विख्यात समाजशास्त्री म्याक्स वेबरले भन्नुभएको थियो, ‘पुँजीवादको उदयले ल्याएको परिवर्तन आधुनिक इतिहासको सबैभन्दा महत्त्वपूर्ण घटना हो।’ सत्रौं शताब्दीको मध्यतिर सर्वप्रथमतः हल्यान्ड र इंग्ल्यान्डबाट पुँजीवादको उदय भएको थियो। र, तत्पश्चात युरोप र अन्यत्र यसको प्रसार भयो।
वर्तमान संसारमा धनी र गरिबबीच बढ्दो खाडल, राजनीतिक अस्थिरता र भ्रष्टाचार, गरिब देशहरूको बढ्दो परनिर्भरता, दलाल पुँजीवादले गरेको शोषण र अत्याचारजस्ता मुद्दाहरूका कारण पश्चिमा शैलीको प्रजातान्त्रिक व्यवस्था र पुँजीवादको औचित्यमाथि समेत बहस शुरु भइसकेको छ।
तथापि, विगतमा कसरी पुँजीवादको उत्पत्ति र विकास भयो र एउटा नवीन सोच र धार्मिक धारणामा केही रूपान्तरण गरिँदा समाज कसरी अगाडि बढ्दो रहेछ भन्ने कुरामा यो लेख निहित छ। र, यसको उद्देश्य पुँजीवादलाई महिमामण्डन गर्ने होइन कि सोच्ने शैलीमा प्रगतिशील रूपान्तरण हुँदा समाजले कसरी अग्रगामी छलाङ मार्छ भन्ने हो।
युरोपको ब्रिटेनमा भएका आविष्कारहरूले औद्योगिक क्रान्तिलाई तीव्रता दिए। सोह्रौं शताब्दीको अन्ततिर डचहरू समुद्री मार्गबाट यात्रा गर्ने कुरामा सबैभन्दा निपुण देखिन थाले र सत्रौं शताब्दीको मध्यसम्म आइपुग्दा यस क्षेत्रमा उनीहरूले आधिपत्य कायम गर्न सफल भए।
समुद्री बाटो, विश्वको नक्शा र भौगोलिक ज्ञानको क्षेत्रमा डचहरूको अग्रता थियो। विश्वका महत्त्वपूर्ण स्थानहरूलाई आफ्नो कब्जामा पार्ने प्रयासमा डच र ब्रिटिसहरूबीच अनेक युद्ध भए। औद्योगिक क्रान्तिदेखि आजको दिनसम्म यो संसारमा पश्चिमाहरूकै प्रभाव छ भने विज्ञान, आविष्कार र अन्य क्षेत्रहरूमा गरेको विकासको फलस्वरूप चीनले यिनीहरूको प्रभुत्वलाई चुनौती दिइरहेको छ।
समस्त समाजको दर्शन, धारणा, मान्यता र सोचको देशको विकाससँग महत्त्वपूर्ण सम्बन्ध रहेको हुन्छ। कुशल राजनीतिक नेतृत्वले समाजलाई अत्यन्त गरिबीबाट समृद्धितर्फ अग्रसर गराउन सक्छ भन्ने उदाहरण सिंगापुरका ली क्वान यू हुन्। चीनका महान दार्शनिकहरूले चिनियाँ समाजलाई परिश्रमी बनाए र श्रमको महत्त्व बुझाए। त्यसैले विगत दुई हजार वर्षको इतिहासमा चीन कम्तिमा दुई पटकसम्म विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बनेको थियो र वर्तमानमा पुनः बन्ने दिशामा छ।
आधुनिक विश्वलाई सभ्यताको पथमा हिँडाउन महत्त्वपूर्ण आविष्कारहरू चीनमा भए। कम्पास, बारुद, कागज र प्रिन्टिङजस्ता कुराहरूको चीनमै आविष्कार भयो।
समाजमा जमेर बसेको रुढिवादी सोचलाई प्रगतिशीलतातर्फ रूपान्तरण गर्न सकेकाले युरोपियन समाजले अग्रगामी छलाङ मार्न सफल भयो र वैज्ञानिक आविष्कार र औद्योगिक क्रान्ति भयो। वैज्ञानिक आविष्कारबाट प्राप्त शक्ति र क्षमताको फलस्वरूप सानो युरोपले संसारलाई आफ्नो अधीन बनाउन सक्ने भयो।
युरोप पनि रुढिवादी सोच र अन्धविश्वासबाट मुक्त थिएन। त्यसबाट निस्कन त्यहाँ बुद्धिजीवी, दार्शनिकहरूले संघर्ष गरे। आज कोपरनिकस र ग्यालिलियो अमर छन् र सत्य साबित भएका छन्। तर, उनीहरूको विरोध गर्ने पादरी, विसपहरूलाई कसैले चिन्दैन। चौधौं शताब्दीसम्म पश्चिमाहरूलाई असभ्य भन्ने चीनलाई वैज्ञानिक प्रविधिबाट विकसित ब्रिटेनले सन् १८३९ देखि १८४२ सम्म भएको युद्धमा सजिलै परास्त गरेको थियो।
प्रसिद्ध विचारक कार्ल मार्क्स र उहाँको यो भनाइ ‘धर्म अफिमजस्तै हुन्छ र यो परिवर्तनको लागि बाधक हुन्छ’ प्रसिद्ध छ। उहाँको भनाइ थियो- धर्मले ईश्वरको रचना गर्छ, सामाजिक ऊँच निच र सामाजिक पदानुक्रमको निर्माण गर्छ, शोषित र शोषक वर्गको व्यवस्था गर्दै काल्पनिक र मनगढन्ते धार्मिक विश्वास समाजमा स्थापित गराउनमा मद्दत गर्छ।
मार्क्सले समाजमा रहेको असमानतालाई स्वीकार गर्न न कि बदल्ने प्रयास गर्न धर्मले सिकाउँछ भन्नुहुन्थ्यो। भारतीय समाजमा रहेको पूर्वजन्मको कर्मको फल सम्बन्धित उदाहरण दिनुभएको थियो। भारतजस्तो देश अहिलेसम्म पनि समग्र रूपमा विकसित नहुनुमा समाजमा निहित अन्धविश्वास र रुढिवादी सोच प्रमुख कारक रहिआएको छ।
सोह्रौं शताब्दीतिर युरोपका अधिकांश देशमा क्याथोलिक इसाईहरूको प्रभाव थियो र त्यसबेला शुरु भएको प्रोटेस्टेन्ट दर्शनले ल्याएको विचारले युरोपमा पुँजीवाद भित्र्याउने आधारशीला तयार गर्यो। त्यसैको जगमा आविष्कारहरू भए, औद्योगिक क्रान्ति भयो। वेबर भन्नुहुन्थ्यो, ‘प्रोटेस्टेन्ट इसाईहरूले रूपान्तरण गर्न सकेको धार्मिक विश्वास र सोहीअनुसार निर्वाह गरेको कर्मको जगमा आविष्कार र औद्योगिक क्रान्ति भएको थियो।’ कार्ल मार्क्स र केही समाजशास्त्रीहरूको धारणालाई यसले चुनौती दिएको थियो। कार्ल मार्क्ससको आर्थिक कारकहरूले धर्मलाई निर्माण गर्छ भन्ने धारणालाई यसले गलत सावित गराइदिएको थियो।
वेबर भन्नु हुन्छ, ‘काल्विन विचार नै यस क्रान्तिकारी सोचको जन्मदाता हो।’ सन् १५०९ मा फ्रान्समा जन्मनुभएका जोन काल्विन एउटा धर्मशास्त्री हुनुहुन्थ्यो। उहाँ इसाई चर्चको धार्मिक नेता पनि हुनुहुन्थ्यो, धार्मिक विश्वासलाई रूपान्तरण र विकासोन्मुख गराउने सन्दर्भमा उहाँको योगदान उल्लेखनीय छ। चर्च, सरकार र प्रशासनसँग तालमेल गर्दै उचित व्यवस्थापन गर्ने÷गराउने जिम्मा उहाँअन्तर्गत रहने गर्थ्यो। तत्कालीन समयमा चलिरहेको धारणालाई बदल्ने वा सुधार गर्ने साहस कुनै चानचुने व्यक्तिको सामर्थ्यको थिएन। उहाँ धार्मिक गुरु भएको कारणले पनि सम्भव भएको थियो।
तत्कालीन क्याथोलिक धार्मिक गुरुहरू अत्यन्त कट्टरपन्थी थिए। सबैभन्दा माथि ईश्वर, त्यसमुनि पोप, पोपमुनि वरिष्ठ विशप र क्रमानुसार समाजमा रहेका मानिसहरूको वरियता क्रमअन्तर्गत सामाजिक व्यवस्था थियो। समाजको सम्भ्रान्त र शक्तिशाली वर्गहरूको शक्तिकेन्द्रहरूमा प्रभाव थियो र समाजमा शोषण थियो। समाजमा ठहराव, धर्मान्धता, ईश्वर भन्ने कुराको डर र धार्मिक गुरुहरूको प्रभुत्व थियो।
वेबर भन्नुहुन्छ, ‘जोन काल्विनले ल्याएको धार्मिक सोचले क्रान्तिकारी परिवर्तन ल्याउन सफल भयो।’ काल्विनले समाजलाई भन्नुभयो- मनुष्य जन्मिनेबित्तिकै ईश्वरले निर्णय गरिसकेको हुन्छ कि ऊ स्वर्ग जाने वा नर्क। समाजलाई कौतुहल भयो- कसरी थाहा पाउने कि अमुक व्यक्तिको बारेमा ईश्वरले के निर्णय गरेको छ। काल्विनले भन्नुभयो- परिश्रम गर र आ-आफ्नो क्षेत्रमा उत्पादन गर अनि मुनाफा कमाऊ। यदि सफल भयौ भने तिमीसँग ईश्वर खुशी रहेछ र तिमी स्वर्ग जानेछौ भनेर बुझे हुन्छ। यसबाट धर्मभिरु समाजमा परिश्रम गर्ने र ईश्वरलाई खुशी पार्ने काम शुरु भयो।
काल्विनले सख्त अनुशासनलाई जोड दिनुभयो, विलासिता र अनाहक गरिने खर्चलाई पाप हो भन्नुभयो। यसबाट परिश्रम गर्ने, सञ्चय गर्ने, त्यसलाई पुनः लगानी गर्ने र उत्पादन बढाउने बानी र प्रणालीको विकास भयो। काल्विनले परिश्रम, उत्पादन, लाभलाई धर्म, संस्कार, पुण्य र स्वर्गसँग जोड्नु भयो। यस विचारको प्रभाव र प्रसार युरोपका अन्य देशहरूमा पनि पुग्यो। युरोपमा भएका आविष्कार, औद्योगिक क्रान्ति र पुँजीवादको विकास यही धारणा र विचारको जगमा भएको थियो भन्ने विद्वानहरूको विश्वास छ। श्रमको महत्त्व बढ्नुमा यस विचारको योगदान थियो।
म्याक्स वेबरले रिलिजन आफ इन्डियामा लेख्नुभएको छ, ‘भारतमा पुँजीवाद सफल हुन नसक्नुमा यहाँको धार्मिक सोच प्रगतिशील नहुनु हो। यहाँ क्रिस्चियन प्रोटेस्टेन्टले जस्तै धर्मलाई कर्म र उत्पादनसँग जोड्ने धारणाको विकास गर्न नसक्नु हो।’ वेबर भन्नुहुन्छ- भारतको हिन्दू जाति व्यवस्था र वर्णव्यवस्था विकासका लागि बाधक छ र यसले पुँजीवादको विकास सन्तोषजनक रूपमा हुन सक्दैन। यस्तै, उहाँ भन्नुहुन्छ- बौद्ध धर्ममा सांसारिक मोहमायाबाट आफूलाई टाढा गर्नुपर्छ भन्ने दर्शन पुँजीवादको विकासका लागि उपयुक्त छैन।
भारतीय दर्शन, धारणा वा सोचको प्रभाव नेपालमा प्राचीनकालदेखि रहेको देखिन्छ। बुद्धिजम, हिन्दू धर्मसँगै अन्य जैन, शिख, मुस्लिम सवै दक्षिणतिरबाट प्रवेश गरेका छन्। समाजमा रहेको वर्ण व्यवस्था, छुवाछुत, विगतका सती प्रथाजस्ता क्रुर प्रथा सबै दक्षिण हुँदै नेपाल प्रवेश गरेका छन्। आज पनि राम्रा नराम्रा रीतिरिवाज, कुरीतिहरू धेरैजसो भारतबाट प्रवेश गरेका छन्। राम्रा कुरा फिल्टर गरेर लिने र नराम्रा पस्न नदिनेगरी सक्षम हुन जरुरी छ। यसका लागि समस्त नेपाली समाजलाई प्रगतिशील दिशातिर डोर्याउने योग्य नेता वा मार्गदर्शकको खाँचो छ।
नेपालका प्रसिद्ध समाजशास्त्री डोरबहादुर बिष्टको भाग्यवाद र विकासवादमा नेपालको सामाजिक व्यवस्था र प्रचलित मान्यताबारे वर्णन गरिएको छ। नेपालको विकास नहुनुमा यहाँ पनि श्रमको कदर नहुनु, श्रम गर्ने वर्गको सामाजिक रूपमा सम्मानजनक स्थान नहुनु हो भन्ने कुरा उक्त पुस्तकमा लेखिएको छ। नेपालमा अनुत्पादक, परजीवी र शोषक वर्गको सम्मान र परिश्रम, मजदुरी गर्नेहरूलाई हेलाको दृष्टिकोणबाट हेरिने चलन छ।
नेपालीहरूले श्रमको महत्त्व विदेश खासगरी विकसित देशहरूमा गएर आएपछि मात्र बुझ्ने गर्छन्। हाम्रो छिमेकी चीन आज संसारकै अग्रणी मुलुकमा पुगिसक्यो, त्यहाँ श्रमको सम्मान छ।
धर्म र धार्मिक आस्थालाई सकारात्मक कुरासँग जोड्नु आवश्यक छ। समाजलाई विभाजन गर्ने, श्रमको सम्मान नगर्ने र विज्ञानलाई उपेक्षा गर्न सिकाउने धार्मिक सोच वा धारणाको प्रभुत्व भएको समाजमा कहिल्यै विकास हुन सक्दैन। गलत व्यक्तिको हातमा नेतृत्व पुग्दा प्रगतिशील समाज वा देश पनि अधोगतितिर गएको र प्रतिगमन उन्मुख भएको अनेकौं उदाहरणहरू छन्।
मार्टिन लुथर किङले भनेका थिए, ‘यदि राजनीति गर्ने पार्टीले धर्मको नाममा राजनीति गर्न थाल्यो भने बुझे हुन्छ कि राजनीति गलत तत्त्वहरूको हातमा पुगेको छ।’ नेपालजस्तो विभिन्नता भएको समाजमा सबैलाई जोड्ने सूत्र चाहिन्छ। राम्रो र रोजगारमुलक शैक्षिक प्रणालीको आवश्यकता छ। कुनै पनि शासन प्रणाली गलत वा भ्रष्ट व्यक्तिहरूको हातमा सुरक्षित हुँदैन। सबै कुरा परिवर्तनशील छन्, यो शाश्वत सत्य हो। विज्ञान बुझ्नु प्रकृतिलाई बुझ्नु हो, सोच अग्रगामी र प्रगतिशील हुनुपर्छ।