मनिष अर्याल
काठमाडौं उपत्यकाको फोहोर १७ दिनदेखि उठ्न सकेको छैन। सिसडोलस्थित डम्पिङ साइट क्षेत्रका बासिन्दाले फोहोर लैजान अवरोध गरेपछि काठमाडौं दुर्गन्धित बनेको हो।
अहिले चोक–चोकमा फोहोरको डंगुर छ। १३ चैतदेखि फोहोर व्यवस्थापन हुन सकेको छैन। ठेकेदारले लामो समयदेखि अलपत्र पारेको पासाङ ल्हामु राजमार्गअन्तर्गत नुवाकोटको मुड्खु–तीनपिप्ले खण्ड कालोपत्रे माग गर्दै स्थानीय बासिन्दाले फोहोर व्यवस्थापनमा अवरोध गरेका हुन्। दुई वर्षमा कालोपत्रे गर्नुपर्ने सडक ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनले आठ वर्षसम्म पनि सकेको छैन।
स्थानीयवासीको विरोधपछि ठेकेदार कम्पनीले १५ चैतसम्म कालोपत्रे गरिसक्ने प्रतिबद्धता जनायो। तर, काम शुरु गरेन। त्यसपछि फेरि स्थानीय बासिन्दा आन्दोलित भएका हुन्।
आन्दोलनरत स्थानीय बासिन्दाले फोहोर बोकेका गाडी उक्त खण्डमा चल्न दिएका छैनन्। जबर्जस्ती पठाइएका गाडी स्थानीयवासीले तोडफोड गर्न थालेपछि काठमाडौं महानगरपालिकाले फोहोर उठाउन नसकेको हो।
काठमाडौं र ललितपुर महानगरसहित उपत्यकाका १८ पालिकामा उत्सर्जित फोहोर नुवाकोट ककनी गाउँपालिका-२ सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ। नुवाकोटकै बञ्चरेडाँडामा नयाँ ल्यान्डफिल साइट बनेको छ तर सञ्चालनमा आएको छैन।












