बेलायती सेनाको विशेष फोर्सले राजधानी किभमै पुगेर युक्रेनी सेनालाई तालिम दिन थालेको छ। कुनै विदेशी सेनाले रुसविरुद्ध लड्न युक्रेनको सेनालाई तालिम दिएको यो पहिलो घटना हो।
बेलायती सञ्चार माध्यम ‘द टाइम्स’ले सेनाका उच्च अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार बेलायतको सेनाका दुई बटालियनका अधिकृतहरूले किभमा युक्रेनी सेनालाई तालिम दिइरहेका छन्। गत सातादेखि नै बेलायती सेनाले तालिम दिइरहेको ‘द टाइम्स’ले उल्लेख गरेको छ।
युक्रेनी सेनाका क्याप्टेन युरी मिरोनोन्कोले त्यसको पुष्टि गरेका छन्। बेलायतले हालै युक्रेनलाई एन्टी–ट्यांक मिसाइललगायत हतियार उपलब्ध गराएको छ। एक युक्रेनी सैन्य अधिकारीले बेलायती सेनाका अधिकृतहरू असल रहेको र उनीहरूलाई एकसाथ लडाईंमा सामेल हुन आग्रह गरेको बताएका छन्। रुसले युक्रेनको क्रिमिया कब्जा गरेयता पहिलोपटक बेलायती सैन्य प्रशिक्षकहरू युक्रेन गएका हुन्। हालसम्म बेलायतले रुससँग सीधा द्वन्द्व हुन सक्ने बताउँदै युक्रेन युद्धमा कुनै पनि प्रकारको सहभागिता नजनाउने बताउँदै आएको थियो।