काठमाडौं- श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायके तीनदिने भारत भ्रमण सकेर फर्किएका छन्। गत १५-१७ डिसेम्बरमा भारत भ्रमणमा आएका दिसानायकेले प्रधानमन्त्री मोदीसहित उच्चस्तरीय भेटवार्ता गरेका थिए। पहिलो विदेश भ्रमण भारतबाट शुरु गरेका दिसानायकेको भ्रमणलाई चीनले चासोका साथ हेरेको छ।
भारतविरोधी छवि भएको पार्टी जनता विमुक्ति पेरामुना (जेभीपी)का नेताको पहिलो विदेश भ्रमणको रोजाइमा भारत पर्नु अर्थपूर्ण रहेको जानकारहरू बताउँछन्। उनी राष्ट्रपतिमा निर्वाचित भएसँगै भारतीय सञ्चार माध्यमहरूले भारतविरोधी सरकार बनेको भन्दै चिन्ता व्यक्त गरेका थिए। तर, पहिलो विदेश भ्रमण नै भारतबाट गरेर उनले सबैलाई चकित पारिदिएका छन्।
भारत भ्रमणका क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदीसहित मन्त्रीहरू र सरकारी उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए। मोदीसँगको भेटवार्ता फलदायी रहेको उनले बताएका छन्। मोदीसँगको भेटपछि राष्ट्रपति दिसानायकेले आफ्नो देशको भूभाग भारतविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको ‘द इन्डियन एक्सप्रेस’ले जनाएको छ।
हैदरावाद हाउसमा भएको द्विपक्षीय वार्ताका क्रममा दिसानायकेले दुई वर्षअघि श्रीलंकाको ‘आर्थिक संकट’को समयमा सहयोग गरेकामा भारतप्रति कृतज्ञता व्यक्त गरेका थिए। प्रधानमन्त्री मोदीले दुई नेताबीच छिमेकी देशको ‘पुनर्निर्माण’बारे छलफल भएको र श्रीलंका सरकारले तमिल अल्पसंख्यकहरूको आकांक्षा पूरा गर्ने आशा व्यक्त गरेको बताएका छन्।
दुई देशबीच सुरक्षा सहकार्य अगाडि बढाउन सहमति भएको छ। दुवै पक्षले रक्षा सहयोगमा फ्रेमवर्क सम्झौता गर्ने सकिने सम्भावनाको पहिचान गर्ने निर्णय गरेका छन्। राष्ट्रपति दिसानायकेले भारतीय समकक्षी द्रौपदी मुर्मूसँग पनि भेटवार्ता गरेको ‘द इन्डियन एक्सप्रेस’ले जनाएको छ।
त्यसअघि १५ डिसेम्बरमा उनले वित्तमन्त्री निर्मला सीतारमण, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग छलफल गरेका थिए। दिसानायकेले सामाजिक सञ्जाल एक्समार्फत उनीहरूसँगको छलफल फलदायी रहेको बताएका छन्।
उनले भनेका छन्, ‘हाम्रा छलफलहरू भारत-श्रीलंका आर्थिक सहयोगलाई सुदृढ पार्ने, लगानीका अवसरहरू बढाउने, क्षेत्रीय सुरक्षालाई बढावा दिने र पर्यटन, ऊर्जाजस्ता प्रमुख क्षेत्रहरूलाई सहकार्य अगाडि बढाउने विषयमा केन्द्रित थिए।’ राष्ट्रपति दिसानायकेले यस्ता सहकार्यले दुई देशबीचको साझेदारीलाई थप सुदृढ गर्ने प्रतिबद्धतालाई पुष्टि गर्ने बताएका छन्।
श्रीलंकामा भारत र चीनको चासो
गत २१ सेप्टेम्बरमा सम्पन्न निर्वाचनमा उनी राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनी वामपन्थी दलहरूको गठबन्धन नेसनल पिपुल्स पावर (एनपीपी) बाट चुनाव लडेका थिए। उक्त गठबन्धन नै भारतविरोधी मानिन्छ।
दिसानायकेले भने चुनावी अभियान क्रममा सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै श्रीलंकाको जमिन, समुद्र र आकाश भारतविरोधी गतिविधिमा प्रयोग हुन नदिने र श्रीलंकाको आर्थिक अवस्था हेरेर विकासका क्षेत्रमा भारतको सहयोगको पहिचान गर्ने प्रतिबद्धता गरेका थिए। जानकारहरूका अनुसार श्रीलंका सामरिक रूपले भारत र चीन दुवैका लागि महत्त्वपूर्ण क्षेत्र हो।
दिसानायके राष्ट्रपतिमा निर्वाचित भएलगत्तै भारत र चीनले बधाइ दिएका थिए। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समार्फत बधाइ दिँदा चिनियाँ राजदूतले दिसानायकेलाई भेटेरै राष्ट्रपति सी जिनपिङको शुभकामना सन्देश सुनाएका थिए। दिसानायके निर्वाचित भएलगत्तै गत अक्टोबरमा भारतीय विदेशमन्त्री जयशंकर श्रीलंका भ्रमणमा गएका थिए। भ्रमणको उद्देश्य नयाँ सरकारसँग राम्रो सम्बन्ध स्थापित गर्नु थियो।
बीबीसीका अनुसार भारत, अमेरिका र अष्ट्रेलियाले इन्डो-प्यासिफिक क्षेत्रमा चीनको प्रभुत्वलाई रोक्ने प्रयास गरिरहेका छन्। त्यसका लागि उनीहरूले श्रीलंकाको सहयोग खोजिरहेका छन्। त्यसैले श्रीलंकालाई ती देशहरूको पकडमा जानबाट रोक्नु चीनको उद्देश्य छ।
श्रीलंकामा चीनको प्रभाव रोक्न भन्दै भारतले पूर्वाधार विकासमा लगानी बढाएको छ। यद्यपि, चीन अहिलेसम्म पनि श्रीलंकाको सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाताको रूपमा छ। भारत भ्रमणलगत्तै चीन भ्रमणमा जाने तयारीमा रहेका दिसानायकेले भारतसँग मिलेर काम गरे पनि श्रीलंकाको चीनसँगको मैत्रीपूर्ण सम्बन्धमा कुनै परिवर्तन नआउने सन्देश दिन खोजेको बीबीसीले उल्लेख गरेको छ।
जेभीपीको भारतविरोधी छवि
उनको पार्टी जेभीपी इतिहासदेखि नै भारतविरोधी र चीन समर्थित मानिने टाइम्स अफ इन्डियाले जनाएको छ। श्रीलंकाका तत्कालीन राष्ट्रपति जेआर जयबर्द्धने र भारतका राजीव गान्धीले हस्ताक्षर गरेको सन् १९८७ को भारत-श्रीलंका सम्झौताको पनि पार्टीले कडा विरोध गरेको थियो।
वर्तमान राष्ट्रपति दिसानायकेले १९८७ मा भएको इन्डो-श्रीलंका सम्झौतापछि विद्यार्थी राजनीति शुरु गरेका थिए। १९८७-८९ सम्म मार्क्सवादी पार्टी जनता विमुक्ति पेरामुनाले सरकारविरुद्ध हतियार उठाउँदै युद्धमा होमिएको थियो। उनीहरूको आन्दोलनलाई सरकारले प्रतिबन्ध लगाएर कारवाही थालेपछि उनी भूमिगत भएका थिए।
त्यसबेला श्रीलंकामा कहालीलाग्दो रक्तपातपूर्ण अवस्था निम्तिएको थियो। भारतीय विस्तारवादविरुद्ध जेभीपीको हिंसात्मक विद्रोहका क्रममा हजारौं मानिसको मृत्युपछि सरकारी सेना विद्रोह दबाउन सफल भएको थियो।
गत ६ फेब्रुअरीमा जेभीपी लिडर दिसानायके नयाँदिल्लीको निमन्त्रणामा ५ दिने भारत भ्रमण गरेका थिए। त्यसबेला उनी न सत्तामा थिए, न गतिलो प्रतिपक्षमा नै। २२५ सदस्यीय संसदमा उनको गठबन्धनले जम्मा ३ सिट मात्र जितेको थियो। तर, श्रीलंकाको राजनीतिमा उनको बढ्दो प्रभाव देखेर भारतले उनलाई आफ्नो खेमामा तान्ने प्रयास गरिसकेको थियो। भारतले उनी श्रीलंकाको सत्ता नेतृत्वमा पुग्ने सम्भावना आकलन त्यतिखेरै गरिसकेको कूटनीतिका जानकारहरू बताउँछन्।
भारत भ्रमण क्रममा उनले विदेशमन्त्री एस जयशंकर, राष्ट्रीय सुरक्षा सल्लाहकार अजित डोभाललगायत वरिष्ठ कूटनीतिज्ञहरूसँग भेटवार्ता गरेका थिए। दिल्लीले उनलाई भ्रमणको निम्तो दिएको यो नै पहिलो भएको द हिन्दूले उल्लेख गरेको छ।
कसरी बने श्रीलंकाको राष्ट्रपति ?
सन् २०२२ मा मुलुकमा आर्थिक संकट गहिरिएपछि भएको जनआन्दोलनले तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षेलाई देश छोड्न बाध्य पारेको थियो। उक्त आन्दोलनमा दिसानायकेको पार्टी जेभीपीको महत्त्वपूर्ण भूमिका थियो। त्यही विन्दुबाट उनको लोकप्रियता थप बढेको थियो।
पूर्व राष्ट्रपति रनिल बिक्रमासिंघे सरकारले पनि आर्थिक संकट टार्न नसकेपछि दिसानायकेको पार्टीको प्रभाव झन बढेको थियो। र, गत २१ सेप्टेम्बरमा सम्पन्न निर्वाचनमा उनी राष्ट्रपति निर्वाचित भएका थिए।
सन् १९९७ मा दिसानायके जेभीपी पार्टीको केन्द्रीय कमिटीमा छानिएका दिसानायके २००८ मा पार्टी लिडर चुनिएका थिए। पहिलोपटक सन् २००० को संसदीय निर्वाचनमा विजयी भएका उनले त्यसयताका निर्वाचनमा लगातार जित निकाल्दै आएका छन्। २०१९ र २०२२ को राष्ट्रपतीय निर्वाचनमा भने उनी पराजित भएका थिए।
दिसानायकेको सरकार भारत भक्त कि चीन ?
विश्लेषकहरूका अनुसार दिसानायके र उनको पार्टी विगतदेखि नै वैचारिक रूपमा चीनसँग नजिक छ। जेभीपीको सरकार बनेपछि यसले थप चिनियाँ लगानी आकर्षित गर्ने अनुमान छ। हिन्दूस्तान टाइम्सका अनुसार श्रीलंकाली राष्ट्रपति दिसानायके जनवरी २०२५ मा चीन भ्रमणमा जाने तयारीमा छन्।
चुनावी प्रतिबद्धतामा दिसानायकेले क्षेत्रीय सुरक्षालाई ध्यानमा राख्दै विश्वव्यापी परिस्थिति अनुकूल र श्रीलंकाको राष्ट्रीय हितमा सघाउने बलियो विदेश नीति अपनाउने बताएका थिए। उनले श्रीलंका कुनै पनि पक्षमा नलागी देशको हित अनुकूलका अवसरहरू सदुपयोग गर्ने संकेत गरेका थिए। सोहीअनुसार उनले आफ्नो भारतविरोधी छवि हुँदाहुँदै भारतसँग सम्बन्ध सुधारको प्रयास गरेको हुन सक्ने जानकारहरू बताउँछन्।
आर्थिक संकटमा रहेको श्रीलंकाले एसियाका दुई शक्तिहरूलाई सन्तुलन गरेर असंलग्नताको सिद्धान्तअनुसार व्यवहार गर्नुपर्ने विज्ञहरू बताउँछन्। श्रीलंकाले दुवै देशलाई तिनीहरूको ‘कोर इन्ट्रेस्टमा’ आँच आउन नदिने तर स्वतन्त्र रूपमा दुवैसँग मित्रता बढाउने र सहयोग लिने विषयमा अन्यथा मान्न नपाउने कुरा प्रष्ट राख्नुपर्ने नेपालका एक पूर्व राजदूत बताउँछन्।
भन्छन्, ‘साना मुलुकमा सरकार परिवर्तन भइरहन्छन्। कोही अलि लेफ्ट ढल्किने हुन्छन्, कोही राइट। तर, छिमेकी मुलुकसँगको सम्बन्ध ढल्किनु हुँदैन। तिमीहरूको कोर इन्ट्रेस्ट भन, हामी त्यसमा धक्का दिँदैनौं। तर, दुवै देशबाट व्यापार, लगानी, सहयोग लिने कुरामा स्वतन्त्र रूपमा काम गर्छौं भनेर प्रष्ट पार्दा राम्रो हुन्छ।’