झापा- मोरङ र झापाका दुई स्थानमा आइतबार राति भएका घटनामा दुईजनाको मृत्यु भएको छ। मोरङको विराटनगरमा सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने झापाको गौरीगञ्जमा सिटी सफारी चार्जिङ गर्ने क्रममा विद्युतीय करेन्ट लागेर अर्का एकजना मजदुरको मृत्यु भएको कोशी प्रदेश प्रहरी इकाई कार्यालय विराटनगरले जनाएको छ।
प्रहरीका अनुसार झापाको गौरीगंज गाउँपालिका- २ मा सिटी सफारी चार्ज गर्ने क्रममा बिद्युत सर्टभई करेन्टलाग्दा १ जनाको मृत्यु भएको छ ।
गौरीगंज- २ का ३३ बर्षीय महेश राजबंशीले आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा बिद्युत सर्ट भई करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए। घाईते भएका राजबंशीलाई तत्काल उपचारको लागि लाईफलाईन अस्पताल दमक लगिएकोमा अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय गौरीगंजबाट थप अनुसन्धान भईरहेको छ ।
यता, मोरङको बिराटनगर महानगरपालिका- १४ मा सवारी दुर्घटनाहुँदा मोटरसाईकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ ।
आईतबार राति १० बजे कोशी लोकमार्गमा प्रदेश १-०२-०४४ प ८०८५ नम्बरको मोटरसाईल सडक साईडमा पार्किङ गरिएको युपी ३६पी २८९१ नम्बरको ट्रकमा ठक्कर लाग्दा घाईते भएका मोटरसाईकलको पछाडि सवार यात्रुको उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार मोटरसाइकल चालक बिराटनगर-१५ का १८ बर्षीय राजिव मण्डल र मोटरसाईकल पछाडि सवार रहेका बिराटनगर- १० का २५ बर्षीय कृष्ण मण्डल दुर्घटनाबाट गम्भीर घाइते भएका थिए। घाइतेलाई उपचारको लागि बिराट नर्सिङहोम बिराटनगर लगिएको थियो । उपचारको क्रममा मोटरसाइकलको पछाडि सवार कृष्ण मण्डलको मृत्यु भएको हो । घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
उक्त ट्रक र चालक भारत उत्तर प्रदेशका मक्सुद आलमलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्ज ले जनाएको छ ।