काठमाडौं- काठमाडौं, तारकेश्वर नगरपालिका–२ ढकालटार काभ्रेस्थलीस्थित रामेछाप मन्थली नगरपालिका–११ घर भएका २८ वर्षीय शिवराम बोहराको श्री बोहरा निर्माण सप्लायर्समा विजुली सर्ट भई बिहीबार राति आगलागी हुँदा करिब १२ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
भोजपुर, पौवादुम्मा गाउँपालिका–६ खम्बु चोक बस्ने सुमिता तामाङको घरमा शुक्रबार बिहान आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगजनीमा संलग्न सुमिताको कान्छो छोरा ४५ वर्षीय दुर्गा प्रसाद तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, बिर्तामोड नगरपालिका–८ प्याकुरेल चोक बस्ने शिवलाल गौतमको घरसँगै रहेको भान्छा कोठामा बिहीबार राति आगलागी हुँदा भान्छा कोठा पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।