रुसी कम्पनी युनाइटेड एयरक्राफ्ट कर्पोरेसन (यूएसी)ले बोइङ र एयरबसलाई विस्थापित गर्ने उद्देश्यले जहाज निर्माण गर्ने बताएको छ। विश्वका अधिकाशं वायुसेवाले बोइङ र एयरबसले बनाएका विमान प्रयोग गर्छन्।
यूएसीले आगामी वर्ष २० वटा लामो दूरीमा उड्ने न्यारो बडीको टीयू-२१४ जहाज बनाउने घोषणा गरेको छ। बुधबार यूएसीका सीईओ युरी स्लियुसारको यो घोषणालाई रुसी समाचार एजेन्सी तासले उद्धृत गरेको छ।
‘हामीले जहाज उत्पादनलाई तीव्रता दिएका छौं। यसको शुरुवात हामीले २० वटा टीयू-२१४ जहाजको निर्माणबाट गरेका छौं,’ युरीले बताए।
टीयू-२१४ यात्रुवाहक जेट निर्माण कार्यक्रम पहिलेदेखि योजनामा रहेको तर हाल विशेष परिस्थितिमाझ यसको निर्माणलाई मूर्त रूप दिन खोजेको यूएसीका प्रवक्ताले दाबी गरे।
विश्लेषकहरूले पश्चिमी प्रतिबन्धले रुसी उड्डयन व्यवसायलाई पनि प्रभावित बनाउने भएपछि रुस सरकारको अग्रसरतामा जहाज निर्माणलाई तीव्रता दिएको बताएका छन्।
रुसी समाचार एजेन्सी तासबाट