• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

पाठ धेरै छन्, सिक्ने नसिक्ने अर्कै कुरा !


    Avatar photo
सोमबार, असोज १४, २०८१ मा प्रकाशित

२०२२ श्रीलंका राजापाक्ष दाजुभाइ, २०२४ बंगलादेश शेख हसिना, अब कहाँ र को? यो प्रश्‍न धेरैका मन र सञ्‍चार माध्यममा उठिरहेको छ। नेपालमा त सदनदेखि सडकसम्म अब पालो नेपालको हो-होइन भनाभन नै चलेको छ। तत्काल नेपालमा त्यस्तो अवस्था देखिँदैन। तर, विश्‍व अर्थ-राजनीति-रणनीतिक केन्द्रविन्दु मध्येको एक प्रमुख स्थान बन्दै गएको दक्षिण एसिया मात्र होइन, तेस्रो विश्‍वका धेरै शासक/प्रशासकका साथै जनताले पनि यी घटनालाई गम्भीरताका साथ लिनुपर्ने यथार्थ भने प्रष्‍ट छ।

Advertisement

श्रीलंका राजापाक्ष : २०/२१ औं शताब्दिकै सफल राष्‍ट्र निर्माताका रूपमा परिचित राजनेता ली क्वान यूले जब तेस्रो विश्‍वको सानो बन्दरगाहलाई एक समृद्ध राष्‍ट्रमा रूपान्तरणको प्रयास थाले, त्यतिबेला उनकै भनाइमा उनको लक्ष्‍य थियो- सिंगापुरलाई श्रीलंकाजस्तो बनाउनु। आज सिंगापुर कहाँ छ, श्रीलंकालाई के भयो र किन?

कुनै बेलाको ‘टापु स्वर्ग’ श्रीलंका १९८० को दशकदेखि राजनीतिक, जातीय, क्षेत्रीय, भाषिक द्वन्द्व र बाह्य संग्लग्‍नताको भूमरीमा फस्दै गयो। लामो समयको विध्वंशकारी हिंसात्मक द्वन्द्वलाई सैन्य शक्तिका आडमा अन्त्य गर्ने राजापाक्ष दाजुभाइलाई श्रीलंकाली जनताले बहुमतका साथ विजयी गराए। तर, तेस्रोपटक उनीहरूको सत्तारोहण आन्तरिक अर्थ-राजनीति र कूटनीतिक हिसाबले संकटग्रस्त बन्न गयो। फलस्वरूप जुन जनताले पछिल्लोपटक पाँच वर्षका लागि उनीहरूलाई राष्‍ट्रपति र प्रधानमन्त्रीको दरबार भित्र्याए, तिनैले दुई वर्ष नपुग्दै देशै छोडेर भाग्‍न बाध्य पारे।

बंगलादेश शेख हसिना : दक्षिण एसियाकै अर्को भागमा १९७१ मा पाकिस्तानबाट छुट्टिएर जब बंगलादेश स्वतन्त्र राष्‍ट्र बन्यो, त्यसलाई एक शक्तिशाली विदेशी बुद्धिजीवी- नेताले गए गुज्रेको स्थिति (Basket Case) भनी आशंका व्यक्त गरे। तर, चुनौतीहरू पार गर्दै बंगलादेश प्रगतिको बाटोमा अगाडि बढ्न थाल्यो।

पछिल्ला केही दशकमा त बंगलादेश राजनीतिक स्थायित्व र आर्थिक वृद्धिको नमूना नै बन्यो। यसरी बंगलादेश अल्पविकसितबाट विकासोन्मुख मुलुकको दर्जामा फड्को मार्ने एक सफल राज्यको रूपमा देखा पर्दै थियो। तर, अकस्मात संसारले के देख्छ?

राजनीतिक स्थायित्व र सर्वोच्च आर्थिक वृद्धि हासिल गर्दै बंगलादेशलाई सबैभन्दा लामो समय नेतृत्व गर्ने, केही महिनाअघि मात्रै लगातार तेस्रोपटकका लागि निर्वाचित प्रधानमन्त्री शेख हसिना वाजेदलाई युवा पुस्ताको आक्रोशित भीडले प्रधानमन्त्रीको निवासबाट मात्र होइन, देशै छाडेर भाग्‍न बाध्य पार्छन्।

त्यति मात्र कहाँ हो र? सैन्य विद्रोहमा परिवारका अन्य सदस्य मारिँदा बाँच्‍न सफल उनका एक मात्र उत्तराधिकारी छोरीमाथि मात्र होइन, आक्रोशित भीडले बंगलादेशलाई स्वतन्त्र राष्‍ट्र बनाउन प्रमुख भूमिका खेल्ने प्रथम राष्‍ट्रपति बंगोबन्धुकै शालिक ढाल्दै गरेको देखियो। सोभियत संघको विघटनपछि रुसमा लेनिनको या इराक युद्धमा बगदाद हारेपछि सद्दाम हुसेनको शालिक ढाल्दाको दृश्यको झझल्को आइरहेको थियो।

किन नेता, राज्य असफल बन्छन् ? : समाजको संस्थागत विकास क्रममा राज्य (State) आजसम्म मानव मस्तिष्‍कले सिर्जना गरेको सबैभन्दा उच्च शक्तिशाली संरचना हो। कुनै देशको उन्नति, अवनति, जनताका सुख-समृद्धि, पीडा-पछौटेपन, राष्‍ट्रीय सामर्थ्यमा घटबढ र अन्तर्राष्‍ट्रीय सम्मान, अपमान सत्ता सञ्‍चालक (राजनीतिक नेतृत्व-शासक) र सहयोगी प्रशासक) हरूको बुद्धि र कार्य क्षमतामै निर्भर गर्छ। असफल-सफल नेतृत्व र राज्यका धेरै नमूना छन्।

ग्रिक शहर-राज्य (City States) देखि भियतनाम युद्धको बेलाको अमेरिकी राज्य सञ्‍चालनको विश्लेषण गर्दै इतिहासकी विद्वान बार्बरा तुचम्यानले आफ्नो पुस्तक ‘The March of FollyÚ’मा मुर्खताको दौडमा कसरी बुद्धिमान मानिस पनि सत्ता र शक्तिको पदमा पुगेपछि आफ्नै भलो/कुभलोसम्म देख्‍न, सुन्न नसक्ने अन्धा, बहिरा बन्छन् भन्ने राम्रो व्याख्या गरेकी छन्।

सम्पूर्ण विश्‍वकै एक समृद्ध मुलुक बन्न सक्ने सम्भावना भएको प्राकृतिक स्रोत साधनसम्पन्न विशाल अफ्रिकी मुलुक जाएर (आज प्रजातान्त्रिक गणतन्त्र कंगो)लाई मोबुटु सेसे सेको नामका शासकले कसरी दरिद्रता र हिंसाको भूमरीमा धकेल्दै एक असफल राज्य बनाउन प्रमुख भूमिका खेले, एक नमूना नै छ।

– १९६१ मा निर्वाचित राष्‍ट्रपति प्याट्रिक लुमुम्बाको हत्यापछि सैनिक कमान्डर मोबुटुले चार दशक एकछत्र शासन गर्दै आफ्ना गरिब जनतालाई भोकै मारेर धनी देशका बैंकहरूमा यति धेरै धनराशी राख्‍न र विश्‍वभरि आलिशान महलहरू किन्न कति खर्च गरे भन्ने लेखाजोखा नै थिएन। त्यस्तै ठूला महलमध्ये एउटा स्विजरल्यान्डको रमणीय जेनेभा तालको छेउमा पनि थियो।

विश्‍व इतिहासको त्यस संगीन घडीमा (शीतयुद्धको अन्त्य, एक ध्रुवीय विश्‍व अर्थ-राजनीतिका उन्माद, एसियाली शताब्दीको चर्चा, युगोस्लाभिया बिखण्डन, रुवान्डा-बुरुन्डी कत्लेआम, ९/११ को भयानक घटना, अफगानिस्तान र इराक युद्ध, प्यालेस्टिनी पहिलो आन्दोलन, नेपालमा माओवादी हिंसात्मक द्वन्द्व) यस्ता धेरै विषयमा संयुक्त राष्‍ट्र संघका छलफलमा सहभागिता, अध्यक्षता, अध्ययन र अध्यापनका क्रममा म जेनेभामै रहेकाले पनि मोबुटुको कुशासनको कथाले मेरो ‘राष्‍ट्र असफल हुने कारणहरू’ को अध्ययनमा विशेष ध्यान तान्यो।

– मोबुटुको  भ्रष्‍टाचारको ‘क्यान्सर’ले उनको देश र आफैंलाई यतिसम्म गालिसकेको थियो कि तलबबिनै काम गर्न बाध्य उनका आफ्नै सुरक्षाकर्मीले समेत विद्रोहीको साथ दिन लागे। जब विद्रोही नेता लरौं कबिल्लाका लडाकुहरू राजधानी किन्सासाको बाहिर आइपुगे, मोबुटु आफ्ना परिवार र सहयोगीका साथ हेलिकप्टरमा विमानस्थल पुगे र आफ्नो जेट विमानमा देश छोडेर भागे।

– जब भाग्य खस्कँदै गयो, उनको सत्तारोहणका बाह्य सूत्रधारहरूले त उनीसँग सम्बन्ध पहिले नै विच्छेद गरिसकेका थिए। जुन-जुन देशमा उनले आफ्नो लुटेको धन राखेका थिए र ठूल-ठूला महल थिए, ती देशले पनि उनको हवाई जहाज अवतरण गर्न दिएनन्। जब आकाशमा उडिरहेको उनको हवाई जहाजमा इन्धन सकिन लाग्यो, फ्रान्सले आफ्नो दक्षिणमा रहेको सैनिक विमानस्थलमा इन्धन भर्नेबित्तिकै छोडिहाल्ने शर्तमा अवतरणको इजाजत दियो।

– फेरि त्यहाँबाट कहाँ जाने? यस्तै तनावका बीच मानवताको नाममा मोरोक्कोका राजाले अर्को जाने ठाउँ नपाउञ्‍जेल आश्रय दिने निर्णय गरेपछि उनको जहाज त्यहीं गयो। क्यान्सरका रोगी उनको केही समयपछि त्यहीं मृत्यु भयो। विडम्बना, उनले आफ्ना गरिब जनताबाट लुटेर देशलाई कंगाल बनाउँदै संसारभर यति धेरै सम्पत्ति राखे, महल किने, धेरैलाई धनी बनाए तर अन्त्यमा आफैंले शान्तिसँग मर्ने ठाउँ पाएनन्।

मोबुटुको कुशासन र परिवर्तनका नाममा पछि आएका शासक/प्रशासकका कमजोरीका कारण आजसम्म गणतन्त्र कंगोका जनताले गरिबी र अशान्तिको पीडा भोगिरहेका छन्। यसरी मोबुटु र गणतन्त्र कंगो असफल नेतृत्व/राष्‍ट्रको एक दर्दनाक नमूना हो भने ली क्वान यू र सिंगापुर राष्‍ट्र निर्माणमा नेतृत्वको सफल भूमिकाको प्रेरणादायी उत्कृष्‍ट उदाहरण। कसरी प्राकृतिक स्रोतहरू नभएको सिंगापुरलाई तेस्रो विश्‍वको एक सानो बन्दरगाहबाट पहिलो विश्‍वकै एक समृद्ध राष्‍ट्रमा रूपान्तरण गरे, त्यसबारे लीको कथा निकै रोचक छ।

उनको सफलताको सूत्रबारे उनका एक विदेशी प्रशंसक उनलाई सोध्छन्, ‘तपाईंले सिंगापुरलाई कसरी बनाउनुभयो?’ लीको उत्तर, ‘सिंगापुर मैले एक्लै होइन, एक टिमले निर्माण गरेको हो।’ उनकै तेस्रो विश्‍वबाट पहिलो (From Third World to the First) पुस्तकको मूल सारांश र सरल सूत्र यस्ता छन्।

(१) राष्‍ट्र निर्माणको दृढ इच्छाशक्ति भएको भ्रष्‍टाचारप्रति शून्य सहनशील नेतृत्व

(२) बफादार र योग्य विज्ञहरूको सहयोगी टोली र दक्ष कर्मचारीतन्त्र

(३) जनताको व्यक्तिगत र पेशागत स्वतन्त्रता तर कडा कानूनी राज्यको राजनीति

(४) पुरस्कार/दण्डमा आधारित सामाजिक व्यवस्था

(५) राज्यले सबै नागरिकलाई न्याय गर्छ, कुनै जातजाति, समुदाय, धर्मप्रति भेदभाव गर्दैन भन्ने जनविश्‍वासमा आधारित सबैबीच सद्‍भाव, सहयोग र राज्य शक्तिमा सहभागिता/साझेदारी तर व्यक्तिभन्दा समाज र त्यसभन्दा माथि देशको अनिवार्य सामाजिक मनोविज्ञान

(६) राष्‍ट्रीय हितमा आधारित सबैसँग मित्रता कसैसँग छैन शत्रुताको विदेश नीति

(७) राम्रा कुरा कटु आलोचककै भए पनि लिने, लागू गर्ने तर आफ्नो राष्‍ट्रीय स्वार्थको प्रष्‍नमा कसैसँग सम्झौता नगर्ने राष्‍ट्रीय नीति/नेतृत्व

वर्तमान युगका धेरै विडम्बनामध्ये सूचना र सञ्‍चार प्रविधिको अभूतपूर्व विकास, अरूका उदाहरणबाट सिक्ने सुध्रिने असीमित अवसरबीच मानव ज्ञान/व्यवहारमा सुधारको खडेरी सबैभन्दा उदेकलाग्दो छ। नेतृत्व वर्गमा देखिने यो विडम्बनाले विश्‍व नै तरंगित छ।

पहिलो विश्‍व ठान्ने समाजकै धेरै विद्वान पनि रनभुल्लमा पाइन्छन्। विज्ञान र प्रविधिको अभूतपूर्व विकासले विश्‍वव्यापी समृद्धि र शान्तिको सम्भावनाबीच उदेकलाग्दो गरिबी, नैराश्य, जलवायु परिवर्तन, महामारी, मानव अधिकारको असह्य हनन, जताततै द्वन्द्व र अशान्तिका कारण आणविक युद्धकै खतराबाट त्रसित विश्‍वबारे संयुक्त राष्‍ट्र संघका महासचिवको बारम्बारको चेतावनीपूर्ण अलापले त्यसको पुष्‍टि गर्छ। यस्तो विश्‍व परिवेशमा राजापाक्ष र शेख हसिनाको सत्ता ढल्नुका कारण बुझ्‍न एकपक्षीय विष्‍लेषण पर्याप्त छैन।

(१) नेतृत्वका कमजोरी : सर्वप्रथम मानिसको सबैभन्दा ठूलो मित्र या शत्रु आफैं हो। व्यक्तिगत मनोविज्ञानका हिसाबले सत्तामा पुगेपछि जे गरे पनि चल्छ, आलोचनाका स्वरहरूलाई बेवास्ता, विरोध प्रदर्शनलाई बलले दबाउन सकिन्छ भन्ने नेतृत्वका कमजोरी छाड्नु श्रीलंका र बंगलादेशका मूल पाठ हुन्।

भीडका भाषा, शक्तिशालीका दबाब र प्रभावतर्फ मात्रै ध्यान दिने प्रवृत्ति छाडी बुद्धिजीवी वर्गको व्यक्तिगत चेतनाका चित्कार, विरोधी पार्टीका जायज माग र सञ्‍चार माध्यममा व्याप्त जनभावनाको ख्याल गर्नु सफल नेतृत्वका लागि जरुरी छ। विगतको योगदानकै आडमा लामो समय सत्तामा रहिरहन खोज्‍ने प्रवृत्तिप्रति पनि यी घटनाले जनताको स्मरण छोटो र नयाँ पुस्ताको धैर्य कम हुन्छ भन्ने सन्देश दिएका छन्।

– नेल्सन मन्डेलाले चाहेका भए आजीवन राष्‍ट्रपति बन्न सक्थे तर किन एकपटकमै छाडिदिए ? सत्ता प्राप्ति र टिकिरहनुभन्दा भविष्‍यका लागि राम्रो पद्धति निर्माण, परम्परा स्थापित गर्नु संक्रमणकालीन नेतृत्वको मूल दायित्व हो। शक्तिमा नपुगुन्जेल त सबैले त्याग गर्छन्, साँचो त्यागको परीक्षा सत्ता प्राप्तिपछि हुन्छ।

– थेग्‍न नसक्ने विदेशी ऋणबाट अनुत्पादक भौतिक संरचना निर्माण या समन्यायिक वितरणबिनाको उच्च आर्थिक वृद्धिले ल्याउने असमानताको असन्तुष्‍टिप्रति पनि नेतृत्व सचेत रहनुपर्ने अर्को महत्त्वपूर्ण पाठ हो।

(२) वैचारिक अन्योल र सुशासनको संकट : एकातिर माथि पुग्‍नेबित्तिकै जित्‍नेले सबै लिने ‘Winners take all’ सोचबाट प्रेरित अर्थ-राजनीति,  अर्कातर्फ बढ्दो साक्षरता र जागरुकताले प्रत्येक देशभित्र या विश्‍वव्यापी रूपमै आम जनतामा बढ्दै गएको राजनीतिक शक्ति र आर्थिक लाभको समन्यायिक वितरणको मागबीचको असामन्जस्यताले आजको विश्‍व अर्थ-राजनीतिक दर्शनकै अन्योल र सुशासनको संकटमा छ।

– समय र प्रविधिको भेलले नियन्त्रित व्यवस्थालाई बगायो। तर, सामाजिक सञ्‍जालको बढ्दो प्रभावले लोकतान्त्रिक व्यवस्थाको एक मूल आधार आवधिक निर्वाचनबाट निश्‍चित समयका लागि शासन गर्न पाउने परम्परालाई पनि अनिश्‍चित बनाइदिएको छ। निर्वाचित भएकै दिनदेखि शासक वर्ग जनताको निगरानी र कार्यकर्ताको दबाबमा पर्न थालेका छन्। अलिकति पनि गल्तिले उनीहरू कुनै पनि बेला आक्रोश खेप्न बाध्य हुन सक्छन्। राजापाक्षहरूले तेस्रोपटक ४ वर्षका लागि निर्वाचित भएको दुई वर्ष र शेख हसिना एक वर्ष नपुग्दै सत्ताबाट बाहिरिनुपर्ने बाध्यता ज्वलन्त उदाहरण हुन्।

– अमेरिकी चर्चित विद्वान नोम चम्स्कीको असफल राष्‍ट्रहरू बारेको भनाइ यस सन्दर्भमा त्यत्तिकै मार्मिक छ। उनी भन्छन्, ‘विदेशी साँठगाँठलाई पश्‍चिमा राष्‍ट्रको राजनीति, खासगरी निर्वाचनमा अन्त्यन्त नकारात्मक प्रभाव (liability)का रूपमा लिइन्छ भने कतिपय विकासोन्मुख मुलुकमा त्यो यति ठूलो लाभ (Asset) कि सत्तामा आउन र टिक्न नभई नहुनेजस्तो भइसकेको छ। वैदेशिक सहयोग, प्रभाव, आकर्षण, हस्तक्षेप र आन्तरिक अस्थिरताको भूमरीबाट तेस्रो विश्‍वका खासगरी स-साना राष्‍ट्र कसरी निस्किने? विभिन्न कमजोरीबीच बढ्दो परनिर्भरता, सामाजिक र अन्य सञ्‍जालको थेग्‍नै कठिन प्रभावले यो प्रश्‍नलाई निकै पेचिलो बनाएको छ।’

– स्थापित लोकतान्त्रिक मुलुकहरूमा लामो अनुभव र प्रयोगले पद्धति स्थापित, संरचना निर्माण र सुदृढीकरण भइसकेका छन्। उपनिवेशबाट प्राप्त स्रोत साधनको सदुपयोगबाट उनीहरू आफ्नो आर्थिक/सामाजिक स्तर माथि पुर्‍याउन सफल भए। प्रविधिमाथिको नियन्त्रण, बजार र जनशक्तिको खोजीले आगामी दिनमा उनीहरूको तेस्रो विश्‍वमा प्रभाव झन् बढ्ने निश्‍चित छ।

– युरोपेली राज्य निर्माणको अर्को मूल आधार शक्ति प्रयोगमा एकाधिकार ‘Monopoly of Legitimate Use of Violence’ भएकाले जनताले निर्वाचित गरिसकेपछि बीचैमा आउने चुनौती राज्यले आवश्यक परे शक्तिको प्रयोगबाटै साम्य पार्न सक्ने क्षमता विकास भइसकेको देखिन्छ। तर, तेस्रो विश्‍वका कतिपय देशमा आन्तरिक र बाह्य स्रोतबाट आम जनता, राज्य र तिनका निर्वाचित नेतृत्वमाथि हिंसात्मक चुनौती नियन्त्रणमा राज्यको लाचारीका उदाहरण बढ्दै छन्। दक्षिण अमेरिकी राज्यहरूमा लागूपदार्थका व्यापारी र हिंसात्मक समूहहरूको प्रकोप, नाइजेरियाजस्तो अफ्रिकाको एक ठूलो शक्तिशाली देशमा समेत बोको हरामको हिंसात्मक ताण्डव नृत्य र धेरै देशमा बाह्य समर्थित विद्रोही समूहको हिंसात्मक चुनौती थेग्‍न नसकी राज्यसत्ता परिवर्तनका उदाहरण छन्।

– लोकतन्त्र जनताले आफैंले निर्वाचित गरेका प्रतिनिधिद्वारा आफूमाथि शासन गर्ने व्यवस्था हो। शासक र शासित दुवैले सिक्दै सुधारिँदै अगाडि बढ्ने हो। तर, समस्या आउनेबित्तिकै व्यवस्थामाथि नै विभिन्न स्रोतबाट हमला भइरहने हो भने सिक्ने र सुधारिने कसरी ? अर्कातिर, गल्ति गर्नु मानव स्वभाव हो तर बारम्बार तिनै गल्ति दोहोर्‍याइरहनु पटमुर्खता होइन ? शासक र शासित दुवैले न सिक्ने, न सुधारिने हो भने गर्ने के ? आन्तरिक कुशासन र बाह्य चुनौतीबीच हाल अफ्रिकी देशहरूमा भइरहेको सैनिक विद्रोह खतराका संकेत हुन्।

(३) बाह्य प्रभाव व्यवस्थापन : दोस्रो विश्‍वयुद्धपछि आन्तरिक अर्थ-राजनीति र विदेशनीतिको बढ्दो अन्तरसम्बन्धलाई ध्यानमा राख्दै अन्तर्राष्‍ट्रीय सम्बन्ध एक छुट्टै विधाको रूपमा अध्ययन अध्यापन शुरु भयो। आज कूटनीति राष्‍ट्रीय शक्ति/सुरक्षाको सबैभन्दा महत्त्वपूर्ण कडी बनेको छ। अन्तर्राष्‍ट्रीय सम्बन्धलाई मुलत: शक्तिराष्‍ट्रहरू बीचको सम्बन्ध र तिनको अरूमाथि असर/प्रभावका रूपमा बुझ्‍नुपर्छ। त्यसको अध्ययन/ज्ञानका आधारमा स्वतन्त्र राष्‍ट्रले आफ्नो परराष्‍ट्र नीति निर्माण र कूटनीति सञ्‍चालन गर्ने हुन्।

– शक्तिराष्‍ट्रहरू बीच चलिरहने सहयोगात्मक, प्रतिस्पर्धात्मक र द्वन्द्वात्मक सम्बन्धको राम्रो बुझाइअनुरूप विदेश सम्बन्ध व्यवस्थापन गर्नु आजको राज्य सञ्‍चालनकै एक महत्त्वपूर्ण पाटो बनिसकेको छ। यसरी आफ्ना जनताका मात्र नभई शक्तिराष्‍ट्रहरूका पनि ‘मुड’ र उनीहरू बीचको अन्तरसम्बन्धको सुक्ष्‍म ज्ञान पनि आज विकासोन्मुख विश्‍वका शासक/प्रशासकका चुनौती हुन्। श्रीलंका र बंगलादेशको चर्चा गर्दा रोचक कुरा के छ भने भोलि विश्‍व महाशक्ति हुन कम्मर कसेर लागेका छिमेकका एक या दुवै शक्तिराष्‍ट्रका सद्‍भाव, सहयोग र समर्थन प्राप्त सरकार र नेता नै ढलेका छन्।

– यी घटनाले अफगानिस्तान र म्यान्मारबीचको दक्षिण एसियामा बढ्दो अन्तर्राष्‍ट्रीय शक्ति खेलको रंगभूमि हुँदै गएको पुष्‍टि गर्छ। अझ गम्भीर प्रश्‍न, आन्तरिक रूपमा विभाजित देश/क्षेत्र रंगभूमिबाट रणभूमि हुन कति बेर ?

– यसै सन्दर्भमा यो क्षेत्रका अन्य देशले अनुभव गर्दै आएका अस्थिरता सँगसँगै नाम आइहाल्ने छिमेकी शक्तिराष्‍ट्रको आन्तरिक राजनीतिक स्थिरता, आम निर्वाचन प्रक्रियामा जनआस्था, परिणामको मान्यता अर्को चाखलाग्दो विषय छ। यो स्थितिमा उसले आफ्ना छिमेकी र अरूले ऊसँगको सम्बन्ध सुधार्ने समय आएन ? जतिसुकै कटु सम्बन्ध होस्, संवाद कूटनीतिको आत्मा हो। त्यसैका लागि निर्मित संस्थामार्फत भएका असमझदारी हटाई विवाद समाधान गर्दै एकअर्काको अनुभवबाट सिक्दै सहयोग गर्दै सकारात्मक राष्‍ट्रीय रूपान्तरण र बाह्य चुनौतिबारे समान धारणा र व्यवहार गर्न हाल ‘कोमा’मा पुर्‍याइएको सार्कको सबलीकरणको महत्त्व पनि प्रष्‍ट पार्छ।

अन्त्यमा, समय र स्थानको महत्त्व बुझ्‍न नसक्दा मोबुटुले आफ्नै, आफ्नो देश र जनताको के हाल बनाए ? अलि नजिक सोमालिया र सार्कको सदस्य राष्‍ट्र अफगानिस्तानको दुर्दशा बुझ्‍न ती देशका इतिहासका साथै विश्‍व इतिहासमा शक्तिराष्‍ट्रहरूको ठूलो खेल (Great Game), २०औं शताब्दीको शीतयुद्ध (Cold War) र हालको विश्‍व अर्थ-राजनीति-रणनीतिक जटिलता बुझ्‍न जरुरी छ। तिनका नकारात्मक प्रभावबाट बच्‍न/बचाउन, ली क्वान यूले जस्तो सकारात्मक कुरालाई नेतृत्व प्राप्ति, राष्‍ट्रमा स्थायित्व र शान्ति,  जनताको सुख र समृद्धिमा सदुपयोग कम चुनौतीपूर्ण छैनन्। यी यावत वैयक्तिक, वैचारिक, आन्तरिक र बाह्य चुनौतीबीच राजापाक्ष र हसिनाको सत्ता बहिर्गमनको सबैभन्दा ठूलो पाठ हो, अज्ञान र अहंकार नेतृत्वका त्यस्ता कमजोरी हुन्, जसले पत्तै नपाई सफलतालाई असफलतामा र जितलाई हारमा परिणत गरिदिन सक्छन्।

श्रीलंका र बंगलादेशका जनताको जागरुकता, बुद्धिजीवी, कर्मचारीतन्त्र र नेतृत्वको क्षमताले दुवै देश यी क्षणिक परिस्थितिबाट छिट्टै माथि उठ्दै स्थायित्व र प्रगतिको बाटोमा लाग्‍ने कुरामा विश्‍वस्त हुने प्रशस्त आधार छन्। वास्तवमा श्रीलंका समस्या समाधानको बाटोमा अगाडि बढिसकेको छ। आक्रोशको ज्वाला विष्‍फोट हुँदा भएको लुटपाट र अल्पसंख्यकविरुद्धको दु:खद् आक्रमण रोक्न आन्दोलनकारी र सेना प्रमुखले प्रदर्शन गरेको तत्परता र सुझबुझले बंगलादेशको क्षमता प्रष्‍ट पार्छ। नोबेल पुरस्कार विजेता प्रा. मोहम्मद युनुसको बुद्धिमत्तापूर्ण नेतृत्वमा बंगलादेश अबका दिनमा तीव्र गतिमा अगाडि बढ्ने कुरामा ढुक्क हुन सकिन्छ।

समग्रमा, हिजो राजापाक्ष आज शेख हसिनाको व्यक्तिगत मनोविज्ञान, जो उनीहरूको शासनशैली बन्यो, त्यहाँको एलिट संस्कृति, व्यवहार, राष्‍ट्रीय, क्षेत्रीय र अन्तर्राष्‍ट्रीय परिस्थिति, जसले उनीहरूलाई सत्तामा पुग्‍न, लामो समय टिक्न र पत्तै नपाई ढल्न मद्दत पुर्‍यायो, यी दक्षिण एसियाका साथै समग्र विश्‍वका शासक/प्रशासक र जनताले पनि बुझ्‍ने र सिक्ने पाठ हुन्। यसबाट शक्तिराष्‍ट्रहरूका निम्ति पनि राम्रै पाठ छन्। बुझ्‍ने कि नबुझ्‍ने, सिक्ने कि नसिक्ने ? त्यसैले त गोज्याङ-जागरुक जनता, सच्चा-भरौटे बुद्धिजीवी र नेता-राजनेताबीच फरक पर्ने हो !

(लेखक पूर्व राजदूत, संयुक्त राष्‍ट्र संघ मानव अधिकार आयोग (परिषद) को अध्यक्षका साथै ‘आन्तरिक हिंसात्मक द्वन्द्वका कारण र समाधान’, ‘नेपालको माओवादी द्वन्द्वको शान्तिपूर्ण रूपान्तरण’, ‘परिवर्तनका प्राप्ति र पीडा’, ‘मानव अधिकार रक्षा, हनन मानव चेतनाको कसीमा’, ‘नेपाल-भारत-चीन २१औं शताब्दीको सम्बन्ध’ आदि (अंग्रेजी) किताबका लेखक हुन्। अन्तर्राष्‍ट्रीय सम्बन्धमा विद्यावारिधि गरेका उनले त्रिभुवन विश्‍वविद्यालयका साथै नेपाल बाहिर पनि अनुसन्धान र प्राध्यापन गरेका छन्।)

सोमबार, असोज १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.