सत्ता गठबन्धन दलबीच कुन पालिका कसले पाउने निर्क्योल भइनसके पनि राजनीतिक दलहरू आन्तरिक रूपमा आ-आफ्नो तयारी गरिरहेका छन्।
बाँके- राजनीतिक चेतनाको हिसावले पश्चिम नेपालका जिल्लाको तुलनामा दाङ अगाडि छ। एमालेका महासचिव शंकर पोखरेल, पटक-पटक मन्त्री भई कांग्रेसमा बलियो पकड बनाएका स्वर्गीय खुमबहादुर खड्कादेखि माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराको निर्वाचन क्षेत्र भएको जिल्ला हो, दाङ।
एमाले उपाध्यक्ष युवराज ज्ञवाली, कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक गिरी र नेकपाका महासचिव मोहन वैद्य, राजपरिषद स्थायी समितिका पूर्वसभापति स्वर्गीय परशुनारायण चौधरीको गृहजिल्ला भएकाले पनि यहाँको निर्वाचनलाई निकै चासोका साथ हेरिने गर्छ।
अहिले राजनीतिक दलका नेताहरू उम्मेदवारीका लागि दौडधुपमा छन् नै, मतदाता पनि को उम्मेदवार हुने हुन् भनी चासोका साथ हेरिरहेका छन्। अन्य जिल्लाजस्तै दाङमा पनि १० वटा पालिका प्रमुख, उप्रमुखसहित अन्य जनप्रतिनिधि चयन हुने छन्, ३० वैशाखमा। निर्वाचनमा मुख्य राजनीतिक प्रतिस्पर्धा हुने देखिन्छ। ०७४ सालको निर्वाचनमा दुईवटै उपमहानगरपालिकामा एमालेका उम्मेदवारले जितेका थिए। अहिले पनि यी दुई उपमहानगरपालिकालाई महत्त्व दिएर राजनीतिक दलहरू उम्मेदवार चयनमा जुटेका छन्। यी दुई उपमहानगरपालिकामा कुन दलबाट कसले टिकट पाउला भन्नेमा पनि उत्तिकै चासो छ।
सत्ता गठबन्धन दलबीच कुन पालिका कसले पाउने निर्क्योल भइनसके पनि राजनीतिक दलहरू आन्तरिक रूपमा आ-आफ्नो तयारी गरिरहेका छन्।
तुलसीपुर उपमहानगरपालिकाको मेयरमा कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरी चर्चामा छन्। स्वर्गीय खुमबहादुर खड्का निकटस्थ नेताका रूपमा परिचित गिरी हाल कांग्रेस सभापति शेरबहादुर देउवा प्यानलमा छन्।
उनले यसअघिको स्थानीय निर्वाचनमा पनि स्वर्गीय खड्काकै बलमा तुलसीपुर उपमहानगरपालिकाको मेयरको टिकट पाएका थिए। दोस्रो स्थानमा रहेका उनले १८ हजार ९०३ मत पाएका थिए। मेयरमा विजयी एमालेका घनश्याम पाण्डेले २२ हजार ८७५ मत पाएका थिए। उक्त निर्वाचनमा तेस्रो भएका माओवादी केन्द्रका उम्मेदवार शेसुराम भण्डारीले आठ हजार ६९३ मतमा चित्त बुझाएका थिए। गिरी ०५४ सालका संघीय सांसद पनि हुन्।
मेयरका लागि कांग्रेसबाट सुरेश हमाल, विमल रिजाल, घनश्याम रेग्मी, नहकुल केसी, कीर्तिबहादुर भण्डारीले पनि आकांक्षा देखाएका छन्। हमाल कांग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापति हुन्। उनी यातायात व्यवसायी महासंघको महासचिवसमेत भइसकेका छन्। नहकुल केसी गरिबी निवारण कोषको निर्देशक भएर काम गरिसकेका व्यक्ति हुन्।
एमालेबाट पनि विभिन्न नेताले आकांक्षा देखाएका छन्। एमालेमा टीकाराम खड्काको नाम सबैभन्दा अग्रस्थानमा छ। उनलाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ। पुराना नेता भए पनि अहिलेसम्म सत्तामा सहभागी हुने अवसर नपाएका उनी एमाले दाङका निवर्तमान अध्यक्ष हुन्।
एमालेका विनोद शर्मा, कृष्ण भुसाल, हालकी उपमेयर माया शर्मा आचार्यले पनि मेयरमा दाबी गरेका छन्। उनीहरूको नाममा पनि अहिले पार्टीभित्र चर्चा चल्दै आएको छ तर टीकाराम खड्काको सम्भावना धेरै भएको एमाले स्रोतले जनाएको छ।
तुलसीपुरमा माओवादी केन्द्रबाट पार्टीका केन्द्रीय सल्लाहकार कमिटी सदस्य शेसुराम भण्डारी, तुलसीपुर नगर इन्चार्ज प्रेमराज ओली ‘प्रभात’, केन्द्रीय लेखा आयोग सदस्य रामबहादुर दहित, पार्टीका तुलसीपुर नगर सह-इन्चार्ज चित्रबहादुर खड्का ‘अनुपम’, प्रदेश कमिटी सदस्य मीना बुढा, पार्टीका नगर अध्यक्ष खुशीराम चौधरी, उपाध्यक्षहरू शान्ति महत र यज्ञबहादुर केसीको नाम चर्चामा छ।
भण्डारी ०७४ सालको निर्वाचनमा पनि माओवादी केन्द्रको तर्फबाट मेयरको उम्मेदवार थिए। अहिलेको निर्वाचनमा पनि आकांक्षी बनेका छन्। मेयरका अर्का आकांक्षी प्रभात पूर्वजनमुक्ति सेनाका कमान्डर पनि हुन्।