काठमाडौँ । घर निर्माण गर्न शुभसाइत गर्ने क्रममा माटोको ढिस्को खसेर पुरिँदा पाँचथरको फिदिममा एक जनाको मृत्यु भएको छ ।
घर निर्माणका लागि शुभसाइत गर्ने क्रममा पुजारीको काम गरिरहेका फिदिम १ का ६५ वर्षीय गोपालप्रकाश ढुंगानाको ढिस्कोले पुरेर मृत्यु भएको हो ।
फिदिम नगरपालिका १ बुद्धमार्गका मदन पन्धाकको घडेरीमा घर निर्माणका लागि शुभसाइत गर्ने क्रममा आज बिहान ८ बजे ढुंगानालाई माटोको ढिस्को र सेफ्टी ट्यांकी झरेर पुरेको थियो ।
जेसिबी मेसिनको सहायतामा करिब ५० मिनेटपछि ढुंगानाको उद्धार गरी जिल्ला अस्पताल लगिएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घटनामा घर निर्माण गर्न लागेका मदनकी भतिजी साहिसा पन्धाककोसमेत शरीरको आधा भाग ढिस्कोले पुरेको थियो । उनलाई सुरक्षाकर्मीको सहयोगमा स्थानीयवासीले उद्धार गरेका थिए ।
मृतक ढुंगाना सेवानिवृत्त शिक्षक हुन् । उनले लामो समय फिदिम नगरपालिका ४ स्थित सुखबोध माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हालेका थिए । उनी नेकपा माओवादी केन्द्र प्रदेश १ सल्लाहकार कमिटीका सदस्यसमेत थिए ।
मृतकलाई जिल्ला अस्पतालमा शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।