काठमाडौं- विद्रोही सशस्त्र समूहहरूले कब्जा गरेको पश्चिम एसियाली मुलुक सिरियामा कति नेपाली छन् ? सिरिया हेर्ने इजिप्टस्थित नेपाली दूतावासका द्वितीय सचिव दीपक घिमिरेका अनुसार करिब १५ जना नेपाली त्यहाँ रहेको अनुमान छ। र, ४५१ जना नेपाली शान्ति सैनिक त्यहाँ तैनाथ छन्। उनीहरू हालसम्म सुरक्षित छन्। तर, त्यसभन्दा महत्त्वपूर्ण विषय हो, दक्षिण एसियाको विद्रोही हावा पश्चिम एसियाली मुलुक सिरिया पुगेको छ। त्यो पनि अफगानी मोडलमा।
राजधानी दमास्कस विद्रोहीहरूले नियन्त्रणमा लिएपछि राष्ट्रपति बसर अल असद देश छोडेर भागेका छन्। र, उनी रुस पुगेका छन्। २५ वर्ष एकल शासन गरेका राष्ट्रपति असदले देश छोडेसँगै असद परिवारको पाँच दशक लामो शासन अन्त्य भएको छ।
११ दिनको अवधिमा तीन ठूला शहर एलेप्पो, हामा र होम्सपछि राजधानी दमास्कस विद्रोहीको नियन्त्रणमा गएपछि असद देश छोड्न बाध्य भएका बीबीसीले जनाएको छ। असद यतिबेला रुसको शरणमा पुगेका छन्। र, रुसले उनीसहित उनको परिवारलाई मानवीय आधारमा शरण स्वीकार गरेको रुसी सञ्चार माध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रीय मिडियाले जनाएका छन्।
बीबीसीका अनुसार रुसको सरकारी सञ्चार माध्यमले बसर अल असद र उनको परिवारलाई देशमा शरण दिएको पुष्टि गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दैनिक प्रेस ब्रिफिङमा ‘राष्ट्रपति भ्लादिमिर पुटिनले व्यक्तिगत रूपमा यो निर्णय लिएको’ बताएका छन्।
असद सरकारविरुद्ध १३ वर्षदेखि जारी सशस्त्र विद्रोह उनको बहिर्गनमसँगै अन्त्य भएको छ। राजधानी कब्जा गरेको इस्लामी विद्रोही समूह हयात तहरिर अल-शाम (एचटीएस)ले सरकारी टेलिभिजन च्यानल र रेडियोबाट विभिन्न सन्देशहरू जारी गर्दै बसर अल असदको शासनको अन्त्य भएको घोषणा गरेको छ। र, राजनीतिक बन्दीहरूलाई जेलबाट रिहा गर्न आह्वान गरेको छ।
पछिल्लो घटनाक्रम
सिरियाको सरकारी टेलिभिजनमा पढिएको एक विज्ञप्तिमा विद्रोही कमान्डर अबु मोहम्मद अल-जोलानीले अब परिवर्तनबाट पछि फर्किने ठाउँ नभएको बताएका छन्। रिपोर्टहरूका अनुसार कमान्डर अल-जोलानीले राजधानीमा रहेका राज्यका संस्थाहरूमा प्रवेश नगर्न आफ्ना लडाकुलाई निर्देशन दिएका छन्। ऐतिहासिक जितका लागि धन्यवाद व्यक्त गर्दै आत्मसमर्पण गर्ने कसैलाई पनि हानि नपुर्याउन आफ्ना समर्थकलाई निर्देशन दिएका छन्।
द गार्जियनका अनुसार सरकारी संस्थाहरू विद्रोहीलाई आधिकारिक रूपमा हस्तान्तरण नहुँदासम्म अल-असदका प्रधानमन्त्रीको निगरानीमा रहने अल-जोलानीले बताएका छन्।
अल-अरेबियाका अनुसार सिरियाका विपक्षी गठबन्धनका नेता हदी अल-बहराले असदको पतनले सिरियाको इतिहासमा एउटा ‘अँध्यारो युग’ सकिएको प्रतिक्रिया दिएका छन्। दमास्कसको अवस्था सुरक्षित रहेको र प्रतिशोध र मानवअधिकार उल्लंघनको कुनै घटना नहुने दाबी गरेका छन्।
अल-बहराले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन्, ‘तपाईंहरू घरमै बस्नुहुन्छ र आफ्नै नागरिकविरुद्ध हतियार उठाउनु हुन्न भने तपाईं सुरक्षित हुनुहुन्छ। सिरियामा बदला, प्रतिशोध र मानवअधिकार उल्लंघनको कुनै घटना हुने छैन। मानिसको मर्यादाको सुरक्षा हुनेछ र सम्मान गरिनेछ।’
सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल-जलालीले राष्ट्रका नाममा सम्बोधन गर्दै आफू पदमा रहिरहेर देशमा सरकारविहीनताको अवस्था आउन नदिन सघाउन तयार रहेको बताएका छन्। उनले देशमा स्वतन्त्र चुनाव गराउनुपर्ने र सिरियाका नागरिकले मतबाट आफ्नो नेता छान्न पाउनुपर्ने बताएका छन्। विद्रोही कमान्डर अबु मोहम्मद अल-जोलानीसँग निरन्तर सम्पर्कमा रहेको उनले बताएका छन्। र, आफू सिरियाली जनताले चुनेको कुनै पनि सरकारसँग मिलेर काम गर्न तयार रहेको उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमा सेयर गरिएका तर पुष्टि हुन बाँकी रहेका भिडियो र तस्बिरहरूमा त्यहाँको कुख्यात सनाय जेलबाट हजारौं बन्दीहरू मुक्त पारिएको देखिन्छ। सनाय त्यो जेल हो, जहाँ अल असद सरकारले विरोधीहरूलाई कठोर यातना र मृत्युदण्ड दिने गरेको थियो।
रोयटर्सका अनुसार विद्रोहीले दमास्कस कब्जा गरेसँगै सिरियालीहरूले खुशी व्यक्त गरेका छन्। र, ‘तानाशाहीको अन्त्य भएको’ भन्दै नाराबाजी गरेका थिए।
यता विद्रोहीले नियन्त्रणमा लिएको राजधानी दमास्कसमा इजरायलले हवाई आक्रमण गरेको छ। बीबीसीको रिपोर्टअनुसार इजरायलले दमास्कसको एउटा हतियार भण्डारण केन्द्रमा हवाई हमला गरेको छ। अन्तर्राष्ट्रीय सञ्चारमाध्यमले इजरायली स्रोतहरूलाई उद्धृत गर्दै सिरियाली सेनाका उन्नत हतियारहरू विद्रोही सेनाको हातमा पर्न नदिने उद्देश्यले हतियार भण्डारमा आक्रमण गरेको उल्लेख गरेका छन्। रिपोर्टअनुसार इजरायली सेनाले सिरियाली सेनाको केही पोस्टहरू नियन्त्रणमा लिएर निःशस्त्रीकरण गरेका छन्।
राष्ट्र संघसहित पश्चिमा र अमेरिकाको प्रतिक्रिया
संयुक्त राष्ट्रसंघसहित अमेरिका र उसका पश्चिमा सहयोगीहरूले असद सरकारको अन्त्यको स्वागत गरेका छन्। संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सिरियाको ‘तानाशाही शासन’को अन्त्यको प्रशंसा गर्दै सिरियाली जनतालाई देशको पुनर्निर्माणमा ध्यान दिन आग्रह गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले एक विज्ञप्तिमार्फत सिरियाको अभूतपूर्व घटनाक्रमलाई निगरानी गरिरहेको र उनको प्रशासन आफ्ना क्षेत्रीय साझेदारसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन्। राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले सिरियाली विद्रोही दमास्कस छिरेपछि सामाजिक सञ्जालमार्फत सिरियाको युद्धमा रुस पराजित हुन लागेको तर युद्ध अमेरिकाको सरोकारको विषय नभएको बताएका थिए।
फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले भनेका छन् ‘अन्ततः बर्बर राज्य सत्ताको पतन भएको छ। म सिरियाली जनतालाई, उनीहरूको साहस र धैर्यलाई सम्मान अर्पण गर्छु। अनिश्चितताको यस घडीमा उनीहरूलाई शान्ति, स्वतन्त्रता र एकताको कामना गर्छु। फ्रान्स मध्यपूर्वमा सबैको सुरक्षाका लागि प्रतिबद्ध रहनेछ।’
जर्मन चान्सलर ओलाफ सोल्जले ‘असदको पतन राम्रो समाचार’ भएको प्रतिक्रिया दिएका छन्। बेलायतका प्रधानमन्त्री केअर स्टार्मरले असदको बहिर्गमन र उनको क्रूर शासनको अन्त्यलाई स्वागत गरेका छन्। उनले त्यहाँ राजनीतिक समाधानको आवश्यकता रहेको र आफ्ना क्षेत्रीय सहयोगीहरूसँग कुरा गरिरहेको बताएका छन्। ‘हामी सबै पक्षलाई शान्ति र स्थायित्व, नागरिक र अल्पसंख्यकको संरक्षण र सहायताका लागि आह्वान गर्छौं,’ उनले भनेका छन्।
को हुन् बसर अल असद ?
बसर अल असद १७ जुलाई २००० मा सिरियाको राष्ट्रप्रमुख बनेका थिए। १० जुनमा आफ्ना पिता तथा सैन्य शासक हाफिज अल-असदको मृत्यु भएपछि उनी अचानक राष्ट्रपति बनेका थिए। त्यसअघि उनी बेलायतमा प्रशिक्षार्थी नेत्र चिकित्सक थिए।
पिताको मृत्यु भएकै दिन छोरा बसरलाई राष्ट्रपति बन्ने बाटो खुलाउन संविधान संशोधन गरेर राष्ट्रपतिका लागि आवश्यक पर्ने न्यूनतम उमेर ३४ वर्ष बनाइएको थियो। त्यसअघि राष्ट्रपतिका लागि न्यूनतम उमेर ४० वर्ष तोकिएको थियो। लगत्तै उनी सैन्य बलको कमान्डर इन चिफ र सत्तारुढ बाथ पार्टीको नेता चुनिएका थिए।
सत्ता सम्हालेको शुरुवाती समयमा उदारवादी नेताको छवि बनाएका उनी राजनीतिक स्वतन्त्रता र खुलापनका पक्षमा देखिएका थिए। तर, केही समयमै उनी निरंकुश देखिन थालेका थिए। सरकारविरुद्ध बोल्नेहरूलाई दमन गर्दै अधिनायकवादी शासन शुरु गरेका थिए।
सन् २०११ मा फैलिएको ‘अरब स्प्रिङ’का बेला असदको तानाशाही शासन अन्त्यका लागि व्यापक प्रदर्शन भएका थिए। तर, रुस र इरानको सहयोग पाएका उनी प्रदर्शनकारीविरुद्ध कठोर रूपमा प्रस्तुत भए। र, सत्ता टिकाउन सफल भएका थिए।
त्यस समय दमनकारी नीतिले उनको सत्ता त जोगियो तर सँगै सिरियालाई गृहयुद्धमा धेकेल्यो। सन् २०११ यता विपक्षीमाथि बर्बर दमन गर्दै आएका थिए। त्यसपछि सिरियामा भूराजनीतिक प्रभाव ह्वात्तै बढेको थियो। नागरिक समाजबाट शुरु भएको सरकार विरोधी आन्दोलनमा विद्रोही समूहहरू हाबी भएपछि सिरियामा गृहयुद्ध शुरु भएको थियो।
रुस, इरानलगायतले असद सरकारलाई समर्थन गर्दै आएका थिए भने अमेरिका र उसका सहयोगीहरूले असद सरकारविरुद्ध विद्रोही समूहलाई सहयोग गर्दै आएका थिए। असदले सिरिया टुक्र्याउन चाहने पश्चिमा शक्तिहरूले उक्साहटबाट देशमा द्वन्द्व शुरु भएको आरोप लगाउने गरेका थिए। र, अब असद सरकारको पतनसँगै गृहयुद्ध रोकिने अपेक्षा गरिएको छ।
असदको सत्ता ढल्दा रुसलाई धक्का
असदको सरकारलाई समर्थन सिरियामा अमेरिकाविरुद्ध रुसको प्रतिष्ठाको लडाईं थियो। किनभने, सोभियत संघको पतनपछि पश्चिमालाई चुनौती दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पहिलो प्रयास थियो। र, रुसलाई विश्व शक्तिको रूपमा प्रस्तुत गर्ने प्रयास पनि। असदको बहिर्गमनसँगै प्रतिष्ठाको लडाईंमा रुसलाई धक्का लागेको छ। असद सरकारलाई सघाउने नाममा रुसले सिरियामा डेढ दशकदेखि ठूलो मूल्य चुकाएको बीबीसीले उल्लेख गरेको छ।
सैन्य सहयोगको बदलामा सिरियाले रुसलाई हेमिमको विमानस्थल र तार्तुसको नौसैनिक बेस ४९ वर्षका लागि भाडामा दिएको थियो। अब रुसका लागि यी अड्डा के गर्ने भन्ने चुनौती थपिएको छ।
यद्यपि, रुस सिरियाको विद्रोही समूहसँग पनि सम्पर्कमा रहेको र विपक्षी समूहले रुसको सैन्य अड्डा र कूटनीतिक नियोगको सुरक्षाको ग्यारेन्टी गरेको सरकारी टेलिभिजनको दाबी उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ।
रूस युक्रेनमा केन्द्रित भएको र ६ लाखभन्दा बढी सैनिकहरू गुमाएपछि वर्षौंदेखि आफूले सुरक्षा दिएको सिरियामा केन्द्रित हुन असक्षम देखिएको अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले बताएका छन्।
उनले पूर्वराष्ट्रपति बाराक ओबामाका कारण रुस सिरियामा पसेको दाबी गरेका छन्। र, रुस पसेपछि सिरिया नरक बनेको उनको दाबी छ। ट्रम्प भन्छन्, ‘ओबामालाई साँच्चै मूर्ख देखाउनुबाहेक रुसका लागि सिरियामा कुनै फाइदा थिएन।’
असद सरकारलाई रुस र इरानको समर्थन थियो। असदले देश छोडेपछि दमास्कसस्थित इरानी दूतावासमा हमला भएको अन्तर्राष्ट्रीय सञ्चार माध्यमले जनाएका छन्। यस्तै, इराकी दूतावास बन्द गराइएको छ।
दक्षिण एसियाको हावा सिरियामा ?
पश्चिम एसियाली मुलुक सिरिया विद्रोहीको कब्जामा पुग्नु र दक्षिण एसियामा केही वर्षदेखि भइरहेका अप्रत्यासित राजनीतिक घटनाक्रम मिल्दोजुल्दो रहेको जानकारहरू बताउँछन्। उनीहरूकै शब्दमा ‘दक्षिण एसियाको हावा सिरिया’मा पुगेको हुन सक्छ।
सन् २०२२ मा श्रीलंकामा आर्थिक संकट गहिरिएपछि त्यहाँका नागरिक सरकारविरुद्ध सडकमा उत्रिए। श्रीलंकाको नेतृत्वमा एकतर्फी हालिमुहाली गरिरहेको राजपाक्षे परिवार भ्रष्टाचारमा लिप्त भएको र देशले आर्थिक संकट भोग्नुपरेको भन्दै जनताले सरकारविरुद्ध व्यापक आन्दोलन घोषणा गरेका थिए। उत्कर्षमा पुगेको महँगी, वैदेशिक मुद्रा सञ्चिति शून्य भएपछि इन्धनको समेत चरम अभाव भयो। र, श्रीलंकाली जनताको धैर्यको बाँध टुट्यो।
९ जुलाई २०२२ मा श्रीलंकाका जनताले राष्ट्रपति निवास कब्जा गरे। र, तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षे भूमिगत भए। १३ जुलाईमा सेनाको सहयोगमा माल्दिभ्स पुगेका राष्ट्रपतिले १४ जुलाईमा सिंगापुर पुगेर पदबाट राजीनामा दिए। त्यससँगै श्रीलंकाको राजनीतिमा राजपाक्षे परिवारको रजगज अन्त्य भएको थियो।
यता बंगलादेशमा भएको विद्यार्थी आन्दोलनले बहुमतको रापतापमा तानाशाही शासन उन्मुख प्रधानमन्त्री शेख हसिनाको डेढ दशक लामो अविराम सत्तायात्रामा पूर्णविराम मात्र लगाइदिएन, सिरियाका राष्ट्रपति बसर अल असदझैं देश नै छोड्न बाध्य बनाइदियो। ५ अगस्त २०२४ मा देशव्यापी कर्फ्यू अवज्ञा गर्दै लाखौंको संख्यामा बंगलादेशीहरू प्रधानमन्त्री हसिनाको सरकारी निवास छिरेपछि उनी देश छोडेर भारतको शरणमा पुगेकी थिइन्।
यीभन्दा पनि सिरियाको पछिल्लो राजनीतिक घटनाक्रमसँग २०२१ को अफगानिस्तानको घटनाक्रम भने मिल्दोजुल्दो रहेको विश्लेषकहरू बताउँछन्। १५ अगस्ट २०२१ मा विद्रोही समूह तालिबानले राजधानी काबुल नियन्त्रणमा लिएपछि तत्कालीन राष्ट्रपति असरफ घानी देश छोडेर भागेका थिए। अमेरिकी सेनाको बलमा करिब ७ वर्ष सत्तामा टिकेका घानी अमेरिकी सेना फिर्ता भएलगत्तै सरकारबाट बाहिरिनुपरेको थियो। रुसको समर्थनमा सत्तामा टिकेका सिरियाका राष्ट्रपति अल असद पनि देश विद्रोहीको कब्जामा गएपछि घानीजस्तै देश छोड्न बाध्य भएका छन्।
अफगान युद्धमा अमेरिकाको पराजय भएजस्तै सिरिया युद्धमा रुसको पराजय भएको छ। यसले देशभित्रको असन्तुष्टि कुल्चिएर शक्ति राष्ट्रको आडमा टिकेको सत्ताको अवसान निश्चित रहेको सन्देश दिएको विश्लेषकहरू बताउँछन्।