काठमाडौँ । तनहुँका जनप्रतिनिधिले सवारी साधनको सुविधा फिर्ता गर्न सुरुआत गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी उनीहरूले आफूले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गरेका हुन् ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, प्रवक्ता खिमबहादुर कुमाल र भीमाद नगरपालिका ९ का वडाध्यक्ष इमानबहादुर थापाले आइतबार सवारी साधन फिर्ता गरेका थिए । उनीहरू दुवै ती पालिकाको नगरप्रमुखको आकाङ्क्षी हुन् ।
शुक्लागण्डकीका प्रमुख गुरुङले आफूले प्रयोग गरेको ग १ झ ३२१ नम्बरको स्कोरपियो फिर्ता गरे । उनले प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेलाई चाबी हस्तान्तरण गरेका हुन् ।
उनले पुनः नगरप्रमुखमा दोहोरिनलाई आकाङ्क्षा व्यक्त गरेका छन् । नेपाली कांग्रेस शुक्लागण्डकीले उनीसहित दश जनाको नाम जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ ।
उनले अब नगरप्रमुखको उम्मेदवार नभए पनि सरकारी सवारी प्रयोग नगर्ने बताए । निर्वाचन आचारसंहिता शुरु भएलगत्तै सवारी फिर्ता गर्न चाहे पनि कार्यालयको कामको कारण ढिलाइ भएको उनले बताएका थिए । निर्वाचन नजिकिएकाले नगरपालिकाको सवारी प्रयोग नगर्ने गरी फिर्ता गरेको भन्दै उनले अब मेयरको उम्मेदवार भए पनि सवारीको सुविधा नलिने प्रष्ट पारे ।
यसैगरी भीमाद ९ का वडाध्यक्ष इमानबहादुर थापाले आफूले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल फिर्ता गरेका छन् । उनले आफूले प्रयोग आएको ग १ ब १०६९ नम्बरको मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहाललाई फिर्ता गरेका हुन् ।
निर्वाचनका बेला सरकारी सवारी चढ्न उपयुक्त नहुने भएकाले फिर्ता गरेको उनले बताए । वडाको कामकाजका लागि पनि अब सरकारी मोटरसाइकल प्रयोग नगर्ने निर्णय गरेर फिर्ता गरेको उनले बताए ।
यसैगरी शुक्लागण्डकीका प्रवक्ता खिमबहादुर कुमालले आफूले चढ्दै आएको ग १ ब ७४६ नम्बरको मोटरसाइकल नगरपालिकालाई फिर्ता गरेका छन् । अब चुनाव केन्द्रीत गतिविधिमा लाग्नु पर्ने भएकाले सरकारी सेवा सुविधाको दुरुपयोग गर्न नहुने बताए ।