रमेश लम्साल/रासस
पछिल्ला दिनमा आरोहणका अनेकन सफलताको नाम राखेका पासाङ नुरु शेर्पाको काँधमा यसपटक नयाँ जिम्मेवारी छ। हिमाल आरोहण गर्नु उनलाई कुनै गाह्रो कामजस्तो लाग्दैन। बिहीबार साँझ उनी नेपालको पर्यटन क्षेत्रमा पुनः जागरण ल्याउने उद्देश्यका साथ आयोजित एक कार्यक्रममा भेटिए। यतिबेला उनी फ्रान्सेली आरोही मार्क बटार्डले सगरमाथामा तय गरेको एउटा मिसनलाई सफल बनाउन लागिपरेका छन्।
सगरमाथा आरोहण गर्न चाहनेलाई सुरक्षित बाटो बनाउने काममा पासाङ र मार्क बटार्डको सहयात्रा हुँदैछ। आरोहण गर्ने विषय आफैँमा महत्त्वपूर्ण हुँदै हो, त्यसमाथि सुरक्षित जाने र आउने कुरा पनि उत्तिकै महत्त्वपूर्ण छ। सोही कामलाई मूर्त रूप दिन उनीहरू निरन्तर लागिपरेका छन्। वसन्त ऋतु शुरु भइसकेको छ। हिमालले आरोहीलाई बोलाइरहेको तथा कोरोनाले थला परेको पर्यटन उद्योगलाई पूर्ववत् अवस्थामा फर्काउने दायित्व पनि छ।
कोरोनाका कारण संकटमा परेको पर्यटन उद्योगको पुनरुत्थान गर्दै नयाँ सम्भावनाको खोजी, पहिचान तथा प्रबर्द्धनका लागि यस क्षेत्रमा लगानीको उपयुक्त वातावरण तयार गरी स्वरोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा योगदान गर्ने लक्ष्यका साथ सरकारले पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरेको छ। सो समिति मातहत रहनेगरी पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समिति गठन भएको छ।
सोही समितिले सगरमाथा आरोहणलाई थप सुरक्षित बनाउने लक्ष्यका साथ काम गरिरहेको छ। सन् १९८८ मा २२ घण्टा २९ मिनटमा सगरमाथा आरोहण गरेको रेकर्ड बनाएका मार्क नेपालको नाम संसारभर चिनाउन र सगरमाथा आरोहण सुरक्षित छ भन्ने सन्देश दिन निरन्तर प्रयासरत छन्। आरोही मार्कका अनुसार नयाँ बाटो गोरखसेप (पाँच हजार १६४ मिटर)बाट शुरु हुन्छ। असाध्यै जोखिमपूर्ण मानिएको खुम्बु आइसफललाई छलेर विद्यमान आरोहणमार्गभन्दा पूर्वपट्टिबाट ढुंगा र चट्टानै चट्टानको बाटो बनाइँदैछ। सगरमाथाको आधार शिविर सुमद्री सतहबाट पाँच हजार ३६४ मिटरमा छ।
‘विद्यमान बाटोभन्दा सुरक्षित मार्ग बनाउने अभियानमा हामी सफलता नजिकै पुगेका छौँ। नेपाली शेर्पा र फ्रान्सेली आरोहीको समूहसमेत सो कार्यमा निरन्तर क्रियाशील छ,’ मार्कले भने, ‘हामीले केही दिनमै सफलता हासिल गर्छौं।’ आइसफल छलेर ढुंगा र चट्टानको बाटो हुँदै क्याम्प-१ मा पुगिनेछ। त्यसका लागि ३०० मिटर ओरालो झर्नुपर्नेछ। आधार शिविर र क्याम्प-१ बीचको सबैभन्दा जोखिमपूर्ण क्षेत्र छलेर नयाँ बाटो बनाउन लागिएको मार्कको भनाइ छ।
खुम्बू हिमनदी र खुम्बू आइसफल सगरमाथा आरोहणको सबैभन्दा जोखिमपूर्ण क्षेत्र मानिन्छन्। नयाँ बाटो पत्ता लगाउने अभियानमा आफूहरू सफलता नजिक पुगेको र त्यसले व्यावसायिक आरोहण दललाई सबैभन्दा बढी फाइदा पुग्ने उनीहरूको भनाइ छ। विश्वव्यापी तापमानमा भएको वृद्धि तथा जलवायु परिवर्तनको प्रभाव हिमाली क्षेत्रमा पर्दा त्यसको असर सगरमाथामा पनि परेको छ। सन् २०१४ मा हिमपहिरोका कारण खुम्बू आइसफलमै १४ नेपाली शेर्पाको ज्यान गएको थियो।
सोही आइसफलका कारण सगरमाथा आरोहण नेपालबाट तिब्बततर्फ गएको अनुमान पनि छ। तुलनात्मक रूपमा तिब्बतबाट सगरमाथा आरोहण गर्न सहज मानिन्छ। तर, रोमाञ्चकताका आधारमा नेपालतर्फको बाटो नै महत्त्वपूर्ण छ। नेपाल सरकारले गरेको अध्ययनबाट सगरमाथाको नयाँ उचाइ ८,८४८ दशमलब ८६ मिटर कायम भएको छ। ‘उमेरले ७० वर्ष पुगे पनि मेरो जोश उस्तै युवा छ। नेपालप्रति मेरो असाध्यै श्रद्धा छ। सोही कारण हामीले यसमा काम गरिरहेका छौँ,’ मार्कले भने, ‘अघिल्लो वर्ष नै हाम्रो समूहले नयाँ र सुरक्षित मार्ग पहिचान गरेको हो। यसपटक हाम्रो आरोहण दल सोही बाटो भएर शिखरमा पुग्ने योजना छ।’
मार्कका ४२ वर्षीय छोरासहितको चार सदस्यीय आरोहण दल नयाँ बाटोबाट आरोहण गर्ने योजनामा छ। सात दशकअघि एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले हिँडेको बाटो हालसम्म परिवर्तन भएको छैन। जानकारहरूका अनुसार खुम्बू आइसफल क्षेत्रमा मात्रै आरोही र शेर्पासहित ४० जनाभन्दा बढीको ज्यान गइसकेको छ। त्यसले संसारभरमा आरोहीलाई त्रसित बनाएको छ। उनीहरूको मनमा एउटा जिज्ञासा छ- के फरक र नयाँ बाटो खोज्न सकिँदैन ? सोही जिज्ञासाको समाधान गर्ने उद्देश्यका साथ आफूहरूले काम गरेको मार्कको भनाइ छ।
मार्कसँगै नयाँ बाटोको खोज्न लागिपरेका शेर्पाले अघिल्लो वर्ष नै पाँच हजार ५०० मिटर बराबरको उचाइसम्म नयाँ वैकल्पिक मार्ग पहिचान गरेको जानकारी दिए। १२ पटक सगरमाथाको शिखरमा पुगेका शेर्पाले नयाँ बाटो हेलिकोप्टरबाट पनि अवलोकन जानकारी दिए। ‘वैकल्पिक मार्ग विद्यमान मार्गभन्दा सुरक्षित छ भन्ने हाम्रो दाबी छ,’ उनले भने।
विद्यमान बाटोबाट सगरमाथा आधार शिविर हुँदै ६ हजार ६५ मिटर उचाइस्थित पहिलो शिविर पुगिन्छ। यसमा खोँच र हिमनदीको किनारै किनार हिँड्नुपर्छ। कुन बेला हिमपहिरो आउँछ भन्ने ठेगान हुँदैन। सोही कारण आरोही उज्यालो नहुँदै यात्रामा निस्किन्छन्। नयाँ वैकल्पिक मार्ग तय भएपछि त्यो जोखिम हट्नेछ। पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समितिका संयोजक राजाराम गिरीका अनुसार कोरोना कहरका कारण समस्यामा परेको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा ल्याउन सगरमाथाको नयाँ बाटोको ठूलो योगदान हुने अपेक्षा छ। सगरमाथा आरोहण गरौँ भनेर आउने आरोहीलाई यसले नयाँ आत्मविश्वास पैदा गर्ने उनको भनाइ छ। यो बाटोलाई नेपाल सरकारले मान्यता दिनुपर्नेछ।
मार्कलगायतको समूहले पहिचान गरेको बाटो कम जोखिमपूर्ण भएको निश्चित भएपछि व्यावसायिक रूपमा आरोहणका लागि अनुमति दिइने गिरीले बताए।
सन् २०१९ को वसन्त ऋतुमा एक हजार २४ जनाले आरोहणको अनुमति लिएको भए पनि ६४४ जनाले शिखर चुमेका थिए। त्यसपछि कोरोनाका कारण आरोहण पूर्णतया बन्द हुन पुग्यो। यसपटक गत बुधबारसम्म १७६ जनाले आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ।