वासिङ्टन– अझै पनि लोकतान्त्रिक भनिएका मुलुकमै मृत्युदण्डको कानून कायम छ। अमेरिकाको साउथ क्यारोलिना राज्यले सोही कानून कायम राख्दै मृत्युदण्डको तरिका छनोट गर्न पाइने व्यवस्था गरेको छ।
साउथ क्यारोलिना राज्य प्रशासनले एक दशकभन्दा बढी समयपछि एकजना कैदीलाई मृत्युदण्ड दिन लागेको छ। ती कैदीलाई अप्रिल अन्त्यमा मृत्युदण्ड हुनेछ।
मृत्युदण्ड पाउने कैदीले गत शुक्रबार अदालतमा एक कागजात पेश गर्दै आफूलाई विद्युतीय कुर्सीमार्फत नभई फायरिङ स्वाडबाट मारिनुपर्ने माग गरेका छन्।
गत वर्ष साउथ क्यारोलिना राज्यले मृत्युदण्डको सजाय पाएकाले कसरी मारिने विकल्प छान्न पाउने कानून पारित गरेको थियो। ५७ वर्षका रिचार्ड मुर सोही कानून प्रयोग गर्दै मृत्युदण्डको विकल्प चुन्न पाउने पहिलो कैदी भएका छन्।
मुरले सन् १९९९ मा एक स्टोरका कर्मचारीको हत्या गरेवापत दुई दशकदेखि मृत्युदण्डको सजाय पर्खिरहेका छन्। २९ अप्रिलमा उनलाई मृत्युदण्ड दिइयो भने सो साउथ क्यारोलिनामा सन् २०११ पछि दिइएको पहिलो मृत्युदण्ड हुनेछ।
अदालतलाई बुझाएको कागजातमा मुरले दुवै विकल्प बर्बर रहेको र त्यसमध्ये पनि विद्युतीय कुर्सीमा झट्का दिएर मार्ने कम थप बढी अमानवीय रहेको बताएका छन्।
मुरका वकिलले अदालतसामु मृत्युदण्डको सजाय थप पर सार्न अपिल गरेका थिए। अमेरिकी सर्वोच्च अदालतले मुरलाई दिइएको सजाय उस्तै अपराधका लागि अरूलाई दिने सजायभन्दा बढी परेको बारेमा निर्णय नगरेसम्म मृत्युदण्ड पछि सार्नुपर्ने उनका वकिलको दलिल थियो। तर, राज्य अदालतले उनको अपिललाई खारेज गरिदिएपछि मुरको मृत्युदण्ड पक्काजस्तै भएको छ।
फाइरिङ स्क्वाडमा मृत्युदण्ड दिनका लागि तीन इच्छुक कैदीलाई राइफलले आरोपीलाई गोली हान्न लगाइनेछ।
द गार्जियनबाट