नयाँदिल्ली- यही साता दीपावली शुरु हुँदैछ । दीपावली जति रमाइलो चाडका रूपमा मानिन्छ, त्यति नै पटाका पड्काउने गलत संस्कृतिका कारण दुर्घटना पनि निम्त्याउँछ ।
खासगरी, बालबालिकाहरू दीपावलीमा बढी नै जोशमा देखिन्छन् । त्यही मौकामा पटाका पड्काउने ध्याउन्नमा रहन्छन् ।
कतिपय बालबालिकाले पटाका पड्काउँदा हात जलाउन पुग्छन् भने कतिपयले अत्यधिक मिठाइ खाएर फुड पोइजनिङको शिकार बन्छन् । सोही कारण अभिभावकहरूले यस समयमा आफ्ना बालबालिकाको ज्यादा नै रेखदेख गर्नु जरुरी हुन्छ ।
यसरी गरौं रेखदेख
– बालबालिकालाई एक्लै नछाडौं
– दियो र मोमबत्तिबाट टाढा राखौं
– एक्लै पटाका पड्काउन नदिऊँ
– बिजुलीको तार, झालर र चर्को उज्यालोबाट टाढा राखौं
– ठूलो आवाज आउने पटाका पड्काउन नदिऊँ
– पटाका पड्काइरहेको समयमा निगरानी राखौं
– दीपावलीको समयमा प्रदूषण पनि बढ्छ । त्यसैले बालबालिकालाई धुँवा र धुलोबाट टाढा राखौं
– खानपानमा ध्यान दिऊँ । ज्यादा मिठाइ र जंक फुड खान नदिऊँ
– कथा, कविताका माध्यमबाट आगो, बिजुलीलगायतबाट हुने खतराबारे जानकारी दिऊँ