक्षी दलहरूको आरोप छ।
प्रतिपक्षीमा रहेका बेला ओली जोडिएको गिरिबन्धु जग्गा प्रकरणको आवाज संसद र सडकमा उठाउनेमा कोही थिए भने ती थिए- कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा। तर, उनीहरू हाल यस प्रकरणमा चुप छन्। पत्रकार र सार्वजनिक मञ्चबाट सोधिने यी प्रश्नबाट उनीहरू भाग्दै आएका छन्। र, एमाले नेताहरू पनि नक्कली शरणार्थी प्रकरणमा मुख बन्द गरेर बसेका छन्।
फेरि सरकार फेरिने सम्भावना ?
३ पुसमा देउवालाई साक्षी राखेर ओलीले भनेका थिए, ‘अहिले दुई पार्टीले संकल्प गरेका छन्- देशलाई अब ठीक बाटोमा अघि बढाएर छोड्ने, स्थिरता स्थायित्व कायम गरेर छोड्ने र सुशासन र विकास फेरि फर्काएर यस देशलाई विकासको बाटोमा तीव्र गतिले अघि बढाउने। र, समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पनि पूरा गर्नेछौं।’ तर, वर्तमान सत्ता गठबन्धनकै नेताहरू सरकारको काम कारवाहीप्रति असन्तुष्ट देखिएका छन्।
कांग्रेस महामन्त्री गगन थापाले अहिलेको सरकारले गठबन्धनको औचित्य पुष्टि हुनेगरी काम गर्न नसकेको संकेत गरेका छन्। कैलाश कोइरालाद्वारा लिखित ‘शास्त्र’ उपन्यासको विमोचन कार्यक्रमबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले भनेका थिए, ‘अहिलेको सरकार राम्रोसँग चलिराखेको छ। सरकारका आफ्ना कमी-कमजोरीको बारेमा प्रधानमन्त्रीज्यू पक्कै पनि सचेत हुनुहुन्छ। सरकार बनिसकेपछि जुन खालको आशा हो, त्यो आशाअनुसारको जसरी डेलिभरी हुनुपर्ने हो, त्यो भइरहेको छैन।’
तर, उनले वर्तमान सरकारमा तत्काल कुनै फेरबदल नहुने स्पष्ट पारेका छन्। भन्छन्, ‘अहिले सरकारको कुनै फेरबदल हुँदैन्। तर, सरकारले जसरी कुदेर काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन। मलाई के लाग्छ भने यो विषयमा सबैभन्दा बढी सचेत प्रधानमन्त्री आफैं रहनुपर्छ। उहाँ हुनुहुन्छ।’ यद्यपि, उनी यी प्रश्नबाट पन्छिने प्रयास गरिरहेका थिए। तर, सञ्चारकर्मीले पछ्याएपछि उनी उत्तर दिन बाध्य भएका थिए।
राजनीतिक विश्लेषक हरि रोका दुई तिहाइको बलियो सरकार हुँदा केही गर्न नसक्नु निकम्मापन सावित भएको बताउँछन्। गठबन्धनसँग कुनै योजना नरहेको उनको दाबी छ। भन्छन्, ‘केही गर्न नयाँ दृष्टिकोण, योजना, नयाँ संस्थागत संरचना, र सुदृढ मनोबल आवश्यक हुन्छ। साढे तीन दशकको अवधिका अनुभवले भन्छ- गठबन्धनसँग यी सब केही छैनन्।’
यता ६ पुसमा माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवा सार्वजनिक कार्यक्रममा एकै मञ्चमा देखिएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल)को फाइलन खेल हेर्न उनीहरू सँगै उपस्थित भएका थिए। विजेता टोलीलाई दुवै नेताले संयुक्त रूपमा ट्रफी हस्तान्तरण गरेका थिए।
हुन त, प्रचण्डले देउवासँग मिलेर नयाँ गठबन्धन बनाउन लागेको चर्चा पनि चलिरहेको छ। प्रचण्ड देउवाप्रति नरम नै देखिन्छन्। सत्ता परिवर्तनपछि पनि प्रचण्ड ओलीप्रति बढी आक्रमण र देउवाप्रति नरम देखिँदै आएका छन्।
ओलीले पनि सरकार परिवर्तनको हल्लालाई देउवाकै अघि सम्बोधन गर्दै भनेका थिए, ‘सरापेको सरापेकै छन्। अहिले ढल्छ, भरे ढल्छ, भोलि नै ढल्छ भनेर सरापिरहेका छन्। मरिजावस्, ढलिजावन् …। तर, तपाईंहरूले सन्नु भएको होला- झिंगाको सरापले डिँगा भनेको गाइभैंसी, पशु केही पनि झिंगाको सरापले मर्ने होइन।’
आरजुलाई जोगाउने नाममा कांग्रेस ओलीमाथि लागेका आरोपका भारीहरू पनि बोकेर एमालेसँगै सती जान लागेको हो? भन्ने प्रश्नमा शेखर कोइराला पक्षका एक नेता भन्छन्, ‘गिरिबन्धु र भुटानी शरणार्थी प्रकरणको ढाकछोप हुँदैन। कसैलाई जोगाउन कांग्रेस किन सती जान्छ? जाँदैन। संसद नभएर कुरा नउठेको देखिएको हो। खुलेपछि देखिहाल्नु हुन्छ।’
सरकार परिवर्तनको हल्लाको बारेमा भने उनी बोल्न चाहेनन्। भन्छन्, ‘भोलि भयो भने देखिहाल्नु हुन्छ नि। दुवै पार्टीका नेताहरूले जवाफ दिइरहनु भएकै छ नि। एमाले नेताले सार्वजनिक रूपमै पार्टीका भ्रष्टाचारी जोगाउन गठबन्धन भएको आशय व्यक्त गर्नु भएको छ। अब देउवाजीले पार्टी जोगाउनुहुन्छ कि भ्रष्टाचारी जोगाउनु हुन्छ हेरौं न।’
रविको पक्राउमा पनि राजनीतिक षडयन्त्रको गन्ध ?
प्रधानमन्त्री ओलीको अभिव्यक्तिको आशय थियो- प्रचण्ड-रविवालाको सरकारले एमाले-कांग्रेसका नेताहरूलाई जेल हाल्ने षडयन्त्र गरिरहेको थियो, जसलाई रोक्न कांग्रेस एमालेको सरकार बनेको थियो। तर, जब सत्ता परिवर्तन भयो, उनी आफैं पूर्व सहकर्मी रवि लामिछानेप्रति पूर्वाग्राही देखिन थालेका जानकारहरू बताउँछन्।
हुन पनि, सरकारमा हुँदासम्म लामिछानेको बचाउमा उत्रिएका ओली गठबन्धन परिवर्तन हुनेबित्तिकै एकाएक पक्राउ गर्न तयार देखिए। एकताका छानविन समितिसम्म बनाउन सकिँदैन भन्दै अभिव्यक्ति दिँदै हिँडेका थिए। तर, यतिबेला रवि र रास्वपाका कटु आलोचक कोही छ भने ती ओली मात्र छन्। यसबाट पनि सरकारको प्रतिशोध देखिने विश्लेषकहरू बताउँछन्।
सत्ता गठबन्धन परिवर्तनसँगै लामिछानेले आफू पक्राउ पर्ने आकलन गरिसकेका थिए। किनभने, सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नता रहेको भन्दै संसद अवरुद्ध र छानविन समिति बनाउन भूमिका खेलेको कांग्रेस सत्तामा आएको थियो। त्यसमा पनि आन्दोलनको नेतृत्व गरेका कांग्रेसका युवा नेताहरू रविप्रति अनुदार थिए। उनीहरू रविलाई पक्राउ गरेर ‘फेस सेभिङ’ गर्न चाहन्थे।
अझ, ‘रवि लामिछानेले सहकारीबाट रकम लिएको प्रमाण छ’ भन्दै संसदमा हंगामा गरेका रमेश लेखक गृहमन्त्री बनेका थिए। झन्, संसदीय छानविन समितिले सहकारीको रकम ल्याउन संलग्नता नदेखिए पनि गोर्खा मिडियामा आएको रकम अपचलनमा लामिछानेको संलग्नता रहेको निष्कर्ष दिएपछि लामिछानेलाई पक्राउ गर्ने बाटो खुलेको थियो। नभन्दै गृहमन्त्री रमेश लेखकले लामिछानेलाई पक्राउ गरेर देखाइदिए। लामिछाने दुई महिनादेखि प्रहरी हिरासतमा छन्।
लामिछानेको पक्राउको विषयमा राजनीतिक पूर्वाग्रहको आशंका रहेको कांग्रेस-एमालेकै केही नेताहरूले सार्वजनिक अभिव्यक्ति दिएका छन्। पक्राउ परेकै दिन लामिछानेले आफू प्रतिशोधको शिकार भएको दाबी गरेका थिए। उनले एउटा नेताको राजनीति जोगाइदिन आफूलाई बली चढाइएको टिप्पणी गरेका थिए।
लामिछानेले भनेका थिए, ‘ओलीजी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याएँ, तिनै भ्रष्टाचारी जोगाउन तपाईंले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो। वाचास्वरूप तपाईंले मेरो बली चढाउने सम्झौता त्यसै रात गर्नुभएको थियो। यो मलाई राम्रोसँग थाहा छ। तपाईंको मन्त्रिमण्डल त्यसको साक्षात प्रमाण हो।’
पक्राउको ठ्याक्कै एक महिनाअघि २ असोजमा लामिछानेले पार्टीको पहिलो राष्ट्रीय भेलामा राजनीतिक प्रतिवेदन सार्वजनिक गर्दै आफूमाथि राजनीतिक प्रतिशोध साँध्न खोजिएको दाबी गरेका थिए। रास्वपामाथि चौतर्फी घेराबन्दीको प्रयास भइरहेको बताएका थिए। रास्वपाप्रति जनलहर बढ्दै गएपछि पुराना राजनीतिक दलहरू आत्तिएको उनको दाबी थियो।