काठमाडौं- भारतको अयोध्यामा हिन्दू राष्ट्रवादीहरूले बाबरी मस्जिद भत्काएको ३१ वर्षपछि प्रधानमन्त्री नरेन्द्र मोदीले भव्य समारोहका साथ राम मन्दिर उदघाटन गरे। मन्दिर उदघाटनपछि अयोध्याको भाग्य फेरिएको छ। धार्मिक पर्यटकको थामिनसक्नु भीडले भारतको अर्थतन्त्रमै सकारात्मक प्रभाव देखिएका रिपोर्टहरू सार्वजनिक भएका छन्।
यसै वर्षको २२ जनवरीमा प्रधानमन्त्री मोदीले भव्य समारोहबीच राम मन्दिरको प्राण प्रतिष्ठा गरेका थिए। भारतीय हिन्दूहरूको भावना जोडिएको अयोध्यामा राम मन्दिर उदघाटनपछि आन्तरिक र बाह्य पर्यटकको संख्या उल्लेख्य वृद्धि भएको छ।
उत्तर प्रदेश पर्यटन विभागका अनुसार राम मन्दिरको उदघाटनपछि २०२४ को मध्यसम्म अयोध्या भ्रमण गर्ने पर्यटकको संख्या ११ करोड पार भएको छ। जुन, भारतमा सबैभन्दा धेरै पर्यटक पुग्ने धार्मिक गन्तव्य बनेको छ।
आर्थिक गतिविधिहरू विश्लेषण गर्ने ग्लोबल रिसर्च एन्ड स्ट्राटेजी जेफरिजको रिपोर्टअनुसार राम मन्दिरको उदघाटनपछि ठूलो आर्थिक प्रभाव पार्ने अपेक्षा छ। रिपोर्टका अनुसार भारतको नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा उदाएको अयोध्याले वार्षिक ५ करोड पर्यटक भित्र्याउन सक्ने अनुमान छ।
‘२२ जनवरीमा अयोध्यामा राम मन्दिरको भव्य उदघाटन एक ठूलो धार्मिक कार्यक्रम हो। यसले ठूलो आर्थिक प्रभाव पनि दिन्छ। किनभने, भारतले नयाँ पर्यटकीय गन्तव्य पाएको छ, जसले वार्षिक ५ करोडभन्दा बढी पर्यटक आकर्षित गर्न सक्छ,’ रिपोर्टमा उल्लेख छ।
नवनिर्मित राम मन्दिरले आर्थिक वृद्धि र शहरमा धार्मिक आवागमनमा प्रोत्साहन गर्ने र पर्यटनमा उल्लेखनीय वृद्धि हुने जेफरिजको अनुमान छ। होटल, एयरलाइन्स, सेवा क्षेत्र, ट्राभल व्यवसायलगायतमा सकारात्मक प्रभाव देखिने रिपोर्टमा उल्लेख छ। त्यसमा सकारात्मक प्रभाव देखिन थालिसकेका छन्।
हाल पर्यटनले भारतको अर्थतन्त्रमा २ सय बिलियन डलरको योगदान दिइरहेको छ, जुन भारतको अर्थतन्त्रको ७ प्रतिशत हो। रिपोर्टअनुसार सन् २०३३ सम्ममा यो ४४३ बिलियन डलर पुग्ने अनुमान छ। देशभरका तीर्थस्थलहरूलाई राज्यले नै आर्थिक सहयोग गरिरहेकाले भारतका धेरै धार्मिक स्थलमा पर्यटक बढ्दै जाने अपेक्षा छ।
स्टेट बैंक अफ इन्डियाको एक अध्ययन प्रतिवेदनअनुसार अयोध्यामा राम मन्दिर बनेपछि उत्तर प्रदेश राज्यले सन् २०२४-२५ मा पाँच हजार करोड राजस्व संकलन गर्ने आकलन गरिएको छ। अयोध्याको पर्यटनले उत्तर प्रदेश १ ट्रिलियन अमेरिकी डलर अर्थतन्त्रको लक्ष्यतर्फ उन्मुख हुने रिपोर्टमा उल्लेख छ। यसै वर्ष उत्तर प्रदेश करिब ४ लाख करोड रुपैयाँले धनी हुने अनुमान छ।
जेफरिजका अनुसार भारतको पर्यटनको सबैभन्दा ठूलो हिस्सा धार्मिक पर्यटनले ओगटेको छ। त्यहाँका धेरै धार्मिक स्थलहरूमा अझै पनि पूर्वाधार विकास हुन सकेको छैन। यद्यपि, ती तीर्थस्थलहरूले वार्षिक एकदेखि ३ करोडसम्म पर्यटक तानिरहेका छन्। पूर्वाधार विकास हुने हो भने यो संख्या शतप्रतिशत बढ्ने विज्ञहरूको अनुमान छ।
सुधारिएको सडक, पूर्वाधार र नयाँ धार्मिक गन्तव्यका रूपमा उदाएको अयोध्याले वार्षिक १० करोड पर्यटक तान्न सक्ने हिन्दूस्तान टाइम्सको रिपोर्टमा उल्लेख छ। जसले भारतको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने निश्चित छ। पर्यटकको चाप बढेपछि अयोध्यामा आईएचसीएल, वेनधाम, मेरियटलगायत बहुराष्ट्रीय होटल चेन कम्पनीहरू भित्रिएका छन्।
भ्याटिकन सिटी र मक्काभन्दा अयोध्यामा धेरै धार्मिक पर्यटक
भ्याटिकन सिटी र मक्का इसाई र इस्लाम धर्मालम्बीको ग्लोबल तीर्थस्थल मानिन्छन्। रोमन क्याथोलिक चर्चहरूको हेडक्वार्टर र पोपको घरका रूपमा परिचित भ्याटिकन सिटी इसाई धर्मावलम्बीको मुख्य धार्मिक गन्तव्य हो। जहाँ वार्षिक ९० लाख मानिस पुग्ने गरेका छन्। भ्याटिकन सिटी विश्वकै सानो राष्ट्रको रूपमा पनि परिचित छ। धार्मिक गतिविधिका अलावा विश्वकै सानो देश हेर्न जाने पर्यटक पनि उत्तिकै छन्।
साउदी अरबको मक्का शहर इस्लाम धर्मावलम्बीको पवित्र तीर्थस्थल हो। मक्कामा प्रोफेट मुहम्मदको जन्म भएको मानिन्छ। त्यहाँ इस्लामबाहेक धर्मावलम्बीलाई प्रवेश निषेध छ। संसारभरका मुस्लिमहरू जीवनमा एकपटक मक्काको अनिवार्य दर्शनका लागि पुग्ने गरेका छन्। त्यहाँ वार्षिक २ करोड मानिस पुग्ने गरेको जेफरिजको रिपोर्टमा उल्लेख छ।
अयोध्यामा राम मन्दिरको उदघाटनपछि भारतमा मन्दिर पर्यटन ह्वात्तै बढेको छ। ६ महिनाको अवधिमा अयोध्यामा ११ करोडभन्दा बढीले भ्रमण गरेका छन्। यो भारतमा सर्वाधिक धार्मिक पर्यटक ओइरिने वाराणसी (बनारस) भ्रमण गर्ने पर्यटकको वार्षिक संख्याभन्दा पनि बढी हो। वाराणसीमा वार्षिक साढे ४ करोडभन्दा बढी पर्यटक भित्रिने गरेका छन्।
भर्खरै उदघाटन भएको र सर्वाधिक चासोको नयाँ गन्तव्य भएकाले हिन्दू धर्मावलम्बीहरूको ओइरो लागेको विश्लेषकहरूको अनुमान छ। उनीहरूका अनुसार आगामी वर्षहरूमा अयोध्यामा वार्षिक कम्तिमा १० करोड पर्यटक भित्रिने अपेक्षा छ। ‘सुधारिएको कनेक्टिभिटी र पूर्वाधारसहित निर्माण भएको नयाँ धार्मिक पर्यटक केन्द्र (अयोध्या)ले ठूलो आर्थिक प्रभाव पार्न सक्छ,’ विश्लेषकहरूको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ।
अयोध्यालाई वाराणसीको ‘पर्यटकीय चमत्कार’सँग तुलना गरिएको छ। एक रिपोर्टका अनुसार सन् २०२१ को अन्त्यमा काशी विश्वनाथ करिडोरको उदघाटनपछि जसरी वाराणसीको भाग्य परिवर्तन भएको थियो, त्यसैगरी राम मन्दिरको उदघाटनपछि अयोध्याको भाग्य परिवर्तन हुँदैछ।
रिपोर्टका अनुसार करिडोर उदघाटनपछि १३ करोडभन्दा बढी पर्यटक वाराणसी पुगेको सरकारी तथ्यांकलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ। करिडोरको विकास हुनुअघि वार्षिक ७० लाख पर्यटक मात्र वाराणसी पुग्ने गरेका थिए। हाल त्यहाँका होटल र अन्य व्यवसायको आम्दानी ६५ प्रतिशतले बढेको छ।
नेपालका तीर्थस्थल बन्न सक्छन् ‘टुरिस्ट हब’
नेपालमा पनि उल्लेख्य धार्मिकस्थलहरू भएकाले अयोध्या मोडलमा विकास गर्न सके धार्मिक पर्यटकको संख्या बढाउन सकिने विज्ञहरूको सुझाव छ, जसले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने उनीहरू बताउँछन्।
भूराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीका अनुसार बिहारका मुख्यमन्त्री नितिश कुमारले सीतामढीमा पनि अयोध्याजस्तै भव्य मन्दिर बनाएर धार्मिक पर्यटनलाई अगाडि बढाउने योजना बनाएका छन्। उनले मोदीलाई प्रस्ताव गरिसकेका छन्।
सीतामढीसँग जनकपुर र धनुषाधामलाई जोडेर प्रचार गर्ने हो भने त्यहाँका १० प्रतिशत पर्यटक मात्र जनकपुर भित्रिए भने पनि नेपाललाई ठूलो लाभ हुने उनी बताउँछन्। त्यसका लागि जनकपुरमा धार्मिक संरचना र पूर्वाधार थप्नुपर्छ।
सुवेदी भन्छन्, ‘नितिश कुमार लागिसकेका छन्, सीतामढीमा पनि एक दिन अवश्य मन्दिर बन्छ। त्यहाँ पनि जनकपुर जोड्ने प्रयास गर्नुपर्छ। सीतामढी आएका १० प्रतिशत पर्यटक मात्र जनकपुर भित्रिए भने पनि धेरै राम्रो हुन्छ। रेल्वेले जोडिसकेको छ। तर, प्रचार हुन सकेको छैन।’
सुवेदीका अनुसार बराहक्षेत्र, पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, जनकपुर, लुम्बिनी, बडिमालिकालगायत प्रमुख धार्मिक गन्तव्यमा उल्लेख्य बाह्य पर्यटक भित्र्याउन सकिन्छ।
काठमाडौंमा रहेको पशुपतिनाथको मन्दिर संसारभरका हिन्दूहरूको आस्थाको केन्द्र हो। पशुपतिनाथ दर्शनका लागि भारतलगायत देशका हिन्दू धर्मावलम्बीहरू नेपाल आउने गरेका छन्। तर, पशुपति आउने पर्यटकको संख्या केवल निरन्तरता मात्र हो। उल्लेख्य रूपमा पर्यटक भित्र्याउन नेपालले सकेको छैन।
काठमाडौंभित्रै गुह्येश्वरी, बज्रयोगिनी, बूढानीलकण्ठलगायत महत्त्वपूर्ण मन्दिरहरू पनि छन्। त्यहाँ पनि पर्यटक बढाउन सकिने प्रशस्त आधारहरू छन्। तर, सरकारको ध्यान नपुगेको सुवेदी बताउँछन्।
पूर्वमा संसारमै बराह भगवानका दुईवटा धाममध्ये बराहक्षेत्र छ। सुनसरीमा अवस्थित बराहक्षेत्रलाई दक्षिणका एक अर्ब हिन्दूमा प्रचार गर्ने हो भने थामिनसक्नु पर्यटक ओइरिने सुवेदी बताउँछन्। भन्छन्, ‘बराहक्षेत्र मात्र होइन, ५१ शक्तिपिठमध्ये दन्तकाली पनि छ धरानको विजयपुरमा। पूर्वमा पाथिभरा पनि छ। पाथिभरालाई बंगाल र बिहारमा मार्केटिङ गर्न सक्नुपर्छ।’
मुस्ताङमा हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल छ, मुक्तिनाथ। रामायणमै काक भुसुण्डी सरोवर नाम उल्लेखित मनाङको तिलिचो तालको धार्मिक महत्त्व उत्तिकै छ। त्यसलाई प्रचार गर्न सकियो भने आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्ने सुवेदी बताउँछन्।
भन्छन्, ‘बुद्धको जन्मस्थल लुम्बिनीमा पनि आन्तरिक मात्र नभएर बाह्य पर्यटक उल्लेख्य बढाउन सकिन्छ। प्युठानको स्वर्गद्वारी छ। बाजुराको बडिमालिका ५१ शक्तिपिठमध्येकै एक हो। कञ्चनपुरको सिद्धबाबा मन्दिरको महत्त्व उत्तिकै छ। कर्णाली प्रदेश मानसरोवर जाने मार्ग नै भइहाल्यो। धार्मिक पर्यटनका दृष्टिकोणले सम्भावना भएका स्थलहरू नेपालमा प्रशस्त छन्।’
यसका अलावा कास्कीको पोखरा महानगरपालिका-२२ स्थित पुम्दीकोट डाँडामा महादेवको विशाल मूर्ति स्थापना भएपछि त्यहाँ पर्यटकको चाप बढेको छ। ५१ फिट अग्लो महादेवको मूर्तिले पर्यटकको ध्यान तानेको छ भने त्यहाँ ३१ फिट अग्लो विशाल डमरु, विशाल कुण्ड (गंगा पोखरी), १०८ धारा जडित तेस्रो आँखा, २१६ शिवलिंग निर्माण गरिएका छन्।
बागलुङको पञ्चकोटस्थित सर्वसिद्धीधाममा धार्मिक पर्यटक आकर्षित गर्ने उद्देश्यले विशाल भौतिक संरचनाहरू धमाधम निर्माण भइरहेका छन्। त्यहाँ करिब १५ सय मानिस अट्ने १०८ फिट अग्लो कलश निर्माण भइरहेको छ। सिस महल, गणेश मन्दिर, हनुमानको मूर्ति, पञ्चनारायण मन्दिर, लक्ष्मीनारायण मन्दिर, गरुडशिलालगायत संरचना निर्माण भइसकेका छन्। गरुडनारायणको मन्दिर, सडक पूर्वाधार विकास, खानेपानीलगायत व्यवस्थापनका कामहरू पनि सम्पन्न भइसकेका छन्।
नवलपुरको देवचुली नगरपालिकास्थित सीजी टेम्पलले परिचित शाश्वत धाम नवलपुर पुग्ने पर्यटकको रोजाइमा पर्ने गरेको छ। सनातन धर्मावलम्बीका लागि उक्त मन्दिरले लोभ्याइरहेको छ। श्री काञ्ची शंकरा सदाशिव लिंगमको नाममा स्थापना गरिएको उक्त मन्दिरको विकासमा चौधरी ग्रुपले लगानी गरेको छ।
सरकारले के गर्नुपर्छ ?
भारतमा सवा अर्ब हिन्दू जनसंख्या छ। भारतले धार्मिक पर्यटनका लागि बाह्यभन्दा आन्तरिक पर्यटनलाई जोड दिएको जानकारहरू बताउँछन्। नेपालले भने आन्तरिक पर्यटक थोरै भएकाले आन्तरिक पर्यटनलाई चलायमान बनाउँदै भारतीय पर्यटक तान्न जोड दिनुपर्ने सुवेदी बताउँछन्।
भन्छन्, ‘भारतले आन्तरिक पर्यटनमा जोड दियो। नेपालले भारतीय पर्यटकमा जोड दिनुपर्छ। एक अर्ब हिन्दू दक्षिणमा छन्। हाम्रा लागि त्यसभन्दा के चाहियो ? मात्र प्रचार गर्नुपर्यो। मार्केटिङ गर्नुपर्यो।’
अयोध्यामा छोटो समयमै दशौं करोड पर्यटक भित्रिएको अवस्थामा नेपालले त्यहाँ जनकपुरको प्रचार गर्नुपर्ने सुवेदी बताउँछन्। सरकार उद्योग कलकारखाना चलाएर बस्नुभन्दा देशभित्र र बाहिर सम्भावनाहरूको खोजीमा लाग्नुपर्ने उनी बताउँछन्। भारतसँग सम्बन्ध बिगारेरभन्दा समझदारीमा काम गर्यो भने नेपाल-भारत दुवैलाई फाइदा हुने उनको राय छ।
भन्छन्, ‘अझै पनि अयोध्यामा जनकपुर र धनुषाधामको प्रचार गर्न सरकार लाग्नुपर्छ। राज्यको काम त त्यहाँ पो आउँछ त। राज्यले हेटौंडा सिमेन्ट चलाएर बस्ने होइन। त्यो काम निजी क्षेत्रले गर्छ। त्यसका लागि भारतसँग इंगेज हुनुपर्यो। जहिले पनि खोई कालापानी, खोई ईपीजीको प्रतिवेदन भनेर हुन्छ ?’
नेपालले भारतका प्रान्तीय सरकारहरूलाई अनुरोध गर्ने हो भने मार्केटिङ मात्र हुँदैन, नेपालका धार्मिक स्थलहरूमा पूर्वाधार विकासमा समेत सहयोग आउने उनको भनाइ छ।
भन्छन्, ‘भन्नुपर्यो नि। भारतको उत्तर प्रदेश सरकारले एउटा धर्मशाला बनाइदिन्छ। जनकपुरको त्यत्रो गुठी छ। मध्य प्रदेशले एउटा बनाइदिन्छ। बिहारले एउटा बनाइदिन्छ। त्यसपछि मान्छे आइहाल्छन् नि। आखिर मन्दिर पनि त मध्यप्रदेशको तिकमगढकी महारानीले बनाइदिएकै हो।’
भारतीय पर्यटकहरू प्रायः शाकाहारी हुने भएकाले होटलमा भन्दा धर्मशालामा बस्ने खोज्ने हुन्छन्। उनीहरूलाई लक्षित गरेर सरकारले धर्मशाला बनाउनतिर जोड दिनुपर्ने उनको सुझाव छ। धर्मशालामै भए पनि नेपालमा उत्पादित बस्तुहरू खपत हुने भएकाले नेपालको अर्थतन्त्रमा त्यसले पनि सहयोग पुर्याउने उनको बुझाइ छ।
सुवेदी भन्छन्, ‘प्रायः भारतीयहरू शाकाहारी हुन्छन्। उनीहरूलाई होटलमा बस्न पनि गाह्रो छ। उनीहरूका लागि धर्मशाला बनाउन ध्यान दिनुपर्यो।’