बाँके- नेपालगञ्ज पश्चिम नेपालको व्यापारिक केन्द्र मानिन्छ। हवाई तथा स्थलमार्गको केन्द्र पनि मानिन्छ, नेपालगञ्ज। त्यसैले राजनीतिक दृष्टिले पनि प्रमुख केन्द्रको रूपमा लिइने भएकाले नेपालगञ्ज उपमहानगरको निर्वाचनलाई सबै राजनीतिक दलको ध्यान यहीं केन्द्रित हुने गर्छ।
निर्वाचनमा गठबन्धन गर्ने निर्णय सत्ताघटक दलले गरेका कारण कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताले उम्मेदवारी घोषणा गर्न सकेका छैनन्। तै पनि, नेपालगञ्ज उपमहानगरपालिकाको मेयरका आकांक्षीले टिकटका लागि केन्द्रका नेतासँग लबिङ गर्दै आएका छन्। सत्ताघटक दलहरू नेपालगञ्जमा आफ्ना उम्मेदवारले टिकट पाउनुपर्ने अडानमा छन् भने नेताहरू आफूले पाउनुपर्ने भन्दै दौडधुपमा छन्। आ-आफ्नो दलको आधिकारिक उम्मेदवार बन्ने दाउमा नेताहरू लागेका छन्। पाँच दलीय सत्ता गठबन्धन दलले आवश्यकताको आधारमा तल्लो तहमा तालमेल गर्ने सहमति गरे पनि नेपालगञ्जमा सबै दलले आ-आफ्नो दाबी छोडेका छैनन्।
नेपालगञ्जमा कुन दलको कति प्रभाव छ भन्ने नै यकिन छैन। यहाँ राजनीतिक दलभन्दा व्यक्ति विशेषलाई भोट दिने ट्रेन्ड चलेको छ, विगतदेखि नै। यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीको राम्रो संगठन नभए पनि स्थानीय तहको अघिल्लो निर्वाचनमा राप्रपाका उम्मेदवार डा. धवलशमशेर राणाले १२ हजार ५१५ मत ल्याएर विजयी भएका थिए। उनका निकतम प्रतिद्वन्द्वी कांग्रेसका डा. सुरेशकुमार कनोडियाले आठ हजार ७३० मत पाएका थिए। कनोडियाले यसपटकको निर्वाचनमा पनि मेयरमा लड्ने आकांक्षा देखाएका छन्।
दुईपटक नेपालगञ्जको मेयर चलाएपछि डा. राणाले यस पटकको स्थानीय तह निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेपछि नेपालगञ्जको निर्वाचन थप कौतुहलपूर्ण बनेको छ। उनको पार्टी राप्रपाले एमालेका उम्मेदवारलाई सघाउने सम्भावना छ। एमालेले जिल्ला विकास समितिका पूर्वसभापति एवम् एमालेका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्रलाई मेयरको उम्मेदवार बनाउने तयारी गरेको छ। उनी अघिल्लो संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट एमालेको चुनाव चिन्ह सूर्यबाट उम्मेदवार बनेका थिए। नेपालगञ्ज पनि क्षेत्र नम्बर २ भित्र पर्छ। उक्त निर्वाचनमा मिश्रले १५ हजार ९५१ मत पाएर दोस्रो भएका थिए। संगठन बलियो नभए पनि संसदीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राईले २१ हजार ५७५ मत ल्याएर विजयी भएका थिए।
कांग्रेसका आधा दर्जन नेताले मेयरमा आकांक्षा देखाएका छन्। तर, तीन जनाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। अघिल्लो स्थानीय तह निर्वाचनमा मेयरमा पराजित डा. कनोडिया, हालकी उपमेयर उमा थापा मगर र नगर सभापति प्रशान्त विष्ट बलियो दावेदार देखिएका छन्। तै पनि, व्यापारिक पृष्ठभूमिका अच्युतप्रसाद प्रसाईं र ललितकुमार रौनियार पनि बलियो दाबेदारको रूपमा अगाडि आएका छन्।
कांग्रेस उच्च नेताका अनुसार लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्रबहादुर हमाल, महासमिति सदस्य निरञ्जनसिंह सिजापति र राजकुमार बर्माले पनि मेयरमा लड्ने इच्छा जनाएका छन्। मेयरका आकांक्षी उपमेयर उमा थापा मगरले अघिल्लो निर्वाचनमा १० हजार ७३१ मत ल्याएर विजयी भइन्। उनका निकतम प्रतिद्वन्द्वी राप्रपाकी रमारानी वैश्यले आठ हजार ९२४ मत ल्याएकी थिइन्।
माओवादी केन्द्रबाट नन्दलाल वैश्य र आदेशकुमार अग्रवालको मेयरमा चर्चा छ। यी दुवै व्यापारिक पृष्ठभूमिका नेता हुन्। उनीहरूसँगै नवीन शर्माको चर्चा पनि उत्तिकै छ। वैश्य नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन्। अग्रवाल संघको उपाध्यक्षको भूमिकामा छन्।
यस्तै, जसपाले पार्टीका बाँके अध्यक्ष मोहम्मद कमरुद्दिन राईलाई मेयरको उम्मेदवार बनाउने निश्चित भएको छ। अघिल्लो निर्वाचनमा उनले नेपालगञ्जको मेयरमा प्रतिस्पर्धा गरेका थिए। उक्त निर्वाचनमा चौथो स्थानमा थिए। उनले पाँच हजार ४४१ मत पाएका थिए। उनले जसपाको तर्फबाट मेयरको सर्वसम्मत उम्मेदवार भएको दाबी गरेका छन्।
यसैगरी, एकीकृत समाजवादीबाट नेपालगञ्जका पूर्वउपमेयर समसुद्धिन सिद्धिकीलाई उमेदवार बनाउने निश्चित छ। उनी अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट मेयरमा लडेका थिए। उनी ६ हजार ९६५ मत पाएर चौथो भएका थिए। अहिले उनको पार्टी नेपालगञ्जमा कमजोर छ।
राप्रपाबाट नेपालगञ्ज उपमहानगरपालिका-४ का वडाध्यक्ष मोहम्मद सफिक बेहना र अभयकुमार बस्नेतले मेयरमा दाबी गरेका छन्। तर, बस्नेत केही दिन अघिदेखि राप्रपा नेपालतर्फ लागेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टीले मोहमुद आलम सिद्धिकीलाई मेयरको उम्मेदवार बनाउने घोषणा गरेको छ। राप्रपा नेपाललगायत साना र स्वतन्त्र ढंगले मेयरमा उम्मेदवार बन्न चाहने आकांक्षीकोसंख्या पनि बढ्दो छ।