काठमाडौं- रक्त नलीमा रगतको माथिल्लो चाप १४० र तल्लो ९० भन्दा माथि भए उच्च रक्तचाप भएको मानिन्छ। रक्तचाप दुई प्रकारका हुन्छन्- प्राइमरी र सेकेन्डरी।
सामान्यतः प्राइमरी रक्तचापका बिरामीहरू बढी हुन्छन्। ९० देखि ९५ प्रतिशतलाई प्राइमरी रक्तचापको समस्या हुन्छ। यस्तोमा ८० देखि ९० प्रतिशतमा लक्षण देखिँदैन। प्रेसर जाँचेपछि मात्रै थाहा हुन्छ।
१० देखि २० प्रतिशतमा टाउको दुख्ने, टाउको भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, दम वा एकैपटक ब्रेन हेमरेज वा पक्षघात हुनेजस्ता समस्या देखिन्छन्। पक्षघातको एउटा मुख्य कारण उच्च रक्तचाप हो।
वंशाणुगत कारणले पनि उच्च रक्तचाप हुन सक्छ। बाबुआमामा उच्च रक्तचापको समस्या छ भने सन्तानलाई पनि हुने सम्भावना बढी हुन्छ।
सेकेन्डरीमा अन्य कारणले रक्तचाप बढेको हुन्छ। जस्तो- मिर्गौलामा समस्या भए पनि यो हुन सक्छ। महिलाहरूमा गर्भावस्थामा पनि सेकेन्डरी उच्च रक्तचापको समस्या देखिन सक्छ।
थाइराइडका बिरामी, मुटुको मुख्य नली खुम्चिएर, पेन किलर बढी सेवनले पनि उच्च रक्तचापको समस्या हुन सक्छ। सेकेन्डरी उच्च रक्तचाप ५ देखि १० प्रतिशतलाई मात्र भेटिन्छ।
५० वर्षमाथिको उमेर समूहमा उच्च रक्तचापको समस्या बढी देखापर्छ। तर, हिजोआज ३०-३५ वर्षका युवामा पनि देखिएको छ। कम उमेर समूहमा सेकेन्डरी रक्तचापको सम्भावना बढी हुन्छ।
यस्तोमा मिर्गौलाको समस्या, थाइराइड, पेनकिलर सेवन छ कि छैन, यसको निदान गरेपछि उच्च रक्तचापको समस्या निको हुन्छ। यस्ता कारणले उच्च रक्तचापको समस्या देखिएको हो भने मुख्य समस्याको उपचार भएपछि रक्तचापको औषधि आवश्यक पर्दैन। गर्भवतीलाई भएको हो भने बच्चा जन्मिएपछि समान्य हुन्छ।
यदि प्राइमरी कारणले भएको हो भने नियमित औषधि खानुपर्छ। केही बिरामीलाई औषधिको सामान्य साइड इफेक्ट पनि हुन सक्छ। केहीलाई खोकी, टाउको दुख्ने, खुट्टा सुन्निने हुन सक्छ। तर, यस्तो अत्यन्तै न्यून मात्र हुन्छ।
जीवनशैली सुधार नै यसबाट जोगिने मुख्य उपाय हो। विलासी जीवनशैली अपनाउनेमा यसको जोखिम बढी हुन्छ। दिनमा कम्तीमा ३० देखि ४५ मिनट व्यायाम गर्नुपर्छ। दैनिक रूपमा भ्याइएन भने सातामा ५ दिन त अनिवार्य गर्नुपर्छ।
कामकाजी र व्यस्त दिनचर्या भएकाले प्रत्येक आधा, एक घण्टामा २०० कदम हिँड्ने गर्दा पनि व्यायाम हुन सक्छ। धुम्रपान नगर्ने, मोटोपन घटाउने, चिल्लो, तारेको र कार्बोहाइड्रेडयुक्त खानेकुरा कम खाने, खानामा प्रोटिनको मात्रा बढाउने, रातो मासु कम खाने गर्नुपर्छ।
माछा खान सकिन्छ। हरियो सागसब्जी, फलफूल खानुपर्छ। उच्च रक्तचापको जोखिममा रहेकाले नुनको सेवन कम गर्नेजस्ता व्यवहार अपनाउनुपर्छ।