रुसले युक्रेनमा नरसंहार मच्चाएको अमेरिकाले बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा गरिरहेको सैन्य आक्रमण नरसंहार गर्ने उद्देश्यबाट प्रेरित रहेको बताएका हुन्।
अमेरिकी राज्य आइओवामा एक समारोहलाई सम्बोधन गर्दै बाइडेनले युक्रेनमा रुसको आक्रमणलाई नरसंहार संज्ञा दिए। अमेरिकाले पहिलोपटक रुसी आक्रमणलाई नरसंहार संज्ञा दिएको हो। हालसम्म अमेरिका यो शब्द प्रयोग गर्नबाट पन्छिँदै आएको थियो।
‘तानाशाह जब युद्धको घोषणा गर्छ, आधा संसारको नरसंहार गर्छ,’ बाइडेनले भने। यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आफ्नो मुलुकमा नरसंहार मच्चाइरहेको बताएका थिए।
युक्रेनी शहर बुचमा रुसी सेनाले नरसंहार मच्चाएको सार्वजनिक भइसकेको छ। त्यस्तै अवस्था युक्रेनका अन्य शहर र ग्रामीण इलाकामा पनि छ। रुसको कब्जामा परेका धेरै युक्रेनी इलाकामा सामूहिक चिहान भेटिने क्रम जारी छ।