• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

पुटिनको चेतावनीले आणविक युद्धको खतरा बढेको हो ?


    Avatar photo
सोमबार, असोज २१, २०८१ मा प्रकाशित

काठमाडौं- २४ सेप्टेम्बर। अमेरिका र उसका पश्‍चिमा मित्रहरूलाई आणविक हतियार प्रयोग गर्ने रुसी राष्‍ट्रपति भ्लादिमिर पुटिनको चेतावनीले विश्‍व समुदायमा हलचल पैदा गरेको छ। सुरक्षा परिषद बैठकमा आफूमाथि परमाणु हतियार प्रयोग गरे तत्काल आणविक हतियार प्रयोग गर्ने पुटिनको नयाँ प्रस्तावले तेस्रो विश्‍वयुद्धको जोखिम बढाएको विज्ञहरूले चेतावनी दिएका छन्।

Advertisement

रुसको शक्तिशाली सुरक्षा परिषदको बैठकमा राष्‍ट्रपति पुटिनले देशको सम्भावित सुरक्षा खतराबारे चर्चा गरेका थिए। आणविक प्रतिरोधका विषयमा बोल्दै पुटिनले आफूले आणविक सिद्धान्तमा परिवर्तन गर्नेबारे सुरक्षा प्रमुखहरूलाई जानकारी गराएका थिए। रुस-युक्रेन युद्ध शुरु भएदेखि नै परमाणु आक्रमणको चेतावनी दिइरहेका पुटिनको पछिल्लो अभिव्यक्ति भने युक्रेनी राष्‍ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र ब्रिटेनसँग लामो दूरीको क्षेप्यास्त्र प्रहारको अनुमतिका लागि लबिङ थालेपछि आएको हो।

बेलायतले युक्रेनलाई स्ट्रोम स्याडो र अमेरिकन आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) मिसाइल दिएको छ। यी लामो दूरीका घातक मिसाइलले ३०० किलोमिटरसम्म मार हान्‍न सक्छन्। युक्रेनी राष्‍ट्रपतिले बेलायत र अमेरिकासँग सो मिसाइल प्रयोगका लागि आग्रह गरेपछि पुटिनको यस्तो चेतावनी आएको हो। अमेरिका र उसका पश्‍चिमा सहयोगीले युक्रेनलाई लामो दूरीका मिसाइल सहयोग गरेमा आणविक हतियार प्रयोग गर्ने पुटिनले स्पष्‍ट चेतावनी दिएका छन्।

पुटिनको आणविक प्रतिरोध नीति

पुटिनले सुरक्षा परिषद्का सदस्यहरुसँग आणविक सिद्धान्तको भूमिकाबारे छलफल गर्दै सैन्य र आणविक सिद्धान्तमा गरिएको परिवर्तनले रुसको नयाँ आणविक रणनीतिलाई परिभाषित गर्ने जानकारी गराए। उनले आणविक अश्त्रको प्रयोग ‘देशको सर्वभौमसत्ताको रक्षाका लागि अपनाइने अन्तिम उपाय’ हुने बताएका थिए।

रुसले सधैं आणविक हतियार र तिनका अवयवहरूलाई फैलनबाट रोक्ने प्रयास गरेको पनि उनको दाबी थियो। तर, रुसमाथिको खतराविरुद्ध जुनसुकै हदसम्म जान तयार रहेको उनले चेतावनी दिएका छन्।

पुटिनले भनेका छन्, ‘हामीले सधैं अत्यन्त जिम्मेवारीका साथ यस्ता मुद्दाहरूमा प्रतिक्रिया दिएका छौं। हामी यस्ता हतियारहरूको विशाल शक्ति र स्वामित्वको बारेमा राम्रो जानकार छौं र यसको भयानक परिणामबारे विपक्षीहरूले बुझ्‍न जरुरी छ।’

रुसको आणविक सिद्धान्त परिवर्तनका लागि एक वर्षदेखि रक्षा मन्त्रालय, परराष्‍ट्र मन्त्रालय, सुरक्षा परिषद्को कार्यालय र अन्य विभागका विज्ञहरूले काम गरिरहेका छन्। नयाँ सिद्धान्त व्यापक विश्लेषणका साथै आणविक शक्तिको सम्भावित प्रयोगका लागि रुसको दृष्‍टिकोणमा आधारित रहेको पुटिनले दाबी गरेका छन्। यसले आणविक हतियार प्रयोगका लागि ‘शर्त र सीमाहरूलाई परिभाषित र स्पष्‍ट’ गरेको छ।

पुटिनले भनेका छन्, ‘मस्यौदा गरिएका सिद्धान्तहरूले राज्य र सैन्य गठबन्धनबीच कुन आणविक प्रतिरोध गर्ने भन्‍ने श्रेणी छुट्याउँछ। र, सैन्य खतराहरूको सूचीको पूरकको काम गरी खतरा निष्‍क्रिय पार्न कुन आणविक प्रतिरोधात्मक उपायहरू अपनाउने भन्‍ने टुंगो लाग्छ।’

रुसविरुद्ध सम्भावित आक्रमणबारे पुटिन

युक्रेनी राष्‍ट्रपति जेलेन्स्कीले अमेरिकी राष्‍ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री कियर स्टार्मरसँग लामो दूरीका मिसाइल प्रहारका लागि अनुमति मागेका छन्। ती मिसाइल प्रयोग गर्ने अनुमति पाएमा युक्रेनले रुसको भित्रसम्म प्रहार गर्न सक्छ, जसलाई रुसले राष्‍ट्रीय सुरक्षामा चुनौतीका रूपमा हेरेको छ।

पुटिनले कुनै गैरआणविक राष्‍ट्रले आणविक राष्‍ट्रको सहभागिता वा समर्थनमा रुसविरुद्ध आक्रमण गरेका संयुक्त आक्रमण मानिने चेतावनी दिएका छन्। उनको सीधा निशाना नेटो गठबन्धनलक्षित रहेको विज्ञहरू बताउँछन्। युक्रेनले लामो दूरीका मिसाइल प्रहार गरेमा युद्ध पश्‍चिमा मुलुक भर्सेस रुसको हुने पुटिनले चेतावनी दिएका छन्।

पुटिनले अमेरिका र उसका सहयोगीविरुद्ध आणविक हतियार प्रयोगका लागि ‘रेड लाइन’ तोकेका छन्। शत्रु राष्‍ट्रले हवाई आक्रमणका लागि हतियारहरू प्रक्षेपण गरेमा र तिनीहरूले देशको सीमा पार गर्नेबारे ‘भरपर्दो जानकारी’ प्राप्त भएमा त्यस्तो सम्भावनालाई रणनीतिक विमान, क्रुज मिसाइल, ड्रोन, हाइपरसोनिक र अन्य विमान प्रयोगबारे कुरा भइरहेको पनि उनले बताएका छन्।

पुटिनले भनेका छन्, ‘रुस र बेलारुसविरुद्ध आक्रमण भएमा हामीलाई आणविक हतियारको प्रयोगको अधिकार सुरक्षित छ। यी सबै मामिला बेलारुस पक्ष, बेलारुसका राष्‍ट्रपतिसँग सहमति भएको छ। यदि दुश्मनले हामीविरुद्ध हतियार प्रयोग गरे हाम्रो सार्वभौमसत्तामा गम्भीर खतरा पैदा गर्छ। त्यसविरुद्ध आणविक हतियार प्रयोग नगर्न रुस बाध्य हुने छैन।’

तेस्रो विश्‍वयुद्धको खतरा !

२४ डिसेम्बर २०२२ देखि शुरु भएको रुस-युक्रेन युद्ध अद्यापि जारी छ। युद्ध रोकिनुको साटो तनाव झन्-झन् बढ्दै गएकाले विश्‍व शान्तिका लागि खतरा बढिरहेको विज्ञहरू बताउँछन्। यसले तेस्रो विश्‍वयुद्धको संकेत गरेको उनीहरूको बुझाइ छ।

परराष्‍ट्रविद शम्भुराम सिम्खडा युक्रेनले लामो मार हान्‍ने हतियार प्रयोग गरेमा रुसलाई सुरक्षा खतरा हुने र त्यसको जवाफमा उसले आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको बताउँछन्।

भन्छन्, ‘परम्परागत युद्धबाट पश्‍चिमा देशहरूले युक्रेनलाई लामो मार हान्‍ने हतियार दिइरहेका छन्। त्यो भयो भने रुसको भित्रसम्म पनि मार हान्‍न सक्छन्। त्यसले रुसलाई प्रभावित गर्छ। यदि त्यसो भयो भने त्यसको जवाफमा आणविक हतियार पनि प्रयोग हुन सक्छ भन्‍ने पुटिनको चेतावनी आएको हो।’

युक्रेनले भने पुटिनले ‘आणविक ब्ल्याकमेल’ गरेको आरोप लगाउँदै उसले आणविक हतियार प्रयोग गर्ने हिम्मत नगर्ने दाबी गरेको छ। युक्रेनका आन्तरिक मामिला मन्त्रीका पूर्व सल्लाहकार एन्टोन गेरास्चेन्को भन्छन्, ‘मेरो विचारमा यो पुटिनको कमजोरीको अर्को प्रदर्शन हो। उनले आणविक हतियार प्रयोग गर्ने हिम्मत गर्दैनन् किनभने यसले उनलाई पूर्ण रूपमा बहिष्‍कृत गर्नेछ।’

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले पुटिनको चेतावनी गैरजिम्मेवारपूर्ण र कमजोर भएको बताएका छन्। उनले पुटिनले ‘आणविक शक्तिको हल्ला गरेको’ पहिलोपटक नभएकाले चिन्ता गर्नुपर्ने कारण नभएको दाबी गरेका छन्।

परराष्‍ट्रविद सिम्खडा भने रुसले आणविक हतियार प्रयोग गर्ने सम्भावना रहेको बताउँछन्। उनका अनुसार पुरानो सिद्धान्तले जे देखियो, त्यसभन्दा नयाँ परिस्थिति सिर्जना हुन सक्छ। रुसले राष्‍ट्रीय सुरक्षामा खतरा आएको महशुस गरेमा आणविक हतियार प्रयोग गर्ने सम्भावना छ।

भन्छन्, ‘आणविक हतियार प्रयोगको सम्भावना पनि छ। ईयू काउन्सिल प्रेसिडेन्टले नै ‘तेस्रो विश्‍वयुद्धको सम्भावना बढेर गयो’ भन्‍ने चेतावनी दिएका छन्। यदि भोलि रुसको राष्‍ट्रीय सुरक्षामाथि खतरा आयो भने ऊसँग भएको जुनसुकै हतियार पनि प्रयोग गर्न सक्छ। ‘मर्ता क्या नहीं कर्ता’ भन्छन् नि। प्रयोग नै नगर्ने भए किन बनाइराख्या त आणविक हतियार ?’

राष्‍ट्रसंघको महासभामा युक्रेनी राष्‍ट्रपति जेलेन्स्कीले आउने जाडोयाममा रुसले युक्रेनका प्रमुख तीन न्युक्लियर पावर प्लान्टमा आक्रमण गर्ने योजना बनाइरहेको दाबी गरेका छन्। त्यसका लागि रुसले गुप्तचर जानकारीहरू संकलन गरेको जेलेन्स्कीको दाबी छ।

ऊर्जा प्रणालीमा कुनै पनि मिसाइल वा ड्रोन हमलाले आणविक प्रकोप निम्त्याउने हुँदा यस्तो दिन कहिल्यै आउन नहुने जेलेन्स्कीले बताएका छन्। भनेका छन्, ‘यी न्युक्लियर पावर प्लान्ट हुन्, तिनीहरू सुरक्षित हुनुपर्छ। मस्कोले यो बुझ्‍नु आवश्यक छ।’

यदि रुसले आणविक आक्रमणलाई अगाडि बढाएमा त्यस क्षेत्रमा अस्थिरता र आणविक प्रकोपको खतरा हुने जेलेन्स्कीको चिन्ता छ। आणविक विकिरणले देशको सीमा नहेर्ने भएकाले रुसले कुरा बुझ्‍नुपर्ने उनको भनाइ छ।

‘भगवानले यस्तो हुन नदिनुहोस्। तर यदि रुसले हाम्रो आणविक ऊर्जा प्लान्टहरूमध्ये एकमा मात्र आक्रमण गरे पनि त्यसले आणविक प्रकोप निम्त्याउँछ। विकिरणले राज्यको सिमाना हेर्दैन। त्यसको असर कहाँसम्म पर्छ भन्‍ने रुसले बुझोस्। १९८६ को चेर्नोबिल आणविक दुर्घटनाको परिणाम सबैलाई थाहा नै छ। दुर्भाग्यवश, त्यो विनाशकारी दुर्घटनाको प्रभाव विभिन्‍न राष्‍ट्रहरूले अझै महशुस गर्न सक्छन्।’

परराष्‍ट्रविद प्रा. डा. मोहन लोहनीका अनुसार युद्धको लामो समयसम्म टकराव नरोकिएकाले रुस-युक्रेन युद्ध झन् खतरनाक मोडतर्फ गइरहेको छ। पश्‍चिमाले युक्रेनलाई हातहतियारहरू सप्लाई गरिरहेकाले युद्ध लम्बिएको हुन सक्ने उनको आकलन छ।

भन्छन्, ‘यो अलि कम्प्लिकेटेड नै छ। अढाइ वर्ष भइसक्यो युद्ध शुरु भएको। पश्‍चिमाले पनि हातहतियारहरू सप्लाई गरिरहेका छन्। जेलेन्स्कीले अस्ति यूएनमा रसियन कोलोनियालिजम भन्‍ने शब्द प्रयोग गरेका छन्, जसलाई विश्‍वले निन्दा गर्नुपर्‍यो भनेका छन्। टकराव रोकिएको छैन। युद्ध झन् खतरनाक मोडतर्फ जाँदै गरेको अनुमान गर्न सकिन्छ।’

युद्ध जित्‍ने रुसको दाबी, अमेरिका ‘फिक्सर’ मात्र ?

रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले जारी युद्ध रुसले जित्‍नेमा शंका नभएको दाबी गरेका छन्। संयुक्त राष्‍ट्रसंघको महासभामा भाग लिन जानुअघि सरकारी समाचार एजेन्सी ताससँगको अन्तर्वार्तामा उनले ‘अन्त्यमा रुसले जित्‍ने र पश्‍चिमाहरूले अरू कुनै भाषा नबुझ्‍ने दाबी गरेका थिए।

अमेरिकाले विश्‍वभर द्वन्द्व बढाउने काम मात्र गरेको र युक्रेनले पश्‍चिमा हतियारले रुसमाथि आक्रमण गर्दा पनि यूएन चुप बसेको उनले आरोप लगाए। उनले भनेका थिए, ‘अमेरिकाले ‘फिक्सर’को रूपमा विश्‍वभर द्वन्द्व मात्र बढाउने गरेको छ। अर्कोतर्फ युक्रेनले पश्‍चिमी हतियारहरू प्रयोग गरेर रुसको कुर्स्क क्षेत्रमा गरेको आक्रमणमा संयुक्त राष्‍ट्र संघ बोल्दैन।’

पूर्वी युरोपेली देशहरूलाई नेटो र ईयूमा रहेका तिनीहरूका मालिकहरूले उनीहरूलाई विश्‍वास नगर्ने कुरा बेलैमा बुझ्‍नुपर्ने उनले सुझाव पनि दिए। पश्‍चिमाको गैर-बाध्यकारी स्वभावलाई बुझ्दै धेरै देशहरू डलरबाट भागिरहेको पनि उनले दाबी गरेका छन्। भनेका छन्, ‘पश्‍चिमाहरूका लागि संयुक्त राष्‍ट्र संघमा किभका अपराधहरूको प्रशंसा गर्नु अनिवार्य भएको छ। राष्‍ट्रसंघका महासचिवले बडापत्रको पालना गर्दै तटस्थ स्थिति अपनाउनुपर्छ।’

मन्त्री लाभरोभले रुसले भारत, ब्राजिल र एक अफ्रिकी देशलाई थपेर सुरक्षा परिषद्को विस्तारलाई समर्थन गर्ने तर जर्मनी र जापानलाई स्थायी सदस्यको रूपमा समर्थन नगर्ने पनि बताएका छन्। भनेका छन्, ‘रुस र चीनले सुरक्षा परिषद्को सुधारलाई ‘खतरनाक खेल’मा परिणत हुन दिने छैनन्। सुरक्षा परिषद्‍मा भिटो पावर सीमित गर्ने फ्रान्सको सुझाव कपटपूर्ण छ।’ राष्‍ट्र संघको महासभामा बोल्दै फ्रान्सेली राष्‍ट्रपति इम्मानुयल म्याक्रोंले रुसतर्फ इंगित गर्दै गैरकानूनी सामूहिक हत्याजस्तो जघन्य अपराधमा संलग्‍न हुँदा भिटो पावर सीमित गर्नुपर्ने बताएका थिए।

युद्धका बीच रुसी निर्यात बढिरहेको पुटिनको दाबी

निर्यात विकासका लागि राज्यपरिषद अध्यक्ष मण्डलको बैठकमा रुसी राष्‍ट्रपति पुटिनले निर्यात बढाउने उपायबारे छलफल गरेका थिए। उनले विश्‍व अर्थतन्त्रमा ब्रिक्स देशहरूको योगदान जी-७ को भन्दा बढी भएको र यो बढ्दै गएको बताएका थिए।

ब्रिक्स देशहरूले विश्‍वको जीडीपीको ३५ प्रतिशत ओगटेका छन्। जब कि, जी-७ देशहरूको जीडीपी ३० प्रतिशत मात्र छ।

उनले रुस निश्‍चित हदसम्म अन्तर्राष्‍ट्रीय व्यापारमा भएका समस्या समाधान गर्न सफल भएको दाबी गरेका छन्। पुटिनले भनेका थिए, ‘गत वर्ष, ‘टक्सिक’ पश्‍चिमी मुद्राहरूको सेयर आधा घटेको छ। जब कि, रुबलको सेयर ४० प्रतिशत नजिक पुगेको छ।’

यस्तै, रुस खाद्य उत्पादनहरूको निर्यातमा विश्‍वको प्रमुख निर्यातकर्ताहरूमध्ये एक भएको पुटिनको दाबी छ। आफ्ना निर्यातकर्ताहरूलाई सपोर्ट गरेर निर्यातको मात्रा बढाउन उत्प्रेरित गर्नुपर्ने उनले बताएका छन्।

पुटिनले भनेका छन्, ‘रुसको विदेशी व्यापार सम्बन्धको दीर्घकालीन विकासका लागि निर्यातलाई वित्तीय र सूचना समर्थनको प्रभावकारिता बढाउनुपर्छ। पश्‍चिमी ठालुहरूको कार्य रुसी वित्तीय संस्था र भुक्तानी प्रणालीका लागि घातक छ।’

रुसी खनिजमा निर्भर अमेरिका र पश्‍चिमा

अमेरिका र ईयूको प्रतिबन्धका बावजुद पनि ईयू राष्‍ट्र पेट्रोलियममा रुसमा निर्भर छन्। हंगेरी र स्लोभाकियाले खुला रूपमा रुसी कच्चा तेल आयात गरेका छन्। उनीहरूले लाखौं ब्यारेल कच्चा तेल आयात गरेको अमेरिकी न्युजपोर्टल पोलिटिकोले उल्लेख गरेको छ। अन्य ईयू राष्‍ट्रले पनि अप्रत्यक्ष रूपमा रुसी तेल आयात गरेर युद्धलाई फन्डिङ गरिरहेको उसको दाबी छ।

रुसका अनुसार उसको कच्चा खनिजमा अमेरिका, जर्मनी, फिनल्यान्ड र लिथुआनियालगायत अमित्र राष्‍ट्रहरू निर्भर थिए। ३७ अमित्र देशहरूले रुसबाट सबैभन्दा बढी आल्मुनियम खरिद गरेका थिए। त्यसमध्ये ग्रिसले रुसको कुल आल्मुनियम निर्यातमध्ये १९.३, बुल्गेरियाले ७.४ र इस्टोनियाले ५.७ प्रतिशत खरिद गरेका थिए।

यस्तै, जर्मनीले ४२.२, बेल्जियमले १५.७, फ्रान्सले १०.२ प्रतिशतसहित २६ देशले रुसी टाइटेनियम खरिद गरेका थिए। फिनल्यान्डले ९०.९, इस्टोनियाले १६.८, जर्मनीले ११.५ र चेक रिपब्लिकले १०.९ प्रतिशतसहित १८ देशले निकेल खरिद गरेका थिए।

रुसी अमोनियाले लिथुआनियाली आयातको ९०.७ र बेल्जियम आयातको १७.५ प्रतिशत हिस्सा ओगट्दा रुसी प्यालेडियमले अमेरिकी आयातको ३९.२, इटालियन आयातको २९.१ र जापानी आयातको २४.२ प्रतिशत हिस्सा ओगटेको थियो।

हालै सम्पन्‍न रुसी रक्षा मन्त्रालयको नयाँ ब्रिफिङमा पछिल्ला युद्धमा युक्रेनका धेरै सैनिकको ज्यान गएको दाबी गरिएको थियो। युक्रेनको दक्षिणतर्फ ७५५, उत्तरतर्फ ११५, केन्द्रमा ४९०, ११०, डेनेपर समूहको आक्रमणमा ५० सैनिक मारिएको उक्त ब्रिफिङमा दाबी गरिएको थियो। ब्रिफिङका क्रममा रुसी सैनिकहरूले १४६ वटा क्षेत्रमा युक्रेनले तैनाथ गरेका इजरायलमा बनेका राडार ध्वस्त बनाइएको दाबी पनि गरिएको थियो।

रुसी सुरक्षा निकायको एक उच्च स्रोतका अनुसार युक्रेनमा तैनाथ ८ वटा हिमार्स नामक रकेट लन्चर, ३ ह्यामर बम र ५५ वटा युक्रेनी लडाकु जहाज रुसी सैनिकले खसालेका छन्।

रुस र युक्रेन दुवैतर्फबाट एकअर्काका सैनिक, सैन्य अड्डा र हातहतियार नष्‍ट गरिरहेको दाबी आउने क्रम जारी छ। अर्थात्, युद्धको कालो बादल तत्कालै हट्ने सम्भावना देखिँदैन। के त्यो आणविक युद्धमै पुगेर मात्र बिसर्जन हुन्छ त ? अन्योल अझै बढेको छ।

सोमबार, असोज २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.